संस्कृत विषय आफैँमा ज्ञानको अथाह भण्डार हो । यस भित्रै पनि अथाह विषयहरू छन् । साहित्य, व्याकरण, वैदिक कानुन, दर्शन, ज्योतिष शास्त्र, आदि । तर, जब उनी उत्तरमध्यमा सकेर शास्त्री पढ्न थाले, त्यहीँबाट उनले व्याकरणलाई आफ्नो विषय बनाए । उनले संस्कृत व्याकरण पढे ।
काठमाडौंमा उत्तरमध्यमा अर्थात् आइए सरहको पढाई सिध्याएर उनी बनारस पुगे, थप अध्ययनका लागि । र त्यहीँको संस्कृत विश्वविद्यालय अन्तरगत अनुबन्ध विरला कलेज, लालघाटबाट शास्त्री र आचार्यसम्मको पढाई पूरा गरे ।
बनारसमा पढदाका केही रमाइला सन्दर्भ छन्, प्राध्यापक गोपीकृष्ण शर्मा गौतम (८३)को जीवनसँग गासिएका । उनी बनारसमा रहँदा राजनीतिमा त सक्रिय भएनन् । तर, त्यहाँको संस्कृत छात्रसंघमा भने आवद्ध भएका थिए ।
त्यहाँ नेपाली संस्कृत छात्र परिषद नाम गरेको एउटा छात्र संघको स्थापना गरिएको थियो । त्यो संघमा गोपीकृष्ण शर्मा सदस्यसम्म भएका थिए । त्यही संघले एउटा पत्रिका प्रकाशन गर्दथ्यो ‘छात्रदूत’ । त्यही छात्रदूतमा उनको कविता पहिलोपटक प्रकाशित भएको थियो । त्यो पत्रिका आफूले अहिले पनि सुरक्षित राखेको उनी बताउँछन् ।
तत्कालीन समयमा संस्कृत शिक्षालाई व्यापक तुल्याउन विभिन्न दाताहरूले बनारसमा अलगअलग कलेजहरू खोलेका थिए । उनी विरला कलेजमा पढ्थे । किनभने यस कलेजमा विद्यार्थीहरूका लागि धेरै नै सहुलियत दिइएको थियो ।
प्राध्यापक गोपीकृष्ण शर्मासँग पुराना कुराका लागि उनको रातोपुल ज्ञानेश्वरस्थित निवासमा पुग्दा उनी नियात्राकार चन्द्रप्रसाद भट्टराईसँग गफिँदै थिए । कुराकानीकै क्रममा उनले भने, “विरला कलेजमा संस्कृत पढाउने गुरुहरूले जहिले पनि हामी विद्यार्थीहरूलाई अंग्रेजी विषय पढ्न हुँदैन भन्दै आएका थिए । तर मलाई एउटा प्रसंगले अंग्रेजी पढाईतिर आकर्षित गर्यो । त्यसैले म लुकेर अंग्रेजी भाषा पढ्न थालेँ । किनभने अंग्रेजी पढ्नेहरूको इज्जत र मानमनितो उच्च भएको मैले देखेको थिएँ ।”
त्यसैले पनि उनले त्यो बाटो समाउनु जरुरी ठाने । संस्कृत मात्रै नभएर अंग्रेजी विषयमा पनि ज्ञान राख्नुपर्छ भन्ने उनले निर्णय गरिसकेका थिए । उनका अनुसार उनी त्यसबेला बनारसको गुप्ता कोचिङ सेन्टरमा गएर अंग्रेजी पढ्न सुरु गरेका थिए । बेलुका बेलुका कोचिङ सेन्टरमा उनी पुग्थे ।
खासमा के भयो भने, शास्त्री पास गरे पछिको केही समय घर फर्केको मौका पारी उनले पाल्पाको स्कूलमा पढाए । तर स्कूलका विद्यार्थीहरूले नेपाली र संस्कृतको शिक्षकलाई ‘गुरु’ भन्ने र अंग्रेजीलगायतका अन्य विषयका शिक्षकहरूलाई ‘सर’ भनेको सुने पछि उनलाई लाग्यो, ‘ओहो ! अंगे्रजी त आवश्यक रहेछ ।’ यो बोध भए पछि नै उनले फेरि बनारस पुगेर अंग्रेजीको कक्षा लिन सुरु गरे ।
