site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अनि स्थापना भयो राल्फा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

२०१७ सालमा तत्कालिन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरे । र शासनसत्ता आफ्नो हातमा लिए । मुलुकमा आएको प्रजातन्त्र हर्ने काम भयो राजा महेन्द्रबाट ।
त्यसकै एक डेढ वर्ष पछि अर्थात् २०१९ सालको कुरा हो । राजा महेन्द्रले युवाहरूलाई आकर्षित गर्न अनेक कार्यक्रम ल्याए । त्यसै मध्येको एउटा कार्यक्रम गीतसंगीतमा लागेका युवालाई आकर्षित गर्ने खालको थियो । युवालाई आफूतिर तान्नुपर्छ भन्ने उनको दृेष्टिकोण देखिन्थ्यो ।
त्यसैको नतिजा थियो त्यो कार्यक्रम, जसलाई नाम दिइएको थियो, अखिल नेपाल राष्ट्रिय लोकगीत सम्मेलन–प्रथम । 
यो कार्यक्रम रेडियो नेपालको आयोजनामा सम्पन्न भएको थियो । त्यसका लागि चौध अञ्चलबाट गायक गायिकाहरू काठमाडौं झिकाइयो । 
यही कार्यक्रमका लागि त्यसबखत सगरमाथा अञ्चलबाट गायक प्रतिनिधिका रूपमा रामेश र रायन छनौट भए । यि दुवै त्यस क्षेत्रमा चर्चित भइसकेका थिए लोकगीत गायनमा । र उनीहरू काठमाडांै आए ।
रेडियो नेपाल छिर्दा रायन नारायणभक्त श्रेष्ठ थिए । रामेश, रामेश्वर श्रेष्ठ नै थिए । त्यसबेलाको पूर्वी पहाडी गाउँ ओखलढुंगाबाट काठमाडौं आउन आठ दस दिन नै लाग्थ्यो । भरिया सहित सामल तुमल बोकेर यि दुबै युवा काठमाडौ छिरेका थिए । 
रामेश्वर र नारायणले आउँदा ठेट पहाडी लोकगीत बोकेर आएका थिए ओखलढुंगाबाट । लोकगीत थियोः 

गाई चर्नेमा भैसी चर्‍यो 
वनको सेखी झर्‍यो
वनको राजा कुसुन्डालाई 
हजुर भन्नु पर्‍यो ।

यस गीतका विषयमा सुनाउँदै गर्दा बालुवाटारस्थित आफ्नो कार्यकक्षमा रायन (७७) मजाले हाँसे । अनि भने, “काठमाडौं छिर्दाछिर्दै हामीले गाउने लोकगीतको यो लाईन सेन्सरमा पर्यो । हामीले गाएको यति के सुनेका थिए, त्यहाँ भएका मानिस जङ्गिए– ‘यस्तो पनि लोक गीत हुन्छ !’ भन्दै । केटाकेटी उमेर नै थियो हाम्रो पनि । हामी छक्क पर्यौं ! हामी हच्कियौंँ । तर्सियाैं पनि ।”
त्यसबेला रेडियोमा गाउने लोकगीत पनि सेन्सर हुने रायन र रामेशले थाहा पाए । रायनका अनुसार जनार्दन सम, नातीकाजी, माधव घिमिरे, धर्मराज थापाहरू तत्कालिन सेन्सर गर्ने रहेका थिए ।
भरखर राजा महेन्द्रले सक्रिय शासन सुरु गरेका थिए । त्यसैले वनको राजा कुसुण्डालाई हजुर भन्नु पर्‍यो भन्ने हरफले गीत अड्कियो । तिनले यसैलाई विरोध र विद्रोहको विम्ब माने । 
रेडियोका हाकिमहरूले त्यो गीत नगाउन भने । तर रायनहरूसँग अर्को गीत थिएन । त्यसपछि उक्त हरफ परिवर्तन गर्न लगाए । अनि तिनले लेखे ‘मै हुँ भन्ने सान्नानीलाई हजुर भन्नु प¥यो’ ।
