site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
तर्कहरुको कठघरामा तीज

नरेश फुयाँल


हिन्दू परम्पराअनुसार तीज नारीहरुको विशेष पर्व हो । निराहार व्रत वसेर श्रीमान्को दीर्घायुको कामना गर्नु यो पर्वको विशेषता मानिन्छ । तीजको यही विशेषतालाई लिएर पछिल्लो समय तीव्र रुपमा पक्ष–विपक्षमा बहस हुन थालेको छ । केही तीजको विशेषतालाई मुक्त कण्ठले प्रशंसा गर्छन् भने केहीले विरोध । प्रशंसकहरु व्रतलाई स्वास्थ्यसँग जोड्दै मौलिक संस्कार, संस्कृति र परम्पराका रुपमा रहेको तीजलाई बचाउनुको विकल्प नरहेको तर्क गर्छन् भने केही तीजलाई परिमार्जन गर्नुपर्ने कडा आवाज उठाउँछन् । परिमार्जित तीजको परिकल्पना गर्नेहरु पितृसत्तात्मक सोच र व्यवहारको उपजका रुपमा यो रहेकाले यसको  आयु लामो नरहेको भन्न पछि पर्दैनन् । फरकफरक क्षेत्रमा रहेका केही प्रतिनिधि आवाजहरु यस्ता छन् । 

साथीसङ्गी व्रत बस्थे । लेखक अर्चना (थापा)लाई पनि रहर लाग्थ्यो । पानी पनि नपिई तीजको व्रत बस्थिन् । विस्तारै बुझ्दै गइन् । केका लागि व्रत ? प्रश्नले झटारो हान्थ्यो । मनमा अनेक तर्क–विर्तक उठ्थे । विवाह गरिन् । समाजको भय । कसले के भन्ला भन्ने पीर ! समाजको लाज ढाक्नै भए पनि अर्चना व्रत बसिन् । निराहार व्रत । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समयसँगै मन दह्रो हुँदै गयो । व्रत किन नबसेको भन्नेहरुलाई तर्कले जित्छु भन्ने आत्मविश्वास बढ्दै गयो । त्यसपछि उनले निर्णय गरिन्– श्रीमान्को दीर्घायुको कमना गर्दै व्रत बस्दिनँ । अर्चनाले व्रत बस्न छोडेको डेढ दशक भयो ।

किन ?

तीजले नारीलाई पुरुष सत्तात्मक सोचको बन्दी बनाएको उनको ठहर छ । 

कसरी ? 

श्रीमान्को दीर्घायुको कामना गर्दै श्रीमतीले व्रत बस्नुमा कुनै तर्क नै मिल्दैन भन्ने अर्चना आजको वैज्ञानिक युगमा तर्कको अर्थ खोज्नुपर्नेमा जोड दिन्छिन् । 

“शिवका लागि भनेर भनिए पनि श्रीमान्कै लागि व्रत बसिन्छ । श्रीमतीले खाली पेट बस्दैमा न श्रीमान्को आयु लामो हुन्छ, न यो प्रचलन नै न्यायसङ्गत छ,” अर्चना आफ्नो विचार पोख्छिन्, “आजको समाजमा महिला र पुरुषबीच मात्रै पनि सम्बन्ध हुँदैन । समलिङ्गी सम्बन्ध पनि हुन्छ । महिलामहिला र पुरुषपुरुषबीच पनि सम्बन्ध हुन्छ ।” परम्परागत मान्यताबाट अलिकति अगाडि बढेर अचना थप्छिन्, “यस्ता व्यक्तिहरुका लागि यो परम्परागत मान्यताको कुनै औचित्य हुँदैन ।” सम्बन्धका विभिन्न नयाँनयाँ आयाम थपिँदै गएका बेला रुढीवादी सोचले ग्रस्त विचारलाई अँगालेर हिँड्नु गलत भएको उनको टिप्पणी छ ।  

अर्चना तीजको नराम्रो पक्षमात्रै पनि केलाउँदिनन् । यसको सुन्दर पक्षको पनि खुलेर प्रशंसा गर्छिन् । त्यो हो– महिलाको जमघट हुन्छ । हिन्दू परम्परामा १२ महिनामा जति चाडपर्व छन्, ती अधिकांश पुरुष लक्षित छन् । तीजमात्रै यस्तो एउटा चाड हो, जसले महिलालाई ठाउँ दिन्छ । महिलाहरु भेला भएर आपसमा दुःख–सुखका कुरा गर्छन् । लामो अन्तरालपछिको भेटले पुरानो चिनजान र सम्बन्धलाई पुनर्ताजगी गराउँछ । मजबुत बनाउन मद्दत गर्छ ।

घण्टाघरको घडीको सुईसँगै समय बदलिँदै गयो । विचार परिवर्तन हुँदै आयो । धार्मिक परम्परामा पनि व्यक्तिले विज्ञान खोज्न थाले । प्रश्नका औंला उठ्न थाले । तर्कले पुष्टि गरे ठीक छ, हैन भने त्यसलाई कि बिसाउनुपर्छ कि परिमार्जन गर्दै लैजानुपर्छ । अर्चना भन्छिन्, “हाम्रा आमाहरुले मनाएको शैली र संस्कारमा अबको पुस्ताले तीज मनाउँदैन । यसलाई मनाउने हो भने परिमार्जन गर्दैै जानुपर्छ ।” 

धार्मिक सोचबाट माथि उठेर तीजमा हुने महिलाहरुको ठूलो जमघटलाई समाजिक रुपान्तरणका लागि प्रयोग गर्न सक्नुपर्ने उनी बताउँछिन् । धार्मिक आस्था र रुढीगत परम्परालाई हटाएर तीजलाई महिलाहरुको सौहार्दपूर्ण चाडका रुपमा लैजानुपर्नेमा उनको जोड छ । महिलाहरुबीच तीजमा हुने भेटलाई महिलाकै विकासका लागि छलफल र बहसमा केन्द्रित गर्नुपर्ने उनको मत छ । 

पछिल्लो समय महिला–पुरुष समान हुन् भन्न थालियो । संविधानमै महिलाका लागि ३३ प्रतिशत अधिकार सुरक्षित गरियो । पितृसत्तात्मक सोचमा केही परिवर्तन आउन थाल्यो । विशेषतः सहरबजारमा श्रीमतीको दीर्घायुको कामना गर्दै महिलासँगै पुरुष पनि व्रत बस्न थाले । तर यसमा पनि अर्चना सहमत हुन सक्दिनन् । 

किन ?

धार्मिक आस्थासँग जोडिन्छ । स्वास्थ्यका लागि व्रत बस्ने हो भने अचेल जुनसुकै दिन ‘फास्टिङ’ भनेर व्रत बस्ने धेरै छन् । “यसले त झन् पुरुषहरु पनि बसे, त्यसैले महिला पनि बस्नुपर्छ भनेर झनै बाध्यात्मक अवस्थामा लैजान्छ,” उनी भन्छिन् । 

अहिले आफ्नो खुसीले केही महिला तीजको व्रत बसे पनि बहुसङ्ख्यक रुढीगत विचार र धार्मिक मूल्यकै आधारमा बसिरहेको अर्चनाको भनाइ छ । 

० ० ०

लेखक तथा स्तम्भकार सरिता तिवारी तीजलाई पितृसत्तात्मक सोचको उपजमात्रै ठान्दिनन् । यसको समूल अन्त्यको कामना पनि गर्छिन् । यद्यपि, तीजको अवसरमा हुने आपसी सम्मिलन, भेटघाट र विचारको आदानप्रदानको भने सलाम गर्छिन् । 

