site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिमा कलाकार : प्रभाव छैन, उपस्थितिमात्रै

काठमाडौं । भनिन्छ– कलाकार देशका गहना हुन् । अर्थात् राष्ट्रका इज्जत । यो भनाइ नयाँ होइन । धेरै कलाकार यही भनाइलाई लिएर गौरव गर्छन् भने केहीचाहिँ आपत्ति जनाउँछन् । 

आपत्ति जनाउनेहरुको तर्क छ– गहना मन पर्दा मालिकले लगाउँछ, मन नलागे फुकालेर राख्छ । त्यस्तै कलाकारलाई नेपालमा राज्यले आवश्यकता परेका बेला गहना धनीले जस्तै उपयोग गरेको तर उद्देश्य पूरा भएपछि वास्ता नगरेको उनीहरुको आरोप छ । विशेषगरी राजनीतिक दलहरुले कलाकारलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न प्रयोग गर्ने गरेको उनीहरुको आरोप छ । यता, धेरैको तर्क छ– कलाकारले पूरै राष्ट्र र राष्ट्रियताको प्रतिनिधित्व गर्ने भएकाले कुनै राजनीतिक दल, जाति, धर्म वा व्यक्ति विशेषको हुन हुँदैन । स्वतन्त्र हुनुपर्छ । जसको विचार वा धारणा जे भए पनि केही कलाकार भने राजनीतिक दलसँग निकट छन् ।

हुन त नेपालमा मात्रै होइन, छेउकै बलिउडमा पनि राजनीति गर्ने स्टार कलाकारको संख्या कम छैन । भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा मात्रै पनि शत्रुघन सिन्हा, सन्नी देओल, हेमा मालिनी, जया प्रदा, उर्मिला मातोण्डकर, तमिल अभिनेता प्रकाश राज, राज बब्बर, मुनमुन सेन, मिमी चक्रवर्ती, नुसरत जहान, मनोज तिवारीले पनि चुनाव लडेका थिए । अमिताभ बच्चन, गोविन्दा पनि बलिउडमा राजनीति गरेका कलाकार हुन् । नेपालमा विभिन्न राजनीतिक दल निकट रहेका कलाकार थुप्रै छन् । 

झण्डै तीन दशक नायिकाका रुपमा चलचित्रमा सक्रिय नायिका करिष्मा मानन्धर डा. बाबुराम भट्टराईले गठन गरेको तत्कालीन नयाँ शक्ति पार्टीमा आबद्ध भइन् । पार्टी गठनबाटै नयाँ शक्तिमा सक्रिय करिष्मा अघिल्लो महिनासम्म पार्टीमै थिइन् । नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता भएपछि करिष्माले उक्त पार्टी छोडिन् । उनले नयाँ शक्ति पार्टीमा सांस्कृतिक विभागको जिम्मेवारी सम्हाल्दैै आएकी थिइन् । 
करिष्माले आफू कुनै पनि पार्टीमा नरहेको बताएपछि उनलाई नेकपाले आफ्नो पार्टीमा आउन आग्रह गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएर उनलाई नेकपामा आउन आग्रह गरेका हुन् । यसबारे उनले औपचारिक जानकारी दिएकी छैनन् । 

गायिका कोमल वली राजनीतिमा लागेर छलाङ मार्ने अर्की कलाकार हुन् । रेडियो नेपालको जागिर छोडेर राप्रपामा प्रवेश गरिन् । अधिवेशनबाट लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्य बनेकी उनले राप्रपा छोडेर तत्कालीन नेकपा एमालेमा गइन् । एमालेमा गृह जिल्ला दाङबाट प्रतिनिधिसभाका लागि पार्टीसँग टिकट मागेकी उनलाई एमालेले राष्ट्रिय सभा सदस्य बनायो । गायनसँगै राजनीतिमा ठूलो फड्को मार्न सफल वली अहिले पनि फाट्टफुट्ट गीत गाइरहेकी छन् । 

नायिका रेखा थापा पनि राजनीतिमा प्रवेश गरिन् । कुनै समय नेपाली चलचित्र उद्योगमा राम्रो प्रभाव जमाउन सफल उनले पनि कोमल वलीसँगै राप्रामा केन्द्रीय सदस्यमा उमेदवार दिएकी थिइन् । उनी पनि प्रतिस्पर्धाबाटै केन्द्रीय सदस्यमा निर्वाचित भइन् । त्यसअघि रेखा तत्कालीन नेकपा माओवादीमा थिइन् । माओवादीले टिकट नदिएपछि रुष्ट बनेकी उनी माओवादीमा निष्क्रिय रहेकी थिइन् । पछि राप्रपा प्रवेश गरेकी हुन् । तत्कालीन माओवादीसँग चुनावी सभामा ‘कि लाउ माया मै तिर कि लाउ उहीतिर’ बोलको गीतमा नाचेको भिडियो सामाजिक सञ्जालमा लोकप्रिय भएको थियो । अहिले उनी राजनीतिमा निष्क्रियप्रायः छिन् । 

गायिका मीरा राणा पनि खुलेर राजनीति गर्ने कलाकार हुन् । उनले लामो समयदेखि राप्रपामा रहेर काम गर्दै आएकी छन् । उनी राप्रपा केन्द्रीय सदस्य हुन् । पछिल्लोपटक उनले कोमल वली र रेखा थापासँगै राप्रपामा केन्द्रीय सदस्य लडेर निर्वाचित भएकी थिइन् । 

अभिनेता सरोज खनाल पनि कलाकारमात्रै रहन सकेनन् । लामो समय अमेरिका बसेर फर्किएलगत्तै सरोज राजनीतिमा प्रवेश गरे । नयाँ शक्ति गठन हुँदा त्यसको केन्द्रीय समितिमा उनी पनि थिए । तर, उनी नयाँ शक्तिमा सक्रिय भएनन् । पार्टीका कार्यक्रममा पनि उनी उपस्थित हुँदैनथे । विस्तारै उनी राजनीतिबाट ओझेल परे । 

अशोक शर्मा पनि कलाकार मात्रै भएर बस्न नसक्ने व्यक्ति हुन् । बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा अशोक पनि करिष्मा र सरोजसँगै सुरुबाटैबाटै आबद्ध भए । तर, उनले पनि नयाँ शक्तिमा आफ्नो सक्रियता देखाएनन् । उनी त्यसअघि राजावादी कलाकार थिए । उनी अस्थिर स्वभावका अभिनेताका रुपमा चित्रित छन् । 

नायक भुवन केसी पनि नायक र निर्माता मात्रै भएर बस्न सकेनन् । राजनीतिमा रहर गर्ने अभिनेतामा उनको पनि नाम आयो । संविधानसभाको निर्वाचनमा उनले नेकपा एमालेबाट टिकटका लागि निकै धेरै ‘लविङ’ गरे । माधव नेपाल, झलनाथ खानाल, केपी ओली सबै गुटमा उनले ‘लविङ’ गरे पनि एमालेले उनलाई विश्वास गरेन । 

एमालेले टिकट नदिएपछि उनी राप्रपा प्रवेश गर्ने तयारीमा थिए । प्रवेशको कार्यक्रम पनि तय भइसकेपछि एक्कासि भुवन पछि हटेका थिए । 

नीर शाह पनि कलाकारितासँगै राजनीतिमा जोडिन पुगे । राप्रपा निकट मानिने उनी कांग्रेससँग पनि निकट रहे । कांग्रेसकै कोटाबाट उनले प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यसमेत बने । 

अर्का अभिनेताा रवीन्द्र खड्का पनि खुलेरै राजनीति गर्नेमध्येका एक कलाकार हुन् । उनले राजनीति मात्रै गरेनन् । लाभको पद पनि लिए । राजावादी उनी तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा पनौती नगरपालिकको मेयरसमेत भए । उनका बुवा इन्द्रबहादुर खड्का तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य थिए । 

शिव श्रेष्ठ कुनै समयका नेपाली चलचित्र उद्योगका रोजाइका नायक थिए । उनले दर्जनौं चलचित्रमा अभिनय गरे । नेपालको पहिलो एक्सन नायकको परिचय बनाएका उनले पाकिस्तानी चलचित्रमा पनि अभिनय गरे । 

शिव श्रेष्ठ पनि राजनीतिबाट टाढा रहन सकेनन् । नेपाली कांग्रेसबाट उनले राजनीति गरे । उनी राजनीतिमा आबद्ध मात्रै भएनन्, चुनावसमेत लडे । तर, कलाकारिताको लोकप्रियताले राजनीतिमा काम गरेन । 

नेपाली चलचित्र उद्योगमा राम्रो पकड बनाएका कलाकार हुन् केशव भट्टराई । अभिनेतासँगै उनी निर्माता पनि हुन् । उनी पनि राजनीतिबाट टाढा रहन सकेनन् । तत्कालीन एमाले निकट भएकै कारण उनी अहिले चलचित्र विकास बोर्डको अध्यक्ष छन् । 

चरित्र अभिनेताका रुपमा आफूलाई स्थापित गरेका देशभक्त खनाल पनि राजनीतिमा सक्रियतापूर्वक लाग्ने कलाकार हुन् । उनी तत्कालीन नेकपा एमालेबाट राजनीति गर्थे । 

लोकदोहोरी गायिका राधिका हमाल पनि राजनीतिबाट टाढा रहन नसकेकी गायिका हुन् । स्थानीय निकायको निर्वाचनमा उनलाई नेपाली कांग्रेसले टिकट नै दिएको थियो । उनको पारिवारिक पृष्ठभूमि नै राजनीतिक थियो । उनका बुवा राजनीति गर्थे । 

