काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–३ सहिदगेटमा गएको बिहीबार साँझ बम विस्फोट भयो । विस्फोटमा राम सिंहको ज्यान गयो । पाँच जना घाइते भए । प्रहरीले विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता रहेको र आफैंले बोकेको ‘टिफिन बम’ पड्किएर घटना भएको बतायो । सुरुमा विप्लव समूहले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेपनि शुक्रबार भने घटनाको जिम्मेवारी लियो ।
शुक्रबार विज्ञप्ति नै जारी गरेर विप्लव समूहले औपचारिक रुपमा घटनाको जिम्मेवारी लिँदै घटनामा ज्यान गुमाएका आफ्नै कार्यकर्ता रहेको बतायो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी सुदिप गिरीका अनुसार ग्यासको सिलिण्डर विष्फोट भएको आशंकामा प्रहरी टोली घटनास्थल पुगेको थियो । तर, घटनास्थलमा विष्फोट भएको स्टीलको टिफिन बक्सको अवशेष भेटिएको थियो । त्यही आधारमा प्रहरीले बम भएको निष्कर्ष निकाल्यो । प्रहरीका अनुसार झोलामा बम बोकेर खाजा खान होटलमा छिरेका विप्लव कार्यकर्ताको बम आफैं पड्कियो ।
त्यो बम उनीहरुले पहाडी जिल्लामा लैजान खोजेको हुनसक्ने प्रहरीको आशंका छ । घटनामा घाइते सेरला पनि विप्लव समूहकै कार्यकर्ता हुन् । मोबिन खान, जितेन्द्र यादव र धनगढी–४ बोराडाँडीका केशवराज पाण्डेय भने स्थानीय हुन् । प्रहरी अधिकारी यसलाई सांकेतिक रुपमा ‘आत्मघाती’ विस्फोटको संज्ञा दिन्छन् । आत्मघाती बम भनेको आफ्नो शरीरमा बम भिरेर भीडमा वा कुनै स्थानमा बमसँगै आफू पड्किनु र अरुको पनि ज्यान लिनु हो । तर विप्लव समूहले आत्मघाती बमकै रुपमा त्यसलाई प्रयोग नगरेपनि दुई घटनामा भने उनीहरुतर्फ नै ठूलो क्षति भयो ।
यसअघि १२ जेठमा काठमाडौंको सुकेधारा र अनामनगरमा भएको बम विष्फोटमा पाँच जनाको मृत्यु भएको थियो । ६ जना घाइते भए । प्रहरी अनुसन्धानका क्रममा मारिने र घाइते सबै विप्लव समूहका कार्यकर्ता भएको खुलेको थियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार विष्फोटक पदार्थ सही तरिकाले ह्याण्डल गर्न नसक्दा दुर्घटना भएको थियो । अघिल्लो दिन नेपाल बन्द आव्हान गरेको विप्लव समूहले विभिन्न स्थानमा बम राखेर त्रास सिर्जना गर्न खोजेको थियो । तर अर्कालाई हान्न खोजेको तीर आफ्नैतिर ठूलो क्षति गर्यो ।
काठमाडौं उपत्यकामा जेठ १२ गते भएको श्रृंखलावद्ध बम विस्फोटमा कृष्णप्रसाद भण्डारी ‘निरन्तर’, गाधिराम राना मगर ‘गोकुल’, विशाल शाही, प्रभुजंग शाही, दिपेन्द्र भनिने देउराम लोहारको ज्यान गयो । गोकुल विप्लव समूहका सैन्य कमाण्डर थिए ।
जेठ १२ गते नै नागढुंगामा पनि विप्लव कार्यकर्ता आफैंले बोकेको बम विस्फोट भएको थियो । उक्त विस्फोटमा परी दुईजना घाइते भए । धनगढीमा १ र काठमाडौंमा ५ गरी विप्लव समूहका ६ जना कार्यकर्ताले आफैंले बोकेको बमबाट ज्यान गुमाए ।
त्यसो त सर्वसाधारणलाई लक्षित गरेर बम विस्फोट गर्ने आफ्नो योजना नभएको उनीहरुले बताएका छन् । तर आतंक सिर्जना गर्न उनीहरुले गरिरहेको योजनामा आफ्नैतिर क्षति भयो । आफूहरुसँग हतियार नभएको दाबी गरिरहेको विप्लव समूहका नेता–कार्यकर्ताहरु विभिन्न स्थानबाट पक्राउ पर्ने क्रम जारी छ । कतिपय स्थानमा उनीहरु हतियारसहित पनि समातिएका छन् ।
हालसम्म प्रहरी कारवाहीका क्रममा विप्लव समूहका भोजपुरका कार्यकर्ता तीर्थ घिमिरे, सर्लाही इन्जार्ज कुमार पौडेल र भोजपुरमा निरकुमार राईको ज्यान गएको छ । औपचारिक रुपमा हतियारबद्ध संघर्ष नगरेको बताउँदै आएको विप्लव समूहका नेता–कायकर्तासँग हतियार भने भेटिँदै आएको छ । विप्लव समूहको आक्रमणमा हालसम्म एक सर्वसाधारण र एकजना प्रहरी जवानको ज्यान गएको छ ।
किन आफैँ विस्फोटमा पर्दैछन् कार्यकर्ता ?
विप्लव समूहकै नेताको भनाइलाई आधार मान्ने हो भने काठमाडौं र कैलालीमा आफ्नै कमजोरीले भएको विस्फोटले पार्टीमा क्षति पुगेको हो । यसले विप्लव समूहलाई झस्काएको मात्रै छैन, पार्टीभित्रै यसबारे ठूलो बहस पनि सुरु भएको छ ।
विप्लव समूहका लागि आफैले बोकेका बम किन घातक बन्दैछन् त रु विप्लव समूहकै नेता र प्रहरी अधिकारी तालिमप्राप्त व्यक्तिको अभावमा यस्तो भइरहेको बताउँछन् । त्यसो त काठमाडौंमा ज्यान गुमाएका गोकुल रानामगर र कैलालीमा ज्यान गुमाएका राम सिंह दुवै जनमुक्ति सेनाका पूर्व लडाकु हुन् । उनीहरु दुवैले सेना समायोजनका क्रममा अवकाश रोज्दै सरकारी रकम समेत बुझेको पाइएको छ । एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘‘भर्खरका युवालाई उत्तेजित पारेर बम बोकेर हिँडाउँदै जाने हो भने यसले ठूलो क्षति निम्त्याउँछ । यसप्रति विद्रोही समूह सचेत हुन जरुरी छ ।’’
तत्कालीन माओवादी युद्धको समयमा समेत यस्ता प्रकारका घटना खासै नभएको जानकारहरु बताउँछन् । प्रहरी अधिकारीका अनुसार विप्लव समूहका तालिमप्राप्त र हतियारबारे ज्ञान भएका धेरैजसो नेता–कार्यकर्ता प्रहरी हिरासतमा वा जेलमा छन् । ज्ञानको अभावमा हतियार र बमजस्तो संवेदनशिल कुरा बोकेर हिँड्दा दुर्घटना जतिबेला पनि हुनसक्ने अधिकारी बताउँछन् ।
धमाधम आत्मसमर्पण गर्दै कार्यकर्ता
सरकारले गएको फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध र प्रहरीले सो समूहविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाएपछि कार्यकर्ताहरु धमाधम आत्मसमर्पण गर्न थालेका छन् । प्रतिबन्धपछि यही साउन ५ गतेसम्म विप्लव समूहका ३५२ जना कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । उनीहरुले प्रहरी कार्यालयमा आएर आफूहरुले समूह परित्याग गरेको निवेदन बुझाउने गरेका छन् । कुनै मुद्दामा नजोडिएको र समूह परित्याग गरेको अवस्थामा प्रहरीले पनि उनीहरुलाई समात्ने रणनीति बनाएको छैन ।
चार महिनामै ३५२ जनाले समूह परित्याग गरेका छन् भने ६ सय नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा स्थायी समितिका सदस्य, पोलिटव्युरो र केन्द्रीय सदस्यदेखि सामान्य कार्यकर्तासम्म छन् ।
विप्लव समूहका शीर्ष नेताहरुले भूमिगत रुपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन् । पार्टी महासचिव विप्लव भने भूमिगत नै रहने पार्टीले आधिकारिक निर्णय गरेको एक नेताले बताए । पछिल्लो साढे दुई वर्षयता उनी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
हालसम्मको क्षति
विस्फोटमा ज्यान गुमाउने विप्लव कार्यकर्ता
कृष्णप्रसाद भण्डारी ‘निरन्तर’
गाधिराम राना मगर ‘गोकुल’
विशाल शाही
प्रभुजंग शाही
दिपेन्द्र भनिने देउराम लोहार
रामबहादुर सिंह ‘राजेश’
प्रहरी कारबाहीमा मारिएका
कुमार पौडेल
तीर्थ घिमिरे
नीरकुमार राई
नक्खु विस्फोटमा ज्यान गुमाएका सिंहप्रसाद गुरुङ (सर्वसाधारण)
भोजपुर घटनामा ज्यान गुमाएका सञ्जिव राई (प्रहरी जवान)
घाइते
प्रतीक्षा खड्का
निरुसा मानन्धर
जिवकुमार ठाकुर
हरि खड्का
रविन केसी
विक्रम लामा भनिने महेन्द्र तामाङ
केशवराज पाण्डेय
जितेन्द्र यादव
लक्ष्मण सेराला
मोविन खान
प्रहरी जवान खेमनाथ भट्टराई
हतियार बरामद
२३ नाल हतियार
एम–१६ एक थान
एलएमजी राइफल एक थान
एसएलआर एक थान
राइफल ३०३ थान
एसएमजी दुई थान
पेस्तोल सात थान
रिभल्वर पेस्तोल तीन थान
पाँचवटा घरेलु हतियार
४१७ राउण्ड गोली
डेटोनेटर–४
डेटकर्ड–३१ मिटर
१९ स्थानमा बम विस्फोट
९५ स्थानमा निष्कृय