site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैं नमान्‍ने खोकनामा सिकाली जात्राको रौनक
SkywellSkywell

खोकना (ललितपुर) । आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिनदेखि आठ दिनसम्म चल्ने खोकनाको प्रसिद्ध सिकाली जात्रा आइतबार सुरु भएको छ । यो जात्रा विजयादशमीको अघिल्लो दिन अर्थात् महानवमीसम्म चल्छ । 

स्थानीय तथा संस्कृति अनुसन्धानकर्ता असोजकुमार महर्जनका अनुसार घटस्थापनाको अघिल्लो रात गुठीको थकालीकहाँ ४ जना कुमारहरु बास बस्न जान्छन् । ती कुमारहरुलाई नेवारीमा पुजारी मचा भन्ने गरिन्छ । “खोकनामा ३ वटा गुठी भए पनि २ वटा गुठीबाट मात्र कुमारहरु जान्छन् । उनीहरुले घटस्थापनाको दिनदेखि ४ दिनसम्म सिकालीमा विशेष पूजा गर्ने गर्छन् । उक्त ४ दिन सुर्योदय भएदेखि बेलुकी आफ्नो पूजा नसकुन्जेलसम्म पानी पनि नपिई व्रत बस्नुपछ,” महर्जनले भने । 

उनीहरुले पूजाका लागि खोकनामा गाउँभरी घुमेर सामग्री संकलन गर्छन् । पहिलो र दोस्रो दिन संकलन गरेर ल्याएको सामग्री रुद्रायणी मन्दिरमुनिको पाटीमा जम्मा गरी सिकाली मन्दिरमा पुर्याउनुपर्ने हुन्छ । 
तेस्रो दिन पूजा संकलन गरी थकाली अर्थात् उनीहरुको गुरुकहाँ जान्छन् । यो दिन दिउँसो पुजारी मचाहरु बागमतीमा नुहाउन जान्छन् । त्यसपछि बेलुका तीनैवटा गुठीबाट कुनै पनि किसिमको खोट नभएको राँगो खोजेर ल्याई खोकनाको तल्लो ढोका बाहिर लगेर काटिन्छ । 

KFC Island Ad
NIC Asia

यो दिन पनि पुजारी मचाः (कुमारहरु) दिनभरि व्रत बसेका हुन्छन् । बेलुका राँगो काटिसकेपछि ती आठ जना कुमारहरुले उक्त राँगोको पहिलो रगत एउटा विशेष भाँडोमा हालेर सिकाली देवीलाई चढाउन लगिन्छ । त्यो रगत लगिरहँदा उनीहरुलाई कसैले पनि हेर्न हुँदैन भन्ने मान्यता रहिआएको महर्जन बताउँछन् । 

महर्जनका अनुसार रगत चढाउनेसँगै उनीहरुले सिकाली मन्दिरभित्र बसेर आफ्नो पितृहरुलाई बोलाउने गर्छन् । उनीहरुले आफ्नै स्थानीय भाषामा कुरा गर्ने गर्छन् । 

Royal Enfield Island Ad

राँगो काट्ने बेलामा तीनवटा भिन्नाभिन्नै बाजा बजाइएको हुन्छ । बाजाकै आधारमा कुन गुठी हो भन्ने चिनिन्छ । सिकालीमा रगत चढाएर आएपछि कुमारहरु सिकालीमा जाँदा यता काटिसकेको राँगो बाजागाजा र पूजाआजा सहित आ–आफ्नो गुठीमा भित्र्याइन्छ । करिब मध्य राततिर मात्रै सिकाली चौरमा पूजा गर्न गएका कुमारहरु फर्किन्छन र सबैलाई प्रसाद बाँड्छन् । त्यही रात राँगोको काँचो आन्द्रा फुकेर कोँ द्योः का लागि माला तयार गरिन्छ ।

भोलिपल्ट छोयला बुः को लागि गुठीमा लहरै छ्याङ बनाउन पूजा गरेर राखिएको कोँ द्योः अर्थात् माटोको भाँडोमा राँगोको आन्द्रा लगेर मालाको रुपमा बेरिन्छ । महर्जनका अनुसार सामान्यतया छ्याङ तयार हुन दुई हप्ताभन्दा बढी समय लाग्छ । तर सिकालीको प्रसादको रुपमा जात्रामा प्रयोग हुने छ्याङ भने सोही रातभरमै तयार हुन्छ । जसलाई त्यहाँका बासिन्दाहरु दैवी शतिmबाट तयार हुने विश्वास गर्छन् ।

