site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो कथा सिद्धिचरण श्रेष्ठलाई सुनाएँ 
SkywellSkywell

स्कूलका शिक्षकहरूको प्रेरणा, घरको सांगीतिक परिवेश अनि पठनपाठनमा परिवारका सबैको रुचीका कारण नै उनको साहित्यप्रति रुची झाङ्गिदै गएको थियो । सानो उमेरमा गीत गाउने र नाच्ने सोख त छँदैथियो, कविता र निबन्धमा कलम चलाउने चस्का पनि लाग्यो । 

कन्या स्कूलबाटै उनले एसएलसी दिइन् । त्यसपछिको खाली समयमा उनले भ्याएजत्तिको पत्रपत्रिका र पुस्तकहरू पढिन् । उनले बीए पढ्दै गरेका दिदीहरूको कोर्सको किताब पनि पढेर बुत्याइन् । सुलोचना महाकाव्य पनि उनले पढेर सकिन् । त्यसबेला उनलाई पढ्नुसँग मतलब थियो, बुझनुसँग थिएन ।   

त्यही खाली समयमा उनले केही कथाहरू लेखिन् । कथा लेख्ने काम गरे पनि उनले त्यसलाई प्रकाशन पनि गर्नुपर्छ भन्ने तर्फ सोचिनन् । उमेरै त्यस्तो थियो । सोच्ने कुरो पनि थिएन । 

KFC Island Ad
NIC Asia

यसरी विभिन्न पत्रपत्रिकाहरूमा अरुले लेखेका कथा पढ्दापढ्दै उनले कथा लेख्न सुरु गरेकी थिइन् । लेख्दै राख्दै गर्नु उनको काम भएको थियो ।

बुधबार दिउँसो प्रज्ञा प्रतिष्ठान परिसरमा भेट हुँदा कथाकार पद्मावती सिंह (७१) जीवनको त्यो समय सम्झिँदै थिइन्, जतिबेला उनले सुलोचना महाकाव्य पढिन् । उनी भन्दै थिइन्, “त्यसबेला ‘सुलोचना महाकाव्य’ पढेर मैले कति बुझेँ कति बुझिनँ, त्यो बेग्लै पाटो हो । तर पढ्नमा यति रस बसेको थियो कि मैले जुनै किताब पाए पनि पढेर सिध्याइ हाल्थेँ ।” 

Royal Enfield Island Ad

कथाकार पद्मावती सिंहका पिताजी परशुरामभक्त माथेमाले आफ्ना छोराछोरीलाई जहिले पनि नेपाली भाषामा जोड दिन भन्थे । उनको घरमा सबैजना नेपालीमै कुराकानी गर्थे । त्यसले गर्दा नै उनको नेपाली राम्रो भएको थियो ।

नेपाली राम्रो भएकै कारण उनलाई लेख्न प्रेरित गरिएको थियो । त्यही उत्प्रेरणाले कथा कविता लेख्दै गएकी पद्मावतीले ती कथा कतै छपाउने काम गरिनन् । 

एसएलसी पास भएपछि उनी त्रिचन्द्र कलेजमा आइएससी पढ्न थालिन् । आइएससी पढे पनि उनको लेखनप्रतिको रुचीमा कमि आएको थिएन । एकदिन उनकी दिदीले उनको कथाहरू लेखिएको नोटबुक फेला पारिन् । दिदीले सोधिन्, ‘यो तिमीले कहाँबाट सारेको ?’

उनले ‘आफैले लेखेको हो’ भनेर जवाफ दिइन् । 

केही समयपछि उनकी दिदीले डायरीमा रहेको एउटा कथा निकालेर एउटा पत्रिकामा प्रकाशन गर्न दिइन् ‘आरती’ पत्रिकामा । दिदीले पत्रिकामा कथा दिएको पद्मावतीलाई थाहा थिएन । 

२०२२ सालमा आरतीमा सुश्री पद्मा माथेमाका नामबाट एउटा कथा छापियो । पत्रिकामा छापिएको त्यो कथा पढेर कोही साथीले उनलाई कथा छापिएको सुनायो । यो थाहा पाएपछि उनी पत्रिका किन्न गइन् ।

पत्रिकामा छापिएको कथा देखेर उनी आफै छक्क परिन् ! कथा आफ्नै थियो । तर आफूले कसैलाई कथा नदिएकोले कसरी छापियो भन्ने विषयले पनि उनलाई छक्क पारेको थियो । उनी पत्रिका किनेर घर तिर लागिन् । 

घर पुगेर कथा छापिएको कुरो दिदीलाई सुनाइन् । दिदीले ‘मैले नै कथा दिएको थिएँ’ भने पछि उनी चकित परिन् । उनी यदि दङ्ग थिइन् कि उनलाई यो कथा कसलाई सुनाउँ कसलाई सुनाउँ भइरहेको थियो । उनी पत्रिका बोकेर छिमेकमै रहेका युगकवि सिद्धिचरण श्रेष्ठको घरमा पुगिन् ।

पद्मावतीले त्यो कथा सिद्धिचरणलाई सुनाइन् । कवि श्रेष्ठले कथा अद्योपान्त सुने । 

उनी भन्छिन्, “त्यसदिन सिद्धिचरण श्रेष्ठले भन्नु भएको कुरा मलाई अहिले पनि सम्झना छ । उहाँले मलाई भन्नु भयो ‘हेर, तिम्रो बुवा र बाजेको नाम जति ठूलो छ, तिमीले लेख्दै गयौ भने तिम्रो नाम तिम्रो नाम बुबा र हजुरबुवा भन्दा पनि ठूलो हुनेछ । यसरी सिद्धिचरण श्रेष्ठले मलाई उत्प्रेरित गर्नु भएको थियो ।”

सिद्धिचरणको यो भनाइले पद्मावतीमा अधिक उत्साह छायो । उनले निरन्तर लेख्दै गइन् । पत्रिकामा छापिए पनि नछापिए पनि लेख्ने काम भने उनले छोडिनन् ।

त्यसबेला पुराना साहित्यकारहरूले आफूलाई सँधै उत्प्रेरित गरेको उनी बताउँछिन् । कवि भिमदर्शन रोक्का, कृष्णचन्द्रसिंह प्रधान, विजय मल्ल, ईश्वर बल्लभलगायतले आफूलाई यस क्षेत्रमा सदैव क्रियाशील रहन प्रेरित गरिरहे । 

साहित्यकार पद्मावती सिंहको जन्म काठमाडौंमा भयो । ओमबहाल टोलमा उनी हुर्किन्, बढिन् । युगकवि सिद्धिचरण श्रेष्ठको घर छेउमै उनको पिताजीको घर थियो । 

पद्मावतीमा अनुसार उनी साहित्यकारहरूको संगतमा सानै उमेरदेखि रहिन् । छिमेकमा भएकोले कवि श्रेष्ठसँगको संगत अस्वाभाविक थिएन । त्यसमाथि सिद्धिचरणकी छोरी शान्ता पद्मावतीकी साथी थिइन् । त्यसैले पनि सिद्धिचरणको घरमा आउने जाने थियो । छुट्टी मिल्यो कि सिद्धिचरणको घर पुग्थिन् पद्मावती । सानोमा पुतली खेल्ने काम सिद्धिचरणकी छोरीसितै हुन्थ्यो ।

कहिले शान्ता कहाँ पद्मा पुग्थिन् त कहिले शान्ता पद्मा कहाँ आउँथिन् । यसरी बाल्यावस्थादेखि नै साहित्यसँग नजानिँदो सम्बन्ध गाँसिएको थियो ।

त्यस बेला न्योह्खाको कन्यामन्दिर स्कूलमा पढ्थिन्, पद्मावती । त्यस स्कूलमा साहित्यकार कृष्णचन्द्र सिंह प्रधानले पनि पढाउँथे । स्कूलमा अंग्रेजी पढाउने शिक्षक थिए कवि भिमदर्शन रोक्का । पद्मावतीमा अनुसार त्यसबेला कन्या स्कूल एउटा राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्ने स्कूलमा गनिन्थ्यो । 

सानै उमेर भएकोले साहित्यप्रति त्योबेला खासै रुची थिएन । तर सांगीतिक र कलात्मक वातावरण थियो उनको घरमा । उनका पिताजी व्यापार व्यवसायका साथै राजनीतिमा पनि सक्रिय थिए । त्यसैले केआई सिंह प्रधानमन्त्री भएको बेला उनका पिताजी परशुरामभक्त माथेमा उद्योगमन्त्री पनि भएका थिए । 

पद्मावती भन्छिन्, “जनसेवा सिनेमा हल नजिक एउटा चिल्ड्रेन्स क्लब थियो । जनसेवा हल मेरा काका दयारामभक्त माथेमाको थियो । त्यहीँ थियो क्लब । जहाँ हामी केटाकेटीहरू गइरहन्थ्यौँ । त्यहाँ बेलाबेलामा केटाकेटीहरूका लागि गोष्ठी भइरहन्थ्यो । त्यहाँ हुने कार्यक्रममा शंकर लामिछाने पनि आइरहनु हुन्थ्यो । भिमदर्शन रोक्का पनि आउनु हुन्थ्यो ।”

चिल्ड्रेन्स क्लबमा उपस्थित भएका केटाकेटीहरूले आफ्नो ‘ट्यालेन्ट शो’ गर्नु पर्दथ्यो । जसले जे जानेको हुन्थ्यो, उसले त्यही प्रस्तुति दिन्थ्यो । पद्मावती माथेमा नाच्न र गाउन पोख्त थिइन् । त्यसैले उनी त्यहाँ नाच्थिन्, गाउँथिन् । 

एक पटक चिल्ड्रेन्स क्लबको कार्यक्रममा जाँदा उनका शिक्षक भिमदर्शन रोक्काले कविता लेखेर ल्याउन भने । उनले पनि पहिलो पटक कविता लेखिन् । र चिल्ड्रेन्स क्लबमा सुनाइन् ।

उनी हाँसिन् । भनिन्, “म यस्तै आठ नौ वर्षकी थिएँ । भिमदर्शन रोक्काले भनि सकेपछि मैले ‘मेरो फूलबारी’ शीर्षकमा एउटा कविता लेखेँ । त्यो कविता जम्मा आठ हरफको थियो । त्यो कविता पाठ गरेपछि ‘स्याबास माथु’ भनेर धाप मार्नु भयो भिमदर्शन रोक्काले । उहाँले मलाई सधै माथु भन्नु हुन्थ्यो ।”

कविता वाचनमा पाएको स्याबासीबाट उनी हौसिइन् । नौ कक्षामा पढ्दा स्कूलमा अन्तरविद्यालय निबन्ध प्रतियोगिता हुनेभयो । पद्मावतीको नेपाली भाषा राम्रो भएकोले साहित्यकार शिक्षक कृष्णचन्द्रसिंह प्रधानले उनलाई निबन्ध लेख्न भने । ‘तिम्रो नेपाली राम्रो छ । तिमी पनि निबन्ध प्रतियोगितामा भाग लेउ’ भनेर प्रधानले भनेपछि उनलाई पनि रहर जाग्यो निबन्ध लेख्ने । 

प्रतियोगिताका लागि केही विषयहरू तोकिएको थियो । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा माथि निबन्ध लेख्ने तयारी गरिन् । अन्ततः उनले प्रतियोगितामा भाग लिइन् । प्रतियोगितामा उनी तेस्रो भइन् । 

यसरी साहित्यकारहरूको संगतमा उनको बाल्यकाल बित्दै गयो । बिस्तारै साहित्यप्रतिको रुची र यतातिरको उत्साहमा वृद्धि हुँदैगयो । फलतः पद्मावतीले आफ्नो लेखनलाई अगाडि बढाउँदै लगिन् । ‘लेख्नु पर्ने रहेछ..’ भन्ने ज्ञान हुँदैगयो । 

०००
पद्मावतीको घरको वातावरण पनि पठनपाठनमा लाग्ने खालको थियो । उनका पिताजी आधुनिक विचारका थिए । छोरा र छोरीमा विभेद हुनुहुन्न भन्ने मान्यता उनको थियोे । त्यसैले उनी छोरीहरूलाई पनि पढाउनु पर्छ भनेरै लागे । पद्मावतीका सबै दिदीहरूले त्यो समयमा भारतको इलाहावाद गएर एमए पढे ।

उनका पिताजीले सधै आफ्ना छोराछोरीलाई उत्साहित र अभिप्रेरित गरे, पढ्न लेख्न । पिताजी भन्थे ‘तिमीहरू डराउने होइन । हरेक काम गर्न गर्नु पर्छ तिमीहरूले ।

आफ्नी ९१ वर्षिया दिदी कौशिला जोशीले लामो समयसम्म रत्नराज्य कलेजमा पढाएको उनी सुनाउँदै थिइन् । 

पद्मावतीका पिताजी संगीतमा पारंगत थिए । उनी शास्त्रीय गीत पनि गाउँथे । पिताजीले कहिले काहीँ नारायणहिटी दरबारमा गएर गीत गाउने गरेको उनको सम्झनामा छ । 

उनका पिताजीले २००२–०३ सालमै संगीत सम्बन्धी किताब लेखेका थिए ‘संगीत प्रवेशिका’ । आफ्ना पिताजीले कलकत्तामा पढ्दाताका नै शास्त्रीय गायन सिकेको उनी बताउँदै थिइन् ।

उनी भन्छिन्, “पेशा व्यापार व्यवसाय भए पनि पछि गएर उहाँ राजनीतिमा लाग्नु भयो । तर उहाँको अथाह रुची संगीतमा थियो । त्यसैले पनि होला ममा नाच्ने गाउने रुची भएको ! दरबारमा मात्रै होइन, हाम्रो माइतीघरमै पनि समय समयमा सांगीतिक जमघट हुन्थ्यो । त्यसबेलाका चर्चित गायकहरूको भीड लाग्थ्यो घरमा । गायकहरूको दोहोरी वा जुगलबन्दी चल्थ्यो । हामी भने उहाँहरूलाई सुन्थ्यौं ।”

पारिवारिक रुपमा संगीत कलाको सामिप्यता र स्कूलमा साहित्यका हस्तीहरूसँग शिक्षा ग्रहण । यसले पद्मावतीलाई सदैव कला साहित्यप्रति प्रेरित गर्यो । उनका अनुसार, उनकी दिदीलाई विजय मल्लले पढाउँथे । उनका शिक्षक थिए कृष्णचन्द्र र भिमदर्शन । सिद्धिचरणको घरमा सँधैको जाने आउने थियो नै । शंकर लामिछाने उनको दाजुको मिल्ने साथी थिए । तर उनीहरू त्यसबेलाका चर्चित र ठूला साहित्यकार हुन भन्ने पद्मावतीलाई थाहा थिएन ! 
उनका बाजे नारायणभक्त तत्कालिन समयमा बडाकाजी थिए दरबारमा । उनका बाजेका बुवा तत्कालीन समयमा सरदार थिए दरबारमा । पिताजी पनि मीर सुब्बा थिए । 

नेपाली बोल्न राम्ररी नजानेर वा उच्चारणमा गडबड होला, भनेरै पद्मावतीका पिताजीले उनका सबै दाजुभाइ दिदीबहिनीलाई नेपालीमा विशेष ध्यान दिन भनेका थिए । घरमा पनि नेपाली नै बोलिन्थ्यो । 

पद्मावती सिंहले हाँस्दै एउटा कथा सुनाइन् । भनिन्, “उहिल्यै हाम्रो घरमा चन्द्रशमशेर पास्नी या कसैको बिहेमा आएका थिए । त्यहाँ आउँदा कुराकानी गर्ने क्रममा उनले मेरा फुपूहरूसँग कुरा गर्न खोजे । फुपूहरू भने नेपाली राम्रो बोल्न नजानेर लजाएर बोल्नै नसकी भाग्नु भयो र ! सायद त्यसैले होला, पिताजीले सँधै हामीलाई नेपाली भाषामा जोड दिन भन्नु भएको ।”

पिताजीको यो आदेशसँगै उनको नेपाली भाषामा रुची बढ्दो थियो । सँगै शिक्षकहरूको प्रेरणाले उनको भाषाप्रतिको मोहमा अझै वृद्धि हुँदैगयो । उनको लेखनले गति लिँदैगयो । छापिए पनि नछापिए पनि उनले लेख्न छाडिनन् । 

उनी त्रिचन्द्र कलेजमा साइन्स पढ्थिन् । किनभने उनको पिताजीको इच्छा थियो, पद्मावतीलाई डाक्टर बनाउने । तर पिताजीको असमयमै भएको निधनले पिताजीको त्यो चाहना पूरा हुन सकेन । बीएससी पढ्दापढ्दै बिहे भयो । त्यस पछि जिन्दगीले अर्को बाटो समायो ।

समय बितेसँगै बच्चाबच्ची हुँदैगए । बच्चाहरू हुर्किए पछि उनले अंग्रेजी विषय लिएर बीए पास गरिन् ।
०००

उनी गर्भवती भएको कारण उनले बीएससीको फाइनल जाँच दिन पाइनन् । त्यसपछि उनको लेखन क्रम सुस्त हुँदैगयो । घर र बच्चाबच्चीमै उनको ध्यान केन्द्रित रह्यो । उनको समय तिनकै स्याहार सुसारमा बित्दो थियो । यसको प्रत्यक्ष असर लेखनमा पर्नु स्वाभाविक थियो । 

एक पटक उनी साथी शान्तासँग भेट्न गइन् । उनी रुपरेखाका सम्पादक उत्तम कुँवरकी पत्नी थिइन् । एक दिन शान्ता कुँवरसँग भेट्न जाँदा उत्तम कुँवर भेट भए । रुपरेखाको नाम चर्चामा थियो त्यसबेला । उनले पनि आफूले कथा लेख्ने गरेको बताइन् । उत्तम कुँवरले कथा ल्याइदिन भने । त्यसपछि उनको एउटा कथा रुपरेखामा छापियो । वास्तवमा यो उनको अर्को इनिङ थियो, कथा प्रकाशनको । 

