_395024658.jpg)
काठमाडौं । आज कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिन मनाइँदै छ । बुवा हुनेले आफ्ना सम्मानस्वरुप आशिर्वाद लिने तथा फलफूल तथा उपहारस्वरुप दिने चलन छ । बुवा नहुनेहरुले भने बिहानै नुहाइधुवाई गरेर पितृलाई सम्झी दानदक्षिणा दिने चलन रहेको छ ।
कलाकारहरुले पनि आज बुवाको मुख हेर्ने दिन मनाउँदैछन् । सधैंजसो सुटिङका लागि घरबाहिर रहनुपर्ने बाध्यता भएकाले आजको दिन भने घरमै परिवारसँग समय बिताउने राम्रो मौका रहेको उनीहरु बताउँछन् । आजकोे विशेष दिनलाई कसरी मनाउँदै छन् त अभिनेत्रीहरु ?
ऋचा शर्मा आमा र बुवा दुवै आफूलाई जन्म दिने आमालाई मान्छिन् । बुवाको निधनपछि उनी बुवाको मुख हेर्ने दिन आफ्नी आमा र बुवाकै दर्जामा रहेका केहि व्यतिmहरुसँग भेटेर उपहार दिई खुशी साटासाट गरेर मनाउँछिन् । बुवाको प्यारी र सबैभन्दा निकट भएको कारण बुवाको कमी भने सधै महसुस हुने उनी बताउँछिन् ।
“बुवा हुँदा म आफूलाई चाहिने हरेक कुराको लागि बुवालाई भन्थेँ । अहिले त दशैंमा आफैं लुगा किन, आफैं लगाउ भनेको जस्तो हुन्छ । पहिले त जे चाहिए पनि बुवाले किनेर ल्याइदिनु हुन्थ्यो,” उनी सम्झन्छिन्, “हरेक वर्ष सपिङको लागि पैसा बढाउँथेँ । यो वर्ष पोहोर साल भन्दा एक हजार बढी चाहिन्छ भनेर जिद्दि गर्थे बुवासँग ।” उनी आजको दिन बिहानै उठेर बुवाको नाममा पूजा गर्छिन् । त्यसपछि आमालाई उपहार दिएर यो विशेष दिनको सुरुवात गर्छिन् ।
अभिनेत्री स्वस्तिमा खड्का सानो हुँदा विद्यालयमा पेपरको कार्डहरु बनाएर बुवालाई दिने गर्थिन् । अहिले आफैंले कमाउन थालेपछि भने बुवालाई आफ्नै कमाइबाट उपहार दिन पाउँदा भने निकै खुशी महसुस हुने गरेको बताउँछिन् ।
बुवाको मुख हेर्ने दिन भन्नेबितिकै उनलाई कलेज स्टुडेन्ट हुँदाको पलहरु याद आउने उनले बताइन् । “पहिले काम नहुँदा ड्याडी सँगै पैसा मागेर ड्याडीलाई नै गिफ्ट दिने गर्थे । बुवाको मुख हेर्ने दिन आउनु केहि समय अघिदेखि नै त्यो दिनको लागि भनेर पैसा जम्मा गरिराख्ने गर्थें,” उनले सुनाइन् । उनी धेरै तडकभडक नगरिकन सालिन तरिकाले बुवा र परिवारसँग बसेर आजकोे स्पेशल दिन मनाउने बताउँछिन् ।
अभिनेत्री वर्षा सिवाकोटी चलचित्रको छायांकनका लागि मोफसलमा छिन् । घरमै हुँदा भने उनी आमासँगै आजको दिन मनाउने गर्छिन् । करिव १० वर्ष भैसक्यो उनले दुवै औंशी आमासँगै मनाउन थालेको । “म स्कुल हुँदै ड्याडी बित्नु भएको । त्यो बेला त ड्याडीमै डिपेन्डेन्ट थिएँ,” उनले सुनाइन्, “अहिले हुनु भएको भए ड्याडीको हरेक इच्छा पूरा गरिदिने यो स्पेशल दिनलाई अझै भव्य तरिकाले मनाउने थिँए ।”