काठमाडौं । आम रुपमा हाम्रो देश अहिले दसैं मनाउन व्यस्त छ । तर, केही यस्ता पात्रहरु पनि छन्, जसलाई दसैं दुख्ने गरेको छ । जसले पीडामाथि झन् पीडा थप्ने गरेको छ ।
यसरी दसैंले दुखाउने केही प्रतिनिधि पात्रलाई हामीले यसपालि कुरा गरेका छौं । जो विगतको १० वर्षे द्वन्द्वसँग जोडिएका छन् । सो द्वन्द्वका क्रममा करिब १७ हजार मानिस मारिएका थिए भने करिब अढाइ हजार मानिस बेपत्ता भएका थिए । तिनका परिवारका पीडा यी प्रतिनिधि पात्रले भनेकैसँग मिल्दो जुल्दो छ । उनीहरु भन्छन्, ‘‘दसैं आएपछि ती आफन्तको सम्झना आउँछ । त्यसैले दसैं नै नआए हुन्थ्यो जस्तो लाग्छ । ’’
विगतको द्वन्द्वमा मारिएका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने, ‘‘दसैंको लागि विद्यालय बन्द भएसँगै सानी छोरीले बाबा हामी पनि दसैंमा गाउ“ जाऔं न, सबै गाउँ जान्छन्, हामीचाहिँ नजाने भनिन् । तर २०५८ सालसँगै परिवारमा दसैंको रोमाञ्चकता र रौनक हराएर गयो । २०५८ सालको दसैंमा स्कूल शिक्षकहरुबाट चन्दा माग्न घरमै आएका माओवादीहरुलाई मान्छे मार्नका लागि जवर्जस्ती लादिएको चन्दा नदिने स्कूल शिक्षकहरुको निर्णय बुवाले माओवादीहरुलाई सुनाउनुभयो । उनीहरु कारवाही गछौं भनेर हिँडे । २०५८ माघ ३ मा पाणिनी संंस्कृत माध्यमिक विद्यालयमा कक्षामा पढाइरहेकै अवस्थाबाटै बुवालाई जवर्जस्ती अपहरण गरेर हत्या गरेपछिका वर्षहरुमा दसैं जस्ता चाडवाड केवल भित्ताको क्यालेण्डर र औपचारिकतामा सीमित रहने गरेका छन् ।’’
उनले सम्झिँदै थपे, ‘‘बुवाको हत्याको कैयौं वर्षसम्म त दसैंमा टीका नै लगाइएन, दसैं नै किन आउँदो हो भन्ने अवस्था रहिरह्यो, आमा अझै पनि टिका लगाउन मान्नुहुन्न । बुवाको हत्यासँगै परिवारको विस्थापनपछि खरको घर भत्कियो । गएर बस्ने स्थानको पनि अभाव भयो । दसै मनाउने र मनाउनका लागि गा“उ जाने, आफ्नो थात्थलोमा सपरिवार दशै लगायतका चाडवाड मनाउने साइनो नै भंग भयो । स“ाच्चि नै हो मनमा खुशी रमाइलो भए पो चाडवाड मनाउनुको अर्थ हुन्छ, दसैंको रौनक र रमाइलोले छुन्छ ।’’
‘‘वर्षेनी आउने चाडपर्वले हजारौं द्वन्द्वपीडितहरुको पीडा बल्झाउने गरेका छन् । सधैं पीडा सम्झेर बसेर कहाँ हुन्छ, उतिबेला जे जे भयो विसर्नुपर्दछ भन्छ समाज । तर द्वन्द्वले हजारौं
नागरिकहरुलाई पलपल र जीन्दगीभर पीडित बनाएको छ, जीवन उजाड बनाएको छ, सबै हाँसो खुशी र आँसु लुटेको छ, भविष्य अन्धकार बनाएको छ । बाल्यकालमा आफ्नै अगाडि घरको मजेरीमा गरिएको बाबुको हत्याको पीडाबाट त्यो व्यक्तिले कसरी भुल्न सक्छ ? बेपत्ता पारिएको आफ्नो श्रीमान्को अवस्था के छ भन्ने थाहा नपाएकी, श्रीमान् कहिले आउलान् भनेर कुरिरहेकीे, केही खस्रक्क गर्दा नि श्रीमान् नै आए कि भनेर आशावादी हुने वर्षौदेखि व्याकुल भइरहेकी असहाय श्रीमतीलाई चाडवाडले खुशीको साटो झन् पीडा, याद र अभावमा पिल्स्याउने मात्र गरेको छ ।
छरछिमेकका आफू सँगैका साथीहरु वुवाआमाको अविभावकत्वमा रमाएका, वावुआमाको हातबाट टीका थापेको क्षणहरुबाट द्वन्द्वकालमा अविभावक हत्या गरिएका, बेपत्ता पारिएका व्यक्तिका परिवारका सन्ततिहरु पीडा, विगत एवं अविभावकको स्मृतिबाट यस्तै गरी उद्धेलित हुने गर्दछन्,’’ सुमन भन्छन् ।
‘‘२०५२ सालमा सशस्त्र द्वन्द्वसँगै सरकार र विद्रोही पक्षबाट भएका हिंसा, आतंक, त्रास, दुव्र्यवहार तथा डरधम्कीका कारण गाउ“घरबाट नागरिकहरु विस्थापित भए । जीउज्यानको सुरक्षाका कारण नागरिकहरुको विस्थापनसँगै गाउघरमा रोजगारी तथा जीविकोपार्जनका अवस्थाहरु समेत विस्थापित भए । फलतः गाउ“घरमा जनघनत्व निकै पातलियो । अधिकांश घरहरु रित्तिए, भएका घरमा पनि असहाय बूढाबूढी र केटाकेटी मात्र रहे, बसाई नभएका हजारौं घरहरु भत्किए । तीन खेती लाग्ने गैरीखेतहरु बाँझिए, सामाजिक सरसहयोग र भाइचाराको नमूना रहेको नेपाली समाजमा गाउ“घरमा लास पर्दा, विमारी सहयोग गर्ने, बोक्ने मान्छेको अभाव भयो । सशस्त्र द्वन्द्वको दीर्घकालीन असरका कारण गाउ“घर र गाउ“घरमा दसैंको रौनकमा ठूलो गिरावट आयो,’’ सुमनले अगाडि थपे,‘‘ यसवर्ष पनि परम्परागत रुपमा राष्ट्रपति, प्रधानमन्त्री एवं दलका नेताहरुले दसैंका अवसरमा शुभकामना सन्देशहरु जारी गर्नेछन् । तर ती शुभकामनाहरु औपचारिकता निभाउने र देखावटी मात्र हुनेछन् । त्यस्ता सन्देशले राज्यको सदैव उपेक्षामा परेका पीडितमा पिल्सिएका आम द्वन्द्वपीडितहरुमा कुनै खुशी, आत्मीयता र रौनकको सञ्चार गर्दैन । तीनै पीडितहरुको पीडाव्यथा, अभाव, आ“सु रुवाई तथा रगतको जगमा सत्तामा पुगेका राज्य सञ्चालकहरुले पीडितहरुको पीडाको संवेदनशीलता आत्मसात गर्नुपर्दछ । उनीहरुको पीडामा यथार्थमै मल्हम लगाउने इमान्दार प्रयास गरेमात्र पीडितका मुहार, जीवन एवं चाडवाडमा थोरै भएपनि सहजता ल्याउन सक्ने थियो । अन्यथा यस्ता पर्वहरुले आकुलव्याकुल रहेका हजारौं पीडितलाई खुशीको साटो पीडामात्र दिइरहनेछन् ।’’
अर्कातर्फ आफ्ना भाइ उज्जनकुमार श्रेष्ठको हत्यारालाई कारवाही गर्नुपर्ने विषयलाई लिएर लामो समयसम्म मुद्दा मामिलामा संलग्न सावित्री श्रेष्ठ भन्छिन्, ‘‘हाम्रो जिन्दगी पीडा नै पीडाले भरिएको छ । मेरो परीवारमा न खुशी कहिल्यै आउँछ नत हाँसो नै आउँछ ।’’
उनले थपिन्,‘‘ हरेक वर्ष किन आउँछ दसै र चाडवाड जस्तो लाग्छ । किन सधै सधै याद दिलाउँछ ? हामीलाई रुवाउँछ । यो दैि हाम्रो लागि ठूलो पीडा दिने चाड भएर आउने गरेको छ । दाजुभाइलाई यसले सम्झाउने गर्छ । नआए हुन्थ्यो जस्तो लाग्छ ।’’
सावित्रीले द्वन्द्वका क्रममा तीनजना आफन्त गुमाउनुपर्यो । भाइ उज्जनकुमार श्रेष्ठ मारिए भने मारिएका भाइको बारेमा उजुरी गरेको भनी दाजु गणेशकुमार श्रेष्ठ पनि मारिए । गणेश रहेको स्थान देखाइदिने उनकै छोरी रचना अर्थात् सावित्रीकी भदैले बाबुको हत्या सहन नसकेर आत्महत्या गरिन् । यो प्रकरणमा अदालतले एमाओवादीका नेता बालकृष्ण ढुंगेललाई कैद सजाय तोकेकोमा उनी अहिले राज्यका तर्फबाट माफी पाएर छुटिसकेका छन् ।
द्वन्द्वपीडित रामकुमार भण्डारी भन्छन्, ‘‘दसै परिवारको पुनर्मिलन, भेटघाट र रमाइलो गर्ने सामाजिक चाड हो । तर, पीडितहरु खासगरी बेपत्ता परिवारलाई साह्रै पीडा हुन्छ । हामीले खुसीका साथ दसैं नमनाएको वर्षौं भयो । पारिवारिक पुनर्मिलन पनि हुन सकेको छैन, बेपत्ताको खबर पनि आएको छैन । ठूलो रिक्तता र पीडा महससुस हुने रहेछ । त्यसमाथि परिचित पीडकहरुको हालीमुहाली देख्दा साह्रै दुख लाग्छ ।’’
‘‘यस्ता चाडवाड भनेका पीडितलाई झन पीडा दिने चाड जस्तो महसुस भइरहेको छ । यस्ता चाडले हामीलाई बदलाको भावना ल्याउने गरेको छ । फेरि प्रश्न गर्न मन लाग्छ— सत्य लुकाएर पीडितहरुको खुसी खोस्दा तिमीहरुलाई हाम्रो स्राप लागोस् । न्याय मरेको देशमा पीडितहरुलाई दसैं छैन, पीडकहरुले हर्षोल्लास गरुन्,’’ भण्डारी भन्छन् ।
रामकुमारका बाबु तेजबहादुर भण्डारीलाई लमजुङ्गको बेशीशहरबाट २०५८ साल पुस १६ गते सुरक्षाकर्मीले पक्राउ गरेर सीडीओ कार्यालयमा लगेको थियो । पछि सेनाले लगेको भनियो तर उनी कहिल्यै फर्केर आएनन् ।
माथिका प्रतिनिधिपात्र मात्रै होइन, पति गुमाएकी पूर्णिमाया लामा, छोरी गुमाएकी देवी सुनुवार, बाबु गुमाएका फडिन्द्र लुइँटेल वा यातना खेप्नुपरेका जनक राउत नै किन नहुन् न्याय नपाउँदा उनीहरुको मन कुँडिएको छ । यस्ता पीडितहरुको लामो सूची नै छ ।
पीडितको नाम बेचेर धेरैले दसैं मनाए तर पीडित भने अझै न्यायको भीख माग्दै हिँडेका छन् । सुनुवाई कतैबाट भएको छैन । नेपालका प्रमुख राजनीतिक दलहरु यो मामिलालाई मेलमिलापमा लगेर सामसुम पार्ने पक्षमा रहेको पीडितहरुको बुझाई रहेको छ । केही दिनअघि राष्ट्रिय मानवअधिकार आयोगले गरेको एउटा कार्यक्रममा विगतको द्वन्द्वका दुवै पक्षलाई ल्याइएको कार्यक्रममा उनीहरुले आफ्ना माग राखेको भएपनि ती मागको सुनुवाई होला भन्ने अपेक्षा उनीहरुले गर्न सकेका छैनन् ।
प्रमुख राजनीतिक दलका नेताहरुलाई पीडितका माग टाउको दुखाईको विषय भइरहेको छ । उनीहरुको माग पूरा गर्यो भने के सेना, के प्रहरी, के कांग्रेस के माओवादी, के पूर्वराजावादीहरु एउटै डालोमा सजाय भोग्नुपर्ने अवस्था आउन सक्छ । दलका नेताहरु र पूर्वराजासम्मको नाम नै किटेर बेपत्ता आयोग र सत्य निरुपण आयोगमा उजुरी परेका छन् ।
तत्कालीन नेकपा एमालेका नेताहरु भने यो मामिलामा जोडिएका छैनन् । बरु माओवादीबाट पीडितहरुको सूचीमा उनीहरु छन् । तर, अहिले माओवादी र नेकपा एमाले मिलेर नेकपा बनेपछि भने आफ्नै नेता कार्यकर्ता भएका कारण तत्कालीन एमालेका नेताहरु पनि यो मामिलालाई गुपचुप मिलाउन पाए हुन्थ्यो भन्ने पक्षमा नै देखिएका छन् । अन्तर्राष्ट्रिय समुदायले पनि यो मामिलालाई लिएर सर्वोच्च अदालतको आदेश अनुसारको कानुन संशोधन गर्नुपर्ने र आममाफीको व्यवस्था गर्नु नहुने धारणा राख्दै आएका छन् । तर, यसको सुनुवाई नहुँदा अन्तर्राष्ट्रिय हस्तक्षेप हुन सक्ने सम्भावना पनि उत्तिकै बढ्दै गइरहेको छ ।
पीडितहरुको पीडा देखाएर खेलो फड्को गर्नेहरुपनि आफ्ना दाताहरुको मनसाय बमोजिमका कार्यक्रममा संलग्न रहँदै आएका छन् । सरकारी वा गैरसरकारी दुवै निकायका मानिसहरु यी पीडितको नाममा देशविदेश सयर गर्छन् । तारे होटलमा सेमिनार गर्छन् । दाताको आदेश पालन गर्नका लागि पीडितलाई पनि निम्तो गर्छन् । चहर्याइरहेका घाउ पटक पटक कोट्याउन लगाएर नून चुक छर्किने काम हुन्छ ।
२०६३ मंसिर ५ गते तत्कालीन सरकार प्रमुख गिरिजाप्रसाद कोइराला र विद्रोही नेता पुष्पकमल दाहाल प्रचण्डबीच भएको बृहत् शान्ति सम्झौता भन्दा पनि अघिदेखि नै पीडितहरुले न्याय माग्दै आइरहेका हुन् । तर, राज्य संयन्त्रले उनीहरुलाई समयमा न्याय दिनुको सट्टा अल्मल्याउँदै अनि गलाउँदै लगेको अवस्था छ । सरकारले सत्य निरुपण र बेपत्ता आयोगमा सिफारिस गर्नका लागि सिफारिस समिति बनाएपनि अझै त्यसमा अलमल भइरहेको छ । दसैं पछिबाट समितिले निर्णायक रुपमा बैठक डाकेर पदाधिकारी आउने भनिएपनि पीडितको मन उज्यालो भएको छैन । उनीहरु भन्छन्, ‘‘कस्ता मान्छे आउँछन्् कसरी काम गर्छन् के खुसी हुनु ? हामीले त सिफारिस समिति नै खारेज गरेर नयाँ ढंगले अघि बढौं भनिरहेका छौं ।
नेपालमा विगतको द्वन्द्वको क्रममा बेपत्ता भएका आफन्त पत्ता लगाइदिनुप्यो भन्दै २,५०६ जनाको तर्फबाट बेपत्ता आयोगमा उजुरी परेको छ । तर, ती उजुरीमा कुनै सुनुवाई भएको छैन, ती उजुरी दराजमा थन्क्याएर राखिएको छ ।