फोहरा दरबारमा आयोजित विशेष कार्यक्रममा उनीहरूले गीत गाए । राजा महेन्द्र त आएनन् तर रविन्द्र शाह आएको रायन सम्झिन्छन् । 
यस कार्यक्रममा रायनहरू प्रथम नभए पनि तिनका गीत खुबै मनपराइयो । सबैले राम्रो माने । तर त्यो वर्ष प्रथम भएको लोकगीत एलपी जोशी, तुलसी दिवसहरूको समूहको गीत भयो, ‘रिटिङ्ग रिटिङ्ग नबजाउ बिनायो...’।
त्यसपछिका दिनमा रेडियो नेपालमा उनीहरूले निरन्तर गीत गाउन थाले । गीत गाउन पाए पनि । रायन र रामेशले गाएको लोकगीत स्रोताले मनपराउन थाले ।
रायन भन्छन्, “हामीले तीन चार वर्ष नै रेडियोमा लोकगीत गायाँैं । एउटा गीतको १० रुपैयाँ पाइन्थ्यो । हामी पनि बढीभन्दा बढी गीत गाउन खोज्दथ्यौं । हामीले पाउने गीतको पैसाले हामीलाई जसोतसो काठमाडौंमा बस्न पुग्थ्यो ।”
त्यसपछि रायनको ओखलढुंगा आउने जाने क्रम पनि चलिरह्यो । आउँदा गाएको पैसाले खर्च पुग्थ्यो । गाउँ जाँदा त उनीहरू हिरो नै हुन्थे । रेडियोमा गाउने कलाकार भने पछि तिनका ‘फ्यान’ बढेको बढेकै थिए । 
गाउँमा मात्रै होइन, रायनहरूका फ्यान काठमाडौंमा पनि अथाह थिए । त्यसैले रायनले काठमाडौंमा नै बसेर गायनलाई निरन्तरता दिए । अर्कोतिर कलेजमा भर्ना भएर पढाईलाई पनि अगाडि बढाए ।
त्यसैबीच यीनले गाएका लोकगीतहरूले साहित्यकार पारिजातलाई खुबै छोयो । उनले त्यसबेलाका गायकहरू रामेश्वर र नारायणलाई भेट्न खोजिन् । 
पारिजातले भेट्न खोजेको रायनले पनि थाहा पाएका थिए । तर आफूजस्तो गाउँले केटालाई त्यस्तो नाम चलेको साहित्यकारले खोजेको होइन होला भन्ने लागेर उनले र रामेश्वरले खासै ध्यान दिएनन् ।
एक पटक नेशनल कलेजको वार्षिकोत्सवमा रायन र रामेशलाई पनि गाउन बोलाइएको थियो । उनीहरूले गीत गाए । त्यसैबेला भेट भए साहित्यकार ज्ञान उदास र अर्का एक व्यक्ति सिंहबहादुर मोक्तान । तिनले नै पारिजातले भेट्न खोजेको कुरा गरेर यि दुबै कलाकारलाई पारिजात कहाँ पुर्याए । 
साहित्यकार पारिजातलाई यिनले भेटे । पारिजातले पनि खुबै आदर सत्कार गरेको रायन आज पनि सम्झिन्छन् । भन्छन्, “पारिजात दिदीले हामीलाई कस्तो राम्रो गाउनु भएको तपाईहरूले भन्दै माया दर्साउनु भयो । वास्तवमा आफ्नै दिदीले भन्दा पनि बढी माया पारिजातबाट पायाँै हामीले ।” 
त्यहाँ प्रायः साहित्यकारहरूको जमघट हुन्थ्यो । भूपि शेरचन, शंकर लामिछाने, मदन रेग्मी, कृष्णभक्त जस्ता साहित्यकारको भेटघाट गर्ने, रचना सुनाउने थलो थियो त्यो । तिनकै अगाडि रायन र रामेशले पनि लोकगीत गाए ।
त्यसपछि रायनहरूले कलेज कलेजमा गएर गीत गाउन थाले । उनीहरू पढ्दै पनि थिए । रेडियोमा बज्ने गीतले खान लाउन झन्डै पुग्थ्योे । 
तर विभिन्न कारणले रेडियोसँगको नाता टुट्यो । त्यसपछि पारिजातले उनीहरूलाई छहारी दिइन् । साहिँली माहिलीको होइन, जनताको गीत गाउन प्रेरित गरिन् । 
अनि स्थापना भयो, राल्फा । राल्फाको स्थापनासँगै नारायणभक्त श्रेष्ठ रायन भए । त्यस्तै रामेश्वर श्रेष्ठ रामेश, मेघराज नेपाल मञ्जुल बने र अरुण अरिमको नाम लिएर अगाडि बढे । 
यसरी पारिजातको छत्रछायाँमा रायन र उनका साथीहरूले जीवनको एउटा अर्को मार्ग पहिल्याए । र उनीहरू जनताका गीत गाउन गाउँगाउँ जान थाले । कहिले काठमाडौं भित्रको गाउँ त कहिले पूर्वदेखि पश्चिम सम्मका अनेकअनेक गाउँ ।
०००
१०–१२ वर्ष हुँदा देखिनै गाउन सुरु गरेका हुन् रायनले । ओखलढुंगा बजारमा जन्मिएका रायनको घर कवि सिद्धिचरणकै टोल भैरवटोलमा थियो । त्यहीँ उनको बाल्यकाल बित्यो ।
जिल्लाको सदरमुकाम ओखलढुंगा बजारमा रौनक थियो । बजार भएकोले त्यो स्वाभाविक थियो । नेवार बस्ती थियो । चाडपर्व र जात्रामात्रामा सांस्कृतिक कार्यक्रम भइरहन्थ्यो । त्यसैको प्रभावका कारण रायन पनि गीत गाउन थाले । उतिखेर भजन र स्थानीय लोकगीत गायन नै बढी गाउँथे उनी । 
त्यसबेला रेडियो ठूलाबडा सामन्तहरू कहाँ मात्रै थियो । त्यसमा गीत र खबर बढी सुनिन्थे । कहिले रायनले पनि रेडियो सुन्ने मौका पाउँथे । कहिलेकाहीँ ग्रामोफोनमा गीत सुन्ने मौका पनि जुथ्र्यो । अनि कहिलेकाहीँ लाहुरेले ल्याएको रेडियोमा हिन्दी गीत सुन्थे ।
नेपाली आधुनिक गीत सुन्ने चलन खासै नभएको रायन बताउँछन् । हिन्दी गीत र स्थानीय ठेट लोकगीत गाएरै रमाउँथे सबै । 
रायन भन्छन्, “त्यसबेला केएल सहगल, सुरैयाका गीत बढी गाइन्थ्यो । ‘एक दिलके टुकडे हजार हुवे...’ भन्ने गीत खुबै गाएँ मैले । नेपालीमा ‘मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले..’ जस्ता गीत पनि गाउँथे । मित्रसेन, मेलवादेवी, धर्मराज थापा जस्ताका गीत पनि मैले उसैबेला सुनेको हुँ ।”
पाटन, भक्तपुर र काठमाडौंबाट गएका रायनका पुर्खाहरू जात्रामात्रा सांस्कृतिक पर्वमा रमाउँथे । रायन गीत संगीत र भजनमा रमाउँथे । 
यसरी रायनले गीतसंगीत सिक्दै गए । अनि लोकगीतमा आकर्षण बढ्दै गयो । आफूभन्दा अग्रजहरुको पछाडि लाग्दै उनले गायकका रुपमा आफूलाई स्थापित गरे । 
त्यसबेला रामेशको घर पनि ओखलढुंगा नै भए पनि उनी आफ्ना जागिरे पिताजीसँग बाहिरबाहिरै थिए । पछि मात्रै उनी ओखलढुँगा आए । 
रायन सुनाउँछन् रामेशसँग जोडिनुको कथा, “रामेश र म मामाचेला फूपुचेलाबीच नातापर्ने दाजुभाइ हौँ । रामेश ओखलढु्ंगा आएपछि मसँग दोस्ती बढ्यो ।” 
सत्य नारायणको पूजा होस् वा सांस्कृतिक कार्यक्रम, रायन रामेशको जोडीको गायन हुन्थ्यो नै । यसका साथै तवला हारमोनियम बजाउने काममा पनि यिनीहरू पोख्त हुँदैगए । यसरी रायन अनि रामेश पनि सबैको नजरमा पर्दैगए ।
गीत गाउनुसँगै उनको पढाई पनि निरन्तर चलिरहेको थियो । अन्ततः उनले २०१८ सालमा एसएलसी पास गरे ।
०००
काठमाडौं–ओखलढुंगा आउने जाने क्रम चलिनै रहेको थियो । काठमाडौं आएको बेला रेडियो नेपालमा गीत गाउने काम पनि हुन्थ्यो नै । जति धेरै गीत गायो, त्यति सहज हुन्थ्यो काठमाडौंको बसाई रायनहरूलाई । त्यसैले धेरै भन्दा धेरै गीत गाउन उनीहरू ।
त्यसबखत काठमाडौंमा डेरा भाँडा सस्तो थियो । खाना पनि सस्तै थियो । एउटा कोठा १०–१२ रुपैयाँमा भाडामा पाइन्थ्यो ।
तर पछि रेडियोबाट आउने पारिश्रमिक रोकियो । पैसा लिन गयो दिँदैनथे, रेडियोका लेखापालले । पछि मात्रै उनलाई थाहा भयो नारायण र रामेश्वरहरूजस्ता बाहिरबाट आएका कलाकारले गीत गाएको पैसा त रेडियोका लेखापालले खाइसकेका रहेछन् । त्यो कुरा राष्ट्र बैंकमा काम गर्ने मञ्जुलबाट थाहा पाएका थिए रायनले । किनभने रेडियोले राष्ट्र बैंकको चेक काट्थ्यो ।
रायनहरूले यसको विरोध गरे । त्यस बारेमा बताउन उनीहरू रेडियोका निर्देशक प्रकाशमान सिंह कहाँ पुगे । निर्देशकको कोठाबाट लेखापालले रायन र रामेशलाई फकाएर बाहिर ल्याए । तर पछि अल्झाएको अल्झाएकै गरे । 
यसरी भोकले दुबैमा विद्रोह जाग्दै थियो । तिनले आफ्नो रकमको माग गरिरहे ।
एक दिन रेडियोबाट फर्किँदै थिए रायन र रामेश । विशेष प्रहरीका प्रमुख मकरबहादुर वान्तवाले रायनलाई देखेर बोलाए । मकरबहादुरलाई उनीहरु दाइ भन्थे । साथीका दाजु भएकोले सम्वन्ध राम्रो थियो मकरबहादुरसँग । 
उनीसँग परिचय भएकोले रायनले पनि आफूले पाएको दुःख बिसाए । त्यसपछि मकरबहादुर वान्तवाले तिमीहरूलाई पैसा दिलाईदिन्छु भनेर एउटा निवेदन लेख्न लगाए । र रेडियोका लेखापाललाई र राष्ट्र बैंकका कर्मचारीलाई कारबाही गरे । मकरबहादुरलाई काम देखाउनु थियो । उनले छापा मारे । त्यसले बेपत्ता होहल्ला मच्चायो ।
कसले यो कुरा विशेष प्रहरीमा पुर्यायो भन्ने चर्चा चल्यो । रायन र रामेशमाथि दोष लगाइयो । धम्काइयो । 
त्यसपछि रायनलाई लाग्यो, अब रेडियो नेपाल छोड्नु पर्छ । र दुबैले रेडियो नेपाल छोडे । 
रायन भन्छन्, “रेडियो नेपाल छोडनु भनेको हामीलाई ठूलो बज्रपात थियो । गाउने ठाउँ नै थिएन हाम्रा लागि । आफ्नो प्रतिभा प्रदर्शन कहाँ गर्ने ? तर त्यसैबेला साहित्यकार पारिजातले आफ्नो छत्रछायामा हामीलाई लिनुभयो । उहाँ हाम्रो संरक्षक भइदिनु भयो ।”
त्यसको केही समय काठमाडौंमा बस्न रायनहरूलाई गाह्रो भयो । घरबाट पैसा मगाउन थाले तिनले । तथापि, कलेजमा पढ्ने भएकोले अरु कलेजले पनि बेलाबेलामा गीत गाउन बोलाउँथे । उनीहरू पनि कलेज कलेज गएर गीत गाउँथे ।
यहीँबाट गीत गाउँदागाउँदै राल्फा जन्मियो । त्यसपछि राल्फाले जनताको गीत गाउन थाल्यो । रायन र रामेश तथा उनका गाउने साथीहरूको भूमिका फेरियो । उनीहरू गाउँगाउँ गएर जनताका गीत गाउन थाले ।
रायन भन्छन्, “अब नयाँ ढंगबाट हिँड्नुपर्यो भन्ने कुरा पारिजात दिदीसँग भयो । त्यसका लागि नयाँ नाम खोजियो । त्यसैले राल्फा जन्मायो । तर त्यसबेलामा जनताका गीत गाए पनि राल्फाले कुनै राजनीतिक विचार भने बोकेको थिएन । तर मैले ओखलढुंगामा नै हुँदा योङ्ग कम्युनिष्ट लिगको सदस्यता लिइसकेको थिएँ । अब त्यो उमेरमा मैले सदस्यता जानेर लिएँ वा नजानेर, त्यो म भन्न सक्दिन ।”
रेडियोबाट निस्कनु र पहिलो पटकमै सेन्सरमा पर्नु नै विद्रोह चुलिनुको कारण भएको रायन बताउँछन् । त्यसपछि विद्रोहकै पक्षमा उनीहरु लाग्दै गए । गलत कामका विरुद्धमा उनको आवाज बुलन्द हुँदैगयो । 
पारिजातले तिनलाई देश र जनताका लागि केही गर्नुपर्छ भन्ने प्रेरणा दिइन् । त्यसैले पनि सामन्ति सोच र शैलीको विरोधमा उनीहरू गीत लिएर उत्रिए ।
सबैतिर विद्रोहका स्वर फैलिँदै गयो । रायन र रामेशको समूहले टिकट शोमा जनताका गीत प्रस्तुत गर्थे । र यसरी उठेको पैसा सामाजिक संस्था वा स्कुलकलेज वा रेड्क्रसलाई दिएर हिँड्थे ।
यसले उनीहरूलाई फरक परिचय दियो । यिनका काम मानिसले मनपराउन थाले । एक पटक बानेश्वरको रत्नराज्य स्कुलको सहयोगका लागि पनि कार्यक्रम गरेको रायन सुनाउँदै थिए । 
त्यस्ता कार्यले तहल्का मच्चायो । रायनहरूको माग बढ्यो । सबै तिरबाट बोलाउन थाले । यसरी धेरै स्कुलहरुलाई सहयोग गरे । 
रायन सुनाउँछनन्, एउटा अर्को प्रसंग । “एक पटक दार्जिलिङमा बाढी पहिरो गयो । राल्फाले कार्यक्रम गरेर सहयोग रकम उठायो । र दूतावासमार्फत सहयोग रकम हस्तान्तरण गरियो । दार्जिलिङको सहयोगार्थ नै भनिएको थियो कार्यक्रममा । पछि दार्जिलिङका बासिन्दाले खुबै राम्रो माने यो कामलाई । र राल्फा समूहका संगीतकर्मीहरुलाई दार्जिलिङ बोलाए ।“
०००
तत्कालिन राजा महेन्द्र झन् सशक्त भएर एकलौटी शासन गर्दै थिए । कडा शासन व्यवस्था थियो त्यसबेला । विद्रोहका गीत गाउने भएकोले तत्कालिन प्रशासनले दुःख पनि खुबै दिन्थ्यो उनीहरूलाई । 
रायन आफूहरू पनि छापामार शैलीमा कार्यक्रम गर्ने बताउँछन् । गोदावरीमा कार्यक्रम गर्नु छ भने लेलेमा कार्यक्रम छ भनेर प्रचार गर्थे । प्रशासन लेलेतिर लाग्थ्यो । अनि यिनीहरू आफ्नो तोकिएको ठाउँमा पुगेर कार्यक्रम गर्दथे । यस्तै लुकामारी चलिरहेको थियो ।
एक पटक राजा महेन्द्र अमेरिकाको टेक्सास पुगेका थिए । त्यहाँ आयोजित सांस्कृतिक कार्यक्रममा कुनै एउटा समूहले लोकगीत गाएको सुने । खुबै घत परेछ उनलाई । त्यसबेला कसैलाई सोधेछन्, हाम्रो देशमा छैनन् यस्तो गाउने ? 
