– मणि भट्टराई
लाग्थ्यो— ‘शक्ति’ सेवासँग गाँसिने शब्द हो
तर यहाँ त
‘शक्ति’ बलात्कारको अर्थ बोकेर
उक्लेको छ बडेमाको पहाड !
‘शक्ति’ले दूध खाने निहुँमा आमाको खुन चुसेको छ
‘शक्ति’ले बाबुको छातीमा उफ्रेर मुखमा पिसाब फेरेको छ
‘शक्ति’ले भाइ-बैनीहरूको हुर्मत लिएको छ ।
लाग्थ्यो— 'शक्ति’ सेवासँग जोडिने शब्द हो
तर यहाँ त
‘शक्ति’ साँढे गोरू भएर शहर छिरेको छ !
शक्तिको बुइँ चढेर बाँदरहरू
विश्व विजयमा निस्केका छन्
शक्तिको पुच्छरमा झुन्डिएर
स्यालहरूले बाघको गर्जन निकालेका छन्
शक्तिको पूजा गरेर
ब्वाँसाहरू मोटाएका छन् र हात्ती भएका छन् ।
लाग्थ्यो– ‘शक्ति’ संसारको सुन्दर वस्तु हो
तर यहाँ त
‘शक्ति’ अत्यन्तै कुरूप र डरलाग्दो राक्षस भएको छ ।
‘शक्ति’ एक गन्ध भएको छ
गन्हाउँदा गन्हाउँदा दुर्गन्ध भएको छ
तर
यी बस्तीका नाकहरू अभ्यस्त छन्
भन्ने गर्छन्— यतिको गन्ध ठीकै छ !
मतलब
‘नाकहरू’ पनि अब शक्तिको पक्षमा छन् ।
‘शक्ति’ यति शक्तिशाली भयो कि
ओठहरू टाँचा मारेझैं नि:शब्द छन्
टाउकाहरू भकुन्डोझैं यता र उता गुडिरहेका छन्
र, आँखाहरू रंग नचिन्ने रंगहीन भएका छन् ।
आफ्नै छोरीको बलात्कारमा बाबु चुपचाप
आफ्नै बाबुको हत्यामा छोरो चुपचाप
काखबाट खोसिएको छ बच्चा- आमा चुपचाप
रंगेहात सडकमा हिँडिरहेछ ‘शक्ति’- कानुन चुपचाप
यतिसम्म कि
युगौं बदल्न हिँडेका क्रान्तीकारीहरू सब चुपचाप !
शायद,
जीवनभन्दा पनि प्रिय
र मृत्युभन्दा पनि डरलाग्दो छ ‘शक्ति’ !
कतै टाढाबाट आइरहेको छ
कुनै कविको विद्रोहको कविता
तर शक्तिका पुजारीहरू
आँखा छोपेर
कान थुनेर बसेका छन्
आफ्नै जीवनको अँध्यारो र सुनसान सडकमा !