site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानको अब सम्भावित कदम के हुनसक्छ ?
इजरायलको होलोनको दृश्य । तस्बिर : रोयटर्स ।

काठमाडौं । अमेरिकाले इरानका आणविक केन्द्रमा आक्रमण गरेपछि मध्यपूर्वलाई अस्थिर अवस्थामा पुर्‍याएको विश्लेषण गरिएको छ । अब सबैको ध्यान इरानको जवाफी कदम के हुन्छ भन्नेमा केन्द्रित छ ।

आइतबार टर्कीको इस्तानबुलमा बोल्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशसँग अमेरिकी आक्रमणको जवाफ दिन धेरै विकल्प रहेको बताए । मध्यपूर्वका अमेरिकी सैनिक बेसहरूमा आक्रमण गर्नेदेखि विश्वव्यापी कच्चा तेल ढुवानीका निम्ति महत्त्वपूर्ण होर्मुज स्ट्रेट जलमार्ग बन्द गर्नेसम्म इरानले चाल्न सक्ने अर्को कदमबारे सोचिरहेको जनाइएको छ ।

अमेरिकी सैन्य बेसमा आक्रमण 
यो युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नताले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले इराक, यमन र सिरियामा रहेका ‘प्रोक्सी’लाई सक्रिय बनाउन सक्ने विश्लेषण गरिएको छ । तिनले यसअघि अमेरिकी पूर्वाधारमा आक्रमण गर्दै आएका छन् । तर, इरानको प्रमुख सहयोगी हिजबुल्लाहलाई इजरायली आक्रमणले कमजोर भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इरानले यसअघि आफ्ना आणविक केन्द्रमा आक्रमण गरिए अमेरिकामाथि प्रतिशोधको धम्की दिएको थियो । मध्यपूर्वमा अमेरिकाका १९ स्थानमा करिब ४० हजार सैनिक छन् । इराकमा मात्र २५ सय अमेरिकी सैनिक छन् । त्यहाँ सन् २०२० मा इरानी मिसाइल आक्रमणबाट १०० भन्दा बढी सैनिकका टाउकामा चोट लागेको थियो ।

इरान समर्थित यमनको हुथी विद्रोहीले इजरायल–इरान द्वन्द्वमा सामेल भए रेड सीमा अमेरिकी जहाजमा आक्रमण गर्ने धम्की दिएको थियो । यसले उनीहरूबीच मेको युद्धविराम समाप्त गर्न सक्छ । विज्ञका अनुसार, इरानले इजरायल र अमेरिकालाई प्रत्यक्ष रूपमा पराजित गर्न नसक्ने भए पनि लामो र थकाउने युद्धको रणनीति अपनाउन सक्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो सुरुदेखि टार्न चाहेका थिए । 

विश्वव्यापी तेल व्यापारमा अवरोध 
इरानले दैनिक २० मिलियन ब्यारेल तेलको महत्त्वपूर्ण मार्ग स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्छ । त्यसले विश्व तेल बजारमा संकट ल्याउन सक्छ ।

इरानका सर्वोच्च नेताका सल्लाहकारले अमेरिकाको फोर्डो आणविक केन्द्रमा आक्रमणको जवाफमा मिसाइल हमला र स्ट्रेट बन्द गर्न आह्वान गरेका छन् । यो कदमले तेलको मूल्यमा वृद्धि, मुद्रास्फीति र ट्रम्पको आर्थिक योजनामा बाधा पुर्‍याउन सक्ने विज्ञले चेतावनी दिएका छन् ।

आणविक बम
विज्ञले इरानको सत्ता परिवर्तन भए पनि आणविक बम बनाउन जारी राख्न सक्ने चेतावनी दिएका छन् । वासिङटनस्थित क्विन्सी इन्स्टिच्युटका कार्यकारी उपाध्यक्ष त्रिता पार्सीले इरान ५–१० वर्षभित्र आणविक हतियारसम्पन्न राष्ट्र बन्न सक्ने र अधिक कट्टरपन्थी सत्ताले बमलाई एक मात्र निवारक ठान्ने अनुमान गरेका छन् ।

इरानले इजरायली हमलाका क्रममा महत्त्वपूर्ण आणविक केन्द्रबाट विकसित युरेनियम भण्डार स्थानान्तरण गरेको विश्वास गरिन्छ । सिभिल आणविक प्लान्टले ३.५–५ प्रतिशत विकसित युरेनियम प्रयोग गर्छ । तर, योभन्दा उच्चस्तरले बम बनाउन सक्छ । इरान आफ्नो परामाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका निम्ति भएको जिकिर गर्छ ।

इजरायलविरुद्ध आक्रमण जारी राख्ने
आणविक केन्द्रमा अमेरिकी हमलाको जवाफमा इरानले इजरायलमा आक्रमण गर्‍यो । आक्रमणमा तेल अभिभमा ८६ जना घाइते भए । व्यापक अमेरिकी द्वन्द्व टार्न र ट्रम्पको संलग्नता सीमित गर्ने आशामा इरानले इजरायलमा मात्र ध्यानकेन्द्रित गर्न सक्छ ।

विज्ञका अनुसार, इरानको प्रतिशोध सन् २०२० मा सुलेमानी हत्याको जवाफमा जस्तै प्रतीकात्मक मिसाइल हमला हुनसक्छ । त्यति बेला अमेरिकी आधारमा चोट पुर्‍याएको थियो । तर, कसैको मृत्यु भएन । त्यसले इरानको इज्जत बचाउँछ, तनाव बढाउँदैन ।

साइबर हमला वा आतंकवादको सहारा 
इजरायली हमलाबाट मिसाइल भण्डार कमजोर हुँदा इरानले अमेरिकाविरुद्ध साइबर आक्रमण वा आतंकवादजस्ता रणनीति अपनाउन सक्ने विश्लेषक बताउँछन् । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कमजोर भए पनि क्षेत्रीय र विश्वव्यापी प्रभाव राख्ने भएकाले परम्परागत अमेरिकी प्रतिरक्षा कम प्रभावकारी हुने बताइन्छ ।

आणविक वार्ता
इजरायली र अमेरिकी आक्रमणबीच इरानले आणविक वार्ता रोकेको र कूटनीतिका निम्ति ठाउँ कम भएको विदेशमन्त्री अराघचीले बताए । इरानले आत्मरक्षाको अधिकारमा जोड दिएको छ । अराघचीले अमेरिकाले कूटनीति भत्काएको आरोप लगाए । र, विश्लेषकले हाललाई वार्ता लगभग समाप्त भएको अनुमान गरेका छन् । सीएनएनबाट ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्