site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सबै साक्षर र शिक्षित छन्, यही नै मेरा लागि ठूलो पुरस्कार हो 
SkywellSkywell

युवा उमेरदेखि नै उनको सक्रियता समाजसेवामा रह्यो । त्यसैले समाजसँगै माटोको सुगन्धमा उनी सँधै रमाए । जग्गा जमीनमा कुन समयमा के उत्पादन गर्ने भन्ने विषयमा सदैव ध्यान दिँदै आएका उनले आफ्नो युवाकालको उर्जाशील अवधि गाउँ र गाउँबासीको सेवामै लगाए । 

उनका तीन छोराहरू अस्ट्रेलियामा थिए । उनी र उनकी धर्मपत्नी गाउँमा नै थिए । छोराहरूले उनलाई भने कति काम गर्नुहुन्छ । अब यतै आउनुस् । आराम गर्नुस् । 

समाजसेवी काशीनाथ जोशी (७९)ले पनि सोचे, सात दशक उमेर पार गरिसकियो ! अब केही समय आराम नै गरौं । यो निर्णयसँगै उनी सपत्नी अस्ट्रेलिया पुगे । छोराहरूको आग्रहलाई स्वीकार्दै उनी अष्टे«लिया पुगेका थिए । 
उनी अस्ट्रेलिया पुगे, तर त्यहाँ पनि यत्तिकै बस्न मनलागेन । त्यसैले उनले त्यहीको एउटा कलेजमा योग शिक्षा सञ्चालन गरे । उनी योग सिकाउन थाले । 

KFC Island Ad
NIC Asia

केही वर्ष अस्ट्रेलिया बसेका उनले त्यही स्थायीरुपमा बस्न पाउने गरी पीआर पनि लिए । पीआर लिए बापत उनले जेष्ठ नागरिकका हैसियतमा निश्चित रकम मासिकरुपमा पाउँथे । 

आफ्नो थातथलो सप्तरी जिल्लामा बसेर समाजसेवा गर्दैआएका समाजसेवी काशीनाथ जोशी आइतबार साँझ पेप्सीकोला खहरेमा भेटिए । उनीसँग करिब एक घण्टा कुराकानी भयो ।

Royal Enfield Island Ad

कुराकानीका क्रममा उनी भन्दैथिए, “त्यहाँ पनि म खाली बसिन । केही न केही गरिरहेँ । त्यसो त मलाई मासिक १ हजार १ सय डलर दिइन्थ्यो । तर एकदिन मलाई लाग्यो, हैन मैले मेरो माटो मेरो भूमिकै लागि केही गर्नुपर्छ । त्यसपछि मैले अस्ट्रेलिया छोडेँ र सप्तरीको आफ्नै गाउँमा आएर समाजकै लागि काम गर्न थालेँ ।” 

उनी अस्ट्रलियामै थिए । एक दिन केही सिख्ख मित्रहरूले काशीनाथ जोशीलाई त्यहाँस्थित गुरुद्वारा लिएर गए । ति सिख्खहरूले ‘चलिए, आपको गुरु नानकके दरबारमे ले जाउङ्गा’ भन्दै त्यहाँ पु¥याए । 

ब्लेनउड नाम गरेको ठाउँमा सिक्खहरूले विशाल मन्दिर बनाएका रहेछन् । उनी मन्दिरमा पुगे । गएर शीर निहुराए । जसै उनले दर्शनका लागि टाउको निहुराए, उनलाई लाग्यो ‘हैन, गुरु नानकको पाइला परेको स्थान त मेरै गाउँ छेउमै छ, भेडियामठ । म किन यहाँ दर्शनका लागि आइरहेको छु !’

समाजसेवी जोशीका अनुसार मल्लकालिन समयमा भेडियामठ भन्ने स्थानमा पनि गुरु नानक नै पुगेको मानिन्छ । त्यहीँ उहाँले गुरुग्रन्थ पनि लेख्नु भएको भन्ने भनाइ छ । 

उनका अनुसार बिरामी मल्ल राजालाई निको तुल्याए बापत गुरु नानकलाई आश्रम निर्माणका लागि भेडियामठमा ३६५ विघा जमिन दिइएको थियो रे । 

उनले त्यही भेडियामठ सम्झिए । अस्ट्रेलियाको गुरु नानक मन्दिरले हठात् उनलाई फेरि गाउँको बाटो देखायो । उनी जन्मिएको, हुर्किएको र उनले गोडमेल गरेको माटोको सम्झना गरायो । 

त्यस पछि उनले अस्टे«ेलियाको पीआर त्यागे । उनी नेपाल फर्किए । गाउँ फर्किए । र बितेको चार वर्षदेखि उनी एक्लै बसिरहेका छन गाउँमा । 

जोशी सुनाउँदै थिए, नेपाल फर्किँदाको सन्दर्भ, “मलाई मेरी पत्नी र छोराहरूले नेपाल नफर्कन अनुनय गरे । तर मेरो मनले ठाने पछि म त्यहाँ बस्नै सकिनँ । मेरा छोराहरूले भने ‘कति काम गर्नुहुन्छ’ भनेर । तर मलाई लाग्छ अहिले पनि मैले धेरै गर्न बाँकी छ । मैले के नै गरेको छु र ! जबसम्म मैले सक्छु तबसम्म समाजकै लागि काम गरेर देखाउँछु ।” 

उताबाट फर्किए पछि उनले भेडियामठमा गुरुकुलको स्थापना गरे । अहिले गुरुकूलमा २ सय नम्बरको संस्कृत पनि पढाइन्छ । यसका साथै अंग्रेजी, नेपाली, हिसाब, विज्ञानलगायतका विषय पनि पढाई हुन्छ । 
गुरुकूलमा अहिले ६४ जना विद्यार्थी छन् । त्यहाँ निःशुल्क पढाई हुनेगरेको उनी बताउँछन् । उनले आफ्नै खर्चमा पाँच वटा घर बनाएका छन्, गुरुकूलका लागि । 

अघिल्लो वर्ष सप्तरीलाई बाढीले आक्रान्त तुल्यायो । उनले सक्दो समय बाढीपीडितकै सेवामा लगाए । उनले तिरहुत नगरपालिका क्षेत्रमा विभिन्न सामाजिक संस्थाहरूको सहयोगमा ३५ वटा घर बाढीपीडितका लागि बनाउने कामको अगुवाई गरे । जोशीका अनुसार उक्त घर निर्माणका लागि चिन्तक डा. चिन्तामणि योगी, समाजसेवी इन्दिरा मानन्धर, सामाजिक संस्था लायन्स क्लबको  साथ र सहयोग रहेको थियो । 

त्यसबेला विदेशमा बस्ने नेपालीहरूले पनि धेरै सहयोग गरेको उनको भनाई छ । बाढी आएका बेला उनका छोराहरू पनि पिताजीको सेवा कार्यमा सहयोग गर्न सप्तरी आइपुगेका थिए । 

जोशी भन्छन्, “बाढीले चारैतिर जलमग्न थियो । बाटोघाटो बन्द थियो । त्यस्तो अवस्थामा पनि हामीले केही दिनसम्म बाढीपीडितहरूका लागि भोजनको व्यवस्था ग¥यौं । युवाहरूले हरतरहले सहयोग गरेका थिए ।” 

आज समाजसेवी काशीनाथ जोशीलाई अलिकति पनि मन छैन, अस्टे«लिया जान । उनी ‘मैले त्यहाँ गएर के गर्ने ?’ भन्ने प्रश्न गर्छन् । 

जोशीका अनुसार उनी आफ्नै गाउँ र समाजमा बस्न चाहन्छन् । त्यहीँको माटोमा रमाउँन चाहन्छन् । आफ्नो जीवन सुन्दरी खोलाको पानीले दुबै क्षेत्रका खेतबारीलाई सिँचित गरेझैं स्थानीयको सेवामा लगाउन चाहन्छन् ।  

० ० ०

वि.सं. १९९७ सालमा उनको जन्मिएका समाजसेवी काशीनाथ जोशीको बाल्यकाल सप्तरीको गोरपारमै बित्यो । अहिले कञ्चनरुप नगरपालिका अन्तरगत पर्ने गोरपरमा नै उनले बाह्रखरी सिके ।

त्यसबेला पढाउने गुरुजी थिए, अवधलाल । उनैले ओनामासी पढ्न सिकाए । भुईँमा माटोको डल्लोले लेख्न सिकाउँथे गुरुजीले । त्यसबेला सीमावर्ती भारतीय शहरहरूबाट गुरुजीहरू गाउँगाउँमा पढाउन आउँथे । 

जोशी पनि सम्पन्न जमिनदार परिवारका थिए । नपढ्ने कुरै भएन । यसरी गाउँबाटै उनको पढाई अगाडि बढ्दै गयो । र, उनले बरमझियाबाट मीडील स्कूल पास गरे । आज सप्तरीको राजमार्गमा रहेको बरमझिया पेँडाको लागि प्रख्यात छ ।

काशीनाथ जोशीका पुर्खा पाटनका हुन् । उनका हजुरबुवा आफ्ना काकाहरूसँगै तराई झरे । त्यसबखत उनका हजुरबुबाका काकाहरू बालासुन्दर र श्यामसुन्दर जोशी सप्तरीको हनुमाननगर नजिकैको जुगुनिया पुगे । 

सप्तरीको तिनै क्षेत्रमा राणाजीको एक सय २० वटा मौजा थियो । बालासुन्दर र श्यामसुन्दरलाई पनि तिनै मौजाको जिम्मा दिइएको थियो । र काशीनाथका अजा अर्थात हजुरबुवा आफ्ना काकाहरूसँगै तिनका काममा सहयोग गर्न तराई झरेका थिए । 

प्रारम्भमा उनका हजुरबुवा जुगुनियामै बस्थे । तर जुगुनियालाई जहिल्यै कोशी नदीले दुःख दिने भएपछि उनका हजुरबुवाले आफ्नो जिम्मामा रहेको सिद्धिपुर र गोरपारमा रहेको मौजा हेर्नेगरी त्यहाँ स्थानान्तर भए । 

काशीनाथले आफ्ना हजुरबुवाको कर्मकथा सुनाए । उनका हजुरबुवा बागवीर सुवेदारका नामबाट त्यस क्षेत्रमा प्रख्यात भए । उनको नाम बागवीर जोशी थियो । राणाजीको एक सय २० वटा मौजाका लप्टनका सात जना सुवेदारहरू थिए । र बेलाबेलामा राणाजीहरू आउँदा रसद–पानी जम्मा गरेर राणाजीलाई बुझाउनु पर्दथ्यो । राणाजीहरूलाई सबैले राजा भन्थे । 

आफ्नो जिम्मामा रहेको मौजाको उत्पादन बुझाउने क्रममा उनका हजुरबुवा पनि पुगे । त्यसबेला उनी सुवेदार थिएनन् । कारिन्दा मात्रै थिए । 

जब क–कसले कति कति अन्नपात र वस्तु ल्याए भनेर हेर्ने काम भयो । यसरी हेर्दा सात सुबेदारले नल्याएको अन्नपात जोशीका हजुरबुवाले ल्याएको देखियो । 

काशीनाथ जोशी भन्छन्, “राणाले यो कसले ल्याएको भनेर सोधे । लप्टन काकाले ‘बागवीरले ल्याएको’ भन्दै ‘यो मेरो भतिजो हो’ भनेर परिचय दिए । त्यस पछि राणाजीले पनि सातै सुबेदारलाई खारिज गरेर बागवीर जोशीलाई मात्रै सुबेदारसहित सारा मौजाको जिम्मा दिए । यो कुरा मेरा बा र काकाले मलाई सुनाउनु भएको होे ।” 

गोरपारकै धुलोमाटोमा हुर्किँदै गएका काशीनाथ जोशीले मीडिल स्कूल पास गरे पछि थप पढाईका लागि राजविराजमा रहेको स्कूलमा भर्ना भए । 

राजविराजमा उनी दस कक्षामा पढ्दै थिए । त्यसबेला धेरैजसो विद्यार्थी बनारस जाने गरेको उनले देख्दै आएका थिए । त्यसैले उनलाई पनि बनारस जान मनलाग्यो । र उनी घरमा खबर नै नगरी बनारस पुगे । र स्कूलमा भर्ना भए । 

उनले केही समय पछि मात्रै घरमा आफू बनारस आएको थाहा दिए । काशीनाथले बनारस गएर पढ्न थालेको थाहा पाए पछि उनका बुवाले उनलाई मासिक ८० रुपैयाँ पठाउन थाले । त्यसबेला ८० रुपैयाँ छेलोखेलो हुन्थ्यो । २० रुपैयाँमा महिनाभरि खाना खाएको उनी सम्झिन्छन् । 

उनले बनारसबाटै एसएससी पास गरे । त्यस पछि उनी गाउँ फर्किए । घर आए पछि कुरो उठ्यो, बनारस धेरै टाढा भयो, नजिकै पढ्नु पर्छ । त्यस पछि उनी दरभङ्गा गए पढ्नलाई । त्यसबेलाको ऐतिहासिक र सांस्कृतिक सहर दरभङ्गामा उनको पढाई सुरु भयो । उनी आफूले दरभङ्गाको मारवाडी कलेजबाट आइए र बीए पास गरेको सुनाउँछन् । 

