site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
यसरी बन्यो दुर्गेशको रकिङ तीज गीत

चलनचल्तीमा आइरहेका गीतभन्दा केही फरक गरौं भन्ने मनमा लागिरहेको थियो । सिर्जनाका हिसाबले पनि र बजारमा आइसकेपछि स्रोता तथा दर्शकले गर्ने मूल्यांकनका नजरबाट पनि । गर्न त गर्ने के र कसरी गर्ने ? रहरसँगै प्रश्न उठिरहेको थियो दुर्गेश थापाको मनमा । 

तीज नजिकिँदै थियो । केही वर्ष अगाडिसम्म तीजका गीत केटाले गाउन हुँदैन भन्ने मान्यता थियो । त्यो मान्यता भत्किँदै गइरहेको थियो । भत्काउने पनि उनले बच्चामा जसका गीत सुने र आदर्श माने, उनै थिए– राजु परियार, खुमन अधिकारी आदि । केही वर्ष अगाडिसम्म महिलाको पर्वमा केटाले गीत गाउने भन्दै आलोचना गर्ने बद्री पंगेनी पनि त्यही बाटोमा हिँड्न थालेका थिए । दुर्गेशलाई पनि बाटो खुल्यो ।

सोचे– एउटा तीज गीत गाउनुपर्यो । तर, भीडमा हराउने होइन, नोटिस हुने गीत गाउनु थियो । तीज सांस्कृतिक पर्व । संस्कृतिसँग जोडिनै पर्यो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुर्गेशका स्रोता तथा दर्शक युवा पुस्ता । आफ्ना युवा स्रोता तथा दर्शकलाई नजरअन्दाज गर्ने कुरै भएन । मनमा आयो– यो तीजलाई रकिङ बनाउँछु । लय मौलिक मेलोडी नै राख्छु ।

जागाजा आधुनिक राख्छु । पूर्विय र पाश्चात्य शैलीको फ्युजन गरेर मौलिक परम्परा पनि नमर्ने तर आधुनिकताको पनि समिश्रण भएको एउटा गीत तयार पार्ने सोचे । जसमा युवादेखि वृद्धवुद्धा पनि झुम्न सकुन् ।

कन्सेप्ट तयार पारे । आफ्ना साथीभाइलाई सुनाए । सबैले आहा ! भने । हौसला थपियो । जाँगर बढ्यो । काम सुरु गरे । “कुनै त्यस्तो शब्द तथा लय छ, जुन भोलि गएर विवादित हुने हो कि भन्ने शंका लाग्यो भने म अग्रज दाइहरुलाई देखाउँछु,” दुर्गेश भन्छन्, “प्रायः मलाई शंका लाग्यो । यसमा मैले अरुको सल्लाह लिनुपर्छ भन्ने लाग्यो भने माधव थापा दाइसँग सल्लाह लिन्छु । तर, सामान्य छ भने म मेरै समकालीन र भाइहरुलाई सुनाउँछु ।”

दुर्गेशले आफूले सोेचेको ‘कन्सेप्ट’ भाइहरुलाई सुनाए । उनीहरुले गज्जब छ दाइ भनेपछि उनी लागे गीत बनाउन । मेलोडी र शब्दले बूढापाकालाई पनि तान्नुपर्छ । बाजागाजाले युवा पुस्तालाई छुनुपर्छ भन्ने मूल मर्मलाई दिमागमा राखे । 

“केहीले मेरो सिर्जनामाथि प्रश्न उठाउनु हुन्छ भन्ने लागेको थियो । सोचेँ– संस्कृति र परम्परा मास्नु हुँदैन तर त्यसलाई समयसापेक्ष पनि बनाउँदै लैजानुपर्छ,” उनी भन्छन्, “हैन भने मादल र खैंजडीमा घर आँगनमा गाउँदा मात्रै भैगयो नि ! किन गीत रेकर्डिङ गर्नुपर्थ्यो ।”

त्यही सोचले उनी रचनामा बसे । १५ मिनेटमा मेलोडी तयार पारे । मेलोडी पुरानै भएकाले धेरै समय लागेन । शब्द रचनामा बसे । शब्द लेख्न उनलाई खासै समय लाग्दैन । आधा घण्टामा उनले शब्द लेखे । देखे, भेटे र भोगेका कुरालाई नै शब्दमा उतारे । 

मंगलबार अनामनगरमा भेटिएका दुर्गेशको नाडीमा निलो घडी थियो । भिनाजुले जापानबाट ल्याइदिएका रे ! गीतमा त्यही कुरा लेखेका छन् । भिनाजु जापानमा बस्छन् । त्यसैले उनले अमेरिका, अष्ट्रेलिया नभनेर जापान नै लेखका हुन् । 

“म धेरै कुरा काल्पनिक लेख्दिन । यथार्थ नै लेख्छु, त्यही भएर समय लाग्दैन,” उनी भन्छन्, “थिम बनाइसकेको थिएँ । देखे भोगेकै कुरा लेख्नु थियो । त्यसैले स्टुडियोमा आधा घण्टामा शब्द रचना तयार गरेँ ।” 

समय परिवर्तन भइसक्यो । अडियो मात्रै होइन । अडियो भिडियो नै अनिवार्य भइसक्यो । त्यसैले भिडियो बनाउनै पर्ने थियो । अडियोले भिडियोको ‘थिम’ बताइसकेको थियो । मात्रै कसलाई राख्ने र कहाँ छायांकन गर्ने भन्ने मात्रै थियो । लोकेशन चोभार तय भयो । 

