काठमाडौं । चीनमा यौनदासी बनाउन नेपाली चेलीलाई दुलही बनाउँदै तस्करी हुने गरेको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले चीन लैजान लागिएका दुई नेपाली महिला पक्राउ गरेपछि रहस्य बाहिरिएको हो ।
व्युरोका एसएसपी ईश्वरबाबु कार्कीका अनुसार दुई दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिकसँग विवाह गरेर चीन जाँदै गरेका दुई नेपाली महिलाको उद्धार गरिएको थियो ।
उनीसँगै रहेका चिनियाँ नागरिक पक्राउ परेका छन् । व्युरोको टोलीले चारजना चिनियाँ नागरिक र छ जना नेपाली गरी १० जनालाई पक्राउ गरेको हो । एसएसपी कार्कीले भने, ‘‘पाँच दिनका लागि मात्र नेपाल आएका चिनियाँले नेपाली दलालको सहयोग नेपाली महिलासँग कानुनी रुपमै विवाह गरेको देखियो । चिनजान नै हुन नपाउँदै विवाह हुनु, एकअर्काको भाषासमेत नजान्नु लगायतका कुरा थाहा पाएपछि हामीले अनुसन्धान सुरु गर्दा चीनमा यौनदासी बनाउनका लागि लगिने गरेको खुल्यो ।’’
यसमा नेपाली गिरोहले चिनियाँ नागरिकलाई सहयोग गर्ने गरेको खुलेको छ । एसएसपी कार्कीले भने, ‘‘अन्य तीन जना महिलाको पनि उद्धार गरेका छौं । नेपालबाट चीन लैजाने र घरेलु कामदारका रुपमा राखेर यौनदासी बनाउने योजना रहेको खुलेको छ । यो नयाँ प्रकारको अपराध हो ।’’
अनुसन्धानका क्रममा नेपालका विभिन्न जिल्लाहरूबाट पारिवारिक तथा आर्थिक अवस्था कमजोर भएका युवतीहरुलाई चिनियाँ नागरिकसँग विवाह गरी चीन गएमा जीवनशैली राम्रो हुने, चिनियाँ पासपोर्ट प्राप्त गर्ने, परिवारले समेत आर्थिक लाभ प्राप्त गर्ने भनी प्रलोभन देखाउने गरेको पाइएको छ । व्युरोका अनुसार प्रायः कम उमेरका तथा मंगोलियन अनुहारका युवतीहरुलाई लक्षित गर्दै पीडितलाई स्थानीय दलालहरुले आफ्नो साथमा काठमाडौं ल्याई दलाललाई जिम्मा लगाउने गरेको पाइएको छ । यस्तै दलालहरुमार्फत् आएका युवतीहरुलाई काठमाडौंको दलालले आफूसँग फ्ल्याटमा राखी उनीहरुलाई विदेश नपठाउँदासम्म सामान्यतयाः १०–१५ दिन जति सोही स्थानमा राख्ने गरेको पाइएको एसएसपी कार्कीले बताए ।
यस क्रममा युवतीहरुलाई मेकअप गर्न सिकाउने, भड्किलो पहिरन लगाउन उत्प्रेरित गर्ने, अन्य एजेन्टहरुमार्फत् विवाह गर्न इच्छुक चिनियाँ नागरिकहरुलाई प्रत्यक्ष र भिडियो कलमार्फत् भेट गराउनेर चिनियाँहरुले आफ्नो इच्छानुसार युवतीहरु छान्ने गरेको पाइएको छ ।
युवतीहरुलाई विवाह गर्ने भनिएको श्रीमानको घर, परिवारको बारेमा अनलाइन कलबाट न्यून जानकारी दिइएको पाइएको छ । विवाह गर्ने युवती तय भएपछि चीनमा रहेको दलालमार्फत् चिनियाँ नागरिकहरु काठमाडांैमा आएर यहाँ रहेका चिनियाँ दलालसँग सम्पर्क गर्ने गरेको खुलेको छ । चिनियाँ र नेपाली दलालहरुको समन्वयमा नेपाली युवती र चिनियाँ युवकहरुलाई भाषा अनुवादको समेत व्यवस्था गरी (भाषा अनुवादक प्रायः नेपाली दलाल हुने गरेको) काठमाडौंका विभिन्न स्थानहरुमा भेटघाट गराउने गरिएको पाइएको एसएसपी कार्कीले बताए । काठमाडौंमा भेटेपछि चिनियाँ नागरिकले आफूले छानेका युवतीहरुको यकिन गर्ने गरेको र २–४ दिन चिनियाँ नागरिकसँग विभिन्न स्थानहरुमा अथवा अनलाइन सम्पर्क गराउने, चिनियाँ खानपिन तथा रहन–सहनका बारेमा सिकाउने गरेको पाइएको छ ।
एसएसपी कार्कीका अनुसार युवतीहरुलाई विवाहको लागि आवश्यक कागजपत्रहरु अविवाहित प्रमाणपत्र, विवाह दर्ता आदि आफैं तयार गर्न लगाउने गरेको, विवाहका लागि युवतीका परिवारलाई समेत विभिन्न प्रलोभनमा पारी सहमति लिने, सम्भव भएसम्म हुनेवाला दुलाहासँग भेटघाट गराई विवाह दर्ताका क्रममा साक्षीको रुपमा समेत राख्ने गरेको पाइएको छ । काठमाडौं जिल्ला अदालतबाट कानुनी प्रकृयाहरु पुरा गरी विवाह दर्ता परिवारका सदस्यहरुकै उपस्थितिमा विमानस्थलसम्म पुर्याउन लगाउने गरेको खुलेको छ । यसबाट परिवारको पूर्ण सहमतिमा विवाह गराई चीन पठाउने भन्ने देखाइने गरेको खुलेको छ ।
चिनियाँ एजेन्टहरु लामो समयदेखि नेपालमा विभिन्न पेशा गरी बसोवास गर्ने, नेपाली नागरिकहरुसँग राम्रो चिनजान गर्ने, नेपाली भाषा बोल्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । नेपालीहरुसँग चिनजानको आधारमा उनीहरुलाई विभिन्न गाउँहरुबाट नेपाली युवतीहरु खोजी काठमाडाैसम्म ल्याउन प्रेरित गर्ने गरेको समेत पाइएको छ । एक युवतिलाई विवाह गराएबापत काठमाडाैंमा रहेको चिनियाँ दलालले दश लाख सम्म, काठमाडौंको नेपाली दलालले १–२ लाख, युवतिहरु राख्ने नेपाली दलालले ८० हजार, अभिभावकले ५० हजारसम्म पाएको खुलेको छ ।
प्रहरीले पक्राउ परेका १० जनाको साथबाट १२ थान मोबाईल र २१ लाख ९७ हजार ९६० नेपाली रुपैयाँ बरामद गरेको छ । यसअघि नेपाली युवतीहरुलाई यसरी नै विवाहको माध्यमबाट चीन र दक्षिण कोरिया पठाउने समूहका अपराधिहरुलाई २०७१ सालमा केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरु
रिना तामाङ भन्ने बिबिरानी तामाङ
ठेगानाः सिन्धुपाल्चोक हेलम्बु २, हाल टोखा बस्ने
भूमिकाः नेपाली दलाल र भाषा अनुवादक
रोज तामाङ
ठेगानाः नुवाकोट ककनी गा.पा.४, हाल टोखा बस्ने
भूमिकाः रिना तामाङलाई कागजपत्रहरु बनाउन तथ अन्न कार्यमा सहयोगी
पार्वती गुरुङ
ठेगानाः लमजुङ, बेशिशहर–३, हाल टोखा बस्ने
भूमिकाः गाँउबाट ल्याइएका युवतिहरुलाई राख्ने तथा चिनियाँ एजेन्टहरुसँग भेट्ने व्यवस्था गर्ने
अमृता गुरुङ
ठेगानाः लमजुङ बेशीशहर
भूमिकाः गाँउबाट युवतिहरुलाई फकाएर काठमाडौं ल्याई पार्वतीलाई जिम्मा लगाउने
भरत तामाङ
ठेगानाः लमजुङ बेशीसहर गुम्बाचोक,
भूमिकाः गाउँबाट युवतिहरुलाई फकाएर अमृतालाई जिम्मा लगाउने
उषा कुमारी घिमिरे
ठेगानाः लमजुङ, साविक गाँउशहर–४, हाल काठमाडांै सानेपा बस्ने
भूमिकाः विभिन्न स्थानहरुबाट युवतिहरु सम्पर्क गरि चिनियाँ नागरिकसँग भेट गराउने
ZENG XIANG DONG
ठेगानाः हुबई, चीन
भूमिकाः काठमाडाैंमा काम गर्ने चिनियाँ दलाल
ZHANG DONG HUI
ठेगानाः हुबइ चीन
भूमिकाः काठमाडाैंमा काम गर्ने चिनियाँ दलाल
QUAN ZHAN PENG
ठेगानाः हुबइ, चीन
भूमिकाः नेपाली युवतीसँग बिवाह गर्न आएको
QIN LIYANG
ठेगानाः हुबइ, चीन
भूमिकाः नेपाली युवतीसँग बिवाह गर्न आएको