सरिता तीजलाई लिएर निकै कठोर विचार राख्छिन् । भन्छिन्, “तीज पितृसत्ताले निर्माण गरेको सहानुभूतिको पर्व हो । यो उत्सव या मुक्तिको दिन होइन, मुक्तिको अल्पकालीन भ्रम दिएर फेरि पितृसत्ताकै दीर्घ सेवा गराउने अवसर हो ।” 
तीज पर्वको वैचारिक जग खोतल्दा सांस्कृतिक दासत्वकै पर्व भएकाले तीज आयो ! भनेर भयङ्कर उत्साहित हुनु जरुरी नरहेको भन्न उनी हिच्किचाउँदिनन् । 

सरिताका लागि तीज उनकै शब्दमा ‘उत्सव’ कम र मनोवैज्ञानिक सकस ज्यादा दिने चाडबाहेक अरु केही होइन । 

तीजसँग जोडिएको धार्मिक र अन्धविश्वासजन्य अभ्याससँग तीव्र असहमति व्यक्त गर्ने सरिता यसको समूल अन्त्यको कामना गर्छिन् । तर हिन्दू खस संस्कृतिमा हुर्किएको नाताले तीज उनलाई पनि लाग्छ । यद्यपि, औसतभन्दा फरक तरिकाले ।  

तीजको समूल नष्ट हुने निश्चित रहे पनि अहिले तीजलाई पूर्णतः निषेध र अस्वीकार होइन, सिर्जनशील र रुपान्तरणमुखी बनाइनु तर्कसङ्गत हुने उनको भनाइ छ । हजारौं वर्षदेखि हिन्दू समुदायको समवेदना र जीवनशैलीमा गहिरोसँग भिजेको संस्कृतिमाथि हठात् क्रमभङ्गको तीर हान्न खोज्नु मुर्खतापूर्ण हुने उनको बुझाइ छ । 

महिलाहरू आर्थिक रुपमा सक्षम, सवल र स्वाधीन भएको दिन तीज आफैं अप्रासङ्गिक हुने तर्क पस्किँदै सरिता भन्छिन्, “त्यसो हुन हामीले अझ धेरै कानुनी र सामाजिक, सांस्कृतिक लडाइँ लड्नुपर्ने छ । त्यसका लागि हरेक सचेत महिलाले बागी र विद्रोही पथ समात्नु जरुरी छ । जोखिम मोल्न, आलोचना र गाली खप्न तयार हुनु जरुरी छ ।”

० ० ०

महिला अभियन्ता अमृता लम्सालले तीजको व्रत बस्न छोडेको १९ वर्ष भयो । तर उनी अरुलाई व्रत नबस्नू भन्न चाहन्नन् । उनकै घरमा उनकी छोरी तीजको व्रत बस्छिन् । उनी केही भन्दिनन् । उनलाई लाग्छ– व्यक्तिगत विचार र स्वतन्त्रता हो । सबै स्वतन्त्र छन्, व्रत बस्न र नबस्न पनि । 

विवाहअघि उनी व्रत बस्दैनथिन् । कलिलै उमेरमा उनको विवाह भयो । “उमेर सानै थियो । मेरो घरका मान्छेहरुको विचार ट्रेडिसनल थियो । मलाई के सही र के गलत भन्ने पनि थाहा थिएन । त्यसैले तीजको व्रत म पनि बसेँ,” अमृता आफ्नो विगत सम्झिन्छिन्, “तर म जब कुझ्न थालेँ र विद्रोह पनि गर्न सक्ने भएँ, त्यसपछि म तीजको व्रत बस्न छोडेँ । म जति पनि व्रत बसेँ, त्यो घर र समाजको आलोचनाबाट बच्नका लागि बसेको थिएँ ।”