“भिडियोमा कसलाई खेलाउने भन्ने थियो । नयाँ भाइहरुले हामीलाई पनि मौका दिनुस् न दाइ भनिरहेका थिए । सायद म भुईंबाट उठेको मान्छे भएर होला, मलाई नयाँ व्यक्तिलाई अवसर दिन मन लाग्छ । त्यसैले मैले यो गीतमा पनि नयाँ अनुहार लिएँ,” दुर्गेश भन्छन्, “मेरा अधिकांश गीतमा मैले नयाँलाई मौका दिइरहेको हुन्छु ।” 

किबोर्ड, गिटार, ड्रमसेट र मादल बोकेर चोभार पुगे । शिव बिक निर्देशक थिए । मोडलिङमा दुर्गेशसँगै थिए, ओवीआई, लोमश, प्रशान्त, अंकित र कुमार । करिब डेढ लाखमै मौलिक मेलोडीमा रक म्युजिकसहितको भिडियो तयार भयो । 

आफ्नै युट्युब च्यानल छ उनको । अपलोड गरे । गीत अपलोड गर्ने बित्तिकै उनलाई प्रतिक्रियाको ओइरो लाग्यो । समकालीन मात्रै होइन अग्रजहरुले नै फोन गरे । “रामजी खाँड, एकनारायण भण्डारी लगायत थुप्रै अग्रज गायक, संगीतकारहरुले फोन गर्नुभयो,” हामी पनि नाच्नुपर्छ बीच्चबीचमा गीत सुनेपछि आएको प्रतिक्रिया सुनाए दुर्गेशले, “उहाँहरुले मलाई यो वर्षको तीजको हिरो दुर्गेश भयो है भन्नुभयो । देशविदेशबाट धेरैले यही भन्नुभयो ।” 

सायद स्रोता तथा दर्शकले केही नयाँ स्वाद खोजिरहेका थिए । 

त्यसैले गीत औधी मन पराए । अग्रजहरुले वर्षको हिरो हौ भने तर, उनी अझै ढुक्क हुन सकेका छैनन् । “तीज आउन अझै समय छ । धेरै कलाकारले गीत निकाल्नै बाँकी छ, त्यसैले मेरोभन्दा राम्रा गीत आउन पनि सक्छन् । दर्शक तथा स्रोताले राम्रो गीत सुन्न पाउनुपर्छ । चाहे त्यो मेरो होस् या अन्य गायकगायिकाको होस् । जति धेरै र राम्रा गीत आउँछन्, नेपाली संगीत नै धनी हुने हो । हाम्रै कला, साहित्य र संस्कृतिमा अनेकता र विविधता आउने हो,” उनी भन्छन् । 

धेरैले राम्रो भनिदिए । राम्रै काम गर्दा पनि खुट्टा तान्ने नेपाली समाजको मौलिक संस्कृतिमा तयार भएको गीतलाई पाश्चात्य म्युजिकल इन्स्टुमेन्टसँग फ्युजन गरेका उनको मनको कुनामा एउटा शंका थियो, सांस्कृतिक पर्वको गीतमा पाश्चात्यपन घुसाएर विकृत बनाउन पाइन्छ ? तर, त्यति धेरै विरोध र आलोचना उनले सहनु परेन, जति उनले पूर्वानुमान गरेका थिए । “मैले सोचेभन्दा पनि धेरै मन पराइदिनुभयो । युवा पुस्तादेखि आमा दिदीहरु यो गीतमा रमाइरहेको देखेको छु,” दुर्गेश भन्छन्, “सायद यो अपेक्षा पहिला नै दर्शक तथा स्रोताले गरिरहनु भएको थियो । बरु हामीले आँटचाहिँ गरेका रहेनछौं ।” 

हरेक क्रियाको प्रतिक्रिया हुन्छ । यो विज्ञानको नियम नै हो । काम गर्दै जाँदा कहिले प्रशंसा त कहिले गाली स्वाभाविक हो । उनको गीतमा पनि केही त्यस्ता शब्द छन्, जुन सामान्यतः तीज गीतमा प्रयोग गरिँदैन । पर्व मौलिक हुन्छ । पर्वमा गाइने गीत पनि मौलिक हुन्छन् । तर, दुर्गेशले त अंग्रेजी शब्द पनि प्रयोग गरिदिए । 

किन ? 

दुर्गेशसँग यसको जवाफ पनि छ । “मैले अहिलेको युवा पुस्ताका लागि गीत तयार पारेको हुँ । त्यसैले ठेट नेपाली शब्द मात्रै छैन । समाजमा अहिले जसरी बोलिन्छ, त्यसलाई जस्ताको तस्तै टिपेको छु । वाटर भन्ने अंग्रेजी शब्द प्रयोग भएको छ । अंग्रेजी नबुझ्ने व्यक्तिसँग नेपाल बाहिर बसेर आएको व्यक्तिले अंग्रेजी बोल्दा त्यसको असर सामान्य दैनिक क्रियाकलापमा कस्तो पर्छ भनेर देखाउन खोजेको हुँ ।” 

“तीज गीतलाई नै असर पार्ने र यसको अस्तित्व मेटाउने मेरो उद्देश्य होइन । त्यसैले त मैले मेलोडी मौलिक नै लिएको छु,” दुर्गेश स्पष्ट पार्छन्, “मात्रै मैले तीज गीतलाई आम युवा पुस्तामाझ पनि लैजान खोजेको हुँ ।”

तस्बिरः सरिता खड्का

प्रकाशित मिति: बुधबार, साउन १५, २०७६  १३:५३
प्रतिक्रिया दिनुहोस्