उनका अनुसार पाल्पा स्कूलमा संस्कृत र नेपालीका शिक्षकहरूलाई हेला गर्ने गरेको उनको अनुभव थियो । गुरुलाई ‘गोरु’ पनि सम्बोधन गरिदिन्थे विद्यार्थी । त्यहीबाट उनले अंग्रेजी शिक्षा पनि लिनुपर्छ भन्ने अठोट् गरे ।
त्यसपछि नै हो उनी, बनारसको गुप्ता कोचिङ सेन्टरमा भर्ना भएको । उप्रान्त उनी अंगे्रेजी सिक्न थाले । तर उनका ती गुरुहरूले थाहा पाए । थाहा पाएर उनलाई झपारे पनि । ‘तँ अंग्रेजी पढ्न किन गएको । तैले संस्कृत बिगार्ने भइस्’ पनि भने ।
उनले पनि केही दिन छोडे जस्तो त गरे । तर उनले गुप्ता कोचिङ सेन्टर धाउन छोडेका थिएनन् ।
अंग्रेजी विषयमा ध्यान दिँदै स्वअध्ययन अगाडि बढाए । त्यही क्रममा उनले युपी बोर्डबाट हाइस्कूल परीक्षा (म्याट्रिक) फर्स्ट डिभिजनमा पास गरे । त्यसपछि उनले इन्टरमिडियट पनि प्रथम श्रेणिमै पास गरे । त्यसपछि त्रिभूवन विश्वविद्यालयबाट उनले बीए प्रथम श्रेणीमा पास गरी २०२४ सालमा ‘अर्जुन पदक’ प्राप्त गरेका थिए ।
यसरी उनको संस्कृतको पढाइ पनि राम्रो र अंग्रेजी विषयको पढाई पनि राम्रो रह्यो । उनको अंग्रेजी भाषाको नतीजा देखेपछि भने संस्कृतका गुरुहरुले उनले पढ्नलाई रोकेनन् ।
यसरी उनले आइएसम्म बनारसमा पढे । अनि बीए र एमए नेपालबाट पुरा गरे ।
०००
उनका पिताजी संस्कृत विषय पढाउने पण्डित थिए । उनीहरूको बिहानको काम हुन्थ्यो, उनको जन्मथलोभन्दा केही पर रहेको खोलामा गएर नुहाउने र संस्कृतका श्लोकहरू वाचन गर्नेे । यो सन्दर्भ हो पाल्पा हुँगीको, जहाँ उनको जन्म भयो । उनको बाल्यकाल पनि त्यहीँ बित्यो । हुँगी तत्कालीन अवस्थामा नै चर्चित ठाउँ थियो ।
हुँगीको नाम पनि हुँगाबाट भएको गोपीकृष्ण शर्मा बताउँछन् । मगर भाषामा हुँगा भनेको बाँस हो । त्यस क्षेत्रका धेरैजसो ठाउँको नाम मगर भाषामै राखिएको उनी सम्झिन्छन् ।
उनका अनुसार हेक्लाङ, आरेभञ्ज्याङ नाम पनि मगर भाषाबाटै राखिएको हो । पछि आरेभञ्ज्याङलाई आर्यभञ्ज्याङ भन्न थालियो । त्यो नाम आर्य भाषाबाट नआएर मगर भाषामा नै भएको उनी भन्छन् । उनले बताएअनुसार मगर भाषामा ‘आरे’ भनेको लसुन हो ।
हुँगीमा केही आवासीय विद्यार्थीहरू पनि थिए । उनीहरू पनि शर्माका पिताजी रुद्रनाथ उपाध्यायसँग संस्कृत पढ्थे । कमलराज रेग्मीले पनि आफ्ना पिताजीसँग पढेको उनी सुनाउँदै थिए । बाल्यकालको त्यो समयमा बिहानै सबेरै उठेर आधा घण्टा हिँड्नु पर्दथ्यो । त्यसपछि कालिगण्डकी नदीको किनारमा पुगिन्थ्यो । त्यही बीचमा नदी किनार नपुग्दै एउटा कुलो आउँथ्यो ।
सजिउन भाँचेर त्यसको दतिउन गर्दै कालीगण्डकी नदी पुग्थे ।
