site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
शिष्यले गुरुलाई अभिनय गराउँदा खुसी र चुनौती दुवै हुँदोरहेछ

यसमा खुसी र चुनौती दुवै थियो । दुबैको बीचमा रहेर काम मण्डला थिएटरमा केही दिनयता नाटक ‘मीमांसा’ मञ्चन भइरहेको छ । ‘मीमांसा’लाई प्रवीण खतिवडाले निर्देशन गरेका छन् । मुख्य कलाकार छन्, सुनील पोखरेल । सुनील प्रवीणका गुरु हुन् । आरोहण गुरुकुलमा उनै सुनीलले प्रवीणलाई नाटकको कखरा सिकाएका थिए । उनकै क्षत्रछायामा प्रवीण रङ्गकर्मी बने । आफैँलाई सिकाएका गुरु सुनीललाई नाटकमा अभिनय गराउँदा कस्तो हुँदोरहेछ, आफ्नै शिक्षकलाई निर्देशन गर्न कत्तिको असहज हुँदोरहेछ, समयसँगै नाटकको गुणस्तर बढ्दै जानुपर्नेमा किन घट्दैछ, नाटक छोडर रङ्गकर्मीहरु किन चलचित्रमा आकर्षित हुँदैछन् ? यी र यस्तै प्रश्नको जवाफ बाह्रखरीका नरेश फुयाँलले निर्देशक तथा कलाकार प्रवीणसँग खोज्ने प्रयास गरेका छन् । 

० ० ०
तपाईं सुनील पोखरेलको विद्यार्थी, आफ्नै गुरुलाई आफ्नो नाटकमा अभिनय गराउनु भयो । शिष्यले गुरुलाई अभिनय गराउँदा कस्तो हुँदोरहेछ ?

यसमा खुसी र चुनौती दुवै थियो । दुवैको बीचमा रहेर काम गर्नुपर्यो । तर, कामको प्रतिफल राम्रो आयो । खुसी लागेको छ । सन्तुष्ट नै छु ।  नाटकका क्रममा गुरुलाई विद्यार्थी बनाउनुभयो भन्ने प्रश्नमा म आफैँ विद्यार्थी पनि थिएँ । किन भने मैले उहाँलाई काम गराए पनि उहाँबाट लिन सक्ने र लिनुपर्ने कतिपय कुराहरु लिइरहेको थिएँ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुरुमा उठाउनु भएको चुनौती तपाईंका लागि परीक्षा नै थियो नि, हैन ?

हो । यो कुरा मैले ब्रोसरमा पनि उल्लेख गरेको छु । परीक्षा दिँदासम्म पास हुन्छु कि हुन्न, राम्रो अंक आउँछ कि आउँदैन भन्ने थियो । तर, नतिजा आउँदा उत्तीर्ण भएँ ।

आफ्नै गुरुलाई निर्देशन गरेर काम लगाउन कत्तिको असहज महसुस हुँदोरहेछ ?

डर भएन किनभने काम गर्ने तरिका मैले उहाँबाटै सुरु गरेको हो । काम गर्ने तयारीमा कुनै पनि झमेला भएन । सिक्ने कुरामा दोहोरो नै भयो । म उहाँलाई के आइडिया दिन्थेँ । उहाँ पनि यसलाई यसरी गर्दा कस्तो होला भन्नुहुन्थ्यो । 

सुनील पोखरेललाई नै अभिनय गराउनुको कारण ?

करिब तीन महिना अगाडि उहाँले मलाई कुञ्ज थिएटरमा बोलाउनु भयो । उहाँ कुञ्ज थिएटरमा काम गर्ने सोचमा हुनुहुन्थ्यो । त्यसपछि निरन्तर भेट हुन थाल्यो । गुरुकुल पुनः चलाउने कि भन्नेलगायत विषयमा कुराहरु भए । 

मैले एक दिन म नाटक गर्दैछु गरौं न त भनेँ । उहाँले म खगेन्द्र लामिछानेको नाटक गर्दैछु भन्नुभयो । म अहिले निर्देशन गर्ने सोचमा छैन । दसैंतिहार पछि मात्रै गर्छु, तिमी गर्छौ भने म खेल्छु भन्नुभयो । त्यो कुरा मेरा लागि ठूलो अवसर थियो । मैले साइन गरेको चलचित्र पनि पछि सर्यो । त्यसपछि म पनि खाली भएँ । म खाली भएपछि मसँग भएका र मैले मलाई राम्रो लागेर राखेका कथा, नाटकरु आठ नौवटा थिए । ती सबै लगेर उहाँलाई देखाएँ । त्यसमा उहाँले लेख्य नाटक मन पराउनु भएन । र, यो (मीमांसा) गरौं न त भन्नुभयो । यो कथा पढेकै बेला मैले यो कथालाई नाटक गरेँ भनेँ यसरी गर्छु भन्ने आइडिया बनाएको थिएँ । त्यो आइडिया उहाँले मन पराउनुुभयो । स्क्रिप्ट तयार भयो । नाटक मञ्चनसम्मको अवस्थामा आइपुग्यो । 