अमृतालाई श्रीमान्को आयु श्रीमतीले व्रत बस्दैमा बढ्छ भन्नेमा पटक्कै विश्वास छैन । तीज मान्नु नै हुँदैन भन्ने उनको विचार त छैन, तर व्रत नबसेकै कारण श्रीमान्को आयु घट्छ भन्ने भ्रम नपाल्न उनको आग्रह छ । तीजको व्रतका दिन पानी खाए श्रीमान्को रगत खाएसरहको पाप लाग्ने अन्धविश्वासको जालोबाट बाहिर आउन उनको अनुरोध छ ।

तीज नमनाउँदैमा महिला मुक्ति पनि नहुने, तर समयानुकूल परिमार्जन गर्दै जानु अबको आवश्यकता रहेको अमृताको ठहर छ ।  

“एकथरि अहिले तीज मनाउनुपर्छ भन्ने जमात छ, अर्कोथरि मनाउनु हुँदैन यो पुरुषवादीले लादेको दासत्व हो भनेर भनिरहनु भएको छ,” अमृता भन्छिन्, “मचाहिँ यी दुवै कित्ताबाट बाहिर रहेर यो नितान्त व्यक्तिगत विचार हो भन्ने ठान्छु । मनाउन\नमनाउन व्यक्ति स्वतन्त्र छ भन्छु ।” 

अमृता तीज मान्छिन् । साथीभाइले मनाउने तीजका कार्यक्रममा सहभागी पनि हुन्छिन् । तर व्रत भने बस्दिनन् । 

० ० ०

अर्चना (थापा)ले भनेजस्तै अब नेपालमा पनि महिला र पुरुषको मात्रै अस्तित्व छैन । संविधानले नै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई चिनिसक्यो । पहिलोपटक नेपालको पछिल्लो संविधाले समलिङ्गी तथा तेस्रोलिङ्गीलाई सम्बोधन गरेको छ । भलै संविधानअनुसारको कानुन बनेको छैन । समलिङ्गी तथा तेस्रोलिङ्गीको अधिकार पूर्ण रुपमा सुरक्षित भएको छैन । 

समलिङ्गी तथा तेस्रोलिङ्गीहरुले तीजलाई अधिकार प्राप्तिको अभियानमै जोडेर मनाउँदै आएका छन् । “पहिलापहिला नेपाली हिन्दू नारीहरु वर्षभरिको मनको बह पोख्ने चौतारीका रुपमा तीजलाई मनाउने गर्थे,” समलिङ्गी तथा तेस्रोलिङ्गीको अधिकारका लागि आवाज उठाउँदै आएको संस्था नील हीरा समाजकी अध्यक्ष पिङ्की गुरुङ भन्छिन्, “अहिले हामी यो तीजलाई महिला–पुरुषसरह हामीले पनि अधिकार पाउनुपर्छ भनेर अधिकार प्राप्तिका लागि खबरदारी अभियानका रुपमा मनाउँदै आएका छौं ।”

तीज मनाउनु हुन्छ कि हुँदैन भन्दा पनि अहिले जम्मा भएर सामूहिक रुपमा सरोकारवाला पक्षको ध्यानाकर्षण गर्ने अवसरका रुपमा तीजलाई प्रयोग गरिरहेको गुरुङ बताउँछिन् । 

१५ वर्षदेखि नील हीरा समाजले सामूहिक तीज कार्यक्रम गर्दै आएको छ । उनीहरु प्रायः निराहार व्रत बस्दैनन् । तर केही बस्नेहरु पनि रहेको गुरुङ बताउँछिन् । “केही साथीहरु राम्रो पार्टनर पाउँ भनेर पनि बस्छन्, पार्टनर भएका साथीहरु एकअर्काको दीर्घायुको कामना गर्दै पनि बस्छन्,” अध्यक्ष गुरुङ भन्छिन्, “तर हाम्रो समुदायमा भोकै व्रत बस्ने साथी भने निकै कम छन् ।” 

गुरुङ जन्मँदा पुरुष थिइन् । हुर्किंदै–बढ्दै जाने क्रममा महिलाको अनुभूति गर्न थालिन् । आफ्नै उमेर समूहका केटीहरु तीजको व्रत बस्थे । तर उनी शारीरिक रुपमा केटा देखिने भएकाले लोकलाजका कारण व्रत बस्न सक्दैनथिन् । त्यो बेला उनलाई लाग्थ्यो, “यो समाजले मजस्ता मान्छेको भावना किन बुझ्दैन ? मलाई त्यो बेला खुब रिस उठ्थ्यो ।”

विस्तारै उनले घरपरिवार हुँदै समाजमा विद्रोह गरिन् । क्रस ड्रेस गरिन् । र, निर्धक्क तीजको व्रत बस्न सुरु गरिन् । समलिङ्गी विवाहले मान्यता पाएको छैन । त्यसैले उनीहरु ‘लिभिङ टुगेदर’ बसे पनि ती सम्बन्धहरु त्यति धेरै दिगो हुन सकेका छैनन् । त्यसैले उनी भन्छिन्, “समलिङ्गी विवाहलाई मान्यता दिने कानुन सरकारले बनाओस् । हाम्रो विवाहले पनि कानुनी मान्यता पाएपछि हामी पनि महिलाजस्तै जीवनसाथीको नाममा व्रत बस्ने दिन आओस् ।”

० ० ०

नायिका करिष्मा मानन्धर तीज मनाउँछिन् । उनलाई तीज मनाउनुमा आपत्ति छैन । तर महिनौंअगाडिबाट मनाइने तीज भने उनलाई चित्त बुझ्दैन । यो तीजमा उनी ‘माइती नेपाल’ले आयोजना गरेको तीज कार्यक्रममा सहभागी भइन् । जसका आफन्त छैनन्, उनीहरुसँग बसेर तीज मनाउनुलाई उनी नराम्रो मान्दिनन् । तर तीजका नाममा भइरहेको विकृति उनलाई पटक्कै चित्त बुझ्दैन । 

पार्टी प्यालेसमा हुने तीजमा आफू जान छोडेको पनि उनी सुनाउँछिन् । दर दारुमा परिणत नहोस्, संस्कार र संस्कृति मर्यादाभित्रै रहेर मनाउनुपर्नेमा उनको जोड छ । तीज विस्तारै व्यावसायिक हुँदै गएको उनको ठहर छ । 

“हिन्दू परम्पराअनुसार तीन दिन तीज मनाउनुपर्छ जस्तो मलाई लाग्छ । पञ्चमीको पूजा शुद्ध हुने भन्ने हो । हुन त अहिले महिनावारी हुँदा मन्दिरमा प्रवेश गरेर पूजा गर्नेबाहेक अन्य ठाउँमा बार्न छोडियो । यसको अर्थ सफासुग्घर भएर बस्नुपर्छ भन्ने हो,” करिष्मा भन्छिन्, “तीजको व्रत श्रीमान्को राम्रो होस् भन्ने कामना गरेर बस्ने हो । यसले सम्बन्धमा न्यानोपना नै थप्छ । दर खाने भने माइती र छोरी भेट्ने भन्ने हो । भेटघाट र मनका कुरा साट्ने भन्ने हो । त्यसैले मलाई त राम्रो नै लाग्छ । धर्म, संस्कृति जगेर्ना गर्नु नराम्रो हो र !”

शिवालयहरुमा जब हजारौं महिला रातो वस्त्रमा सजिएको उनी देख्छिन् उनलाई लाग्छ, यति सुन्दर संस्कार र संकृति छ, यो अन्त कहाँ छ ? 

