
काठमाडौं । लामो समयदेखि अमेरिकामा रहेर साहित्य साधना गरिरहेकी कवि तथा गीतकार दीपा राई पुनको ‘कहीँ चोट’ बोलको गीत सार्वजनिक भएको छ । ललितपुरको इन्ट्रन्स क्याफेमा एक कार्यक्रमबीच कवि एवं प्राज्ञ मञ्जुलले गीतको भिडियो प्ले मेनुमा क्लिक गरेर सार्वजनिक गरेका हुन् ।
गीतको म्युजिक भिडियो गीतकार दीपा राईको आफ्नै युट्युब च्यानलमार्फत वल्र्डवाइड सार्वजनिक गरिएको हो । गीतलाई सङ्गीतकार हरि लम्सालले सङ्गीत गरेका हुन भने गायक शिव परियारले स्वर भरेका छन् ।
गीतको फिमेल भर्सनमा निशा देशारको स्वर रहेको छ । निराजन प्रधान र एलिसा राईको मुख्य फिचर्ड भएको उक्त भिडियो खगेन्द्र पन्धाक लिम्बुले निर्देशन गरेका हुन् ।
ईनुमा राई र मनु थक्लुङ भिडियोको सहयोगी भूपिकामा छन् भने गीतको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् । कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवस, श्रवण मुकारुङ, विप्लव प्रतीक, गायक शिव परियार, सङ्गीतकार हरि लम्सालले गीतमाथि धारणा राखेका थिए ।
“म जहिले पनि सिर्जनाले मानिसको आत्मा जोड्ने काम गर्छ भन्ने विश्वास लिन्छु । यही विश्वासले आज म तपाईंहरुसँग छु,” गीतकार पुनले भनिन् ।