_1030511499.jpg)
नेपालको पहिलो नायिका हुन् भुवन चन्द । नाटक हुँदै चलचित्रको यात्रा गरेकी भुवनले त्यतिबेलादेखि अभिनय गर्न थालिन् जुन उनलाई आज थोरै मात्रै याद छ । चार वर्षको उमेरबाट अभिनय सुरु गरेकी उनले वि.सं. २०२१ सालमा चलचित्र ‘आमा’ मा अभिनय गरिन् । जुन नेपाली रजतपटको इतिहासमा पहिलो चलचित्रका रुपमा दर्ज हुन पुग्यो ।
रेडियो नेपालमा गीत गाउँदासमेत परिवार तथा समाजले नसहने उमेर चलचित्रमा छमछमी नाच्न पुगेकी भुवनले ‘आमा’ पछि ‘हिजो आज भोली’, ‘मनको बाँध’, ‘सिन्दुर’, ‘जिवन रेखा’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरिन् । नेपाली चलचित्रले आधा शताब्दी यात्रा गर्दा उनी अहिले निर्माणमा जुटेकी छन् । ‘साइनो’ मार्फत उनी चलचित्र निर्माणमा उत्रिएकी हुन् । भुवनको निर्माण रहेको रमेश थापा निर्देशित चलचित्र ‘साइनो’ यही साउन २४ बाट प्रदर्शन हुँँदैछ ।
पछिल्ला वर्षका चलचित्रमा कमजोर कथा रहने गरेको आलोचना गर्दै आएकी उनी समयक्रमसँगै प्रविधिले फड्को मारे पनि कथा वाचनमा भने नेपाली चलचित्र झन कमजोर हुँदै गएपछि आफू चलचित्र निर्माणमा आएको बताउने भुवनसँग ‘साइनो’ सँगै समग्र चलचित्र क्षेत्रका विषयमा केन्द्रित रहेर बाह्रखरीका लागि वर्षा महर्जनले गरेको कुराकानी :
० ० ०
तपाईँ नेपालकै पहिलो नायिका, अहिले निर्मात्रीका रुपमा अगाडि आउँदै हुनुहुन्छ । किन निर्माणतर्फ आकर्षित हुनुभयो ?
मलाई केही समय यता बनेका नेपाली चलचित्रहरु त्यति धेरै राम्रो लागिरहेको छैन । दोस्रो कुरा मैले आफनो केही भाइहरु मिलेर चन्द्रविनायक प्रोडक्सन हाउस खोलेका छौं । यसबाट हामीले थुपै सर्ट फिल्म र म्युजिक भिडियोहरु बनाइरहेका थियौं । हामीबीच चलचित्र निर्माण गरौं न त भन्ने कुरा भयो । त्यसैले नेपालीपन झल्कने चलचित्र ‘साइनो’ बनाएका हौं । पहिला चलचित्रमा कथा हुन्थ्यो । त्यस्ता कथामा कलाकारले आफनो अभिनय देखाउँदा अभिनयभन्दा पनि स्वाभाविक लाग्थ्यो । तर, अहिलेका चलचित्रहरुमा त्यो पाइँदैन ।
अभिनय सजिलो रहेछ कि निर्माण ?
अरुका चलचित्रमा अभिनय गरिन्थ्यो मात्रै । तर, आफ्नै लगानी गरेर प्रोडक्सनमा लाग्दा त गाह्रो हुनेरहेछ । अभिनयभन्दा निर्माण गर्न कठिन हुनेरहेछ ।
निर्माताले त लगानी मात्रै गर्ने होइन र कसरी गाह्रो हुन्छ ?
कति निर्माताले पैसा मात्रै लगानी गर्छन्, चलचित्रको निर्माण चरणमा सहभागी हुँदैनन् । व्यवस्थापनको काम अरुले नै हेर्दा निर्मातालाई गाह्रो हुँदैन । तर, मैले चलचित्र क्षेत्रमै काम गरेको हुनाले र यो (साइनो) पहिलोपटक निर्माण गरेका कारण राम्रो चलचित्र बनाएर दर्शक तथा समीक्षक सामु पु¥याउन खोजिरहेको छु ।
त्यसैले क्यामेरादेखि लिएर कलाकारको पहिरनसम्म सबैमा आफैँ लागिरहेको छु । भुवन दिदीको चिलचित्र कस्तो होला भन्ने पनि हुन्छ । त्यहीकारण पनि म निर्माता सँगसँगै निर्देशकलाई पनि सहयोग गरिरहेको छु ।
‘साइनो’ कस्तो चलचित्र हो ?
मैले नेपाली मौलिक चलचित्र बनाएको छु । समाजमा भएका कति जातजातिलाई देखाउन खोजेको छु । ‘ग्ल्यामर’ पनि नचाहिने होइन समय अनुसार चाहिन्छ । तर, मैले यसमा हाम्रो नेपाली समाजले पाउन सक्ने जति मात्रै ‘ग्ल्यामर’ राखेको छु । चलचित्रमा हाँसो, रोदन, प्रेम, द्वन्द्वसबै समेटेर पूर्ण चलचित्र बनाउने प्रयास गरेको छु ।
पहिलोपटक चलचित्र निर्माण गरिरहनु भएको छ । निर्माणको पूर्वसन्ध्यामा आइपुग्दा कस्तो लागिरहेको छ ?