त्यसो त उनी सबै कुरा राम्रै छ पनि भन्दिनन् । मनन्योग्य कुराहरु मनन् गर्दै मनन् गर्न अयोग्य कुराहरु परिमार्जन गर्दै लैजानुपर्ने उनको धारणा छ । “निराहार व्रत बसेर राम्रो हुन्छ भन्ने लाग्दैन । पानी पनि खानु हुँदैन भन्ने छ, यसमा चाहिँ आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ जस्तो लाग्छ,” करिष्मा भन्छिन् ।  

० ० ०

केही वर्षयता महिलामात्रै हैन पुरुष पनि तीजमा श्रीमतीसँगै व्रत बस्ने प्रचलन बढ्दै गएको छ । भलै मन लाग्ने बस्छन् नलाग्ने बस्दैनन् । कति महिलाहरुले नै तीजको विरोध गरिरहेका बेला पुरुष झनै स्वतन्त्र छन् । 

गायक हेमन्त शर्मा आजसम्म श्रीमतीको दीर्घायुको कामना गर्दै व्रत बसेका छैनन् । र, उनलाई श्रीमतीले मेरा लागि बस्ने तर मैले किन नबस्ने भन्ने पनि लाग्दैन । कारण उनी भन्छन्, “श्रीमान्का हिसाबले म कुनै पनि जिम्मेवारीबाट पन्छिनु हुँदैन र पन्छिएको पनि छैन । तर उनले चाहिँ व्रत बस्ने मैले चाहिँ किन नबस्ने भन्ने मेरो मनले भन्दैन ।”

केही महिला अधिकारकर्मीहरु अहिले तीजको विपक्षमा उभिएका छन् । तर उनलाई रीतिरिवाजलाई नै चुनौती दिएको चित्त बुझ्दैन । 

एकाध पक्षलाई छोड्ने हो भने हाम्रा हरेक परम्परा तथा संस्कृतिमा उत्तिकै बलिया तर्कसङ्गत पक्ष रहेको र त्यसलाई नकार्न नसकिने हेमन्त बताउँछन् । 

“भौतिकवादी पश्चिमा मुलुकहरु बढी भौतिकवादी जिन्दगी भोगेर अध्यात्ममा लागिरहेका छन् । तर हामी हाम्रै अध्यात्मलाई बेवास्ता गरेर भौतिकवादको पछि लागिरहेका छौं । भौतिकवाद नराम्रो भनेको होइन, तर किन उनीहरुले अध्यात्मलाई आत्मसात गरिरहेका छन्, त्यो मनन् गर्ने विषय हो,” हेमन्त भन्छन्, “व्रत बस्नु नराम्रो हो र ? नराम्रो हो भने हामीले पछ्याइरहेका पश्चिमाहरु किन फास्टिङ गर्छन् । भाषा अलग होला, ठाउँ फरक होला, आँखिर व्रत भने पनि फास्टिङ भने पनि नखाई बस्ने नै हो ।” 

हरेक संस्कृति केही न केही मावनीय पक्षसँग जोडिने उनी बताउँछन् । “विज्ञानले हामीले मान्ने भगवान्को तस्बिरलाई कागजमात्रै मान्छ । तर विज्ञानले कागजसिवाय केही नदेखेको त्यही कागजको आकृतिमा पूजा गर्दा मिल्ने आत्मसन्तोषले हामीमा छर्ने प्रशन्नता पैसाले किन्न पाइन्छ र ?” उनी भन्छन्, “त्यसैले हामी संस्कृति मास्नभन्दा पनि त्यसलाई जोगाउन लाग्नुपर्छ । व्रत बस्ने संस्कृतिलाई निरन्तरता दिँदा अन्ततः त्यसले फाइदा पुग्ने स्वास्थ्यलाई नै हो । अहिले डाक्टरकोमा जाँदा होस् या डाइटिसियनकोमा जाँदा, सबैले कम खानु भन्छन् । आखिर यो त हाम्रो कल्चरले परापूर्वक कालदेखि नै भनेको रहेछ नि ! त्यसो भए यस्तो संस्कृति मास्ने कि जोगाउने ?”
 

प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६  ०६:१३
प्रतिक्रिया दिनुहोस्