site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
संर्घषसँग पौंठेजोरी

उमेर कति थियो ? थाहा छैन । तर बालवयमा रमाइरहेका थिए । न भूतप्रति पश्चाताप थियो न वर्तमानमा समस्यामा थिए ।  न त भविश्यको चिन्ता नै थियो । थियो त केवल वर्तमानमा रमाउनुको । साथीहरु भेला भयो । रमायो । गाउँमा बिजुली  बत्ति थिएन । साथीको घरमा सोलार बत्ति थियो । बत्ति मात्रै होइन टीभी पनि । साँझ पर्‍यो कि अंकितको बास टीभी घरमै हुन्थ्यो । एक दिन टीभी घरमा डेक पनि आइपुग्यो । डेकसँगै फिल्मका सीडी पनि आए । फिल्म हेर्न पाइने भयो । तर, विडम्बना ! पाँच रुपैयाँ तिर्नु पर्थ्यो । पाँच रुपैयाँको जोहो गरे । समय आयो चलचित्र ‘अर्जुन’ हेर्ने ।  

चलचित्र सुरु भयो । काँचको पर्दामा लेदरको ज्याकेट, छालाका जुत्ता लगाएर धुलो उडाउँदै रवाफले हिँडे राजेश हमाल । गुण्डाको भागाभाग । सबैको प्रिय पात्र राजेशलाई देखेर अंकितलाई लाग्नु लोभ लाग्यो । कसरी बन्ने राजेश हमाल ? थाहा थिएन । तर, राजेश हमाल बन्ने रहर जाग्यो । त्यही संकल्प गरे । राजेश बन्छु । त्यसपछि सुरु भए राजेशको नक्कलझक्कल गर्ने दिन ।

सिन्धुपाल्चोककोे दूरदराजको गाउँ । गरिबीको अभावले छिनेको ख्याउटे ज्यान, त्यसमाथि पनि खड्का भए पनि कताकती मंगोल लाग्ने फेस । कसरी सम्भव थियो हिरोको गन्तव्य ? बाटो उकालै–उकालो थियो । बाटाभरी तगारो थियो । तर अवोध अंकितलाई रहर गर्न कसले सक्थ्यो रोक्न ? सपनालाई विपनामा साकार गर्न पो कठिन छ । तर, कल्पनाको रङ्गीन दुनियाँमा हराउन के–को आइतबार ? 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सायद जब्बर थिए अंकित । कक्षा आठमा पढ्दापढ्दै ०६१ मा साँगा हुँदै काठमाडौं छिरे । अंकित जती जब्बर थिए त्यो भन्दा जब्बर काठमाडौं थियो । हरेक दिन रङ्गीन सपनाको भारी बोकेर मनभरी गाउँको सम्झना र मुटुभरी बाउआमाको माया संगालेर थानकोट र भक्तपुर नाका हुँदै कयौं अंकित दैनिक सपनाको सहर काठमाडौं छिर्छन् । कयौं अंकितहरुको भीडमा अंकित पनि मिसिए ।

पहाड जत्रा घर । कमिलासरी गाडी अनि किरासरी मान्छे । कसलाई कसको के मतलब काठमाडौंमा । तर पनि हार्नु थिएन । सपनाको खोजी सुरु गरे अंकितले । घर छोड्दा आमाले दिएको अढाइ सय रुपैयाँ थियो । दर्पण फिल्म्समा अभिनय सिक्न सुरु गरे । दर्पण फिल्म्सलाई तिर्नुपर्ने थियो पाँच हजार । दिदीसँग पैसा मागे ।

मध्यम वर्गीय परिवारमा सबैको समस्या एउटै । अभाव ।  सुनको झुम्का बन्दकी राखिन् । २५ सय रुपैयाँ आयो । त्यो तिरे अंकितले । बाँकी रह्यो २५ सय । उपाय केही बाँकी रहेन । पूरै पैसा नतिर्ने जती भोलिबाट नआउनू भन्ने उर्दी आयो । विकल्पविहीन अंकितलाई एक महिनामै दर्पण फिल्म्सको ढोका बन्द भयो । सपनाको ढोका नउघ्रिदैँ दर्पण फिल्म्सको ढोका भने बन्द भयो । 

जन्मघर छोडेर पराई घर गइसकेकी दिदीले दिएको पैसा ऋण थियो । जसरी हुन्छ त्यसलाई तिर्नु थियो । उमेर कलिलै थियो । तर काँधमा आएको ऋण नतिरि सुखै थिएन । त्यसैले उनी काम गर्न थाले । २५ सय जोहो भयो । दिदीलाई तिरे । मन हलुङ्गो भयो । काम छोडे । अब छोडिएको पढाइलाई अगाडि बढाउनु थियो । काठमाडौंमै प्राइभेट भर्ना भए । समस्या उही । अभाव पैसाकै । परीक्षा दिन फारम भर्न पैसा जुटेन र पढाइ अलपत्र पर्‍यो । 

सपना छोड्न मनले मानेन । कारण त्यसलाई भेट्नु थियो । पुगे ‘म्युजिक क्रिएसन’ त्यहाँ पनि उही समस्या । पैसाकै अभाव । उसैगरी उनका लागि ढोका लाग्यो ‘दर्पण’ फिल्म्स’कै जस्तो । तर हारेनन् अंकितले । उडेन मस्तिष्कबाट राजेश हमालले लेदरको ज्याकेट र बुट लगाएर धुलो उडाएको । परिणामः उनी पुगे, ‘चौतारी भिजन’ । सिक्दै थिए, उद्देश्यले डोर्‍याएको बाटो खोज्न । आश्वासन दिइन्थ्यो, राम्रो गर्नेलाई टेलिभिजन सिरयलमा अभिनयको अवसरको । त्यसकै मिठो प्रतिक्षामा हुन्थे । अभिनयको तारिफ गर्थे । अंकितलाई जब उद्देश्य प्राप्तीको नजिकनजिक पुगिएला झैं लागेको थियो फेरि उही घटनाको पुनरावृत्ति । 

संघर्षसँग पौंठेजोरी खेलिरहेका थिए । उनले लोकदोहोरीमा अवसर पाए । तर कोर्ष नाच्ने । मंगोल जस्तै देखिने अनुहार कहाँबाट पाउनु मोडल । “गीतको भिडियो बन्यो । टेलिभिजनबाट प्रसारण हुनेभएछ । मलाई पनि खबर आयो । कोठामा टीभी थिएन । बिहान साथीकोमा आँखा मिच्दै हेर्न गको कोरसको पनि पछाडि झुलुक्क म देखिएँ । पज गरेर हेर्दा मात्रै देखिने । सायद मैलेबाहेक मलाई अरु कसैले चिनेन होला,” अंकित संघर्षका आफ्ना पुराना दिन सम्झिन्छन् । 

समयसँगै रुमल्लिरहेका थिए अंकित । तर मैदान खाली गरेका थिएनन् । ‘दर्पण फिल्मस्’मा दीपक क्षेत्री थम्स अप गर्थे । अरुकोभन्दा राम्रो छ भन्थे । “मलाई लाग्थ्यो, मैले अवसर नपाएर मात्रै हो । खेल्न पाएँ भने सबैलाई पछि पारिदिन्छु,” अंकित आफ्नो विगत साट्छन् र आफ्नै पोल खोल्छन् उनी, “जब मलाई मेरो एउटा साथीले पटकपटक कर गरेर मण्डला पठायो । त्यसपछि मैले थाहा पाएँ अभिनयमा म आफूलाई सक्षम छु भन्ने त भ्रम मात्रै पो रहेछ । सायद म नजान्ने मध्यको जान्ने थिएँ होला ।”  

अभिनय नै गर्ने भए मण्डला नाटक घर जा र थप अभिनयको कक्षा लिई भनेर अंकितलाई साथीले कर गरिरहन्थे । तर, उनले टेरपुच्छर लगाएनन् । वर्ष विते तर साथीले कर गर्न छोडेनन् । अन्ततः अंकित मण्डला नाटकघर अनामनगर आइपुगे । सुनील पोखरेलसँग भेट भयो । “मण्डलामा आउँदासम्म पनि मलाई सुनिल पोखरेल को हो भन्ने थाहा थिएन,” अंकित आफ्नो अनविज्ञता छोप्दैनन् । जब अभिनयका बादशाह सुनीलसँग भेट भयो । अंकितको अभिनय क्षमता माझिँदै गयो । नाटकहरु गर्न थाले । त्यसले थप अब्बल बनाउँदै गयो । 

अंकितले चलचित्र ‘इशारा’मा पहिलो पटक मौका पाए । ड्रगिष्टको क्यारेक्टरमा लामै रोल पाए उनले । चलचित्रमा सकेको मेहनत पनि गरे । तारिफ पनि मिल्यो । “तर, मैले पारिश्रमिक पाइँन,” नेपाली चलचित्र उद्योगमा नयाँ कलाकारले भोग्दै आएको समस्या मैले पनि अनुभव गरेँ ।

बलिष्ठ मिलेको ज्यान अनि आकर्षक आर्यन अनुहार हिरोका लागि न्यूनतम सर्त थिए । बुवा खड्का भए पनि आमा सुब्बा । त्यसको प्रभाव अंकितको मुहारमा प्रतिविम्बित थियो । बाधक नै त्यही प्रतिविम्ब थियो ।

अंकितलाई अनुहारले नै ठगे जस्तो लाग्थ्यो । जन्मजात अनुहार न चाहेर मिलाउन सकिने न, देखेको सपनालाई पिठ्युँ फर्काएर हिन्ड्न नै सक्थे । सक्थे त केवल तनावको भारी बोक्न । 

तर, ठीक त्यहीबेला ‘लुट’ले लिएर आयो ‘हाकु काले’ र ‘गोफ्ले’लाई । ‘लुट’ले  ‘हाकु काले’ र ‘गोफ्ले’लाई हिरो बनाएर लिएर आएको थियो ।  “जब सौगात मल्ल हाकु कालेका रुपमा लुटमा हिरो भएर आउनु भयो । मलाई त पत्याउनै गाह्रो भयो,” नेपाली चलचित्र उद्योगमा हिरोको परिभाषा बदलिएको क्षण सम्झिँदा अकिंतको अनुहार अहिले पनि उस्तै चम्किलो हुन्छ, “सुरुमा त मलाई पत्याउनै गाह्रो भयो । क्यारेक्टर रोलमा मात्रै लिइँदै आएको फेसलाई कसरी मुख्य भूमिकामा विश्वास गरियो ।”

लुटले विद्यमान हिरोको मानकलाई भत्काइदियो । भत्काउने निर्देशक निश्चल बस्नेत थिए भने अभिनेता सौगात मल्ल । निश्चल र सौगातले खोलेको ट्रयाकलाई अरुले पछ्याए । दयाहाङ राई, विल्सनविक्रम राई, विपीन कार्कीजस्ता अभिनेताले फराकिलो बनाउँदै लगे । त्यहीबाटोमा हिँड्ने अवसर अंकितले पनि पाए ।

‘घाम पानी’ उनका लागि मेजर रोल बोकेर आयो । यसमा उनले करिब–करिब दयाहाङ राईकै हाराहारीमा स्क्रिन सेयर गर्ने मौका पाए । उनले ‘इशारा’ देखि ‘घाम पानी’सम्म आइपुग्दा अरु फिल्म पनि पाए । तर पैसा पाएनन् । अंकितलाई लुकाउनु छैन । डराउनु छैन । निर्धक्क भन्छन्, “मैले मेजर रोल र पैसा दुबै पाएको पहिलो चलचित्र ‘घाम पानी’ नै हो । त्यसयता उनलाई चलचित्रको खडेरी छैन । व्यङ्ग्य कस्छन्, “चलचित्र होइन राम्रो स्क्रिप्टको चाहिँ खडेरी छ ।”

समयजस्तै अवस्था पनि फेरियो । अंकितको परिचय बदलिँदै गयो । उनले सोचेको उचाइ त उक्लिन बाँकी नै छ । तर, त्यो बाटो समाते । अभिनयको पर्दाको कामको तारिफ हुन थालेको छ । “केही यस्ता फ्यान पनि हुनुहुन्छ । जो आफ्नो आफ्नो वर्थ डेमा आफ्नो फोटो पठाएर मलाई तपाईंको फेसबुकबाट मलाई विस् गरेर यो फोटो ट्याग गरिदिनुस् न । मलाई माया गरेर भन्नुभएकाले म उहाँहरुलाई वर्थ डे विस गरेर ट्याग पनि गरिदिन्छु,” हामीले सोध्यौं, जवाफमा अक्सर उनले अर्को पनि अनुभव सुनाए,“मैले साथीसँग तपाईं मसँग बोल्नुहुन्छ फेसबुकमा च्याट् हुन्छ भनेर बेट लगाएको छु, बोल्नुस् न भन्नुहुन्छ । म उहाँहरुसँग कुरा गर्छु । मेरो कामको सम्मान हो त्यो भनेर म पनि उहाँहरुलाई सम्मान गर्छु ।”
 

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  ०८:५४
प्रतिक्रिया दिनुहोस्