प्रचारको लोभले सुनील पोखरेललाई अभिनय गराउनु भयो भन्ने आरोप छ नि !
मैले यसलाई फरक तरिकाले लिएको छु । पछिल्लो समय राम्रो काम भएन भन्ने गुनासाहरु आइरहेको थियो । गम्भीर विषयमा नाटक भएन भन्ने बहस भइरहेको थियो । गम्भीर काम गर्नका लागि नाटक बुझेका गम्भीर व्यक्ति नै चाहिन्थ्यो । त्यसका लागि सबैभन्दा राम्रो विकल्प सुनील सर नै हुनुहुन्थ्यो । पछिल्लो समय काम गर्छु भनेर आफूमा नयाँ जोश पनि भरिरहनु भएको थियो । यसबीचमा हामीले गुरुकुल खोल्नुपर्छ भनेर पनि भनिरहेका थियौं । यो गुरुकुल खोल्नका लागि दिइएको दबाब पनि हो । दुईटै कुरा स्वीकार गरिदनुभयो त्यो मेरा लागि जादू थियो । आरोहण गुरुकुलकै ब्यानरमा त्यहीँ सिकेर निर्देशन गर्ने म पहिलो हुँ । यसर्थ मेरा लागि यो खुसीको कुरा पनि हो । 


नाटकमा गुणस्तर छैन भन्ने चौतर्फी गुनासो आइरहेको छ । कारण हेलचेक्र्याईं हो कि अनुभवी कलाकार र निर्देशकको खाँचो हो ?
हेलचेक्रयाँईं भन्दा पनि यसलाई सिकाउने काम भएन भन्छु म । हामी आफैँ जानकार छैनौं । दोस्रो पुस्ताले धानिरहेको छ अहिलेको नाटक । हामी आफैँ दक्ष छैनौं भने हामीले कसरी अरुलाई राम्रोसँग सिकाउन सक्छौं । नाटकलाई अझै राम्रो बनाउन के गर्नुपर्छ, यसमा ध्यान दिनसक्यो भने समस्याको समाधान हुन्छ । मुख्य कुरा ज्ञान र शिक्षा कै हो । 

यसको अर्थ जति पनि अहिले नाटक निर्देशन र अभिनयमा छौं, पूणै छैनौं ? 
मलाई यस्तै लाग्छ । मेरो यो व्यक्तिगत विचार हो । मेरो विचारमा सबै सहमत हुनुहुन्छ भन्ने छैन । हामीले जति सिकेका छौं त्यो पर्याप्त छैन । अझै हामीले सिक्नु धेरै छ भन्ने लाग्छ । उचित शिक्षाको अभावमा काम गरिरहेका छौं । काम त चलिरहेको छ, तर गम्भीर भएर हमीले नाटक गरिरहेका छैनौं । सस्तो लोकप्रियताले हामीलाई भुलाइरहेको छ । 

तपाईंले भनेजस्तो नाटकसम्बन्धी थप शिक्षा र ज्ञान कसरी लिन सकिएला ?
कहाँबाट लिने भन्ने प्रश्नमा अहिले जसरी हामीले लिइरहेका छौं, त्यसरी नै लिने हो । तर, यसको दायरालाई अलि फराकिलो बनाउनुपर्छ । सुनील सरसँग सिकेर आएको, एक्टर स्टुडियोमा सिकेकोले धरै सिक्छ तर अरुमा सिकेको व्यक्तिले खासै जान्दैन भन्ने हल्ला र अनुमान छ । यति सिक्दा न्यूनतम यी–यी कुरा चाहिँ सिकेको हुनुपर्छ भन्ने मापदण्ड तयार हुनुपर्छ । यति पढेपछि थप अध्ययन यसरी गनै सकिन्छ भन्ने त हुनुपर्यो नि । अहिलेको शिक्षामा ‘गाइड’ गरे मात्रै पुग्छ घोटाइहनु पर्दैन । 

अग्रज पुस्ताले जेजति गर्नसक्थ्यो र गर्नुपथ्र्यो त्यो गरेन भन्ने तपाइँको असन्तुष्टि छ । अग्रज पुस्ताले किन थप तत्परता देखाएन ?
हुन त मेरो बुझाई कम पनि हुन सक्छ । तर, जुन बेला द्रुततर काम भइरहेको थियो त्यो बेला धेरै क्रियाकलापहरु भइरहेका थिए । आर्थिक गतिविधि भइरहेका थिए । अलिकति पैसा भएपछि हामी नेपालीको स्वाभाव नै हो मिलेर बस्न नसक्ने । अर्को कुरा हामी एकअर्कामा मिलेर काम गर्नेभन्दा पनि तँ भन्दा म जान्ने भन्ने चरित्र छ हाम्रो । यिनै कुराहरुले रोकेको हो । 
चाहने हो भने दोस्रो पुस्तालाई नेतृत्व सम्हाल्न दिएर अगाडि बढ्ने हो भने हामीलाई पुग्ने शिक्षकहरु हुनुहुन्छ । विश्वविद्यालयमा सम्बन्धन लिएर अगाडि बढ्न सकिन्छ । संगीत नाट्य प्रतिष्ठानले यसमा चासो राखेको देखिँदैन । जबसम्म चिन्तकहरु एक ठाउँमा बसेर सोच्दैन, यही लठिभद्र भएर चलिरहन्छ । 

नाटकमा युवा पुस्ताको आकर्षण देखिनु देखावटी मात्रै हो । वास्तवमा अहिले चलचित्रमा जाने भर्‍याङका लागि नाटक प्रयोग भइरहेको छ नि ! 

हो । सत्यता छ यसमा । यो हामी आफैँले बिगारेका पनि हौं । सौगात मल्ल, दयाहाङ राई, विपीन कार्की, बुद्धि तामाङ, विजय बराल, नाजिर हुसेन, कर्मा शाक्य, म स्वयम् पनि चलचित्रमा छौं । दर्शकले के बुझ्नु भएको छ भने नाटकमा परिपक्व भएर आएका हुन् । हाम्रो दर्शक युवा पुस्ता नै हो । उहाँहरुले नाटक सिक्यो भने चलचित्रमा जान सजिलो रहेछ भनेर बुझिरहनु भएको छ । हुन पनि हो । थिएटरका काम गर्दा सिकिन्छ पनि । थिएटरमा आएर सिक्ने २० जनामा दुई जना नाटकमा लोभिएर बस्नुभयो भने पनि पुग्छ नाटकलाई । तर, ती दुई जना पनि राम्रो जानकारी र ज्ञान भएका हुनुपर्छ । त्यो ज्ञान पाउने वातावरण हुनुपर्छ भन्ने मेरो चाहना । 

नाटक गरिरहेको कलाकार चलचित्रमा जानु रहर हो कि बाध्यता ?
दुवै हो । नाम र दाम नाटकमा भन्दा चाँडो चलचित्रमा हुन्छ । पछि विस्तारै यो बाध्यता पनि होला । दयाहाङ, सौगात, विपीनको कुरा सुन्दा कहिलेकाहिँ फ्रस्टेसन भेटिन्छ । नाटक कहाँ हो कहाँ वेटर भनेको सुन्छु । तर, एउटा नाटकका लागि दुई–तीन महिना छुट्याउनुपर्छ । नाटक र चलचित्रको कमाई आकाश–जमिनको फरक छ । आर्थिक प्रलोभनका कारण चलचित्रमा गएको तर आत्मसन्तुष्टि नपाएपछि फेरि नाटक नै ठीक छ भनेको पनि सुनिन्छ । नेपालमा मात्रै हैन । भारतमा पनि यस्तै हो । एनएसटीका २० विद्यार्थीमा १८ जना मुम्बईकै ढोका ढक्ढक्याउन पुग्छन् भनेर त्यहीँका शिक्षकहरु भन्नुहुन्छ । 

नाटक नै ठीक छ भनिरहने तर चलचित्रमै काम गरिरहने नाटकबाट गएका कलाकारहरुको संख्या ठूलो छ । त्यस्तो के छ, नाटकमा जुन चलचित्रमा छैन ?

नाटकमा जुन मजा छ, त्यो चलचित्रमा छैन । नाटकमा एक डेढ घण्टाको अवधिमा जुन जिन्दगी जिउन पाइन्छ, त्यो चलचित्रमा छैन । चलचित्र बढी प्राविधिक छ । 

नाटक र चलचित्रको अभिनय बुझेर जाने चलचित्रमा चम्किन्छन् नबुझी जाने अलमलमा पर्छन् । चलचित्रमा हरेक पाँच मिनेटमा कलाकारले ब्रेक लिन्छ । जसले गर्दा एउटै सिनमा पनि निरन्तरता दिन गाह्रो छ । नाटकमा तत्काल प्रतिक्रिया आउँछ । जुन चलचित्रमा सम्भव छैन । नाटकमा एक जनाले मात्रै राम्रो गरे पनि नोटिस भइरहेको हुन्छ तर चलचित्रमा पूरै टिमले नै राम्रो काम नगरेसम्म नोटिस हुँदैन ।  


 

प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  ०७:५९
प्रतिक्रिया दिनुहोस्