राष्ट्रिय नाचघरका हाकिम महेन्द्रनाथ खनालले ‘छ सरकार’ भनेछन् र राल्फाको नाम लिए । त्यसैबेला महेन्द्रले ‘पुस १ गते तिनीहरूलाई गीत गाउन बोलाउनु’ भनेछन् ।
रायनले सुनाए महेन्द्र प्रसंग । भने, “महेन्द्रनाथसँग मेरो सम्बन्ध रेडियो नेपालमा हुँदैदेखि थियो । अमेरिकाबाट काठमाडौं फर्किएपछि उनी म कहाँ आए । मलाई राजाले गीत सुन्न खोजेको कुरा बताएर राजाका अगाडि गीत गाउन जोड गरे । मैले भनेँ ‘को राजा ?’ उनले ‘महेन्द्र सरकार’ भने । मैले पनि ‘को महेन्द्र सरकार । म चिन्दिन’ भनेँ । मेरो कुरा सुनेर उनी छक्क परे ।”
तर पनि महेन्द्रनाथ खनालले रायनहरूलाई दरबारमा गएर गीत गाउन खुबै कर गरे । रायन रिसाए पनि ‘त्यतिकै राजालाई भन्ने हो गीत गाउन आउँछन्’ भनेर । तर महेन्द्रनाथले कर गरिरहे । पछि उनीहरुले हामी निहुरिँदैनौ र गीत सकिनासाथ निस्किन्छौ भन्ने शर्त राखे । उनले पनि हुन्छ भने । 
त्यस दिन नाटकको बीचमा उनीहरूको गीतको कार्यक्रम राखियो । राजा महेन्द्र आएका थिए । रायनहरूले केही गीत गाए । र, गीत गाएर सिधै निस्किए । राजाको चाकरीमा लागेनन् ।
राजाले राल्फालाई सुनिसके भन्ने कुराले रायनहरूलाई अलिकति सहज बनायो । अर्थात् प्रशासनले त्यतिविधि कडाई गर्थेन । एकदुई पटक त तत्कालिन आइजीपी रोमबहादुर थापाले महेन्द्र पुलिस क्लबको हल नै पनि दिए कार्यक्रम गर्नलाई । आइजी थापा रायन र रामेशको गीतका फ्यान भएको रायन बताउँछन् । 
०००
२०३० सालसम्म राल्फा रह्यो । तर त्यसपछि कम्युनिष्ट पार्टीमा विभाजन भयो । कोही चौथो महाधिवेशनतिर लागे । कोही कोअर्डिनेसन कमिटी झापा तिर लागे । यसरी रायनहरू पनि दुई समूहमा विभक्त भए । रायन, पारिजात र निनु चापागाईहरूसँगै चौथो महाधिवेशनतिर लागे । रामेश, मन्जुल र अरिमहरू झापालीहरूको कोअर्डिनेशन कमिटीतिर लागे । 
रायन भन्छन्, “त्यसैबेला हामी पनि राजनीतिकरुपमा विभक्त भयौं । म वेदना सांस्कृतिक समूह बनाएर हिँडेँ । यसलाई २०४४ सालसम्म निरन्तरता दिएँ । ‘सिम्मा’ गीति नाटक मञ्चन गरेँ । पछि  इन्द्रेणि सांस्कृतिक समाज (इसास)को स्थापना गरेर कार्यक्रम गर्दैगएँ ।” 
यो बीचमा गीत संगीतमा लागे पनि रायनले हातमुख जोर्न शिक्षण पेशा अपनाएका थिए । २०२४ सालदेखि नै उनी शिक्षण पेशामा संलग्न भएका थिए । उनी काठमाडौंस्थित बालमन्दिरमा पढाउँथे । 
रायन हाँसे र भने, “बालमन्दिरमा प्रहरी रायनलाई खोज्न आउँथे । तर त्यहाँ त नारायणभक्त श्रेष्ठ पढाइरहेका हुन्थे । प्रहरी आफूले खोजेको मानिस नभेटेर फर्किन्थे ।”

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६  १०:४६
प्रतिक्रिया दिनुहोस्