चलचित्र क्षेत्रमा यति लामोसमय काम गरेको व्यक्तिले कस्तो चलचित्र बनाएको रहेछ भन्ने जिज्ञासा धेरैमा छ । स्वाभाविक पनि हो । त्यसैले प्रतिक्रिया कस्तो आउला भन्ने चाहिँ डर छ ।
सेलुलोइडबाट डिजिटल प्रविधिमा आइपुग्दा चलचित्र निर्माणमा कस्तो परिवर्तन पाउनुभयो ?
अभिनयका हिसाबले त्यति धेरै फरक छैन । तर, प्रविधिमा भने धेरै विकास भएको छ । अहिले डिजिटल क्यामेरालगायत डबिङ गर्न पनि धेरै सजिलो भएको छ । पहिला दुई जना कलाकारसँगै डबिङ गर्नुपथ्र्याे । तर, अहिले त्यस्तो अवस्था छैन । कसले कतिखेर आएर डबिङ गरेर जान्छ थाहा पनि हुँदैन ।
चलचित्रको ‘कन्टेन्ट’मा पनि केही फरक छ कि उस्तै हो ?
हाम्रो पालामा बन्ने चलचित्रमा कथा हुन्थ्यो । त्यही कथामै बगेर कलाकारहरुले अभिनय गर्थे । अनुहारमा त्यो भाव झल्कन्थ्यो । तर, अहिले कथा पनि हुँदैन् । अभिनय पनि त्यस्तो गर्नु पर्दैन । नाचगान गर्यो अलिकती ‘ग्ल्यामर’ देखाएपछि भैहाल्छ ।
‘ग्ल्यामर’ त समयको माग पनि होला नि !
हो । अहिले जमाना अनुसार मान्छेको हेर्ने आँखा फरक भइसक्यो । पहिले हाम्रो चौबन्दी चोलोको जमाना थियो । जति छोप्यो त्यती राम्रो भन्थे । अहिले जति उघ्रियो त्यति राम्रो भन्छन् । समय अनुसार परिवर्तन चाहिन्छ । मैले मेरो पालाको जस्तै हुनुपर्छ भनेको छैन तर हामीले हाम्रो संस्कृति त बिर्सनु हुँंदैन । त्यही भएर मैले मेरो चलचित्रमा चौबन्दी चोलो पनि र ग्ल्यामर पनि राखेको छु ।
पहिलो अभिनेत्री भएकै कारण चलचित्र निर्माणमा केही सहयोग पाउनु भयो ?
कलाकार, छायाकार, प्राविधिकलगायत सबैले भुवन दिदीको चलचित्रमा काम गर्न पाए भनेर खुशी पनि हुनुभएको छ । तर, चलचित्र बनाउँदै गर्दा केही व्यक्तिलाई बुझ्न गाह्रो हुँंदोरहेछ । एक जना निर्देशक भाइले भन्नु भएको थियो । दिदी तपाईँले चलचित्र त बनाउन लाग्नुभयो । निर्माण गर्न जति गाह्रो हुन्छ त्योभन्दा गाह्रो चाहीँ प्रदर्शन गर्न हुन्छ भन्नुहुन्थ्यो । त्यो चाँही हो रहेछ । यहाँको यही प्रवृत्ति हो की के हो थाहा भएन् ।
एउटा चलचित्र प्रदर्शन भइरहेका बेला अर्को आउने । नेपाली चलचित्र चलिराख्दा हिन्दी चलचित्र आउने । यो हल सञ्चालक वितरकले किन यसो गर्छन् मैले बुझ्न सकेको छैन । केही पैसाको पनि खेल होला । तर, यति सानो बजारमा एकले अर्काको खुट्टा तान्नु हुँदैन । नेपाली राजनीति बुझ्न गाह्रो हुन्छ भन्ने लाग्थ्यो त्यो भन्दा कैयौं गुणा नेपाली चलचित्रको राजनीति बुझन गाह्रो रहेछ ।
‘बक्स अफिस’मा चलचित्र राम्रो हुनु र नराम्रो हुनुमा कसको हात बढी हुन्छ ?
पक्कै पनि चलचित्र नचल्नुमा दर्शकको माया मुख्य हुन्छ । तर, अहिलेको अवस्थामा सबैभन्दा ठूलो हात हल सञ्चालकको । वितरकहरुको हुन्छ जस्तो लाग्यो मलाई ।
चलचित्र निर्माणलाई निरन्तरता दिनुहुन्छ कि यही नै अन्तिम चलचित्र हुनेछ ?
पहिलो चलचित्रले लगानी उठाए पनि नउठाए पनि म अर्को चलचित्र बनाउँछु । यो चलचित्रबाट कसरी चलचित्र बनाउने, लगाउने भन्ने थाहा भयो । त्यसैले अब निर्माण गर्दा पहिले जतिको गाह्रो नहोला ।