
नरेश फुयाँल
पुख्र्यौली घर खोटाङ् भए पनि मेलिना राई दार्जिलिंङमा जन्मिइन् । काम विशेषले बाबु आमा दार्जिलिङ गएका बेला उनको जन्म उतै भयो । मेलिनाको मामाघर हो दार्जिलिङ । झण्डै ८० प्रतिशत नेपाली भाषी रहेको दार्जिलिङमा थुप्रै नेपाली रगत र अन्य नाता सम्बन्धका कारण उतै बस्छन् ।
मेलिनाको परिवार भने कर्मथलो दार्जिलिङलाई नै बनाउन भने त्यहाँ गएको थिएन । त्यसैले केही समयको बसोबास पछि नेपालीभाषी दार्जिलिङेलाई आफ्नो स्मृतिको सयनकक्षमा राखेर नेपाल फर्कियो ।
पुर्खेयौली घर खोटाङ भए पनि मेलिनाको परिवार स्थायी बसोबासका लागि मोरङ सरिसकेको थियो । प्रायः शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका अवसर र सुविधाका लागि पूर्वी पहाह खोटाङ, ओखलढुङा, भोजपुरेहरु उदयपुर, सुनसरी, मोरङ र झापामा बसाईं सर्छन् ।
सायद यीनै कारणले हुनुपर्छ । मेलिनाको परिवार पनि पुरानो थातथलोलाई विस्मृतिमा राखेर मोरङ झरिसकेको थियो ।
मेलिना भने मोरङमा खासै बसिनन् । उनी दार्जिलिङमा नै हुर्किइन् । बाल्यकाल त्यहीँ बित्यो । उनको स्किुलिंग त्यहीँबाट सुरु भयो । १० वर्षको उमेरमा कक्षा तीनमा पढ्दै गर्दा उनी बाबुका दौराको फेरो समातेर काठमाडौं छिरिन् । उनका बाबु काठमाडौंका जोरपाटीमा बस्थे । जहाँ उनीहरु अहिले बस्छन् ।
उनी पनि त्यहीको अरुण ज्योती विद्यालयमा पढ्न थालिन् ।
“भेडा भेडाको बथानमा, बाख्रा बाख्राको बथानमा” भने झैं मेलिनालाई उमेरमा गीत गाउनु पर्नेरहेछ । उनलाई सानोमा गीत सुन्न र गाउन मन पथ्र्यो । गीत सुन्न मात्रै होइन गाउन पनि हुरुक्कै हुन्थिन् । उनको यो चाहानालाई उनका बाबुले मजजल गरे । अरुका बाबु आमाले आफ्ना सन्तान त्यो पनि छोरीलाई बिरलैले मात्रै गीत संगीतको माहोलमा छिर्न दिन्छन् ।
मेलिनालाई भने उनको परिवारले संधै प्रोत्साहन गर्यो । कारण थियो, मेलिनाको बाबुको नाम हो–जिवेश राई । जिवेश राई नेपाली संगीतमा एउटा स्थापित नाम । उनको आफ्नै पहिचान छ, संगीत शिक्षकका रुपमा । उनले थुप्रै गायक गायीकालाई आफूमा रहेको ज्ञान बाडेका छन् । संगीतका सुर र तालहरुमा स्वर मिलाउन सिकाएका छन् । गायकीलाई निखार्न सहयोग गरेका छन् । उनकै प्रशिक्षणमा सांगीतिक आकाशमा थुप्रै गायक गायीका तारा झैं चम्किरहेका छन् ।
उनै जिवेशले छोरी मेलिनालाई संगीतको संसारमा डोर्याए । जहाँ आफै थिए । खुट्टा टेकाए । दह्रो खुट्टा टेकाउन अहरोत्र मेहन गराए । सायद उनले संगीतमा आफूलाई समर्पित गरेको देखेर मेलिनाको बाल मनोविज्ञानले पनि आफूले पनि यसै गर्नुपर्छ भनेर पनि हुनसक्छ उनको रुची त्यो बाल्यकालमा त्यतातर्फ ढल्किएको ।
तर, उमेर बढ्दै जाँदा, गीत के हो भनेर बवर्तमान र भविश्य बुझ्ने भए पछि पनि उनी गीत संगीतमै रहिन् । रहिन्भन्दा पनि अझ रमाउन थालिन्भन्दा उनका लागि न्याय हुन्छ होला ।
सानै देखि गीतसंगीतमा रमाउने उनले बाल्यकादेखि नै प्रतिस्पर्धामा आफूलाई होमिन् । विसं ०५९ रेडियो नेपालले आयोजना गरेको बालगीत प्रतियोगितामा उनले सहभागिता जनाइन् ।
०६० सालमा कक्षा ५ मा पढ्दै गर्दा आयोजना भएको अन्तरस्कुल लोकगीत प्रतियोगितामा उनले उपाधी हत्याइन् । मेलिनाको संगीतिक यात्राको यो पहिलो खुड्किलो थियो ।