असोजकुमार महर्जन

सिकाली जात्राको चौथो दिन अथवा चतुर्थीको दिनलाई छोइला बुः भनिन्छ । अघिल्लो रात काटेको राँगोको छोयला सामान्यभन्दा ठूलो आकारमा बनाएर प्रसादको रूपमा स्थानीयलाई बाँडेर छोइला बुः मनाइन्छ । यो दिन कुमारहरु गाउँबाट पूजा संकलन गरी क्वयः लाछी अर्थात् तल्लो लाछीको ऐतिहासिक जितापुर मण्डपमा बस्छन् । उनीहरु सम्पूर्ण भोज तयार गरेर सिकाली जान्छन् । पूजाको काम सकाएर उनीहरु चौरमा बसेर भोज खान्छन् । भोज खाएर गाउँ फर्केपछि कुमारहरुको चौथो दिनको काम समाप्त हुन्छ ।

यो चार दिन ती आठ जना कुमारहरुले सिकाली देवी अर्थात् विशेष ढुंगामा लेखिएको विशेष चिन्हहरु पनि लेख्न सिक्ने गर्छन् । त्यो चिन्ह उनीहरुले बाहेक अरुले लेख्न हुँदैन र लेख्न पनि सक्दैनन् भन्ने विश्वास गरिन्छ ।
छोयलासँगै अघिल्लो रात तयार पारेको छ्याङ पनि प्रसादको रुपमा स्थानीयलाई खुवाउने गरिन्छ । प्रसाद खान खोकनासँगै नजिकका बस्तिहरुबाट पनि मानिसहरु आउने गर्छन् । उक्त प्रसाद खाँदा रोग निको हुने विश्वास रहिआएको छ । 

पूजाको ४ दिनसम्म सिकाली चौरमा पर्यटक तथा सर्वसाधारणका लागि प्रवेश निषेध गरिन्छ । यहाँसम्म कि उक्त समयमा कुनै पनि पशु तथा चराचुरुङ्गीहरु पनि सिकाली चौरमा प्रवेश नगर्ने स्थानीय बताउँछन् । 
पाँचौं दिन मुः ज्या को दिन हो । यस दिन रुद्रायणी माताको मूर्तिलाई मन्दिर अगाडि ल्याइन्छ । त्यसपछि कुखुरा र सुँगुरबाहेक अन्य पशुपंक्षीको बलि दिने गरिन्छ ।

जात्राको छैटौं दिन अघिल्लो दिन मन्दिर तल लगिएको रुद्रायणीको मूर्ति भएको खट सिकालीमा लगिन्छ र पूजा गरी जात्रा मनाइन्छ । 

सातौं दिन रुद्रायणी द्योः खलको नाच देखाइन्छ । गुठीको दबुलीमा पुजारीहरु विशेष पहिरन र मुकुट लगाएर नाच्ने गर्छन् । 

आठौं दिन ४६ जना द्यो अर्थात् पुजारीमध्ये १४ जना विभिन्न देवीदेवताको प्रतिनिधित्व गर्दै सोही अनुरुपको पहिरन र मुकुट लगाई सिकालीको चौरमा नाच देखाउने गर्दछन् । त्यो नाच दिनभरी हुन्छ । सो दिन खोकनावासीले घरमा पाहुना बोलाएर मिठो मिठो परिकार बनाएर खुवाउने चलन छ । 

दस हजार वर्ष अगाडि खोकनामा लाइटिङ स्टोन अर्थात् सूर्यको किरणबाट चार्ज भएर बल्ने ढुंगा पत्ता लागेको इतिहास छ । सोही ढुंगालाई त्यसबेलाका खोकनाबासीले सिकाली देवीको उपमा दिए । सिकाली देवीलाई बोलीचालीको भाषामा श्रीकाली, सिखाली पनि भन्ने गरिन्छ । उक्त आकर्षक ढुंगा सबैलाई देखाउन जात्रा मनाउने र त्यसमा सबैलाई निमन्त्रणा गर्ने प्रचलन बसेको स्थानीय वृद्धवृद्धा बताउँछन् । सोही परम्परालाई खोकनाबासीले निरन्तरता दिइरहेका छन् । 

सिकाली जात्राभर खोकनाबासीको घरमा लसुन पकाउन र खान हुँदैन भन्ने विश्वास छ । “मचाः द्यो लाई कुखुरा र लसुन चल्दैन । किनभने मचाः द्यो बुद्ध धर्मतिर जाने भएकोले निः बजी (चोखो चिउरा) र खेँः जा (हाँसको अण्डा र भात) मात्रै चढाउनु पर्ने हुन्छ,” महर्जन भन्छन् । 

तस्बिरहरुः हसन महर्जन र अमर महर्जन
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro