
उनको कविता लेखन काठमाडौंबाटै सुरु भयो । सानासाना विषयले उनलाई छुन्थ्यो । सायद, उनको अत्यधिक संवेदनशीलताको नतिजा थियो त्यो । संवेदनाले उनमा केही लेखौं लेखौं भन्ने भावना सधैं जागृत हुँदै गइरहेको थियो ।
त्यसैले उनले यताउता हेरेनन् । बस् लेख्दै गए । र उनको लेखनी गद्य कविताका माध्यमबाट मौलाउँदै गयो । यसरी मनका संवेगलाई कागजमा उतार्दै हिँडेका उनले कवितालाई आफ्नो भावना अभिव्यक्तिको माध्यम बनाए ।
सोमबार अपरान्ह, बालुवाटारस्थित उनको निवासमा सहकर्मी सरिता खड्कासँग पुग्दा वरिष्ठ कवि तथा व्यवसायी द्वारिका श्रेष्ठ (८४) हामीलाई नै पर्खिरहेका थिए ।
उनले सुनाए, “सायद कतै लुकेर बसेको थियो यो क्षमता मनको अन्तरकुन्तरमा । त्यसैले विस्तारै यो क्षमता बाहिर प्रस्फुटन हुँदै गयो । यसरी मैले कविता लेख्दै गएँ । मेरा भावना पत्रपत्रिकामा प्रकाशित हुँदै गयो । मेरो विचारमा मेरो कविता पहिलो पटक २००८ सालतिर शारदामा प्रकाशित भएको थियो ।”
उनी साहित्य लेखनमा रमाउँदै गए । साहित्यप्रतिको प्रेमले उनलाई लेख्ने शक्ति प्रदान गर्दै गयो ।
त्यसबेला प्रगति पत्रिका पनि प्रकाशित हुन्थ्यो । उनले प्रगतिमा पनि कविता लेखेर प्रकाशित गराउन थाले । त्यसै पत्रिकाले प्रख्यात कवि मोहन कोइरालालाई पनि स्थापित गरेको उनको भनाइ छ । उनको काव्यधारा प्रगतिमा पनि बग्न थाल्यो ।
यसरी नै उनले समयअनुसार आफ्ना भावनालाई कविताका रुपमा कोर्दै गए । र निरन्तर छापिँदै गयो ‘शारदा’, ‘प्रगति’ र ‘रुपरेखा’लगायतका पत्रिकाहरुमा ।
कवि द्वारिका श्रेष्ठका अनुसार शारदा र प्रगति पत्रिकाहरूले त्यसबेलाका धेरै कविहरुलाई उर्जा दिएको थियो । प्रगति पत्रिका धेरै लामो नचले पनि त्यसले पत्रिकाले धेरै कविलाई स्थापित गरेको उनी स्वीकार्छन् ।
त्यो समय पञ्चायतकालीन समय थियो । लेखकहरू आफ्ना विचार कविताबाट प्रस्तुत गर्थे । त्यसैबेला आठ–दश जना कवि लेखकहरूको समूहले अमलेख भन्ने संस्थाको स्थापना गरे । मोहन कोइराला, कृष्णभक्त श्रेष्ठ, भुवन ढुंगाना, रत्नशमशेर थापा, पुरुषोत्तम बस्नेत र द्वारिकाजस्ता लेखक कविहरूको विचार व्यक्त गर्ने थलो थियो अमलेख । विचार प्रधान चौतारी थियो ।
त्यसैबेला मुकुट र सिउँडीको प्रकाशन थालियो । र त्यसले पनि तत्कालीन कविहरूलाई स्थापित गर्नमा मद्दत गर्यो ।
पछि कवि द्वारिका श्रेष्ठको ‘शीतको थोपा’ शीर्षकमा उनको पहिलो कविता संग्रह प्रकाशनमा आयो । यो कविता संग्रह उनले आफँै प्रकाशन गरेका थिए । पछि साझा प्रकाशनबाट ‘द्वारिका श्रेष्ठका कविता’ भयो ।
एक दिन यी वरिष्ठ कवि द्वारिका श्रेष्ठ र यिनकी पत्नी कथाकार जलेश्वरी श्रेष्ठको वैवाहिक उत्सवको कार्यक्रम थियो । उक्त कार्यक्रममा कवि द्वारिकाको पारिवारिक जमघटका साथै केही साथीहरूको उपस्थिति पनि थियो ।
सोही दिन उनले सोच्दै नसोचेको उपहार पाए ‘द्वारिका श्रेष्ठ समग्र कविता’का रुपमा । यसरी वैवाहिक उत्सवको दिन उनका पुराना नयाँ सबै कविताको एउटै विशाल संग्रह आउला भनेर सोचेकै थिएनन् ।
कवि द्वारिका श्रेष्ठ हाँसे । सँगै रहेकी जलेश्वरी श्रेष्ठ पनि हाँसिन् । द्वारिका श्रेष्ठ भन्न थाले, “यिनीहरूले यत्तिका गर्दै रहेछन् । मलाई अलिकति पनि थाहा दिएनन् । वैवाहिक वर्षगाँठकै कार्यक्रमका बेला त्यो कविता संग्रहको विमोचन गरियो । जे होस्, रमाइलो भयो । मेरी पत्नीले सरप्राइज गिफ्ट दिइन् ।”
उक्त पुस्तक प्रकाशनका लागि पुस्तका सम्पादक रोशन थापा नीरवले धेरै मेहनत गरेको कथाकार जलेश्वरी श्रेष्ठ बताउँदै थिइन् ।
पञ्चायतकालीन समयमा पनि कवि द्वारिका श्रेष्ठले आफ्ना विचार कविताका माध्यमबाट निर्वाधरुपमा प्रस्तुत गर्दै गए । यद्यपि त्यो अवधिमा आफूलाई त्यस्तो अप्ठेरो केही नभएको उनको भनाई छ ।
उनका अनुसार त्यसबेला विरोधी चेतको कविता लेखिन्थ्यो । कडा भावना अभिव्यक्त हुन्थ्यो । तत्कालीन परिस्थितिविरुद्ध खरो विचार सम्प्रेषित हुन्थ्यो कवितामा ।
द्वारिका भन्छन्, “सायद हाम्रो कविता नै तिनले बुझेनन् । अथवा बुझेर पनि बुझ पचाए ।”
द्वारिकाका अनुसार उनी राजनीतिकरुपले कतै सक्रिय नभएकोले पनि हुनसक्छ उनीप्रति कुनै वास्ता गरिएन । तर त्यसबेला पनि कतिपय साथीहरु थुनिएका पनि थिए ।
द्वारिका श्रेष्ठ, मोहन कोइराला, मदन रेग्मी, भूपि शेरचनहरूले २०२५–०२६ साल तिर खुबै लेखे । उनी भन्छन्, “सायद हामीमाथि वाच गरेका थिए । वीपीलाई जेल हालिएको थियो । निरङ्कुशताका अनेक क्रियाकलाप हुँदै आएको थियो । त्यसकाविरुद्धमा हाम्रो आवाज कविताबाट मुखरीत हुनु अस्वाभाविक थिएन । सायद राजनीतिकरुपमा मौन रहेकोले होला केही भएन ।”
कवि द्वारिका श्रेष्ठको जन्म तनहुँको बन्दीपुरमा भयो । उनको बाल्यकालको केही समय बन्दीपुरमै बित्यो । बन्दीपुरको सुन्दरतामा अहिले पनि मानिस लठ्ठिन्छन् । झनै आजभन्दा सत्तरी वर्ष अगाडिको बन्दिरपुर कस्तो थियो होला ? अनुमान गर्न सकिन्छ ।
बन्दीपुरले बिहान सबेरै उत्तर तिरको माछापुच्छ«ेदेखि अन्नपूर्ण रेञ्जको दर्शन गराउँथ्यो सारा गाउँबासीलाई । यही प्रकृतिले अथाह सुन्दर, हिमालको नजिकै अवस्थित गाउँमा उनको बाल्यकाल बित्यो । आज पनि उनी बन्दीपुरको त्यो सुन्दरताको स्मरण गर्छन् ।
उतिबेलाको बन्दीपुरको सुन्दरता उनले बयान गरे, “पहिले शान्त थियो हाम्रो गाउँ बन्दीपुर । मेरो घरको झ्यालबाट सारा हिमाल झलल... देखिन्थ्यो । बच्चा हुँदा त्यो हिमालले खासै नताने पनि पछि उमेर बढ्दै गए पछि त्यो ठाउँ मलाई औधि रमाइलो लाग्न थाल्यो । हामी साथीभाइ हिमाल हेर्ने मोहले बिहान सबेरै दिसापिसाबका लागि अझैमाथिका डाँडाहरूमा पुग्थ्यौंँ ।”
आफू जन्मिएको यो सुन्दर गाउँलाई उनले २००४–००५ साल तिर छोडे । त्यतिबेला द्वारिका आफ्ना दाजु र काकाहरूसँंग काठमाडौं पुगे । उनका मातापिता उनी सानै हुँदा बिते । तीन दाजुभाइमा कान्छा उनलाई दाजुहरूले पढ्नलाई काठमाडौं पुर्याए ।
त्यसबेला उनका दाजु र काकाहरु सामान किन्न काठमाडौं जान्थे । यसरी उनको परिवारको काठमाडौंसँग आउजाउको साइनो जोडिएको थियो । त्यसैले दाजुहरूले पनि काठमाडौंमा भाइलाई राखे राम्रो हुन्छ भन्ने ठाने ।
काठमाडौं भित्रिएका द्वारिका श्रेष्ठको कक्षा ४ मा भर्ना गरियो । स्कूल थियो नयाँसडकस्थित जेपी हाइस्कूल ।
द्वारिका भन्छन्, “वास्तवमा म जन्मिएर केही समय हुर्किएँ मात्रै बन्दीपुरमा । बाँकी मेरो सारा समय काठमाडौंमा बितेको छ । मेरोे पढाईदेखि बिहे, अध्यापन सबै काठमाडौंमा नै भयो ।”
तथापि उनलाई आज पनि बन्दीपुरसँग उत्तिक्कै मोह छ । आज पनि उनी सम्झिन्छन् बन्दीपुरका रमाइला क्षण । बन्दीपुरबाट देखिने हिमश्रृंखला ।
उनी उहिलेको काठमाडौं सम्झिँदै थिए । उनका अनुसार त्यसबेलाको काठमाडौं अहिले कल्पना पनि गर्न सकिँदैन । प्रारम्भमा काठमाडौंमा उनको बसाई क्षेत्रपाटी र कालधारा क्षेत्रमा भयो । त्यसबेला पकनाजोलमा स्याल हिँड्थ्यो भनिन्छ । उतिबेला काठमाडौं शान्त थियो । धुँवाधूलो थिएन । जता जाँदा पनि पैदल हिँडनु पर्दथ्यो । गाडीहरू खासै गुड्थेनन् सडकमा ।
काठमाडौं आएको केही वर्षपछि दरबार हाइस्कूलमा कक्षा सातमा उनी भर्ना भए । र त्यहीबाट उनले एसएलसी दिए । उनले एसएलसी २००९ सालमा दिनु पर्ने थियो । तर २०११ सालमा मात्रै एसएलसी दिए ।
काठमाडौंमा रहँदा नै उनी बिरामी भए । उनी बन्दीपुर गए । आराम गरे । यसरी दुई वर्षको समय बित्यो । दुई वर्षपछि आएर २०११ सालमा उनले एसएलसी पास गरे ।
उनी दरबार हाइस्कूलमा पढ्दा उनका साथी थिए लोकविक्रम थापा र तीर्थ श्रेष्ठहरू ।
२०११ सालमा एसएलसी पास गरेपछि उनी त्रिचन्द्र कलेजमा आइए पढन भर्ना भए । उनी अँग्रेजी विषय लिएर पढ्दै थिए ।
उनले आइए पढ्दाको रमाइलो कथा सुनाए । उनी दोस्रो वर्षमा थिए । उनका सहपाठी थिए डा. हर्कबहादुर गुरुङ । त्यसबेला सूर्यबहादुर शाक्यले पढाउँथे ।
द्वारिका श्रेष्ठ सम्झिन्छन् त्यो क्षण, “एकपटक हल्ला चल्यो, सूर्यबहादुर शाक्यले दोस्रो बिहे गरे भनेर । भोलिपल्ट क्लासमा जाँदा ब्ल्याकबोर्डमा लेखिएको थियो ‘कङ्ग्राचुलेसन्स टु यू फर योर सेकेन्ड म्यारिज ।’ केही समयपछि कक्षामा सूर्यबहादुर शाक्य आए । उनले ब्ल्याकबोर्डमा लेखेको देख्नासाथ क्लास छोडेर हिँडे । उनले त्यो दिन क्लास नै लिएनन् । पछि थाहा भयो त्यो काम हर्क गुरुङको रहेछ ।”
उनले क्षेत्रपाटी र कालधाराको डेरामै बसेर एमएसम्मको पढाइ पूरा गरे ।
०००
बन्दीपुरका धेरै मानिस बसाइँसराइ गरेर नारायणगढ पुगेको चर्चा धेरै सुनिन्छ । यो प्रसंग उठाउँदा कवि द्वारिका श्रेष्ठ भन्छन्, “नारायणगढको विकास हुँदै गएपछि मात्रै बन्दीपुरका मानिसहरू नारायणगढ चितवन तिर बसाइ सरेका हुन् । खासमा २०११ सालमा पहाडमा ठूलो वर्षा भयो । बन्दीपुरलाई पनि पहिरोका चपेटाले घे¥यो । त्यसपछि धेरै त्यहाँबाट बसाइसराइ गरेर बाहिर हिँडे ।”
उनका अनुसार त्यो समयमा नारायणगढमा जंगल फाँडेर जमिन बाँड्ने काम सरकारबाट हुँदै थियो । त्यो समयमा महेन्द्र राजमार्गको कुरा पनि उठेको थिएन ।
यसरी चितवन जानेले धेरथोर जग्गा जमिन पाउन थालेका थिए । त्यसैबेला लमजुङ, गोरखा, तनहुँलगायत विभिन्न जिल्लाका मानिसहरू नारायणगढ झरे । खेतिपातीका लागि उब्जाउ ठाउँ थियो नारायणगढ । त्यसैले पनि त्यो सबैको नजरमा परेको थियो ।
उनी भन्छन्, “आज नारायणगढ चितवनको विकास हामी सबैले देखिरहेका नै छौँ ।”
उहिलेउहिले नारायणगढ चितवनमा बन्दीपुरका व्यापारीहरु हिउँदमा विभिन्न प्रकृतिका पसल थाप्न पुग्थे । उनीहरु हिउँदभरि नारायणगढ बस्थे । अनि चैत्र लागेपछि फेरि बन्दीपुर फर्किन्थे ।
नारायणगढ पुगेकाहरूले भारतबाट विभिन्न सामान ल्याउँथे । र त्यो सामान नारायणगढमा लगेर बेच्थे । यसरी तिनको चितवनसँग मोह बस्दै गयो ।
द्वारिका श्रेष्ठ भन्छन्, “नारायणगढतिरको यात्राले गति लिनुको अर्को कारण पनि थियो । पहिले बन्दीपुर तनहुँको सदरमुकाम थियो । तर पछि बन्दीपुरबाट सदरमुकाम दमौली सारियो । त्यसले बन्दीपुरको बन्द व्यापारमा असर गर्यो । यसैकारण कोही चितवनतिर गए । कोही पोखरा र दमौलीतिर सरे । कोही पृथ्वी राजमार्गको छेउछाउमा बसाइँ सरेर बस्न थाले । यसरी कुनैबेलाको गुलजार रहेको बन्दीपुर खुम्चिँदै गयो ।”
द्वारिका श्रेष्ठका अनुसार बाटो नहुँदा काठमाडौं जाने बाटो हेटाँैडा हुँदै चित्लाङ भएर पनि हुन्थ्यो भने कहिले काहीँ गोरखा, नुवाकोट हुँदै काठमाडौं उक्लिने गरिन्थ्यो ।
पहिले–पहिले बन्दीपुरबाट काठमाडौं जाँदा गोरखा भएर नुवाकोट, त्रिशुली हुँदै काठमाडौं पुग्थे द्वारिकाहरू । उतिबेला बन्दीपुरबाट काठमाडौं पुग्न सात आठ दिन लाग्थ्यो । उनी सात आठ वर्षका थिए । कैँयन पटक उनी पैदल हिँडेर पुगेका छन् काठमाडौं ।
उनी पुरानो कुरा सम्झिँदै भन्छन्, “यसरी आउँदा धेरै ठाउँमा बास बसिन्थ्यो । भरियाहरूले खाना पकाउँथे । यसरी सात दिन लगाएर काठमाडौं आउँथ्यौंँ हामी ।”
एकपटक द्वारिका र उनका दाजुहरू बजैलाई लिएर काठमाडौं आउँदै थिए । त्यसबेला मनकामना भएर काठमाडौं आएको प्रसंग उनको सम्झनामा आज पनि ताजा नै छ ।
गाह्रो हुन्थ्यो होला यसरी सात–सात दिन हिँड्दा ? यो सवाल उठनु स्वभाविक थियो ।
उनी भन्छन् “बन्दीपुरबाट काठमाडौं जाँदा काठमाडौं हेर्ने रहर जाग्थ्यो । त्यो उत्साहले मन प्रफूल्ल हुन्थ्यो । फर्किँदा घर पुग्ने र साथीभाइ भेट्ने रहर जाग्थ्यो । त्यसैले त्यो पैदल यात्रा कहिले पनि बोझिलो बनेको मैले महसुस गरिन ।”
कलेजमा पढ्दै गर्दा उनले एउटा निबन्ध लेखेका थिए ‘म शिक्षक बन्छु’ भनेर । उनलाई जहिले पनि लाग्थ्यो आफूले जानेको कुरा अरुलाई पनि सिकाउँ । त्यसैले उनले शिक्षक बन्ने ठानेका थिए ।
सुरुमा काठमाडौंमै बस्ने उनको सोच थिएन । उनी प्रकृतिको नजिक बस्न चाहन्थे । प्रकृतिसँगै रम्न चाहन्थे । तर नदीको पानीको बहावले उनलाई यताबाट उता उताबाट उता पुर्यायो ।
व्यापार व्यवसायमा लाग्छु भन्ने पनि उनले सोचेका थिएनन् । परिवारमा काका र दाजुहरुले व्यापारमा हात हालेको भए पनि उनको सोच त शिक्षक हुने नै थियो ।
उनीहरूको संयुक्त परिवार थियो । परिवारका कतिपय सदस्य काठमाडौंमै थिए । आफूलाई दाजु र काकाहरूले खर्च गरेर पढाएकोले भाइ भतिजाप्रति पनि उनको केही दायित्व हुन्थ्यो नै । त्यसैले उनले भाइभतिजाको गार्जियनसिप लिएर काठमाडौं बस्न थाले ।
यसैक्रममा उनले कलेजमा पढाउन सुरु गरे । उनले पब्लिक युथ कलेज, सरस्वती कलेजलगायतमा लामो समय अंग्रेजी विषय पढाए ।
तर कारणबस उनले अध्यापन छोड्नु पर्यो । २०३६ सालमा नयाँ शिक्षा लागु भयो । त्यसबेला उनी सरस्वती क्याम्पसमा पढाउँथे । त्यहाँ पढाउँदा एउटा सर्कुलर आयो ‘क्लास भए पनि नभए पनि शिक्षकहरूले क्यापसमा पूरा समय बस्नुपर्ने ।’ त्यसपछि उनलाई पढाउन मन लागेन । उनले कलेज छोडे ।
त्यसपछि उनले जनक शिक्षा सामग्री केन्द्रमा जागिर सुरु गरे । केही समय त्यहाँ काम गरे । त्यहाँबाट अंग्रेजीमा एउटा त्रैमासिक पत्रिका निस्कन्थ्यो । त्यसको सम्पादन गर्थे द्वारिका ।
त्यसबेला दीर्घराज कोइराला शिक्षा सचिव थिए । उनले द्वारिका श्रेष्ठलाई बोलाएर केही समयका लागि पाल्पाको शिक्षा कार्यालयमा जानुपर्ने भयो भनेर पठाए ।
उनी पाल्पा गए तीन महिनाका लागि । काठमाडौं फर्किएपछि जेठको उधुम गर्मीमा उनलाई सिरहाको जिल्ला शिक्षा कार्यालयमा काम गर्ने गरी सरुवा गरियो ।
द्वारिका भन्छन्, “मलाई सिरहा जान मन लागेन । तर पनि एकपटक जाउँ भनेर गएँ । मैले जागिर छोड्ने मनस्थिति बनाइसकेको थिएँ । सिरहा गएँ । हाजिर भएँ र राजीनामा दिएर फर्किएँ ।”
त्यसपछि के गर्ने ? प्रश्न खडेखमान उभियो उनका सामु । अभिभावकत्व लिएर बसेका उनलाई कुनै काम थाल्नु नै थियो ।
केही त गर्न नै पर्यो भनेर उनले चितवनमा आधुनिक राइस मीलको स्थापना गरे । नयाँ प्रविधिको राइस मिलबाट उनले व्यापार व्यवसायमा हात हालेका थिए । व्यापारमा यो उनको पहिलो प्रयास थियो ।
केही समय उनी त्यसैमा सक्रिय रहे । एकपटक बन्दीपुरस्थित उनको घरमा एकजना विदेशी महिला पीएचडीको अनुसन्धान गर्ने सिलसिलामा पुगेकी थिइन् । स्वस्थानी व्रतका विषयमा उनको पीएचडी थियो ।
उनी नारायणगढ आइपुगिन् । उनलाई घुमाउनै पर्यो । त्यसैले उनलाई घुमाउने क्रममा द्वारिका सौराहा पुगे । त्यहाँ टुरिष्टहरु आउँछन् भन्ने सुनेकोले नै पनि उनी ती विदेशी पाहुनाका साथ सौराहा पुगे ।
सौराहामा स–साना चियापसलहरू थिए । विदेशीहरू टन्नै थिए । उनीहरू हात्ती चढ्थे । जंगली जनावरहरूको दृश्यावलोकन गर्थे ।
त्यो देखेर द्वारिका श्रेष्ठलाई लाग्यो “हैन, अब यो काम गर्नुपर्छ । पर्यटन व्यवसायमा अवसर पनि छ । काम पनि गर्न सकिन्छ ।”
उनले भतिजा पनि सँगै भएकोले भतिजासँग सल्लाह गरे । र तत्कालै जग्गा खरिद गर्ने प्रकृया सुरु गरे । त्यसको केही समयपछि (२०४१–०४२ साल तिर) उनले ‘होटल एलिफेन्ट क्याम्प’ बाट होटल विजनेसको थालनी गरे ।
उनी भन्छन् “त्यति बेला मेरा सहपाठी डा. हर्क गुरुङ पर्यटन मन्त्री थिए । उनलाई ल्याएर होटलको उद्घाटन गर्न लगाएँ । एकरात सबै त्यहीँ नै बसे ।”
द्वारिकाका अनुसार पछि एउटा समस्या आइपर्यो । त्यो के थियो भने उनीहरूले निजी हात्ती राख्न पाउँथे । तर निकुन्जभित्र हात्ती लैजान पाउँथेनन् । निकुन्जभित्र जानका लागि त्यहीँ भित्रकै हात्ती प्रयोग गर्नु पथ्र्यो ।
त्यछि उनले निकुन्ज भित्रै जग्गा लिए र ‘चितवन जंगल लज’लाई अगाडि बढाए । यसरी होटल व्यवसायमा द्वारिका श्रेष्ठले करिब ३० वर्षको समय बिताए ।
पछि निकुञ्ज भित्रको होटल रहेको जग्गा नविकरण भएन । विसं. २०६९ सम्मका लागि अनुमतिपत्र दिएका थिए । अहिले पनि जंगलमा उनको होटलको सम्पति यथावत् छ । तर लाइसेन्स नविकरण नभएका कारण त्यो जस्ताको त्यस्तै रहेको छ ।
सरकारले दिएको भए सायद अहिले पनि उनी यसैमा लाग्थे । उनी आज पनि आफ्नो पुरानो व्यवसाय सुचारु गर्ने मनसुवा राख्छन् ।
उनी भन्छन्, “वास्तवमा हाम्रो होटलहरू बन्द भएपछि वाइल्ड लाइफ डेस्टिनेशन नै एक किसिमले हराएर गएको छ भन्न सकिन्छ । अहिले त वाइल्ड लाइफ हेर्नलाई विदेशीहरू भारत, वर्मा, थाइल्याण्ड र चाइना गइरहेका छन् ।”
०००
कवि द्वारिका श्रेष्ठ आफैँ साहित्यकार भएको हुँदा उनले आफ्नो चितवन जंगल लजमा वर्षेनी विशेष काम गर्दै आएका थिए । त्यो थियो, साहित्यिक सम्मेलन । होटल व्यवसायमा हात हालेपछि उनले केही साहित्यकार साथीहरूलाई चितवनको होटलमा लिएर गएका थिए । त्यहीँबाट उनलाई सोच आयो, साहित्यकारहरूलाई ल्याएर वर्षेनी साहित्यिक कार्यक्रम गर्ने ।
त्यसपछि उनको यो सोचले मूर्त रुप लियो । उनले वर्षेनी दुई चार दिनका लागि साहित्कारहरूलाई चितवन जंगल लजमा बोलाएर साहित्यिक कार्यक्रम गर्न सुरु गरे । त्यहाँ साहित्यकारहरूको उत्साहपूर्ण सहभागिता रहन्थ्यो ।
कवि द्वारिका श्रेष्ठ भन्छन्, “हामी दुई रात राख्थ्याँै साहित्यकारहरूलाई । त्योे अवधिमा घुमफिर त हुन्थ्यो नै । साथै कहिले कथा, कहिले कविता कहिले उपन्यास अनि कहिले अरु कुनै विधामा कार्यपत्र प्रस्तुत गर्दै लामो अन्तरक्रियात्मक कार्यक्रम गर्दथ्यौँ ।”
यसरी गरिने कार्यक्रममा प्रतिस्पर्धात्मक रुपमा लेखाउने काम भने भएन । कतिपय साहित्यकारहरुले आफ्ना रचना त्यही नै पनि लेखे । तर लेख्नै पर्छ भन्ने बाध्यता भने थिएन ।
उनले करिब २० वर्ष यो साहित्यिक कार्यक्रमलाई निरन्तरता दिए । उनको कार्यक्रममा प्रायः अग्रज साहित्यकार सबै पुगे । उनले बासु शशी, अम्बर गुरुङ, भूपि शेरचन र सिद्धिचरण श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठलाई भने कार्यक्रममा लान सेकनन् ।
द्वारिका श्रेष्ठ भन्छन्, “अहिले पनि त्यो रमाइलो साहित्यिक जमघट मिस गरिरहेको छु, म । मलाई आज पनि लाग्छ साहित्यकारहरूलाई लिएर त्यसैगरी जाउँ र साहित्यिक चर्चामा रमाउँ ।”