काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको कामलाई लिएर साहित्यकारहरूमा देखिएको असन्तुष्टि बेलाबखतमा छापामा पोखिँदै आएको छ । प्रज्ञा–प्रतिष्ठानको मुख्य काम भनेको नेपाली भाषा, साहित्य, कला र सांस्कृतिक उन्नयनमा योगदान दिनु हो । यही मूल जिम्मेवारीमा प्रज्ञा चुक्दै आएको कतिपयको भनाइ छ । पछिल्लो समय प्रज्ञा–प्रतिष्ठानप्रति सकारात्मक दृष्टि राख्ने सर्जकहरू पाउन मुस्किल पर्न थालेको छ ।
साहित्यकारहरूका दृष्टिमा अहिलेको प्रज्ञा–परिषद्ले पनि काम गर्न सकेको छैन । नीतिगत रुपमा भाषा–साहित्य तथा वाङ्मयको उन्नयनका लागि प्रज्ञा–प्रतिष्ठान क्रियाशील रहनुपर्नेमा आसेपासे र नजिकका व्यक्तिको उन्नयनका लागि मात्रै काम गर्दै आएको आरोप सर्जकहरूले लगाउँदै आएका छन् । प्रज्ञाले मौलिक कृतिको खोजी र त्यसको प्रकाशनलाई लगभग बन्द नै गरेको गुनासो साहित्यकारहरूको छ । यसले पनि प्रतिष्ठानबाट उत्कृष्ट कृति प्रकाशित हुन नसकेको देखाउँछ ।
प्रतिष्ठानले २०५२ सालसम्म मौलिक कृतिको खोजी गरेर त्यसको प्रकाशन गर्दै आएको थियो । तर पछि प्रज्ञामा पनि राजनीति र गुटउपगुट हावी हुन थाल्यो । ‘राम्रा भन्दा हाम्रा’ले स्थान पाउँदै गएकै कारण आज प्रज्ञा–प्रतिष्ठानको क्रियाकलापप्रति अधिकांश साहित्यकार विमति राख्छन् ।
मूलतः प्रज्ञा प्रतिष्ठानको गद्य आख्यान विभाग सबैको नजरमा पर्दैआएको छ । गद्य आख्यानप्रति पाठकको अत्यधिक रुचिका कारण पनि यसो हुनु स्वाभाविक हो । गद्य आख्यान विभागले पनि अन्य विभागले जस्तै राम्रो काम गर्न नसकेको एक साहित्यकार बताउँछन् ।
उता, गद्य आख्यान विभागकी प्रमुख तथा कथाकार माया ठकुरी भने आफू प्रज्ञामा आएपछि केही नयाँ काम गर्ने तरखरमा लागेको बताउँछिन् । उनले आख्यानसँग जोडिएका नयाँ–पुराना सबै साहित्यकारले रुचाउने किसिमको काम गर्ने मनस्थितिमा आफू रहेको बाह्रखरीलाई बताइन् ।
ठकुरी भन्छिन्, “हालै मात्र हामीले लामो समयदेखि प्रकाशन हुन नसकेको समकालीन साहित्य पत्रिकालाई निरन्तरता दिएका छौं । हामीले नयाँ–पुराना सबै साहित्यकारलाई समेट्ने प्रयत्न गरेका छौं । यसका अतिरिक्त लघु–उपन्यासका विषयमा गोष्ठीको आयोजना गरेका थियौं । त्यस्तै लघु–उपन्यासको प्रकाशन तथा हास्य व्यङ्ग्यका क्षेत्रमा केही नयाँ काम गर्ने सोचका साथ काम अगाडि बढाएका छौं ।”
प्राज्ञ ठकुरीले प्रज्ञाको कामका विषयमा जानकारी गराए पनि शोध र अनुसन्धानका लागि प्रज्ञाले गतिलो काम नगरेको आरोप लाग्दै आएको छ । शोध–अनुसन्धानका काम प्रतिष्पर्धाका आधारमा दिएमा मात्रै त्यसको महत्व हुने देखिन्छ ।
नाम उल्लेख नगर्ने सर्तमा एक साहित्यकार भन्छन्, ‘‘अहिले प्रज्ञा–प्रतिष्ठानले एउटा शोध वा अनुसन्धानका लागि ४० देखि ७० हजारसम्म रकम उपलब्ध गराउँदै आएको छ । जब कि एउटा अनुसन्धानका लागि अनुसन्धाताले ६ महिनाभन्दा बढीको समय खर्चनुपर्ने हुन्छ । यस स्थितिमा ४० हजार रुपैयाँले के नै काम हुन सक्छ ! राम्रो अनुसन्धान त टाढाको कुरो, अनुसन्धान गर्नुपर्ने स्थानसम्म जाने–आउने खर्च पनि यो रकमले पुग्दैन ।’’
उनका अनुसार स्तरीय विधिबाट अनुसन्धान गर्ने हो भने एउटा अनुसन्धानका लागि दुई–तीन लाखभन्दा बढी खर्च हुन्छ । त्यसैले पनि थोरै रकममा अनुसन्धान गराइनु भनेको आफ्नालाई पोस्नुमात्रै भएको उनको तर्क छ ।
प्राज्ञ ठकुरी भने एकेडेमीले गरेका कामलाई गलत रुपमा हेर्नुभन्दा के गर्दा एकेडेमी र सर्जकका लागि राम्रो हुन्छ, त्यस किसिमको सुझाव र सल्लाह दिन आग्रह गर्छिन् । भन्छिन्, “हाम्रो कमजोरी देखाउनुभन्दा हामीले अब गर्ने भन्नेबारे सुझाव र सल्लाह दिए हामीले पनि त्यसतर्फ ध्यान दिन सक्ने थियौं । विज्ञ व्यक्तिहरूबाट हामीले सिक्ने नै हो । हामीले गर्न नसकेको कामतर्फ औंल्याइदिनुभए हामीले पनि नवीन काम गर्ने थियौं ।”
ठकुरीका अनुसार गद्य आख्यान विभागले प्रदेशगत रुपमा पनि आख्यान विधामा काम गर्ने योजना बनाएको जानकारी दिइन् । उनले आख्यानका विभिन्न विधालाई लिएर सङ्गोष्ठी गरिने पनि बताइन् ।
प्रज्ञा–प्रतिष्ठानले गर्ने प्राज्ञिक काममा पनि राम्राभन्दा हाम्राको खोजी गरिनु, अनि आफ्ना नजिकका वा गुटका मानिसलाई कामको जिम्मा लगाउनुले सही र सार्थक काम हुन नसकेको हो । एक आख्यानकार भन्छन्, ‘‘प्रज्ञा–प्रतिष्ठानमा सदस्य नियुक्तिमा त दलनिकटलाई चयन गरियो नै, शोध–अनुसन्धानमा समेत राजनीतिक विचार, दल तथा नातागोतामा ध्यान दिन थालियो । यसले प्रज्ञाप्रति लेखक–साहित्यकार मात्र होइन, पढेलेखेका सबै मानिसको अविश्वास बढ्दै गएको छ ।’’