site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालबाट विदेशी नागरिकको तस्करी ! नयाँदिल्ली, म्यानमार हुँदै लिबिया र टर्की

काठमाडौं । पछिल्लो समय अन्तर्राष्ट्रिय तस्करको गिरोहले नेपाली बाटो हुँदै विदेशी नागरिकको मानव तस्करी गरेको पाइएको छ । तस्करको समूहले लिबिया र टर्की पठाइदिने भन्दै त्यसका लागि अवैध रुपमा पाकिस्तानी र बंगलादेशी नागरिकको तस्करी गर्न थालेको पाइएको हो । 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाका अनुसार पाकिस्तानी तथा बंगलादेशी नागरिकलाई लिबिया तथा टर्की पठाइदिन्छु नेपाल ल्याई अलपत्र पारेको आरोपमा पाकिस्तानी नागरिक पक्राउ परेपछि यस्तो रहस्य बाहिरिएको हो ।

Argakhachi Cement Island Ad

पाकिस्तान र बङ्गलादेशबाट लिबिया जान रोक भएपछि तस्करहरुले नेपालको बाटोबाट तस्करीको बाटो पहिल्याएका हुन् । अधिकारीका अनुसार बङ्गलादेशी र पाकिस्तानी नागरिकलाई नेपाल ल्याएर दिल्ली हुँदै म्यानमारबाट लिबिया, टर्की पुर्याइन्छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पाकिस्तानी नागरिक राहदानी नम्बर पीएन ०१५१४५४ सयलकोट पञ्जाबका ३० वर्षीय खालिद मेहमुदलाई पक्राउ गरेको हो । यसअघि तस्करको गिरोहले नेपालबाट अवैध लागू औषध तेस्रो मुलुक पठाउने गरेको पटक–पटक देखिँदै आएको थियो । तर, नेपाली बाटो हुँदै मानव तस्करी भएको घटना भने यो नयाँ हो ।

ब्युरोका एसपी पुडासैनीका अनुसार अनुसन्धानका क्रममा खालिद मेहमुदले पाकिस्तान तथा बंगलादेश समेतबाट मानिसहरू ल्याई ५–७ लाख नेपाली रुपैयाँमा विभिन्न बाटो हुँदै लिबिया, टर्की पठाउने गरेको खुलेको छ । खालिद पटक–पटक नेपाल आएको खुलेको छ ।

खालिदले भिजिट भिसामा नेपाल ल्याएपछि पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिई पर्याप्त खाना, औषधी उपचार नदिई बन्धक बनाई ललितपुरको भैंसेपाटीमा कोठा लिई सोही कोठामा राख्ने गरेको अनुसन्धानमा खुलेको एसपी थपलियाले बताए । उनका अनुसार खालिद मेहमुदको साथबाट ३ वटा पाकिस्तानी राहदानी, ३ वटा भारतीय र ४ वटा बंगलादेशी राहदानीसमेत बरामद भएको छ ।

यस्तै भारत, पाकिस्तान र जोर्डन एम्बेसी तथा कन्सुलरको स्ट्याम्प, विभिन्न कम्पनीको १० वटा सिमकार्ड बरामद भएको थियो । खालिदले पाकिस्तानको मन्डी वहाद्दीन, बुर्जआग्रा गाउँका १९ वर्षीय सहजाइव नजार, बंगलादेश, मुन्सिगन्ज बस्ने ३६ वर्षीय बहाक शाहा आलम खान र बंगलादेशकै सिलेट जिल्ला सेहैदपुर बस्ने २५ वर्षीय सयेद सुमोनमियालाई नेपाल पुर्याएका थिए ।

प्रहरी अधिकारीका अनुसार खालिदलाई नेपालमा सहयोग गर्ने गिरोह नै हुनसक्ने सम्भावना छ । नेपालमा सहयोग गर्ने गिरोह नै हुनसक्ने देखिएकोले बंगलादेश पाकिस्तानमा रहेको अन्य प्रतिवादीहरूको विषयमा समेत अनुसन्धान भइरहेको ब्युरोका एसपी थपलियाले बताए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  १२:३१
प्रतिक्रिया दिनुहोस्