site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मौलिक सङ्गीतमा युवा आकर्षण

– शेरबहादुर सिंह


भीमदत्तनगर । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङका १८ वर्षीय रमेश कार्की दुई वर्षदेखि कञ्चनपुरको भीमदत्तनगरमा डेरामा बसेर अध्ययन गर्दैछन् । 
    
प्रवीणता प्रमाणपत्र तहको अध्ययन गरिरहेका कार्की पढाइसँगै सङ्गीतमा पनि धेरै रुचि राख्छन् । अध्ययनसँगै यहाँस्थित श्रृति सङ्गीत विद्यालयमा गायन सिक्दैछन । युवा पुस्ता परम्परगात मौलिक संस्कृति बिर्सन थालेको देखेर आफू मौलिक सङ्गीत सिक्न थालेको उनको भनाई छ । यहाँस्थित बालजागृति क्याम्पसमा अध्ययनरत कार्की फुर्सदको समयमा भने सङ्गीतको कक्षामा भेटिन्छन् । 
    
“संगीतभित्र वेदना, खुसी, भावना र व्यावसायिकता पनि हुन्छ ।” कार्की भन्छन्,“संगीत हाम्रो लागि आहारा जस्तै आवश्यक पर्छ ।” त्यसैगरी भीमदत्तनगरपालिका–२ भाषीका १६ वर्षीय महेश चन्द डेढ महिनादेखि गिटार सिक्दैछन् ।
    
‘१० कक्षाको परीक्षा दिएर घर आएको बेला गिटार सिक्न थाले ।” भारतको नैनीतालमा अध्ययनरत चन्दले भने, ”सिकेको कुरा कहिल्यै खेर जादैन ।” सङ्गीतक्षेत्रमा यहाँका युवा गायन, तबला, बासुरी, ढोलक, हार्मोनियम, गिटार बजाउन तर्फ बढी आकर्षित रहेको श्रृति सङ्गीत विद्यालयका प्रशिक्षक आरएन जोशीको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चार वर्षदेखि भीमदत्तनगरमा सङ्गीत सिकाउँदै आएका प्रशिक्षक जोशीले बालबालिकादेखि वृद्धसम्म सङ्गीत सिकिरहेको बताउँछन् । सङ्गीतमा ६५ जना विद्यार्थीह छन् जसमा १८ महिला छन् । बुबा गङ्गादत्त जोशीको प्रेरणाबाट सात वर्षकै उमेरदेखि शास्त्रीय सङ्गीतमा प्रवेश गरेका जोशी सङ्गीत असल आचरणका लागि पनि उपयोगी हुने बताउछन् ।
    
“मनोरञ्जनका लागि मात्रै होइन गाउन, बजाउनसँगै राम्रो मान्छे बन्न पनि सङ्गीत आवश्यक हुन्छ ।” स्नातक तह अध्ययन गरेका २९ वर्षीया जोशी डेढदशकदेखि सङगीतक्षेत्रमा सक्रिय रहेको बताउँछन् । 

“आधुनिकता भन्दा मौलिकतामा धेरै भाव र गहनता हुन्छ, शास्त्रीय सङ्गीत यहाँ बिर्सिनेहरु बढ्दै छन”, जोशीको बुझाइ छ । सङ्गीत कक्षा सञ्चालन गरेबापत आउने शुल्कबाटै दैनिकी चलेको जोशीको भनाइ छ ।

“बुबाले करिब तीन दशक भीमदत्तनगरमा सङ्गीत कक्षा सञ्चालन गर्नुभयो, बुबाकै साथ र प्रेरणाबाट पुस्तासँगै सङ्गीत पनि हस्तान्तरण भयो”, जोशीले सुनाए । भारतको इलाहावाददेखि काठमाडौँसम्म सङ्गीत सिकेका जोशी भीमदत्तनगरमा हाल एक्ला सङ्गीत प्रशिक्षक हुन् । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुरका सल्लाहाकार नवीनसिंह धामी लोक संस्कृति बिर्सिदै गएकोप्रति चिन्तित छन् । “लोकबाजा इतिहास नबनुन्, पुराना पुस्ता यसबाट गुजारा हुने देख्न छाडेपछि व्यावसायिक रुपमा नयाँ पीढिँमा मौलिक सङ्गीत, संस्कृति हस्तान्तरण हुनसकेको छैन ।”  

सरकार तथा स्थानीय तहरुले पनि लोक सङ्गीत जगेर्नातर्फ ध्यान नदिएको दुखेसो उनको थियो ।“लोकबाजा, संस्कृतिको संरक्षणका लागि कुन तहको सरकारले कहाँ कति बुजेट छुट्याएको छ खै ?” उनको प्रश्न छ, “सङ्गीतप्रति युवा आकर्षण छ तर सिक्ने वातावरण भएन ।” रासस

प्रकाशित मिति: शनिबार, असार २१, २०७६  १५:०७
प्रतिक्रिया दिनुहोस्