त्यसपछि फेरि उनको लेखनको गति अगाडि बढ्यो । रुपरेखामा कथा छापिएपछि उनलाई लाग्यो, ‘ओहो, मेरो पनि कथा त छापिँदो रहेछ ।’

त्यसबेला रुपरेखामा ईश्वर बल्लभ पनि काम गर्थे । उनले पनि पद्मावतीलाई लेख्न सुझाइरहे । उनले पनि कथा कविता लेख्दै गइन् । उनको रचना छापिँदै गयो । यसरी मधुपर्क, प्रतिध्वनी, दीपिकालगायतका अरु पनि धेरै पत्रिकाहरूमा पद्मावतीले लेख्दै गइन् । पत्रिकामा उनको रचना छापिँदै गयो । 

२०३०–३१ साल तिर उनले नेपाल परिवार नियोजन संघको सूचना शिक्षा सेक्सनमा जागिर सुरु गरिन् । संघले ‘नियोजन’ भन्ने पत्रिका निकाल्थ्यो । त्यो पत्रिकाको सहायक सम्पादकका रुपमा उनको काम सुरु भयो । 
त्यहाँ पनि उनको भेट लेखकहरूसँगै हुन थाल्यो । त्यहाँ यादव खरेल, जगदीश घिमिरे, विजय थापा, हेम हमालहरू काम गर्थे । पछि त्यहीँ सम्पादक भएर ईश्वर बल्लभ पनि आए ।

यसरी लेखकहरूको समूहमा उनी मिसिन पुगिन् । त्यसपछि परिवार नियोजनको त्यो पत्रिकामा उनले परिवार नियोजनसँग विषय मिल्दो कथाहरू मागेर छाप्न थालिन् । त्यो बेला परिवार नियोजनले एउटा लेख रचनाको पाँच सय रुपैयाँसम्म दिने गरेको उनि सम्झिन्छिन् ।

पछि उनी पनि नियोजन पत्रिकाको सम्पादक पनि भइन् । पहिले इश्वर बल्लभ सम्पादक थिए । उनलाई भेट्न धेरै लेखकहरू आइरहने भएकोले पनि उनको सम्वन्ध धेरै लेखकहरुसँग हुँदै गएको थियो । 

यसरी लेखकहरुसँग भेट हुँदै गएपछि कथालाई अझै परिस्कृत रुपमा प्रस्तुत गर्ने सोच विकसित हुँदै गयो । धेरैजसोले त्यो बेला महिला लेखक नभएकोले महिला लेखकहरूले अगाडि बढ्नु पर्ने बताउँदै आएका थिए । 

इश्वर बल्लभको एउटा प्रसंग उनले सुनाइन् । पद्मावती भन्छिन्, “परिवार नियोजनमा हुँदै एक दिन इश्वर बल्लभले मलाई भन्नु भयो ‘पद्माजी, तपाई कविता नलेख्नुस् । तपाई कथामा नै केन्द्रीत हुनुस् । तपाईको कथा राम्रो छ । त्यसपछि मैले कथा मात्रै लेख्न थालेँ ।”

०००
पद्मावती गायिका पनि हुन् । उनले धेरै गीत गाएकी छन् । उनी परिवार नियोजनको सूचना शाखामा काम गदैगर्दा रेडियो कार्यक्रम चलाउँथे दामोदर अधिकारी । एक दिन अफिसको एउटा कार्यक्रम आयोजना हुँदा पद्मावतीले पनि गीत गाइन् । उनले गीत गाएको दामोदर अधिकारीले सुने । त्यसपछि उनै अधिकारीले पद्मावतीलाई रेडियो नेपालमा भ्वाइस टेष्ट दिन भने । 

पहिले त उनी मानिनन् । तर दामोदर अधिकारीले कर गरे पछि उनले नाइँ भन्न सकिनन् । उनले भ्वाइस टेष्ट दिइन् । पास भइन् । त्यस पछि उनले गीत गाउने समय पाइन् । तर गीत थिएन । त्यसैले एउटा गीत आफैले लेखिन् र ज्ञानबहादुरको संगीतमा गाइन् । 

यसरी गीत गाउन सुरु गरेकी पद्मावती सिंहले दर्जन बढी गीत गाइन् । उनको दुई वटा एलबम पनि प्रकाशित छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro