काठमाडौं । प्रजातन्त्रको पुनरोदयसँगै कथानक चलचित्र निर्माणले तिव्रता पाएपछि प्रकाशन आरम्भ गरेका अधिकांश सिने पत्रिका बन्द भए । चलचित्र निर्माणले तिव्रता पाएपनि रङ्ग पत्रिका भने लामो समय प्रकाशन हुन सकेनन् । अधिकांश पत्रिका प्रकाशन सुरु भएको एक वर्ष पनि हुन नपाउँदै बन्द भए भने केही पत्रिका केही वर्षपछि बन्द भए ।
कामना प्रकाशन गृहको ‘कामना’ मासिक भने अपवादकै रुपमा प्रकाशन हुँदै आएको छ । ०४१ मंसिर १५ गते ट्याब्लोइड साइजमा ‘कामना’को पहिलो अङ्क छापिएको थियो । १० पृष्ठको ‘कामना’को मूल्य दुई रुपैयाँ थियो ।
‘मधुरम’ नामक सिने पत्रिकाले ०४० को दशकमा प्रकाशन सुरु गरेको थियो । ‘सिन्दूर’, ‘हिरो’ लगायत चलचित्रका लगानीकर्ता विश्व बस्नेतले ‘मधुरम’ मा लगानी गरेका थिए । उनले ‘मधुरम’लाई लामो समय चलाउन सकेनन् । विश्व अभिनेता पनि हुन् ।
‘चलचित्र’ नामक सिने पत्रिका चलचित्र निर्माता भगवानदास श्रेष्ठले प्रकाशन गरेका थिए । ०४५ देखि ०५३ सालसम्म प्रकाशन भएको ‘चलचित्र’मा ब्रजेश खनाल, प्रकाश सायमी, मदन रिमाल लगायतले काम गर्थे । लामो समय प्रकाशन हुने थोरै सिने पत्रिकामध्ये ‘चलचित्र’ एक हो ।
०४० को दशकमा अर्को सिने पत्रिका पनि प्रकाशन भयो, ‘उर्वशी’ । वसन्त चौधरीको लगानीमा प्रकाशित रङ्ग पत्रिका ‘उर्वशी’ पाँच तारे होटलमा भव्य पार्टी गरेर सुरु भएको थियो । यसले पनि लामो समय प्रकाशन हुने मौका पाएन । चार अङ्क नै अन्तिम प्रकाशन हुन पुग्यो ।
०४० को दशकको अन्तिममा ‘रुपरङ्ग’ले प्रकाशन सुरु गर्यो । चलचित्र क्षेत्रका गतिविधिमा केन्द्रित यो पत्रिका श्री आचार्यले निकालेका थिए । सम्पादक पनि श्री नै रहेको यो पत्रिकालाई उनले लामो समय बचाइराख्न सकेनन् ।
चलचित्र निर्माता शैलेश आचार्यको लगानीमा पत्रिका ‘पर्दा’ ०५० को दशकको सुरुआतमा प्रकाशन भएको थियो । राम्रो जनशक्ति हुँदाहुँदै पनि ‘पर्दा’ले लामो यात्रा तय गर्न सकेन । यो पत्रिकामाा नवीन सुब्बा, राजेन्द्र शलभ, रमण घिमिरे, प्रदीप भट्टराई, सरोज खनाललगायत रुपमा काम गर्थे भने सुनील पोखरेल स्तम्भ लेख्थे ।
‘कलाकार आवाज’ पनि ०४० को दशकको सेरोफेरोमा प्रकाशन भएको अर्को सिने पत्रिका थियो । कलाकार सुवास गजुरेलले यसमा लगानी गरेका थिए । जहिले पैसा हुन्छ त्यही समय निस्किने यो सिने पत्रिका पनि सधैँका लागि बन्द हुन पुग्यो ।
