काठमाडौं । सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहोराको मुद्दामा सर्वोच्च अदालतले यसअघिको फैसला उल्टाएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र हरिप्रसाद फुयाँलको संयुक्त इजलाशले यसअघि पुनरावेदन अदालतले गरेको फैसला उल्टाएको हो ।
यसअघि पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले बैतडी जिल्ला अदालतको निर्णय उल्टाउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो । त्यसपछि ०७१ पुष २ गते यो मुद्दा सर्वोच्चमा आएको थियो ।
बिहीबार सो मुद्दामा बन्द इजलाशमा सुनुवाई गर्दै यसअघिको फैसला उल्टाउँदै ०७४ साउन १ गतेबाट लागु भएको फौजदारी संहिताअनुसार सजाय निर्धारणका लागि पनि आदेश गरिएको छ । अब पुनरावेदनको फैसला उल्टाएकै सर्वोच्चको न्यायाधीद्वय सपना मल्ल प्रधान र हरिप्रसाद फुयाँलको संयुक्त इजलाशले नयाँ सजाय निर्धारण गर्नेछ ।
२०६८ सालको प्रवेशिका परीक्षा चलिरहेका बेला गणित विषयको गेसपेपर किन्न जाँदा बैतडी जिल्ला भूमेश्वर- ३ को जगन्नाथ पुस्तक पसलका सञ्चालक सागर भट्ट र सोही जिल्ला गुजर-२ को चाँदनी फोटो स्टुडियोका सञ्चालक अमर अवस्थीले उनलाई बलात्कार गरेको विषयमा सर्वोच्चमा मुद्दा चलिरहेको थियो ।
२०६९ साल पुस ९ गते जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई बलात्कारी ठहर गर्दै १३ वर्ष कैद र जनही ५०-५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर, पुनरावेदनले भने जिल्लाको फैसला उल्ट्याउँदै दुबैजनालाई सफाई दिएको थियो ।