site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सिन्धु जल सम्झौता कहिल्यै पुनर्स्थापना गरिने छैन : भारत

काठमाडौं । भारतले पाकिस्तानसँग सिन्धु जल सम्झौता (इन्दस वाटर ट्रिटी) कहिल्यै पुनर्स्थापना नगर्ने जनाएको छ । भारतका गृहमन्त्री अमित शाहले शनिबार (जुन २१) टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा पाकिस्तानतर्फ बग्ने पानीलाई आन्तरिक प्रयोगका निम्ति ‘डाइभर्ट’ गरिने बताएका छन् ।

गएको अप्रिलमा भारतको कश्मीरमा २६ नागरिकको हत्या गरिएको घटनालाई आतंकवादी कार्य भन्दै भारतले सन् १९६० को सन्धि स्थगन गरेको छ । यसले सिन्धु नदी प्रणालीको उपयोगलाई नियमन गर्छ । यो सन्धिले पाकिस्तानको ८० प्रतिशत खेतका निम्ति भारतमा उत्पत्ति भएका तीन नदीमार्फत पानीको पहुँच निश्चित गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पाकिस्तानले २६ नागरिकको हत्याको घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । तर, दुई परमाणु हतियारसम्पन्न छिमेकीबीच गएको महिना दशकौँपछिको सबैभन्दा खराब लडाइँपश्चात् युद्धविराम सम्झौता भए पनि सन्धि निष्क्रिय छ ।

“होइन, यो कहिल्यै पुनर्स्थापना हुने छैन,” शाहले उक्त पत्रिकालाई भने, “हामीले पाकिस्तानतर्फ बग्ने पानीलाई राजस्थानमा नहर निर्माण गरेर लैजानेछौँ । पाकिस्तान अन्यायपूर्ण रूपमा प्राप्त गरिरहेको पानीबाट वञ्चित हुनेछ ।”

विगतमा पाकिस्तानले सन्धिमा एक पक्ष एकतर्फी रूपमा फिर्ता हुने कुनै प्रावधान नरहेको जनाएको थियो । र, पाकिस्तानतर्फ बग्ने नदीको पानी रोक्नुलाई युद्धको कार्य मानिने जनाएको थियो ।

इस्लामाबादले सन्धि स्थगन गर्ने भारतको निर्णयविरुद्ध अन्तर्राष्ट्रिय कानुनअन्तर्गत कानुनी चुनौतीको खोजी पनि गरिरहेको जनाइएको छ । रोयटर्सबाट ।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्