site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नारायणगोपाल, अरुण थापाजस्तो बन्‍नुछ सुशील गर्तौलालाई, ल्याए पहिलो गीत (भिडियोसहित)

टाइटल उचाल्न सकेनन् तर उनलाई दर्शक तथा स्रोताले रुचाए । राग अलापेका सुशीलको गलाको कलाको प्रशंसा गरे । ‘द भ्वाइस अफ नेपाल’बाट बाहिरएपछि उनलाई फेसबुकमा होस् या भेटमा, पत्रकार हुन् या शुभचिन्तक सबैको प्रश्न एउटै हुन्थ्यो, “तपाईंको गीत कहिले आउँछ ?”

सबैलाई उनको जवाफ हुन्थ्यो, आउँछ, आउँदैछ, तर केही समय लाग्छ । 

भ्वाइसबाट उनलाई मन पराउनेहरु संगीतप्रेमीलाई सुशीलले आफ्नो गलाको कला दिनु थियो । मात्रै कस्तो र कहिले भन्ने प्रश्नमात्रै थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खासगरी विदेशमा बस्ने नेपालीहरुले उनलाई भन्थे, मेरो गीत गाइदिनु पर्यो । सुशील हुन्छ भन्थे । नेपालभित्रकै पनि धेरैले भने, नाम चलेका देखि नामै नसुनिएकाहरुले पनि आग्रह गरे । सुशीलले हुन्छ नै भने । 

केही संगीतकारको कम्पोज पनि सुने, केही गीतहरु पनि हेरे । सुशीललाई खासै चित्त बुझेन । 

कारण स्रोता तथा शुभचिन्तकले सुशीलबाट अपेक्षा गरेर सोधेका हुन्, कहिले आउँछ तपाईंको गीत । विश्वास भएकाले भनेका हुन् किन ढिलो गरेको ? 

सुशीलले महसुस गरे मसामु अजङ्गको अपेक्षाको पहाड उभिएको छ । यो मेरा लागि चुनौती हो । समान्य सिर्जना प्रस्तुत गरेँ भने शुभचिन्तकहरुका लागि त्यो धोका हो । अपमान हो । 

त्यसैले उनलाई पपुलर होइन, कालजयी संगीतमा काम गर्नु थियो । आज ट्रेन्डिङ्गमा आएर भोलि हराएर जाने होइन । विस्तारै फैलिँदै जाने संगीत सिर्जना गर्नु थियो । त्यसैले सोचे ढिलै भए पनि होस् । तर राम्रो संगीत सिर्जना गर्न सकियोस् । बजारमा लोकप्रिय जति होस् तर कम्तिमा आफैंलाई आत्मसन्तुष्टि मिलोस् । मैले स्रोतालाई अन्याय गरेको छैन भन्ने आफैंलाई लाग्न सक्ने गीत होस् । 

भित्ताको पात्रो पल्टिँदै थियो । समय अघि बढ्दै थियो । आग्रह बाक्लिँदै थियो, त्यसैले उनले विश्वास गरे आफ्लै गुरुहरुसँग । र भने मेरा लागि गीत बनाउनु पर्यो । त्यस्तो गीत जुन सके आजसम्म कसैले गरेकै नहोस् गरे पनि कमैले मात्रै गरेको होस् । 

उनी आफैंले परिकल्पना गरे, बन्दिसहरु खेलाउँदा के होला ? दुईटा बन्दिस जोडेर एउटा सिङ्गो गीत तयार पार्छु जुन नेपालमा भएको पनि छैन । अथवा भए पनि नोटिस पनि भएको छैन । 

उनले गुरुहरु धनबहादुर गोपाली र श्री केसीसँग सल्लाह गरे । उनीहरुले पनि हुन्छ भने । सुशीलले शब्द र संगीत उनीहरुसँगै मागे । उनीहरुले पनि नाईं भनेनन् । 

उनलाई पहिलो बन्दिस तयार पारिदिए श्री केसीले ‘कसरी मनाउँ तिमीलाई’ । दोस्रो बन्दिस तयार गरिदिए धनबहादुर गोपालीले ‘कोही आई मेरो मनमा’ (यो बन्दिस सुशीलले भ्वाइसको ब्लाइन्ड अडिसनमा गाएका थिए) । दुईटा बन्दिस तयार भयो । तर समस्या अगाडिको बन्दिस र पछाडिको बन्दिसको टेम्पो फरक छ । अगाडिको टेम्पो केही स्लो छ, पछाडिको केही फास्ट ।

टेम्पो फरक भएपछि सुन्नेलाई मजा आउँदैन । त्यसलाई जोड्ने कसरी ? धेरै सोच्नुपर्यो सुशीलले । समाधान बनेर आयो तवला । तवलाको सानो टुक्रा राखे, जसलाई सांगीतिक भाषामा उठान भनिन्छ । र अर्को बन्दिस जोडे । अन्तिममा तान राखेर गीत टुङ्ग्याए । 

अनौठो ताल १२ मात्राको एक ताल प्रयोग गरे । जुन सामान्य संगीतमा प्रयोग हुँदैन । यो गीतमा धेरैले सुन्दा भ्वाइलिन जस्तो ठान्ने बाजा प्रयोग गरे । वास्तवमा त्यो भ्वाइलिन नभएर नेपाली सारङ्गी हो । कर्नाटकको हम्स ध्वनी क्लासिकल बन्दिस तयार भयो । 

“भ्वाइसबाट निस्किँदा मैले सोचेको थिएँ मेरो पहिलो गीत म यही बन्दिस (कोही आई मेरो मनमा) लाई थपेर तयार गर्छु भन्ने । त्यही सोचको परिपूरक हो यो,” सुशील सुनाउँछन्, “तर यति गर्न पनि मलाई निकै लामो समय लाग्यो । यद्यपि म आत्तिइन । ढिलो होस् तर राम्रो होस् भन्ने सोचमा थिएँ ।”

० ० ०
गीत तयार भयो । गीत सुन्ने मात्रै होइन हेर्ने पनि भयो । भिडियो विनाको गीत अहिलेको पुस्ताले कल्पना पनि गर्न छोडिसक्यो । त्यसैले म्युजिक भिडियो बनाउनु पर्ने भयो । 

गीत केही फरक थियो । त्यसैले सुशील भिडियोमा पनि केही फरक नै होस् भन्ने चाहन्थे । थिएटरका केही व्यक्तिले भिडियो बनाउँछु भने । उनले पनि विश्वास गरे । तर, सुशीललाई चित्तै बुझेन । सुशीलले त्यो भिडियोमा सम्झौता गरेनन् । दर्शक स्रोतालाई ठग्न हुन्न भन्ने लाग्यो । पैसा मात्रै डुब्यो । “ढिलो हुनुको कारण यो पनि एक मुख्य हो,” सुशील भन्छन्, “अर्को भिडियो बनाउनु पर्ने भयो । लगानी अघिल्लो भिडियोमै डुबेको हुनाले फेरि जोरजाम गर्नुपर्ने भयो । केही ढिलो भयो । तर दोस्रो पटकको भिडियो मलाई चित्त बुझ्यो । अहिले अडियोलाई भिडियोले न्याय गरेको छ भन्ने विश्वास गरेको छु ।”

० ० ०
जनै पूर्णिमाको भोलिपल्ट भ्वाइसको ब्लाइन्ड अडिसनको पहिलो श्रृंखला थियो । भ्वाइसले सुशीललाई ट्रेलरमा राखेर फालेको थियो । जनै पूर्णिमा अघिल्लो दिन नै उनी मामाघर गएका थिए । उनको अडिसन प्रशारण हुँदा उनी मामाघरमै थिए । तर उनले हेरेनन् । 

किन ?

सुशीलले भ्वाइसका कुनै पनि श्रृंखलामा आफूले गएको टेलिभिजन र युट्युबमा हेरेका छैनन् । कारण साना साना कमीकमजोरी खोतल्न थाल्छन् । “हेर्यो भने कमजोरी देखिन्छ । कमजोरी केलाउने बानी छ मेरो । आफैैंले गरेको कमजोरी देख्दा पीडा हुन्छ । छटपटी हुन्छ, त्यो पीडा सहन सक्तिन त्यसैले हेर्ने आँट नै आउँदैन मलाई,” सुशील भन्छन्, “लाइभ गाउँदा कतै न कतै जान्दा जान्दै पनि फुस्किहाल्छ । पछि त्यो हेरेर किन गल्ती गरेँ होला भन्ने लाग्छ । सुरु तलमाथि भएको कुराले मलाई पीडा दिन्छ त्यसैले हेर्न सक्तिन । तर ब्लाइन्ड अडिसन घरमा धेरै पटक अरुले हेरेको हुनाले सुनको चाहिँ छु तर हेरेको चाहिँ छैन । तर, आफैंले खोलेर मैले मेरो पर्फर्मेन्स आजसम्म कुनै पनि हेरेको छैन ।” 

सुशीलले टेलिभिजन र युट्युबमा आफूले गाएको नहेरे पनि अरुको भने हेरेका छन् । तर उनलाई मन पर्ने र विश्वास गरेकाहरुको मात्रै ।

० ० ०
सुशील क्वालिटी म्युजिक सुन्छन् । त्यस्तै काम पनि गर्न मन लाग्छ । सँगैका साथीहरुले कति गीत गाइसके तर उनको आउने छाँटकाट छैन । किन काम नगरेको भनेर धेरै साथीहरुले उनलाई गाली पनि गरे । सुशीलको आफ्नै व्यथा छ, उनी संगीतको सुर, ताल र लय अरुले बिगारेको पनि सुन्न सक्तैनन् । र आफू पनि त्यो चहाँदैनन् । 

भक्तराज, नारायण गोपाल उनलाई मन पर्ने गायक । उनलाई पनि त्यस्तै हुने रहर छ । कालजयी भएर बाच्ने सपना छ । यो सपना भरिदिने पनि नारायण गोपाल नै हुन् । “नारायण गोपाल स्मृति दिवसमा हरेक वर्ष नेपाल टेलिभजनले नारायाण गोपालले पहेँलो लुगा लगाएर हार्मोनियम आफैं बजाएर वाद्ययबादकको बीचमा बसेर गाएको प्रशारण हुन्थ्यो,” सुशील अहिले पनि लोभिन्छन्, “म सानै थिएँ । उहाँको त्यो गायनले मलाई लठ्ठै बनाउँथ्यो । मलाई रहर लाग्थ्यो म पनि त्यसैगरी बजाउन पाए ।”

अरुण थापाले जीवनभर जम्मा ३८ वटा गीत गाए तर वियोगको वादशाहको उपमा पाए । विक्रम गुरुङले जम्मा तीनवटा गीत लेखेर र संगीत भरेरै गीतकार र संगीतकारका रुपमा कहलाए । 

सुशीललाई पनि धेरै गीत गाउनु नै छैन । तर जुगजुग बाँच्ने कालजयी गीत गाउनु छ । सस्तो लोकप्रियता कमाउनु छैन । थोरैले किन थाहा नपाउन् तर राम्रो काम गर्नुछ । “मलाई मेरो जीवनभर १० वटामात्रै गीत किन नहोस् तर कहिल्यै नमर्ने अजर, अमर गीत भए पुग्छ,” सुशील अन्तिममा भन्छन्, “मलाई हजारौं गीत गाएँ भनेर हिँड्नु छैन, मात्रै १० वटा भएपुग्छ तर ती गीत म मरेर गए पनि बाँचिरहुन् ।” 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १७:०४
प्रतिक्रिया दिनुहोस्