दरभङ्गा त्यसबेला रमाइलो ठाउँ रहेको उनी बताउँछन् । कुनै बेला दरभङ्गामा राजारजौटाहरूको बाहुल्य थियो । त्यहाँका राजाहरूको खुबै चल्ती रहेको उनी सुनाउँछन् । आज पनि दरभङ्गामा तिनका दरबारहरू रहेको उनी भन्छन् । 
दरभङ्गामा नेपालीहरूको भीड थियो । उनका मित्र गोपाल राजवाहक पनि दरभङ्गामा नै पढेका हुन् । राजवाहक नेपालमा प्रशिद्ध चार्टर्ड एकाउण्टेण्ट हुन् । 

० ० ०

सन् १९६२ मा उनले दरभङ्गाको मारवाडी कलेजबाट ब्याचलर सक्याए । गोरपारमा बीए पास गर्ने उनिमात्रै थिए । त्यसबेला उनको घरमा घोडा पनि थियो । यातायातको साधनका रुपमा घोडा नै प्रयोग गरिन्थ्यो । उनी जमिन्दारका छोरा थिए । उनले बीए पास गरेपछि चर्चा चल्नु अस्वाभाविक थिएन । 

उनले एक वर्ष सेडामा पनि काम गरे । तर उनलाई गाउँका लागि केही गर्ने, माटोका लागि केही गर्ने हुट्हुटी जाग्यो । उनी जागिर छोडेर गाउँ गए । 

एक दिन उनी राजविराजबाट फर्किँदै थिए । बीचमा सुन्दरी खोला पथ्र्यो । खोलाको पूर्वतर्फ एकदमै लहलहाउँदो धान झुलेको थियो । तर, उनको घरगाउँ भएको क्षेत्र पश्चिमतर्फ भने एकदमै सुखा– सुख्खा जमीन थियो । खोला वारिपारिको त्यो फरक अवस्था देखेर उनलाई आश्चर्य लाग्यो ।

उनी घर पुगे । अनि घोडाबाट ओर्लनासाथ पिताजीलाई सोधे– ‘बा किन यस्तो फरक ? पूर्वतिर धान लहलहाउँदो छ । यता पश्चिम तिर सबै अन्न डढेको छ ? मरहन्ना लागेको छ । यस्तो पनि हुन्छ र ?’ 

उनका बाले सुन्दरी खोलाको पानी प्रकाश शमशेर बडाहाकिमको पालादेखिनै पश्चिमतिरका ढकबहादुर सिजापतिले एकलौटीरुपमा पूर्वतिर लग्ने गरेको बताए । 

यो सुनेर काशीनाथलाई झोँक चल्यो । एउटै खोलाको पानीमा यत्रो विभेद ! उनले खोलाको पानी पूर्वतिरको मात्रै होइन भनेर मुद्धा हाले । मुद्धा लडे । तीन वर्षसम्म उनले मुद्धा खेपे । अन्ततः राज्यले नै खोलाको पानी दुबै तिर दिनु भन्ने निर्णय गराए ।

त्यस पछि भने गोरपार र धरमपुरमा गहुँ बाली लगाउने काम सुरु गरियो । उनले खेती किसानीमा सक्रिय हुँदै कृषि उत्पादन कसरी बढाउन सकिन्छ भन्ने विषयमा ध्यान दिनथाले । त्यस पछि गोरपार दमा र उत्पादन पनि लहलहाउँदो हुन थाल्यो । यसरी उनले धान, गहुँ, कुर्थी (गहत)को उत्पादनमा व्यापकता ल्याए । 

उनले धेरै मिहिनेत गरेका हुन त्यो गाउँलाई हराभरा बनाउन । उनी यसरी जमीनसँग जोडिए । हरियालीसँग गाँसिए । फलतः उनी समाजसेवाको मार्गमा अघि बढ्दै गए । 

समाजसेवी काशीनाथ जोशी भन्छन्, “आज धरमपुरमा धर्मेश्वरको मन्दिर स्थापित छ । पानी ट्याँकी बनेको छ । सुन्दरी खोलाको छेउ पर्यटकीय क्षेत्रमा विकसित भएको छ । योगाको कक्षा सुरु गरिएको छ । अहिले त मैले पनि नारा दिएको छु, ‘हाम्रो नेपाल राम्रो नेपाल । हाम्रो धरमपुर राम्रो धरमपुर’ ।”

काशीनाथ जोशीका अनुसार खेती–किसानीमा स्थानीयलाई हौस्याउँदै गए पछि खेती नै हाम्रो मूल आधार हो भन्ने सबैले जान्दै गए । बुझ्दै गए । यसरी उनको समाजसेवा यात्रा अगाडि बढ्दै गयो । 

० ० ०

काशीनाथमा एउटा लालसा थियो, कसरी मैले सेवा गरूँ । यसका लागि शिक्षा नै उत्तम हुने उनले ठाने । त्यस पछि उनले विद्यालय निर्माणको काम थाले । 

गोरपार, धरमपुर क्षेत्रमा उनले तीन वटा स्कूलको स्थापना गरे । कतिमा उनले आफ्नै खेतबारी दिएर स्कूल संचालनमा ल्याए । उनका अनुसार राजमार्गमा रहेको साँढे दुई कट्ठा जग्गामा एउटा स्कूलको स्थापना गरेका थिए । 

उनले क्यानेडियन प्रोजेक्टबाट त्यसै ठाउँमा ६ वटा कोठा स्कूलका लागि निर्माण गराए । यो विद्यालय दुर्गा स्कूलका नामबाट सञ्चालित यस स्कूलमा ८ कक्षासम्मको पढाई हुँदैआएको छ । त्यस विद्यालयमा उनी केही वर्ष व्यवस्थापन समितिको अध्यक्ष भएर बसे । 

वि.सं. २०४९/५० तिर उनले गाउँबासीको आर्थिक सामाजिक उत्थानका लागि कार्य गर्नेगरी सर्वोदय ग्रामिण विकास नामक संस्थाको स्थापना गरे । यस संस्थाका माध्यमबाट उनले गाउँबासीलाई विभिन्न कार्यमा सहभागी गराउँदै लगे । यसैबाट उनले साक्षरता अभियानलाई पनि तीव्र बनाए । आज पनि यो संस्था आफ्नो उद्देश्यमा क्रियाशील छ ।  

उनले एउटा प्रसंग सुनाए । एक पटक गाउँका एक जना वृद्ध व्यक्ति मुनीलाल बिरामी परे । उनी एक्ला व्यक्ति थिए । उनको परिवार थिएन । तिनले काम गरेर आर्जन गरेको रकमबाट जोडेका थिए ९ विघा जग्गा जमीन । 

उनी बिरामी भए पछि गाउँलेहरूले आएर काशीनाथका पिताजीलाई भेटेर भनेछन् ‘मुनीलालको त्यो जग्गा खेर जानु भन्दा त्यो जग्गामा रामजानकीको मन्दिर बनाई दिए हुन्थ्यो’ ।

उनका पिताजीले पनि ‘म बुढो भएँ, काशीनाथलाई भनन्’ भनेछन् । ती प्रस्ताव गर्ने मानिसहरूले काशीनाथलाई यो कुरा सुनाए ।

काशीनाथ जोशी भन्छन्, “हेर्नुस्, मेरो मुखमा सरस्वती बसेको ! मैले पनि तिनीहरूलाई मन्दिर बनाउन त होइन, स्कूल बनाउने हो भने म सहयोग गर्छु भनेँ । मेरो कुरा सुनेर उनीहरू फर्किए । तर पछि तिनको जग्गामा स्कूल नै निर्माण गरिने निर्णय भयो ।” 

सुरुमा त उनीहरू विद्यालय स्थापनाका लागि मानेका थिएनन् । तर ती मानिस धेरै बिरामी भएका कारण सबै जना विद्यालय स्थापनाका लागि राजी भए । 

त्यसबखत काशीनाथ केही समयका लागि गाउँफर्क राष्ट्रिय अभियानको सगरमाथा अँचल अभियान समितिमा प्रशासकीय अधिकृतकारुपमा कार्यरत थिए । त्यो नाताले उनले सरकारी अड्डाका हाकिमहरु चिनेका थिए । र उनले सबैतिर काम गरेर  ९ विघा जग्गाको सदूपयोग गर्दै स्कूलको स्थापना गराए । 

सन् १९९४/९५ तिर उनको परिचय एउटी स्वीस महिला जोशियानी पेरियर क्याथोमेनसँग उनको परिचय भयो । ति महिलालाई काशीनाथले भने, ‘तपाईको अगाडिको नाम र मेरो अन्तिम नाम त मिल्दो रहेछ । तपाई जोशियानी र म जोशी’ । 

ती महिलाले पनि हो भनिन् । यसरी काशीनाथको जोशियानीसँग सम्पर्क बढ्यो । एक पटक उनले ती स्वीस महिलालाई आफ्नो गाउँ घुम्ने निम्तो दिए । उनले आफूले गाउँका गरीब विद्यार्थीहरूका लागि विद्यालयको स्थापना गर्दै काम गरेको बताए । 

जोशियानीले पनि के सोचिन, ‘हुन्छ’ भनिन् । उनी काशीनाथको गाउँ पुगिन् । त्यस बेला काशीनाथ जोशीले जोशीयानीको भव्य स्वागत गरे गाउँमा । जोशीयानीलाई सोच्दै नसोचेको मान सम्मान दिए । 

त्यो क्षण सम्झिँदै काशीनाथ हाँसे । उनी भन्छन्, “जोशियानी खुबै खुशी भईन् । त्यस पछि उनले त्यहाँ स्कूल स्थापनाका लागि सहयोग गरिन् । तपाईलाई आश्चर्य लाग्ला, आज पनि जोशियानी पेरियर सप्तरीमै बस्छिन् । उनले त्यो गाउँ ठाउँको शैक्षिक विकासका लागि स्वीजरल्यान्ड जस्तो आफ्नो देश छोडिदिइन् !” 

विगत लामो समयदेखि समाज सेवामा सक्रिय काशीनाथ जोशी आज पनि त्यहीँ बसेर समाज सेवा गरिरहेका छन् । उनलाई कतिले भन्छन् ‘के पाइस तैँले ?’ भनेर । 

उनी भन्छन्, “मैले भन्दै आएको छु, मेरा लागि सबै कुरा यही नै हो । मैले यहीँबाट धेरै थोक पाएको छु । जुन गाउँमा लेखपढ गर्न सक्थेनन् मानिस, त्यो गाउँका अधिकाँश मानिसलाई साक्षर बनाउन सहयोग गरेको छु । त्यो गाउँका मानिस शिक्षित भएका छन् । मेरा लागि यो भन्दा ठूलो पुरस्कार अरू के हुनसक्छ !” 

० ० ०

गाउँका मानिसलाई शिक्षाका लागि हुट्हुट्याउनु अति गाह्रो काम हो । त्यो जहिल्यै पनि गाह्रो हुन्छ । तर आफूहरू त्यसमा भिडेर लागेको उनी बताउँछन् । त्यही हुटहुटाईको नतिजा हो, आज त्यस भेगमा चार वटा स्कूलमा विद्यार्थीहरू पढिरहेका छन् ।

युवा अवस्थामै उनले खेती किसानीमा मानिसलाई लाग्ने वातावरण तयार गरे । त्यसबेला माटोको सुगन्धसँगै उनी लपक्कै भिजेका थिए । 

पछि स्कूलहरुको स्थापनामा ध्यान दिए । स्कूलको स्थापनाले उनलाई सन्तुष्टि दियो । साक्षर र शिक्षितको सँख्या बढाउनका लागि उनी भिडेर लागे ।

अहिले उनी मानिसको स्वास्थ्य र गाईको संरक्षणका विषयमा काम गर्दैछन् । अहिले उनको काममा योगका साथै गोधन अर्कको उत्पादन पनि थपिएको छ । 

उनले पाँच वटा गाई राखेका छन् । बाँधेर राखिन्न त्यो गाई । ती गाईलाई वनमा खुला चर्नका लागि पु¥याइन्छ । जंगलमा गएर जडीबुटी खाएको गाईको गहुँत (गोमुत्र)बाटै गोधन अर्क बनाउन सकिने उनी बताउँछन् । 
गोधन अर्कको सेवनले मानिसलाई निरोगी बनाउने उनको तर्क छ । 

‘ज्योति गोधन अर्क’को उत्पादन थालेको दुई महिना मात्रै भएको छ । 

समाजसेवी काशीनाथ भन्छन्, “अहिले काठमाडौं आउँदा २१६ बोतल गोधन अर्क बेच्यौं । यसबाट आएको नाफाको रकम हामीले समाजसेवामै खर्च गर्ने उद्देश्य लिएका छौँ ।” 

७९ वर्षमा पनि उनमा अथाह उर्जा भेटिन्छ । उनमा कामप्रति उत्तिक्कै उत्साह छ । उनलाई ७९ वर्षका वृद्ध भन्दा ७९ वर्षका युवा भन्दा सायद फरक पर्दैन !
  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  ०७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro