
काठमाडौं । फिलिपिन्समा यही अगष्ट २३ मा आयोजना हुने ‘मिस्टर वर्ल्ड–२०१९’मा नेपालका तर्फबाट अक्षय रायमाझी सहभागी हुने भएका छन् । रायमाझी ‘मिस्टर नेपाल–२०१७’का विजेता हुन् ।
मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालका अनुसार ‘मिस्टर वर्ल्ड–२०१९’मा विश्वका एक सयभन्दा बढी राष्ट्रको सहभागिता रहने छ । उक्त कार्यक्रममा अक्षयले नेपाली मौलिक नृत्य प्रस्तुत गर्दै ‘भिजिट नेपाल २०२०’को सन्देशसमेत प्रवाह गर्ने छन् ।
अक्षय ‘मिस्टर वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने दोस्रो ब्यक्ति हुन् । यस अघी मिस्टर वल्र्ड २०१६ मा गणेश अग्रवालले सहभागिता जनाएका थिए ।
कार्यक्रममा एक्सपोज नेपालकी प्रमुख कार्यकारी अधिकृत अर्चना थापाले नयाँ ‘मिष्टर नेपाल–२०१९’को आवेदन समेत खुला भएको जानकारी दिइन् । प्रतियोगितामा सहभागी हुन १६ देखि ३५ वर्ष ननाघेका युवाले आवेदन दिन सक्नेछन् ।
थापाका अनुसार काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरान, इटहरी लगायत देशका प्रमुख शहरमासमेत प्रतियोगीताको छनोट चरणको अडिसन आयोजना हुनेछ । प्रतियोगितामा सहभागीका लागि आवेदन फर्म एक्सपोज नेपालको कार्यालय कुपन्डोल तथा वेभसाइट www.misterNepal.com.np मा पनि भर्न सकिने आयोजकले जनाएको छ ।