
काठमाडौं । चलचित्र विकास बोर्डको १९औं वार्षिक उत्सवमा यो वर्ष अग्रजदेखि नयाँ कलाकारले नृत्य प्रस्तुत गर्ने भएका छन् । अग्रजदेखि नयाँ पुस्तासम्मका विभिन्न नायक नायिकाहरुले करिब १२ मिनेटको नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
नृत्यका लागि एक साताबाट अभ्यास भइरहेको छ । पहिलो चलचित्र आमादेखि अहिलेसम्मका चलचित्रका चर्चित एवम् कालजायी गीतमा कलाकारहरुले पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्ने बोर्डले जनाएको छ ।
नृत्य निर्देशक बसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले अहिले विभिन्न गीतमा नृत्य प्रशिक्षण गराइरहेका छन् । बोर्डका अनुसार यसपटक पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्न अग्रज अभिनेता अभिनेत्री सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दिपिल रायमाझी, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, नृत्य प्रशिक्षणमा छन् ।
यस्तै अभिनेता अभिनेत्रीहरु केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, बिमला के.सी., छुल्ठिम गुरुङ लगायत कलाकार पनि नृत्य अभ्यासमा व्यस्त छन् । बोर्डको १९औं वार्षिक उत्सव असार २७ गते हुँदैछ ।