प्राध्यापक शर्मा भन्छन्, “मेरा पिताजी स्नान पछि पूजापाठमा केही समय बिताउनु हुन्थ्यो । हामी भने छिटो घर फर्किन्थ्यौं । किनभने हामीले घोक्नु र पढ्नु पर्दथ्यो । त्यसबेला हामीलाई त्यो हिँडाई शरीरका लागि फलदायी छ भन्ने कुनै ज्ञान थिएन । हामी त बासँग हिँडेर जाने मात्रै हो ।”
नदीबाट फर्किएर उनीहरू जाडो महिना भए केही समय आगो ताप्थे अनि मात्रै लघु कौमुदी र अमर कोष घोक्नमा तल्लिन हुन्थे । त्यसबेला पढाई गरे पनि परीक्षा दिने चलन थिएन । हरेक विद्यार्थीलाई पाठ दिइन्थ्यो । र त्यो पाठ सकेपछि मात्रै अर्को पाठ जिम्मा लगाइन्थ्यो ।
यसरी पाठ पढ्दा दुई तीनदिन पछि त्यो पाठ सुनाउनु पर्दथ्यो विद्यार्थीले । अनि मात्रै अगाडिको पाठ पाइन्थ्यो । यसैले गर्दा आफ्नो भाषाको जग बनेको उनी स्वीकार्छन् । वि.सं. २०११ सालमा गोपीकृष्ण शर्मा काठमाडौं आए । उनी संस्कृत शिक्षामा उच्च शिक्षा हासिल गर्नै भनेर काठमाडौं आएका थिए । उनी काठमाडौं प्रवेश पछि संस्कृत पाठशालामा भर्ना भए । तर तीनधारा पाकशालाको छात्राबासमा ठाउँ नपाएकोले उनी हेमराज गुरुको घरमा नै बसेर पढे ।
तीनधारा पाकशालाको छात्राबासमा त्यो बेला पनि कोठा पाउन गाह्रो भएको उनी बताउँछन् । दरबार हाइस्कुलको तल्लो तलामा ‘रानीपोखरी संस्कृत पाठशाला’ थियो । संस्कृतको पढाई त्यहीँ हुन्थ्यो । संस्कृत पढ्ने ठाउँमा सुकल हुन्थ्यो । त्यही सुकुलमा बसेर पढ्नु पर्दथ्यो । गुरुका लागि भने एउटा कुर्सीको व्यवस्था गरिएको हुन्थ्यो ।
माथिको तलामा अंग्रेजी पढाई हुन्थ्यो । त्यहाँ पढने विद्यार्थीहरुका लागि डेस्क बेन्चको व्यवस्था गरिएको थियो । त्यो बखत अंग्रेजी पढ्न तिर उनको ध्यान त्यति गएन । संस्कृत नै पढ्दै प्रवेशिका स्तरको पूर्वमध्यमाको परीक्षा उनले प्रथम श्रेणिमा पास गरे ।
त्यसपछि उत्तरमध्यमा पढ्नलाई उनी राजकीय संस्कृत महाविद्यालयमा उनी भर्ना भए । त्यो विद्यालय पुतलीसडकमा थियो । त्यहाँबाट उनले उत्तरमध्यमाको पढाई पनि प्रथम श्रेणीका साथ पूरा गरे । शर्मा भन्छन्, “त्यहाँको पढाई मेरा लागि महत्वपूर्ण रह्यो । मैले त्यहाँ प्राचार्य पं. सोमनाथ शर्मा सिग्देल, पद्मप्रसाद भट्टराई र चुडानाथ भट्टराईजस्ता शिक्षकहरूबाट शिक्षा ग्रहण गर्न पाएँ । यि गुरुहरूको सानिध्यमा मेरो पढाइ राम्रो हुँदै गयो । त्यसपछि म शास्त्री पढ्न भनेर बनारस गएँ ।”
उनी २०१४ सालमा बनारस गए । त्यसो त शर्मालाई काठमाडौंबाटै शास्त्रीको पढाई पूरा गर्ने रहर थियो । तर उनका पिताजी बनारसबाटै शिक्षित भएकोले पिताजीको आँकाक्षालाई उनले नकार्न सकेनन् । उनी बनारस गए । र, वाराणसी संस्कृत विश्वविद्यालय अन्तरगतको विरला कलेजबाट आचार्यसम्मको अध्ययन पुरा गरे । उनले पढेको संस्कृत विश्वविद्यालयलाई सम्पूर्णानन्द संस्कृत विद्यालय भनिन्छ ।
