काठमाडौं । ते्रहौं दक्षिण एसियाली खेलकुद (साग) आगामी मंसिर तेस्रो साताबाट नेपालमा हुँदैछ । काठमाडौं र पोखराका विभिन्न स्थानमा करिब १० दिनसम्म चल्ने सागका लागि आयोजक नेपालले विशेष तयारी सुरु गरिसकेको छ ।
पूर्वाधार स्तरोन्नति एकातिर छ भने घरेलु मैदानमा ऐतिहासिक नतिजा ल्याउने लक्ष्य अर्कोतिर छ । त्यहि लक्ष्यलाई मध्यनजर गर्दै समावेश गरिएका २७ खेलमध्ये क्रिकेट बाहेक अन्य खेलको बन्द प्रशिक्षण सुरु भइसकेको छ । राखेपको राष्ट्रिय टोली तयारी समितिका निर्देशक महेन्द्रकुमार राईले सबै टोली तयारीमा जुटिसकेको बताएका छन् ।
समर्थकका बीच घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने सबै खेलाडीको चाहना हुन्छ । त्यसलाई मूर्तरुप दिन संघले आफ्ना खेलाडीलाई विशेष तयारीमा जुटाएका छन् । त्यसमध्येको एक आर्चरी पनि हो । २०१० देखि सागमा समाबेश गरीएको आर्चरी घरेलु मैदानमा हुन लागेको खेलकुदको कुम्भमेलामा ऐतिहासिक नतिजा ल्याउने योजनामा छ ।
त्यसका लागि आर्चरीले अहिले ३ स्थानमा प्रशिक्षण गरिरहेको छ । ४ जना खेलाडी वैदेशिक अभ्यासमा छन् भने ४ जना पोखरा, ४ जना काठमाडौं र बाँकी ४ जनालाई पनि पोखरा अभ्यासमा समावेश गरिनेछ । अबको साताबाट भने सबै खेलाडीले पोखरामा प्रशिक्षण गर्नेछन् ।
आर्चरी संघका अध्यक्ष तथा प्रशिक्षक दीपक गुरुङले ऐहितासिक नतिजाको लक्ष्यका साथ तयारी भइरहेको बताए । हाल प्रशिक्षणका लागि जापानमा रहेका उनले आर्चरीबाट पदक संख्या बढ्नेमा विस्वस्त रहेको सुनाए । “आर्चरीको साग इतिहासमा हामी नतिजा पनि ऐतिहासिक ल्याउने लक्ष्यमा रहेका छौं । खेलाडीले निकै मिहिनेत गरिरहेका छन्,” प्रशिक्षक गुरुङले भने ।
उनका अनुसार जापानको विशेष प्रशिक्षणको व्यवस्था नेपाल ओलम्पिक कमिटीले मिलाइदिएको हो । अहिले जापानी प्रशिक्षकको समेत रोहबरमा ज्ञानु अवाले, मित्र राई, तिलक पुन मगर र रोशन नगरकोटीले अभ्यास गरिरहेका छन् । प्रशिक्षक गुरुङका अनुसार इन्डोेनेसियामा सम्पन्न भएको १८ एसियाली खेलकुद (एसियाड) र नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेका ४ खेलाडीलाई वैदेशिक अभ्यासको अवसर मिलेको हो ।
अभ्यासमा रहेका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकाले पदकको अपेक्षा गरिएको प्रशिक्षक गुरुङले बताए । काठमाडौंमा केही साताको अभ्यासपछि डम्बर बहादुर थापा, रमेश भट्टचन, सनातन मल्ल, होमबहादुर थापा पोखरा लागेका छन् ।
यस्तै पोखरामा असिम शेरचन, विष्णु लिम्बू, केशरी आलेमगर र योगेन्द्र शेरचनले तयारी गरिरहेका छन् । सेप्टेम्बर २ मा जापानको टोली फर्किएर सागसम्म पोखरामा अभ्यास गर्ने संघले जनाएको छ । यस्तै अन्य ४ खेलाडी पनि समावेश गरिनेछ ।
अपेक्षा महिलातर्फ स्वर्ण
आर्चरीले महिला खेलाडीबाट स्वर्णको अपेक्षा गरेको छ । तर स्वर्णका लागि चुनौती निकै रहेको संघको भनाइ छ । भारतका खेलाडीले ओलम्पिकमा समेत सहभागिता जनाइसकेकाले स्वर्णका लागि कठिनाइ रहेपनि महिला खेलाडी ज्ञानु अवालेको प्रदर्शन सुध्रिँदै गएकाले स्वर्णको अपेक्षा गरिएको प्रशिक्षक दीपक गुरुङले बताए ।
उनले भने, “ज्ञानुको खेल सुध्रिएको छ । जापानको प्रशिक्षकले समेत सहयोग गर्नुभएको छ । ज्ञानुबाट व्यक्तिगततर्फ स्वर्णको अपेक्षा गरेका छौं ।” सागमा आर्चरीतर्फ १० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसतर्फ १ स्वर्णसँगै रजतपदक र कास्यको लक्ष्यसहित खेलाडीले मेहनत गरिरहेको प्रशिक्षक गुरुङले बताए । नयाँ–नयाँ खेलाडीको आगमन र सुधारिँदै गएको प्रदर्शनले आर्चरीले पदक ल्याउने उनको दाबी छ ।
सागमा आर्चरीको इतिहास, कास्यमात्र
श्रीलंकामा २००६ मा भएको १० औं संस्करणको सागबाट आर्चरीले प्रवेश पाएको हो । अहिले प्रशिक्षक रहेका दीपक गुरुङले पहिलो पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए।
“आर्चरी समावेश गर्नेबारे निश्चित थिएन । एक महिना अघिमात्र जानकारी दिइयो । त्यो बेला सदस्यसचिव अहिले ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ थिए । थोरै तयारीमा पदक ल्याउनेगरी तयारी गर्न सकेनौं,“ पुराना दिन सम्झिँदै प्रशिक्षक गुरुङले भने ।
पहिलो सागमा सहभागितामात्र भए पनि त्यसपछि भने आर्चरीले पदक ल्याउन सुरु गर्यो । २०१० मा बंगलादेशको ढाकामा सम्पन्न ११ औं संस्करणको सागमा आर्चरीले पहिलोपटक कास्यपदक जित्यो । आर्चरीलाई पहिलो पटक कास्य पदक प्रेम प्रसाद पुन, असिम सेरचन, जित बहादुर मोक्तान र रमेश भट्टचनले टोलीले जितेको थियो ।
त्यसपछि २०१६ मा भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२ औं संस्करणको सागमा आर्चरीले पुरुष व्यक्तिगततर्फ कास्यपदक जितेको थियो । त्योबेला कास्यपदक प्रेम प्रसाद पुनले जिताएका थिए ।