
काठमाडौं । नियात्रा विधामा लामो समयदेखि कलम चलाउँदै आएका नियात्राकार तथा कवि जय छाङछाको नवीन नियात्रा कृति ‘पैदलै काठमाडौंका चुलीहरू’ प्रकाशित भएको छ । बितेको केही वर्षदेखि नियात्राकार छाङछा काठमाडौं वरपरका चुलीहरूको पैदल भ्रमणमा सक्रिय रहेका छन् । सोही पैदल भ्रमणको परिणाम हो उनको यो अर्को नियात्रा कृति ‘पैदलै काठमाडौंका चुलीहरू’ ।
यस अघि ५ वटा नियात्रा सङ्ग्रह, ४ वटा कविता सङ्ग्रह र दुई अन्य पुस्तक प्रकाशमा ल्याइसकेका छाङछाको यो छैठौं नियात्रा कृति हो । यस नियात्रा कृतिमा आफूले यात्रा साहित्य वा नियात्रा लेखनका विषयमा केही टिप्सहरू पनि दिएको नियात्राकार छाङछाले बाह्रखरीलाई बताए । पुस्तक हिमालय बुक स्टलले प्रकाशनमा ल्याएको हो ।