बनारसमा उनले आचार्यमा स्वर्ण पदक पाए । संस्कृत साहित्यमा खेमराज केशवशरणले र व्याकरणमा उनले गोल्ड मेडल पाएको उनी आज पनि सम्झिन्छन् ।
०००
ब्याकरणाचार्यको जाँच दिएर शर्मा २०१९ सालमा बनारसबाट पाल्पा फर्किए । पाल्पामा यत्तिकै बस्नुको साटो उनी स्थानीय त्रिभूवन स्कूलमा पढाउन थाले । अर्थात् पाल्पा फर्किनासाथ उनको पढाउने कर्म सुरु भयो । उनले त्यहीँ पढाउँदा पढाउँदै आफू अंग्रेजीमा केही कमजोर भएको महसुस गरे । त्यसपछि पाल्पामै रहँदा उनले प्राइभेटबाट बीएको जाँच दिए । पास भए । त्यो वर्ष बीएमा उनी प्रथम भए ।
वास्तवमा संस्कृतमा आचार्य गरिसकेकोले उनले बीएमा राम्रो नम्बर ल्याएका थिए । त्यो पढाइले उनको अध्यापनकर्ममा फाइदा पुर्यायो । केही समय पछि उनले नेपाली विषयमा एमए पनि गरे । प्राध्यापक गोपीकृष्ण शर्माले संस्कृतमा आचार्यसम्मै प्रथम श्रेणिमा पास गरे भने नेपालीमा पनि उनले बीएसम्म प्रथम श्रेणीमा पास गरे । तर एमएमा भने आफूले प्रथम श्रेणि ल्याउन नसकेको उनी बताउँछन् ।
पाल्पास्थित त्रिभूवन स्कुलमा पढाउन सुरु गरिसकेका थिए गोपीकृष्ण शर्माले । त्यहीँ पढाउँदा पढाउँदै कलेज पनि खोलिने भयो । त्यहाँ कलेजको पनि पढाइ हुनथाल्यो । शर्माले पनि कलेजमा नेपाली पढाउन थाले । उनले आचार्य गरिसकेकोले कलेजमा पढाउन उनले पाए । उनी बिहान कलेजमा पढाउँथे । दिउँसो स्कूलमा ।
वि.सं. २०३० सालमा त्रिभूवन विश्वविद्यालयको उपप्राध्यापक पदमा उनी नियुक्त भए । किनभने त्रिभूवन कलेज पनि त्रिविवि अन्तरगत गाभियो ।
२०३५ सालभन्दा केहीअघि नेपाली विषय पढाउने शिक्षकहरूका लागि एक ‘ओरिएन्टेसन’ कार्यक्रमको आयोजनाका लागि केही प्रशिक्षक चयन गर्यो, त्रिविविले । प्रशिक्षकका लागि पाल्पाबाट शर्मा पनि चयन भए । उनी पनि ओरिएन्टेसन दिनका लागि पाल्पाबाट काठमाडौं हुँदै धेरै ठाउँमा पुगे । र प्रशिक्षण दिए । आफूले जानेको ज्ञान बाँडे ।
विशेषज्ञ भएर केही ठाउँमा गएर तालिम दिने काम सकिए पछि उनले प्रा.डा. वासुदेव त्रिपाठीलाई आफूले पनि काठमाडौं आएर पढाउन पाए हुन्थ्यो भन्ने कुरो गरे । त्यसको केही समय पछि २०३५ सालमा उनको सरुवा काठमाडौं भयो । उनी त्रिविवि कीर्तिपुर आए र पढाउन थाले ।
उनी २०१९ सालदेखि ०३५ सालसम्म पाल्पामा नै रहेर पढाए । पाल्पाबाट पढेका उनका विद्यार्थी अनगिन्ती छन् । उनले पढाएका विद्यार्थी रामप्रसाद श्रेष्ठ र खिलराज रेग्मीहरू मुलुककै उच्च पदमा पुगेको सम्झना गर्दा प्राध्यापक शर्माको अनुहार उज्यालियो । उनको अनुहारमा छाएको चमकले एउटा शिक्षकका लागि विद्यार्थीको उन्नतीले कति महत्व राख्छ भन्ने देखाउँदै थियो ।
पाल्पाबाट आएको शिक्षकलाई काठमाडौंको विद्यार्थी पढाउन सजिलो थिएन, तर पनि उनले पढाए । विद्यार्थीलाई राम्ररी पढाउन सकूँ भनेरै उनले दिनरात मिहिनेत पनि गरे । आफूले राति १२ बजेसम्म भोलिपल्टको क्लासको तयारी गर्ने गरेको उनी सुनाउँदै थिए ।
प्रा. गोपीकृष्ण शर्माले २०५९ साल माघसम्म त्रिभूवन विश्वविद्यालयमा पढाए । र, प्राध्यापकसम्मको यात्रा तय गरे ।
पाल्पाबाट आएर डिग्री पढ्दै गरेका विद्यार्थीलाई पढाउँदा कस्तो अनुभव हुन्थ्यो ? मैले सोध्दा उनी भन्छन्– “निश्चय पनि कसरी पढाउने भन्ने लाग्थ्यो ! त्यसैले मैले पढाउनैका लागि राति ११–१२ बजेसम्म तयारी गर्थेँ । यसका लागि मैले विभिन्न देशी–विदेशी विद्वान लेखकहरूका किताब पनि किनेर पढेँ । यसरी मेरो कक्षालाई मैले विद्यार्थीहरूका लागि आकर्षक बनाउँदै लगेँ ।”
उनका अनुसार त्यसबेलाका विद्यार्थी अनुशासित थिए । खासै टीका टिप्पणी गर्थेनन् । उनी आज पनि सम्झिन्छन्–कतिपय विद्यार्थीहरूले उनलाई कक्षा लिइदिन आग्रह गरेको । केही चर्चित शिक्षकको नाम लिएरै विद्यार्थीहरूले फलानो सर भन्दा गोपी सरसँग पढ्ने भन्थे । आफ्नो लागि यहि नै विद्यार्थीले दिएको मान र इज्जत ठान्दछन् उनी ।
काठमाडौंमा आएर पढाउन थाले पछि उनको लेखन समालोचना तर्फ अगाडि बढ्यो । पहिले उनी कविता लेख्थे । तर पछि उनको सिर्जनात्मक लेखन कम हुँदैगयो । समालोचनामा कलम चल्न थाल्यो । समालोचनाका आफैमा गाह्रो विषय हो । त्यसमाथि रुखो विषय । तर त्यसमा कलम चलाउन थाले पछि उनले त्यसका लागि पनि धेरै मेहनत गर्नुपरेको बताए । अनेक विश्व प्रशिद्ध पुस्तकहरूको अध्ययन गरे ।
यसरी समालोचनामा कलम चलाउँदै आएका शर्माका अनुसार उनले लेखेको समालोचनामाथि कडा टिप्पणी आएको उनलाई थाहा छैन ।
०००
उनी काठमाडौं आउँदा एक–से–एक प्राध्यापकहरू थिए कीर्तिपुरमा । तिनको माँग पनि थियो । त्यसैले तिनको तुलनामा आफ्ने कक्षा फितलो हुने हो कि भन्ने ‘कम्पलेक्स’ आफूमा रहेको उनी बताउँछन् । त्यही कम्पलेक्सले आफूलाई मिहिनेत गर्न मद्दत पुगेको उनको तर्क छ ।
अहिले रिटायर्ड लाइफ उनको सिर्जनात्मक लेखनमा रहेको छ । हालै उनको महिमा शीर्षकको खण्डकाव्य प्रकाशित भएको छ ।
कुराकानीको अन्त्यमा उनले एउटा रमाइलो प्रसंग सुनाए । कीर्तिपुरमा पढाउँदै गर्दा उनले विद्यावारिधिका लागि फर्म भरेर अनुमति लिए । तर विद्यावारिधि गरेनन् । प्रा. शर्माले हास्दै भने, “मैले मात्रै होइन, त्यसबेला शरदचन्द्र भट्टराई, घटराज भट्टराई, ठाकुरप्रसाद पराजुली, मोहनराज शर्मा, दैवज्ञराज न्यौपाने, घनश्याम कँडेल, यि कसैले पनि विद्यावारिधि गरेनन् ! जबकी अनुमति सबैले लिएका थिए । यो संयोग मात्रै थियो । सबैले एकै पटक विद्यावारिधि नगर्ने भनेर घोषणा गरेको होइनन् ।”