site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सेनाको खानतलासी

– सुरञ्जन घिमिरे


कुरा ०५८ को हो । शनिबारको दिन ।

हामी केटाकेटी थियौं । ड्याडी दोकानको सामान लिन सिलिगुडी, धुलाबारी, बिर्तामोड जाँदा त्यतैबाट ल्याइदिनुभएको ब्यारिङलाई सुनील र मैले फलेकमा ठोकेर ब्यारिङ गाडी बनाएका थियौं । हाम्रो घर तल केशव दाजुहरूको आँगन र पेटीमा मदन, सुनील, केशव दाजु र म ब्यारिङ गाडी कुदाउँथ्यौं । सुलोचना, कल्पना र राधिकाहरू चट्टी खेल्थे । केशव दाजुहरूको आँगनमा यो सब गर्न हामीलाई छुट थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“भाइ,” हाम्रो घरको आँगनको डिलबाट आवाज आयो । हामीले ब्यारिङ गाडी रोकेर माथि आँगनतिर हेर्‍यौं । त्यहाँ नेपाली सेनाको एउटा टोली देखियो ।

“यो घरमा को हुनुन्छ ?” टोलीबाट एकजनाले सोध्यो ।

ब्यारिङ गाडी ठेल्दा भुइँमा जोतिएर हातमा लागेको माटो पाइन्टमा टक्टक्याउँदै मैले भनें, “हामी छौं ।”

चट्टी खेल्दै गरेकी सुलोचनाका गोडा टक्क रोकिए । अरू दिन भए कल्पनाले भन्थी, “सुलोचना दिदी आउट ।” तर, अहिले भनिन । सेना देखेर डाराई ।

राधिका र सुलोचना केशव दाजुहरूको आटमा गएर बसे ।

“याँ आओ त,” अर्को सेनाले थप्यो ।

सबभन्दा अगाडि सुनील हिँड्यो । त्यसपछि म । मेरोपछाडि केशव दाजु । टोलीमा सेनामध्ये एउटाले छोटो नालमा दुलैदुला भएको गन बोकेको थियो । अरूले लामो खालको बन्दुक ।

सुनीलले दुलैदुला भएको गनछेउबाट हेर्न खोज्दा सेनाले भन्यो, “छेउमा नआइज है भाइ, पड्किन्छ नि यो ।”

दिउँसो लागेको पारिलो घामले हाम्रो पाखुरा र घुँडामा दल्लिएको माटो कडा बनाउँदै थियो । केशव दाजुहरूको आँगनअगाडि थलामा गाई र बाछाले अरू बेलाभन्दा भिन्नै आवाज निकालेको बुझिन्थ्यो ।

“हामी यो घर खानतलासी गर्न आएका,” गन बोकेको सेनाले आँखीभौं उचाल्दै दृढ आवाज निकाल्यो, “घरमा ठूलो मान्छे को हुनुन्छ, बाहिर बोलाओ ।”

मलाई मनमनै डर लागिरहेको थियो । घरमा ममी पनि हुनुन्नथ्यो ।

“ओए सुलोचना,” केशव दाजुले तल आटमा बसिरहेकी सुलोचनालाई बोलाउनुभयो, “तिमेर्को घर वहाँहरूले खानतलासी गर्ने अरे ! याँ आइज ।”

सुलोचना आई । घरको ढोकामा चाँबी लगाएको थिएन । चुकुल र आग्लो पनि । सुलोचना घरभित्र छिरी । सेनाहरू पछिपछि आए । हामीले पछ्यायौं । 

“तिमेर्को बा माओवादी हो ?” बाहिर उज्यालोबाट एकैचोटि भित्र पसेकाले प्रश्न गर्ने सेना ठम्याउन सकिएन । सेनाले दोहोर्‍यायो, “हो ?” 

हामीले माओवादीबारे नसुनेको थिएन । स्कुलभरि माओवादीको चर्चा सुनिन्थ्यो । सानवीरे खोल्सामा माओवादी र सेनाको दोहोरो भिडन्तमा २१ सेना माओवादीले ठहरै मारे अरे ! अर्धचेत सेनाहरू रातभर नालीमा पानी...पानी भन्दै तड्पिएर मरे अरे ! पोखराबाट भर्खर इलाम सरुवा भएका ती सेनालाई इलामका गौंडाबारे थाहा थिएन अरे ! अब माओवादीले इलाम सदरमुकाम हान्छ अरे ! गाविस पड्काउँछ अरे ! 

“होइन,” सुलोचना बोली, “हाम्रो ड्याडी त मेकानिक हो ।”

घरको भुइँतलाको सबै माहोल टोलीले नियाल्यो ।

“के मेकानिक ?” टोलीमध्येबाट कसैको आवाज उँचो सुनियो ।

“घडी, रेडियो, टीभी मेकानिक,” सुलोचनाले भनी ।

“वाइरिङ पनि गर्छ ?” जवाफ ओठबाहिर आउन नसक्दै सेनाले सोध्यो । 

“अँ गर्नुहुन्छ,” हतार–हतार म बोलें, “साखेजुङ, नेपालटार, रक्सेतिर नि वाइरिङ गर्नुभ’को छ ।” मेरो उत्तरले टोलीको हतार बढेजस्तो देखियो ।

“माथिको अर्को कोठा जाने कता हो ?” सेनाले भन्यो, “माथिको कोठा नि देखाओ ।”

लिस्नो चढेर सेनासहित हामी सबै माथिल्लो कोठा उक्लियौं ।

“यो के हो ?” गातामा मयूर लेखेको खाता देखाउँदै टोलीमध्ये एउटा सेनाले सोध्यो ।

हामी केही बोलेनौं । त्यो ड्याडीको कविता लेख्ने ठूलो खालको खाता थियो, जहाँ ‘आकाश’, ‘भुँडी’, ‘साँढे आए’ लगायत अरू कविता थिए । सेनाले खाता हेरिरहँदा सुनील र म मुखामुख गर्‍यौं । किनकि, त्यहाँ उसले र मैले गुन्गुनाइरहने ‘आकाश’ कविता थियो—

“यो आकाश अनन्त छ, जटिल छ, छोएर छोइन्न है
यो आकाश कति विशाल छ भनौं, देखेर देखिन्न है !”

तर, सेनाले खाताबारे थप सोधेन । हेरेर त्यहीँ राखिदियो । त्यसपछि सेनाको टोलीले सिरान तला खानतलासी गर्ने बतायो । माथिल्लो कोठाबाट सिरान तला उक्लिने ठाउँ साँघुरो थियो । पहिला म उक्लिएँ । त्यसपछि सुनील । त्यसपछि सेनाहरू, त्यसपछि केशव दाजु र सुलोचना । होचो सिरान तलामा सुनील र ममात्र सीधा उभिन सक्यौं । अरूहरू ढाड कुप्य्राएर उभिए ।

“यी के हुन् ?” ढाड कुप्य्राएरै सेनाले सोध्यो ।

“रेडियो, टीभीका किट र क्याबिनेट हुन् सर,” हामीमध्ये कसैले जवाफ दियो । सिरान तलामा सेनाले धेरैबेर हेरे । दुलैदुला परेको छोटो नाल भएको गनबाहेक अरू सेनाले बोकेको बन्दुकको नाल बेलाबेला सिरान तलाको भुइँमा घस्रिन्थ्यो ।

– राति तिमेर्कोमा को–को आउँछन् ?
– चेस खेल्न कोही–कोहीबेला विशाल दाजु आउनुहन्छ ।
– माओवादी राजनीतिका गफ गर्छन् ?
– गर्नुहुन्न ।
– राति बा कति बजे सुत्छन् ?
– ९ बजे ।
– बजारबाट कुकरहरू ल्याउँछन् कि ल्याउँदैनन् ?
– ल्याउनुहुन्न ।

सिरान तलामा यो सवालसवाफपछि सेनाको टोली र हामी भुइँ तला हुँदै आँगनमा निस्कियौं । छोटो नालमा दुलैदुला भएको गन बोक्ने सेना सुनीललाई हरेर मुसुमुसु हाँस्यो । त्यसपछि टोली पिच बाटोतिर उकालो लाग्यो ।

हामी ब्यारिङ गाडी कुदाउन र सुलोचना चट्टी खेल्न केशव दाजुहरूको आँगनतिर झ¥यौं । साँझ पर्ने तरखरमा थियो । नारन काकाहरूको आँगनमा टहल्नुभएकी हजुरआमाको छायाको आकार घरको भित्तामा छोटो र मधुरो भइसकेको थियो ।

“अब नखेल,” चिया टिपेर भर्खरै आइपुग्नुभएका काइँलाबडीले केशव दाजुलाई सोध्नुभो, “सेनाले के गरो भाइ ?”

“खानतलासी,” केशव दाजुले एकै सासमा उत्तर दिनुभो ।

सुनील र म ब्यारिङ गाडी बोकेर घर आयौं । सुलोचना पनि । ममी पनि चिया टिपेर घर आइपुग्नुभो । 

“के भो अरे नानी ? सेनाले हाम्रो घर खानतलासी ग’रो अरे ?” ममीले सुलोचनालाई सोध्नुभो । साँझ छिप्पिँदै गयो । सुलोचनाले खाना बसाई, ममीले सब्जी । केहीबेरमा माथि पिचबाटोमा ड्याडीको बाइकको आवाज आयो । सुनील र म विशाल दाजुहरूको घरतिर लाग्यौं । ड्याडीले बाइक त्यहीँ राख्नुहुन्थ्यो । किरण, शान्ता, बिमला, देवी दिदी र विशाल दाजुलाई आज घरमा सेना आएको बारेमा आश्चार्य मान्दै सोधिरहनुभएको थियो ।

“ड्याडी सेनाले हाम्रो घर खानतलासी ग¥यो,” सुनीलले भन्यो ।

“चुप लाग न भाइ एकछिन,” ड्याडीले बोलिरहेको सुनीललाई रोकेर दाजु, दिदीहरूको वर्णन सुनिरहनुभयो । एकछिनमा ममी पनि त्यहीँ आइपुग्नुभो ।

“पुलिस आयो, भिजर आयो, मन्त्री आयो, राजा आयो भन्दै रातिसम्म चेस नखेल्नू न भन्दा मलाई जान्ने न हो भन्नुहुन्थ्यो नि,” ममीले अडान राख्नुभो, “यो विशाललाई पनि राति–राति कविता नलेख् न भनेर कति भनें, मानेनन् ! त्यही सुनेर सेनाले छापा मारेको हो ।”

विशाल दाजुहरूकोमा केहीबेर गफ गरेर हामी सबै घरतिर झर्‍यौं । ड्याडी बाल्टी बोकेर गाई दुहुन जानुभो । ड्याडी दूध दोहेर आइसक्दा भान्साकोठामा वेदे काका आउनुभयो । अँगेनामा दूध तातिरहेको थियो ।

“हओ दाजु, हामीलाई कसले पोलेछ ?” वेदे काकाले गम्भीर हाँसो हाँस्दै ड्याडीलाई सुनाउनुभो, “म पनि दिउँसो हरिकृष्ण दाजुको बारी जोत्न ग’को थें । घर आउँदा त केटाकेटी आत्ति र’का र’छन् त हो !”

कुरा बुझ्दा हाम्रो घरबाट फर्किएको सेनाको टोलीले वेदे काकाहरूको घर पनि खानतलासी गरेछ ।

“होइन दाजु, हामीलाई कसले पोलो ?” वेदे काकाले दोहो¥याउनुभो ।

गाउँको कुनै निहुँको बहानामा आफूहरूलाई माओवादीको बिल्ला भिराएर गाउँकै कसैले सेनामा आरोप लगाएको उहाँहरूको शंका थियो ।

त्यसपछि इलाममा माओवादीको सन्त्रास थप बढ्यो । गाउँमा सेनाले नाइटभिजनबाट गस्ती गरेको हल्ला सुनिन थाल्यो । इलाम सदरमुकाम हान्ने माओवादीको हल्ला गाउँभर फैलियो । बालसेनाको प्रयोग गर्ने डरले हुर्किंदा उमेरका छोराछोरी साथै लिएर बाबु–आमाहरू सुरक्षित रहन झापातिर झर्न थाले । पाँच नम्बरबाट गुमपहाडे काका र तारा दाइ पनि सेनाको धरपकडमा पर्नुभो । केही दिनपछि सुलोचना र मलाई पनि ड्याडीले झापा लानुभयो । सीता, विशाल दाजु, केशव दाजुहरू पनि काइँला र माइँलाबडीको साथमा झापा झर्नुभो । झापामा सहरी इलाका बढी भएकाले माओवादीको सन्त्रास र सेना–प्रहरीको अनावश्यक चलखेल कम थियो ।

गर्मी मौसमको करिब दुई महिना झापाको सरिफा र खर्बुजा खाएर हामी इलाम फर्कियौं । गाउँमा माओवादीले इलाम सदरमुकाम हानेको खबर सनसनीपूर्ण रूपमा फैलिएको थियो । फर्किएपछि सुनीलले मलाई सुनायो, “हामी त राति विशाल दाजुहरूकोमा भेला हुन्थ्यौं । रोटी र दूध खाएर आमा, दिदीहरू, ममीसँगै सुत्थें ।”

मैले पनि झापामा साइकल कुदाएको, सरिफा र खरबुजा खाएको सुनाएँ । तर, मनको कुनामा माओवादी र सेनाको डर सल्बलाउन छोडेको थिएन ।

प्रकाशित मिति: शनिबार, असार २१, २०७६  ०९:३४
प्रतिक्रिया दिनुहोस्