site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिलाको मात्रै हो र तीज गीत !

यसपालिको तीजैमा प्रभु तिम्रै भर,
हुन पाउँ म पनि कसैको त बर ।

गायक तथा संगीतकार अराज केशवले करिब डेढ महिना अगाडि यो गीत सार्वजनिक गरे । उनले यो गीतलाई टाइटल दिए, ‘केटाहरुको तीज गीत’ । गीतमा जोडी मिलाइदिन भगवान शिवसँग केटाहरुले गरेको आग्रहलाई उल्लेख गरिएको छ । 

अहिले राष्ट्रिय सभा सदस्य बनेकी कोमल ओलीले केही वर्ष अगाडि शिव अर्थात् ‘वर’ जुराइदिन आग्रह गर्दै गीत गाएजस्तै अराज केशवले यो गीतमा शिवसँग श्रीमती जुराइदिन आग्रह गरेका छन् । भिडियोमा रातो र पहेँलो पहिरनमा अराजसँगै युवा देखिएका छन् । भिडियोमा महिला नभएका त हैनन्, तर ती पूरकका रुपमा मात्रै आएका छन् । 

गाउँका दिदी बैनी सबै तीजमा आउने कुरो छ,
त्यही भएर दर पकाउन आजै सुरु छ ।

एक महिना अगाडि गायक दुर्गेश थापाले यो गीत सार्वजनिक गरे । दुर्गेशले गीतको टाइटल दिए, ‘हामी पनि नाच्नु पर्छ बीच्चबीचमा ।’ भिडियोमा दुर्गेशसहित सात जना देखिन्छन् । दुर्गेशको भिडियोमा पनि महिला अटाउँदै नअटाएका त हैनन्, तर यसमा पनि अराज केशवको जस्तै पूरककै रुपमा महिला आएका छन् । 

दुर्गेश र अराजकेशव मात्रै होइनन्, उनीहरुका समकालीन तथा अन्य थुप्रै गायकहरुले तीज गीत गाएका छन् । गायक पशुपति शर्माको स्वरमा आधा दर्जन गीत आइइसकेका छन् । बद्री पङ्गेनी, खुमन अधिकारी लगायत थुप्रै गायकले यो वर्षका तीज गीत गाइसकेका छन् । 

धेरैका धेरै तीज गीत सार्वजनिक भए पनि दुर्गेशको तीज गीत सबैभन्दा ‘हिट’ छ । भलै गीत रक शैलीमा छ । कतिपयले तीज गीत महिलाले मात्रै गाउनुपर्छ भनिरहेका बेला दुर्गेशले आफैँ गाए । त्यो पनि गितार किवोर्डमा रक शैलीमा । तर दर्शक तथा स्रोताले त्यही गीत मन पराए । नकारात्मकभन्दा सकारात्मक प्रतिक्रिया नै उनले बढी पाए । 

दुर्गेश समय परिवर्तन भइसकेको भन्दै तीज गीत महिला पुरुष जसले गाए पनि हुने बताउँछन् । गीतको शैलीको भाव नमरेको अवस्थामा महिला र पुरुष भनिरहनु नपर्ने उनको तर्क छ । “पश्चिमा वाद्यवादन प्रयोग गरेपनि मैले लय तीजकै राखेको छु । त्यसैले यसमा आपत्ति जनाउनु पर्ने कारण छ जस्तो मलाई लाग्दैन,” दुर्गेश भन्छन्, “कुरा उही हो, संस्कार र संस्कृतिलाई जोगाउने हो । चाहे त्यो काम महिला वा पुरुषले गरोस् । त्यसैले मैले पनि गाएँ ।”

अराजकेशव पनि तीज महिलासँगै पुरुषले पनि मनाउने भएकाले आफूले गाएको बताउँछन् । “महिलाले आफ्नो श्रीमानको दीर्घायूका लागि व्रत बसेजस्तै श्रीमानले पनि श्रीमतीको लामो आयुको कामना गर्दै ब्रत बस्न थालेका छन् । अविवाहित युवा र युवती पनि राम्रो श्रीमान् र श्रीमती पाउँ भन्दै ब्रत बस्न थालिसकेका छन्,” अराजकेशव भन्छन्, “महिला पुरुष समान हुन् भनिएको अवस्थामा पुरुषले पनि तीज गीत गाउँदा केही फरक नपर्ला भनेर गाएको हुुँ ।” कलाको क्षेत्रमा महिला र पुरुष भन्नु जायज नहुने उनको तर्क  छ । 

गायक हेमन्त शर्मा आफ्नो दुई दशक लामो सांगीतिक यात्रामा तीजका गीत नगाउने गायकको सूचीमा पर्छन् । यद्यपि उनी केटाले तीज गीत गाउनु हुँदैन भन्ने विचार राख्दैनन् । उनलाई तीज गीत गाउने अफर नआएको पनि होइन । तर गाएनन् । 

“संस्कार, संस्कृति र थिती समयअनुसार परिमार्जन हुँदै जान्छ । तीज महिला र पुरुष दुबैले मनाउन थालिसके । रमजान, इद आजकाल सबैले मनाउन थालिसके । छठ पहाड र हिमालमा पनि मनाउन थालियो”, हेमन्त भन्छन्, “त्यसैले तीज पनि महिला पुरुष दुबैले उत्तिकै मनाउन थालिसके ।”

लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्षसमेत रहेका बद्री पंगेनी केही वर्ष अगाडिसम्म तीजका गीत पुरुषले गाउनु उचित हुँदैन भन्थे । तर अहिले आफैँ तीजका गीत गाउन थाले । 

“अहिले पनि म तीजका गीत पुरुषले नगाउँदा नै राम्रो भन्छु । तर तीजका गीतमा बुवा, दाइ, श्रीमान्को भूमिकामा गीत गाउनका आग्रह गर्नुहुन्छ । दिदी बहिनीले तपाईंले गाइदिनुपर्यो भन्नुहुन्छ । उहाँहरुको के चित्त दुखाउनु भन्ने लागेर पनि गाएको हुँ,” बद्री भन्छन्, “व्यावसायिकता पनि अर्को कारण हो । जापानका हामी तीजको कार्यक्रममा जाँदैछौं । त्यहाँ ६ जनामा ४ जना पुरुष कलाकार हुनुहुन्छ । अष्ट्रेलियामा दुई–दुई जना महिला र पुरुष कलाकारलाई बोलाउनु भएको छ ।” तीजका कार्यक्रममा बोलाएपछि अरुभन्दा तीजकै गीत गाउनुपर्ने बाध्यता भएकाले पनि तीज गीत गाउनु वाध्यता भएका बद्रीको भनाइ छ ।

लोक गायक कुमार बस्नेत नेपाली परम्परा अनुसार तीज महिलाहरुको पर्व भएको र तीज गीत महिलाहरुले मात्रै गाउने गरेको बताउँछन् । “हाम्रो बाउबाजेको पालामा तीज महिलाहरुको पर्व हो र महिलाहरुले मात्रै तीजका गीत गाउँथे,” कुमार भन्छन्, “हामीले तीज गीत गाएनौं । पहिला महिला आफ्नो दुःख र वेदना तीज गीतमार्फत् पोख्थे । अहिले केटाहरुले उनीहरुलाई नै डोमिनेन्ट गरेर गाउन थालेका छन् । जसले सक्छ त्यसैले गर्छ भनेजस्तो भएको छ । तर, हाम्रो परम्परा त्यस्तो थिएन ।”   

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro