
काठमाडौं । यस महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा संगीतकार शान्ति ठटालले धुन भरेको मुना-मदन प्रस्तुत हुने भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना-मदनमा शान्ति ठटालले सन् ७० ताका संगीत भरेकी थिइन् । संगीतकार ठटालकै अगुवाइमा सन् १९७७ मा गान्तोकमा यसको प्रदर्शन पनि भएको थियो ।
गीति-नाटककै स्वरुपमा प्रदर्शित भएको कृतिका धुन भने विस्तारै विस्मृतिमा गएका थिए । गतवर्ष पलेँटीमा सहभागी हुन् आएकी शान्ति ठटालबाटै पाएको त्यो जानकारीपछि पलेँटीले उनलाई आफ्ना पुराना धुन सम्झन अनुरोध गरेको थियो । उनले काठमाडौंको अनुरोधलाई सिक्किमको एकान्त बासमा पुगेर सम्झने सिलसिला सुरु गरिन् । त्यसकै परिणाम संगीतकार ठटालले सृजना गरेका मुना-मदनका धुन पलेँटीको अभिलेखालयमा अंकित हुने भएका छन् ।
संगीतकार ठटालले गत महिनाको पलेँटीमा आफ्ना नयाँ पुराना संगीत प्रस्तुत गरेकी थिइन् । त्यसयता मुनामदनको संगीत संयोजनमा क्रियाशील ठटाल काठमाण्डौमै रहेर आफ्ना धुनहरूलाई परिमार्जन गरीरहेकी छन् । नेपाली गीति साहित्यमा अत्यधिक लोकप्रिय मुना-मदनले नेपाली भाषीहरूको ठूलो परिवेशलाई प्रभावित गरेको छ । त्यसको झलक यसपालीको पलेँटीमा स्पष्ट देखिने भएको छ । यो पलेँटीमा दार्जिलिङमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी संगीतकार ठटालसँगै मिरिकमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी बिमला सेन्चुरी प्रधान पनि संलग्न रहनेछिन् । त्यस्तै मनिपुरमा जन्मेकी लोकप्रिय गायिका मिना निरौलाले पनि मुनामदनका हरफहरूलाई स्वर दिनेछिन् ।
मुना-मदनको यो प्रस्तुतिमा अर्को आकर्षण पनि रहेको छ । दुई महिना पहिलेको पलेँटीमा छन्द कविताहरूको प्रस्तुति गरेर प्रशंसा बटुलेकी भूषिता वशिष्ठ यसपालीको पलेँटीमा सूत्रधारको रुपमा प्रस्तुत हुनेछिन् । त्यसैले यो पलेँटीमार्फत् काठमाडौंले सिक्किम, दार्जिलिङ र मनिपुरका चेलीहरूको संगम गराउने भएको छ । मुना-मदनमा पलेँटीका संयोजक आभास लगायत बाँसुरी वादक बलराम समालको स्वर पनि सुन्न पाइने छ ।
यही जुन महिनाको, २८, २९ र ३० तारिख (असार १३, १४ र १५) मा हुने पलेँटी कालिकास्थानस्थित नेपालयको कार्यक्रमस्थल ‘आरशाला’मा प्रस्तुत हुनेछ ।