चलचित्रका गतिविधिलाई समेटेर अर्को रङ्ग पत्रिका निस्किन्थ्यो, ‘कुमारी’ । पत्रकार नै लगानीकर्ता भएर सुरु गरेको पत्रिका ०५० को दशकमै प्रकाशन भएको थियो । श्रीओम श्रेष्ठ, भरत शाक्य, विमल पाण्डे र राजेश खनालले यो पत्रिका प्रतिव्यक्ति ३०–३० हजार रुपैयाँ लगानी गरेर प्रकाशन सुरु गरेका थिए । यो पत्रिका पनि आठ अङ्क निस्किएपछि बन्द भएको खनाल बताउँछन् ।
सिने पत्रिका ‘स्टारडम’ पनि ०५० को दशकको अन्तिममा बजारमा आएको थियो । राजिव श्रेष्ठले लगानी गरेको ‘स्टारडम’ले पनि लामो समय आफूलाई बजारमा टिकाइरहन सकेन ।
नेपाली रजतपटका गतिविधिलाई मात्रै समेटेर आएको अर्को सिने पत्रिका थियो ‘तरङ्ग’ । प्रदीप भट्टराई सम्पादक रहेको यो पत्रिकाले बजारमा ‘तरङ्ग’ सिर्जना गर्न सकेन । यसमा कसको लगानी थियो, स्पष्ट थिएन । यसले पनि आफूलाई लामो समय प्रतिस्पर्धामा खरो सावित गर्न सकेन । परिणामः बन्द भयो ।
अविनाश श्रेष्ठको लगानी रहेको चलचित्र पत्रिका ‘श्री’ पनि बजारमा थियो । विश्वज्योती हलका मालिक मोहन सर्राफ र विष्णुगोपाल श्रेष्ठको लगानी रहेको यो पत्रिका पनि लामो समय बजारमा टिक्न सकेन ।
‘मनोकामना’ले पनि नेपाली सिने गतिविधिलाई समेट्ने भन्दै ०५० कै दशकमा प्रकाशन आरम्भ गर्यो । लक्ष्मीकिशोर श्रेष्ठले लगानी गरेको यो पत्रिकाले पनि आफूलाई निरन्तरता दिन सकेन ।
पत्रकार राजेन्द्र शलभ वितरणको समस्या र विज्ञापनको अभावका कारण सिने पत्रिकाहरु बन्द हुने गरेको बताउँछन् । “त्यो समय अहिले जस्तो पत्रिकामा ठूलो लगानी कसैले गरेको थिएन । कामना प्रकाशन गृहबाट पछि अरु पनि पत्रिका आएकोले त्यसले भने निरन्तरता पायो,” राजेन्द्र भन्छन्, “व्यक्तिगत तवरमा सानो लगानी गर्नेहरु आफूसँग भएको पैसा सकिएपछि प्रकाशन नै बन्द गर्थे । वितरकले पनि पैसा दिँदैनथे ।”
धेरैजसो चलचित्रले विज्ञापन नै नदिने र दिए पनि विज्ञापनको पैसा नउठ्ने गरेकाले सिने पत्रिकाहरु बन्द हुने गरेको उनी बताउँछन् । सोखका कारण पत्रिका निकाल्ने र रहर पूरा भएपछि बन्द गर्ने गरेको पत्रकार श्रीओम श्रेष्ठ बताउँछन् । “पत्रिका प्रकाशन गरिरहेको टिममा कुरा नमिलेपछि त्यसबाट बाहिरिएर गएकाहरुले पनि त्यस्तै अर्को पत्रिका निकाल्थे,” श्रीओम भन्छन्, “पत्रिका बजारमा नपाइने हुने तर वितरकले प्रकाशकलाई पैसा दिँदैनथे । चलचित्र पत्रिका बन्द हुनुको मुख्य कारण यो पनि हो ।”
निर्माताहरु आफ्नो चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा केही देखिएरै र केही अप्रत्यक्ष रुपमा सिने पत्रिकामा लगानी गर्ने गरेको बताउने श्रीओम आफ्नो तस्बिर र अन्तर्वार्ताका लागि मात्रै पनि पत्रिकामा चलचित्रकर्मीहरुले लगानी गर्ने गरेको सम्झिन्छन् ।