नलिना चित्रकार पनि राजनीतिमा आबद्ध भएकी गायिका हुन् । संविधानसभा निर्वाचनमा उनले खुलेरै राजनीति गरिन् । मधेशवादी दलबाट उनले समानुपातिकतर्फ उमेदवारी दिएकी थिइन् । तर, निर्वाचित हुन सकिनन् । 

लोकदोहोरी गायक बद्री पंगेनी पनि राजनीतिक दलसँग निकट रहेका कलाकार हुन् । उनी तत्कालीन एमालेसँग निकट रहेका गायक हुन् । चुनावी सभामा गीतमार्फत् पार्टीको प्रचार गर्दै हिँडेका कलाकार हुन् बद्री । ‘जनताको शासन त चल्या छैन है...’ उनले चुनावलाई लक्षित गरेर गाएको गीत थियो । 

हास्य कलाकार मनोज गजुरेल पनि तत्कालीन एमाले निकट कलाकार हुन् । यद्यपि अहिले उनी पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् । स्ट्यान्डअप केमेडीमा मनोज लोकप्रिय कलाकार हुन् । 

देउडा गायक नन्दकृष्ण जोशी पनि खुलेर राजनीतिक दलमा आबद्ध हुने कलाकार हुन् । उनी नेपाली कांग्रेस निकट मानिन्छन् । 

लोक दोहोरी गायक विष्णु खत्री पनि राजीतिक दलसँग आबद्ध कलाकार हुन् । उनी तत्कालीन नेकपा माओवादीमा आबद्ध थिए । माओवादीको सदस्यता लिएका थिए । 

नायक नवल खड्का पनि खुलेरै राजनीति गर्ने कलाकार हुन् । तत्कालीन माओवादी निकट रहे । माओवादी आन्दोलनको पक्षपोषण गर्दै उनले कथानक चलचित्र पनि बनाए । 

हास्य कलाकार उत्तम केसी पनि कलाकारितामा मात्रै अड्न सकेनन् । उनी पनि एमाले निकट कलाकार हुन् । उनी चलचित्र विकास बोर्डको सदस्य पनि भए । 

नायक निखिल उप्रेती पनि अभिनेता मात्रै भएर बस्न सकेनन् । राजनीतिक दल समात्ने क्रममा उनले तत्कालीन नेकपा एमाले रोजे । एमालेका राजनीतिक कार्यक्रममा उनी स्टेज चढ्न भ्याए । 

कलाकार दिनेश डिसी पनि राजनीतिबाट टाढा रहन सकेनन् । उनी एमाले निकट छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेर काम गरिरहेका छन् । 

अग्रज गायक तथा साहित्यकार गणेश रसिक नेपाली सांगीतिक उद्योगमा सम्मानित नाम हो । उनी पनि राजनीतिको फेरो नसमाती कलाकार मात्रै भएर बस्न सकेनन् । राप्रपा निकट हुन पुगे । राप्रपा निकट भएर उनले लाभको पद पनि प्राप्त गरे । राष्ट्रिय नाचघरको महाप्रवन्धक, रत्न रेकर्डिङ संस्थानमा महाप्रवन्धक, साझा प्रकाशनमा अध्यक्ष र संगीत नाट्य प्रतिष्ठानमा सदस्यसचिव भएर काम गरे । 

कलाकार तथा लेखक मोहन निरौला पनि अभिनेताका रुपमा मात्र आफूलाई राख्न सकेनन् । राजनीतिले उनलाई पनि तान्यो । उनलाई उनकै समकालीनहरुले राजावादी भन्छन् । 

संगीतकार लक्ष्मण शेष पनि कलामा मात्रै स्वतन्त्र भएर अडिन सकेनन् । खरो स्वाभाव र विद्रोही शैलीका लक्ष्मण तत्कालीन माओवादीमा प्रवेश गरेका थिए । 

अर्का संगीतकार चेतन सापकोटाले पनि आफूलाई कुनै राजनीतिक वाद र विचारबाट स्वतन्त्र राख्न सकेनन् । उनी पनि तत्कालीन माओवादीमा प्रवेश गरेका थिए । माओवादीका चुनावी कार्यक्रममा उनी खुलेरै स्टेजमा गीत गाउँदै हिँडेका थिए ।

नायकसमेत रहेका निर्माता रोज राणा पनि कलाको सीमा भित्र मात्रै बसेनन् । नेपाली कांग्रेसबाट राजनीति नै गर्छन् रोज । गत संसदीय निर्वाचनमा उनले समानुपातिकमा टिकट पाउने चर्चा समेत थियो । 

जेबी टुहुरे, रामेश, रायन, जीवन शर्मा, माइला लामा लगायत गायक पार्टीका सांस्कृतिक विभागमा रहेर काम गर्ने कलाकार हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro