काठमाडौं । पाँचौं एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप भोलि सोमबारबाट नेपालमा सुरु हुँदैछ । ७ टोली सहभागी च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपाल किर्गिस्तानसँग खेल्दैछ । घरेलु कोर्ट र दर्शकको फाइदा उठाउने लक्ष्यमा रहेको नेपाल सुखद् नतिजा ल्याउने योजनामा छ ।
समग्र रुपमा नेपालको लक्ष्य भने च्याम्पियनसिपको फाइनल पुग्ने हो । फाइनल प्रवेशका लागि सानदार सुरुआत गर्ने योजनामा रहेको नेपाल यसअघिका कमीकमजोरी सुधार्ने पक्षमा छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा खेल अपरान्ह ४ बजे सुरु हुनेछ ।
करिब २ महिना डच प्रशिक्षक हान एबिङको प्रशिक्षणमा रहेको नेपालले ४ दिनअघि च्याम्पियनसिपमा सहभागी अफगानस्तानसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । मैत्रीपूर्ण खेलमा भएका कमजोरीलाई सुधार्दै नेपाल घरेलु मैदानमा यादगार नतिजा ल्याउने रणनीतिमा छ ।
कप्तान इम रानाले घरेलु मैदानमा किर्गिस्तानसँग बदला लिने लक्ष्यमा रहेको बताए । तर दुईपटक एभिसी सेन्ट्रल जोन भलिबलमा च्याम्पियन भइसकेको किर्गिस्तानसँग बदला लिन चुनौती रहेकोमा कप्तान जानकार छन् । उनले भने, “च्याम्पियन टिम हो । उनीहरुको प्रदर्शन निकै राम्रो छ । खेलाडीको हाइट पनि राम्रो छ । म्याच एक्सपोजर पनि छ । तर हामीले पहिले खेलिसकेकाले खेलबारे जानकार छौं । हाम्रो कोर्ट हो । जित्न सक्छौं लागेको छ ।”
उनले च्याम्पियनसिपअघि मैत्रीपूर्ण खेलमा भएका कमजोरी सुधार्दै भोलि उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए । “त्यसो त मैत्रीपूर्ण खेलपछि कमजोरी सुधार्ने समय निकै कम हो । दुई दिनमा केही साना–साना कमजोरी सुधारेका छौं । अपेक्षा गरेको छु राम्रो सुरुआत गर्नेछौं,” उनले भने । खेलाडीमा रहेको उत्साह र जोशले टोली जितका लागि शतप्रतिशत तयार रहेको कप्तान इमको भनाइ छ ।
नेपाल रहेको समूह ए मा किर्गिस्तान र मादिल्भ्समात्र रहेकाले कम्तीमा एक खेलमा विजय हासिल गरे अन्तिम चारमा पुग्ने सम्भावना प्रवल रहनेछ । पहिलो खेलमा नै बलियो प्रतिद्वन्द्वी किर्गिस्तानको सामना गर्न लागेको नेपालको इतिहास भने सम्झनलायक छैन ।
यसअघिका चार मा भेटमा नेपाल पराजित छ । एभिसीका चारै संस्करणमा किर्गिस्तानलाई हराउन नसकेको नेपाललाई घरेलु मैदानमा बदला लिने अवसर पनि छ । तर त्यो अवसरमा चुनौती रहेपनि टोलीले शतप्रतिशत दिने कप्तान इमले बताए ।
समूह ए मा रहेको नेपालले किर्गिस्तानपछि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । समूह बी मा तुर्किमिनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन् । च्याम्पियनसिप पाँच दिनसम्म चल्नेछ ।
चार दशकको भलिबल यात्रामा ठूलो अन्तर्राष्ट्रिय पदकका रुपमा नेपालले अहिलेसम्म कास्य पदकमात्र जितेको छ । त्यो पनि साढे २ वर्षअघि अर्थात् २०७३ सालको चैतमा माल्दिभ्समा सम्पन्न तेस्रो एभिसी सेन्ट्रल जोन भलिबलमा नेपालले जितेको हो । सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट नेपालको अन्तर्राष्ट्रिय भलिबलको यात्रा सुरु भएको हो ।