संगीतका सुरहरुमा खेल्न उनलाई जितले हौस्यायो । मनले अभिप्रेरित गर्यो । उनी झन् दत्तचित्त भएर मेहनत गर्न थालिन् । सारंगीका सुरहरु भित्र आफ्नो स्वरलाई मिसाउने भन्दा पनि मिलाउन थालिन् ।
घरमै त्यो पनि बाबु संगीतको शिक्षक भएकाले उनले संगीतको ज्ञान खोज्दै हिड्नु परेन । मेलिना घरमै बुबासँग सारंगीको धुनसँगै आफ्नो स्वर मिलाउथिन् । जिवेशले उनलाई सच्याउँदै गए । स्वरमा निखारता ल्याउन सिकाए । उनका बाबु मेलिनालाई सँधै भन्थे–छोरी तिम्रो स्वर यो सारंगीको धुन जस्तै कर्णप्रिय हुनुपर्छ ।
उमेर बढ्दै थियो । संगीतप्रतिको मोह र रुची पनि झनै झांगिदै थियो । उनले ११ वर्षको उमेरमा ०६० सालमा पहिलो गीत रेकर्ड गराइन्, ‘हिमालको काख’ । यो गीत उनको स्वरमा मात्र भने थिएन ।
उनका बाबु र उनका काकाले पनि उनलाई साथ दिएका थिए ।
‘हिमालको काख’ रेडियो नेपालबाट पनि बज्यो । तर पहिलो गीत पहिलोपटक रेडियो नेपालबाट बजेको र त्यो सुनेको भने उनलाई याद छैन ।
०६५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा उनले सहभागीता जनाइन् । त्यसमा उनी विजेता पनि भइन् । त्यहाँ विजोता हुनु भनेको रेडियो नेपालको स्वर परीक्षा पास गरेसरह थियो ।
यो विजय उनको जिन्दगीमा सफलताको दोस्रो खुड्किलो थियो ।
पूर्वी नेपालका राई, लिम्बु संस्कृती र संस्कारले मात्रै धनी छैनन् । उनीहरु गीतसंगीतले पनि पूर्ण छन् । उनीहरुलाई भगवानले गीत गाउनकै लागि स्वर दिएका छन्, मात्र त्यसलाई कसरी परिस्कृत गर्ने भन्ने हो । पूर्वी नेपालका जनजाती समुदाय थुप्रै छन् जसले नेपाली संगीतमा आफ्नो उपस्थिति मात्रै जनाएका छैनन्, आफूलाई अब्बल सावित गर्दै लोकप्रिय बनेका छन् । खोटाङका राजेशपायल राई नेपालमा सबैभनदा धेरै गीत गाउने गायक हुन् ।
यस्तै मध्यकी एक पछिल्लो पात्र हुन्–मेलिना ।
स्वर परीक्षा पास गरेपछि उनलाई विस्तारै कलेक्सन एल्बमहरुमा व्यवसायीक रुपमा गीत गाउन अफर आउन थाल्यो । व्यासायीक रुपमा उनले गीत गाउन थालिन् ।
सांगीतिक सर्कलभित्र उनको स्वर रुचाइयो । मेलिनाको तारिफ हुन थाल्यो । तर, बजारमा भने उनको चर्चा थिएन । कारण थियो–आफ्नै छुट्टै कुनै कृती थिएन ।
आफ्नो पहिचान र उपस्थितिका लागि आफ्नै सोलो एल्बम चाहिन्छ भन्ने मेलिना र उनको परिवारले महसूस गर्न थाल्यो । र सरु भयो, ‘बहार’को तयारी । उनले ‘बहार’ नामक एकल गीति एल्बम सार्वजनिक गरिन् ।
उनले यो एल्बम निकाल्नु अघि नै दुई दर्जन अरु गीत गाइसकेकी थिइन् । पढाई र गीतलाई सँगसँगै लैजानु पर्ने भएकाले उनले ‘बहार’को प्रोमोशन त्यती धेरै गर्न पाइनन् ।
पछि सुन्दै जाँदा ‘मायाँ मलाई’ बाहेक केही गीतमा उनले गायनमा कमजोरी पनि भेट्टाइन्, त्यसैले पनि उनले त्यती धेरै प्रोमोशनमा जोड दिइनन् ।
उनले यो बीचमा चलचित्रको प्ले व्याक सिंगरका रुपमा पनि गीत गाइन् । जुन गीत निकै रुचाइयो । नोभेम्बर रेनको ‘पलभरको खुसी’ गीत वर्षकै सर्वाधिक लोकप्रिय गीत मध्येको एकमा पर्यो । त्यसमा उनले युवराज चौलागाईंसँग स्वर भरेकी छन् ।
छाडी जाने भए जाउ मायाँलु पनि उनको हिट गीत मध्येको एक हो ।
यी गीतहरुले उनलाई चिनाए । मेलिना राईको पहिचान दिलाए ।
तर,
मेलिनाको सांगीतिक जीवनमा ‘युर्टन’ गरिदिने गीत भने यी होइनन् । ‘नाईं नभन्नु ल—३’ को ‘कम्मर माथी पटुकी पटुकी माथी घैला’ यो गीत उनका लागि ट्रनिङ पोइन्ट बन्यो । उनलाई शिखरमा पुर्यादियो । उनको पहिचान दिलाई दिने गीत बन्यो ।
कलेक्शन एल्बमा गीत गाइरहेकी मेलिनाले रोजी राईको गीतमा आफ्नो स्वर भरेकी थिइन् ।
उनको गीत स्टुडियोमा मिक्सिङ भइरहेको थियो । संगीतकार बसन्त सापकोटाले मेलिनाको स्वर सुने । उनलाई मन परेछ । बसन्तले “कम्मर माथी पटुकीका लागि मलाई चाहिएको स्वर यस्तै हो” भन्दै मेलिनालाई खोजे । मेलिना उनलाई भेट्न स्टुडियो पुगिन् । बसन्तले ‘डोमी’ स्वर मेलिनालाई थमाइदिए । केही दिनको रिहर्शन पछि उनी गीत गाउन स्टुडियो पुगिन् ।
मेलिनालाई कता कता डर पनि लाग्यो । बसन्त सापकोटासँग पहिलोपटक काम गरेकी उनलाई केही नर्भसनेसको फिल भयो ।
तर, पनि उनले ‘कम्मर माथि पटुकी’ गाइन् । बसन्तले राम्रो भयो भने, स्वरको खेलेर प्रशंसा गरे । उनी दङ्ग परिन् । ‘नाईं नभन्नु ल’ को व्यानरमा बनेका चलचित्रका अधिकांश गीत लोकप्रिय थिए । त्यसैले मेलिनालाई पनि आशा थियो, गीत ‘हिट’ हुन्छ ।
तर उनले आफ्नै गीत बजारमा सुन्न निकै लामो समय कुर्नु पर्यो । करिब नौ महिनापछि गीत युट्युवमा अपलोड भयो । गीत रातारात ‘हिट’ भयो । सबैले मेलिनाको स्वको कदर गरे । उनी रातारात सेलिब्रटी बनिन् । उनको माग बढ्यो । चलचित्र र कलेक्शन एल्बममा उनको व्यस्थता बढ्यो ।
यही गीतले उनलाई देश विदेश पुर्यायो । स्टेजमा ‘वान्स मोर’ भन्ने गीत ‘कम्मर माथि पटुकी’ नै बन्यो ।
यही गीतले उनलाई वेल्जियम, न्यादरल्यान्ड, जर्मन र स्वीटरजरल्यान्ड पुर्यायो । मेलिना यूके, कोरिया, हङकङ, इजरायल र मलेसिया पनि पुगिन् । अब उनी चाँडै बहराइन्, अष्ट्रेलिया र जापान पनि जाँदैछिन् ।
उनी स्टेजमा गएर ‘कम्मर माथी पटुकी’ गाएपछि कतिले जिव्रो टोक्दै सोध्छन्,–यो गीत गाउने तपाईं नै हो ?
आफ्नो दोस्रो एल्बमको तयारी गरिरहेकी उनले अहिसम्म करिब २ सय भन्दा धेरै गीत गाइसकिन् । उमेर अढाई दशककै वरिपरी हिँड्दै गरेकी उनको यो गीत संख्या तुलनात्मक रुपमा धेरै हो ।
उनले आफ्नो एल्बमका लागि तीन वटा गीत रेकर्ड पनि गराइसकेकी छन् । ५ वटा भने रेकर्ड गर्न बाँकी छ ।
० ० ०
उनलाई अग्रज गायक गायीकामा अरुणा लामा औधी मन पर्छ । मेलिनालाई अरुणा लामाको हाई लो पिच मन पर्छ । नारायण गोपालको गायकी मन पर्ने उनी भक्तराजको भोकल टोनबाट प्रभावित छिन् । गोपाल योञ्जनको संगीत जति सुने पनि सुनिरहुँ लाग्छ मेलिनालाई ।
० ० ०
स्वर मात्रै होइन मेलिनाको रुप पनि राम्रो छ । कतिले उनलाई हिरोइन् बन्ने सुझाव पनि दिन्छन् । तर उनलाई भने नायिका बन्ने रहर आजसम्म कहिल्यै पलाएन । उनी भन्छिन्,–अब पलाउँदैन पनि होला । मलाई गीत राम्रो गाउनु पर्छ भन्ने लाग्छ । भख्खरै सिक्दैछु अझै धेरै सिक्नु छ । राम्रो गायिका बन्नुछ ।
नायिका उमेर र रुप छउन्जेलका लागि मात्रै हो भन्ने मेलिना स्वर भने बाचुन्जेलका लागि हो भन्ने बिचार राख्छिन् । त्यसैले उनको निष्कर्ष छ,–नायिका नबन्ने ।
तर, आफ्नो दोस्रो एल्बमको एउटा गीतमा भने उनलाई मोडलिङ गर्ने रहर पलाएको छ । गीत निकै राम्रो बनेको र त्यो गीतमा आफैले मोडलिङ गर्न बनेको जस्तो लागेको छ उनलाई । मेलिना भन्छिन्,–सायद यही नै ‘फस्ट एन्ड लास्ट’ हुन्छ र म त्यही चाहन्छु ।