site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
फिल्म जगतका १० मणि

– विकास मरासिनी


निर्देशक त्यो मियो हो, जसले कागजमा लेखिएको कथालाई दृश्यमा उतार्छ । विश्वमा केही यस्ता निर्देशक छन्, जसको नाम सुन्दा नै फिल्म पारखीहरू सम्मानले नतमस्तक हुन्छन् । उनीहरूका फिल्मले आफ्नै इतिहास बनाएका छन् । अरूलाई पनि फिल्ममा काम गर्न प्रेरित गर्ने त्यस्तै १० निर्देशकको बारेमा यहाँ चर्चा गरिएको छ—

१) स्टिभन स्पिलबर्ग

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्टिभन स्पिलबर्ग पाँच दशकदेखि सक्रिय अमेरिकी फिल्म निर्माता, निर्देशक र पटकथाकार हुन् । उनले १९७० को दशकबाट फिल्मी करिअर शुरु गरेका हुन् । उनी त्यस्ता एकमात्र निर्देशक हुन्, जसले सम्पूर्ण विधामा फिल्म बनाएको छ । शुरुमा साइन्स फिक्सन (साइफाइ) र एड्भेन्चरतिर लागे पनि पछि अरू विधामा पनि उत्तिकै सफल भए । ‘जुरासिक पार्क’, ‘सेभिङ प्राइभेट रायन’, ‘सिन्डलर्स लिस्ट’, ‘एआई— आर्टिफिसियल इन्टेलिजेन्स’, ‘लिंकन’ जस्ता सुपरहिट फिल्म बनाए । स्टिभिनले दुइटा फिल्मबाट सर्वोत्कृष्ट निर्देशकको ओस्कार जितेका छन् भने सातवटामा मनोनीत भएका छन् । उनले फिल्मबाटै ९ अर्ब डलर सम्पत्ति जोडेका छन् । उनले जुरासिक पार्कबाट मात्रै १ अर्ब डलर कमाएका थिए । पहिलो फिल्म फ्लप भए पनि उनले हार खाएनन् । त्यसयता ३५ वटा फिल्म बनाइसकेका स्टिभन अहिले सर्वाधिक धनी निर्देशकको सूचीमा पर्छन् । ‘सिन्डलर्स लिस्ट’ फिल्मबाट उनले एक सुको पनि लिएका थिएनन् ।

२) स्ट्यान्ले कुब्रिक

स्ट्यान्ले कुब्रिक प्रसिद्ध अमेरिकी फिल्म निर्देशक, निर्माता र पटकथाकार हुन् । उनलाई फिल्म जगतकै महान र प्रभावशाली निर्माता÷निर्देशकका रूपमा लिइन्छ । उनले बनाएका १६ फिल्ममा तीनवटा वृत्तचित्र छन् । प्रख्यात हुन उनले धेरै फिल्म बनाउनै परेन । १६ वटा फिल्म बनाउन उनले ४६ वर्ष लगाए । ‘स्पार्टाकस’ फिल्म बनाउन १६७ दिन र १०,५०० जनशक्ति लागेको थियो । उनलाई यसै कुराले अरूभन्दा भिन्नै बनाउँछ । शुरुमा म्यागजिनमा फोटोग्राफर भएर काम गरेका कुब्रिकले पछि सर्ट–फिल्म बनाउन थाले । ‘किलिङ’लाई उनको हलिउडको पहिलो प्रमुख फिल्म मानिन्छ । उनका फिल्म विशेषगरी उपन्यास र छोटा कथामा आधारित छन् । उनले थ्रिलर, ड्रामा, एक्सन, साइफाइ आदि विधामा फिल्म बनाएका छन् । उनले सन् १९६८ मा बनाएको फिल्म ‘२००१ः अ स्पेस ओडेसी’ले फिल्म जगत्मा तहल्का पिटेको थियो । यो फिल्मले यति प्रभाव पा¥यो कि सन् १९६९ मा निल आर्मस्ट्रङले चन्द्रमा टेकेको भिडियोलाई ‘कुब्रिकद्वारा निर्देशित’ वृत्तचित्रसमेत भनियो । ‘स्पार्टाकस’, ‘द साइनिङ’, ‘फुल मेटल ज्याकेट’, ‘अ क्लकवर्क अरेन्ज’जस्ता सुपरहिट फिल्म बनाएका कुब्रिकले अहिलेसम्म सर्वोत्कृष्ट निर्देशकको ओस्कार भने जितेका छैनन् ।

३) अल्फ्रेड हिचकक

अल्फ्रेड हिचकक बेलायती फिल्म निर्देशक र निर्माता हुन् । उनलाई विशेषगरी ‘मास्टर अफ सस्पेन्स’को उपमाले चिनिन्छ । उनको पहिलो फिल्म ‘द प्लेजर गार्डेन हो । उनले ५१ वटा फिल्म बनाएका छन् । उनका अधिकांश फिल्म थ्रिलर विधामा छन् । उनका ‘साइको’, ‘भर्टिगो’, ‘रेयर विन्डो’, ‘नर्थ बाई नर्थवेस्ट’, ‘द बड्र्स’जस्ता फिल्म चर्चित छन् । हरर र थ्रिलरमा अनेक प्लट मिसाउन सक्ने अद्भूत क्षमता थियो उनीसँग । कथामा अनेक ट्विस्ट ल्याउन माहिर हिचककका फिल्म हेर्दा दिमाग घुम्छ । अधिकांश श्यामश्वेत भए पनि उनका फिल्म दमदार छन् । उनले फिल्म बनाएर जीवनकालमा २२ करोड डलरजति कमाएका थिए । उनी आफ्नै फिल्म हेर्न डराउँथे । भन्थे, “खै, कसरी मानिसहरू मेरा फिल्म हेर्छन् ! मलाई त हेर्न डर लाग्छ ।” हिचककले पनि कहिल्यै सर्वोत्कृष्ट निर्देशकको ओस्कार पाएनन् । फिल्म क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै रानी एलिजाबेथले ‘नाइटहुड’बाट सम्मानित गरेकै वर्ष सन् १९८० मा उनको निधन भयो ।

४) जेम्स क्यामरुन

जेम्स क्यामरुन क्यानडियन फिल्म निर्माता, निर्देशक र वातावरणविद् अनुसन्धानकर्ता हुन् । उनी ‘टाइटानिक’ र ‘अवतार’बाट चिनिन्छन् । यी दुवै फिल्मले आ–आफ्नो समयमा इतिहास बनाएका छन् । सन् १९९८ मा ११ वटा ओस्कार जित्ने ‘टाइटानिक’ पछि उनले लामो समय विश्राम लिए । प्रविधि विकास नभइसकेकाले ‘अवतार’का लागि उनले दशकभन्दा बढी पर्खिए । ‘एभेन्जर्सः एन्ड गेम’ले उछिन्नुअघि सर्वाधिक पैसा कमाउने कीर्तिमान ‘अवतार’को नाममा थियो । क्यामरुन खासगरी साइफाइ एड्भेन्चर र एक्सन विधामा फिल्म बनाउन रुचाउँछन् । फिल्ममेकर बन्नुभन्दा पहिले उनी ट्रक ड्राइभर र पछि लेखकको रूपमा कार्यरत थिए । सन् १९७७ मा ‘स्टार वार्स’ हेरेपछि उनी ड्राइभरको जागिर छाडेर फिल्मी क्षेत्रतिर आएका हुन् । फिल्म बनाएरै उनले ७७ करोड डलर कमाइसकेका छन् । उनले ‘टाइटानिक’ बाट सर्वोत्कृष्ट निर्देशकको ओस्कार जितेका छन् । ‘अवतार’बाट उनी सर्वोत्कृष्ट निर्देशकमा मनोनीत भए पनि अवार्ड भने जितेनन् । ‘द टर्मिनेटर’, ‘टर्मिनेटर २ः द जजमेन्ट डे’, ‘ट्रु लाइज’जस्ता चर्चित फिल्म क्यामरुनले नै बनाएका हुन् ।

५) मार्टिन स्कोर्सिज

मार्टिन स्कोर्सिज अमेरिकी फिल्म निर्देशक, निर्माता र इतिहासकार हुन् । उनी थोरै प्रभावशाली निर्देशकमध्ये पर्छन् । थ्रिलर, ड्रामा, बायोग्राफी, क्राइम आदि विधामा फिल्म बनाउन रुचाउने स्कोर्सिजले यो क्षेत्रमा पाँच दशक बिाएका छन् । ‘ट्याक्सी ड्राइभर’, ‘गुडफेलाज’, ‘रेगिङ बुल’, ‘द डिपार्टेड’, ‘शटर आइल्यान्ड’, ‘द उल्फ अफ वालस्ट्रिट’जस्ता दमदार फिल्म बनाएका स्कोर्सिजले ‘द डिपार्टेड’बाट सर्वोत्कृष्ट निर्देशकको ओस्कार पाएका थिए । यो अवार्डका लागि उनी आठ पटकसम्म मनोनीत भइसकेका छन् । आफ्ना धेरैजसो फिल्ममा रोबर्ट डी निरोलाई लिने स्कोर्सिजले पछिल्लो समय भने लियोनार्दो डिक्याप्रियोलाई कास्ट गरिरहेका छन् । फिल्म जगतमा आउनुअघि उनले टीभीमा समाचार सम्पादकको काम गर्थे ।

६) क्वेन्टिन टारन्टिनो

क्वेन्टिनटारन्टिनो अमेरिकी फिल्म निर्देशक र कलाकार हुन् । क्राइम विधामा फिल्म बनाउन रुचाउने टारन्टिनोलाई सन् १९९४ को ‘पल्प फिक्सन’ले सफलताको चुलीमा पु¥यायो । ‘रिजरभोइर डग्स’, दुइटै ‘किलबिल’, ‘द हेटफुल एट’, ‘इनग्लोरियस बास्टर्ड्स’, ‘डिज्यांगो अन्चेन्ड’जस्ता चर्चित फिल्मका सर्जक टारन्टिनो भन्छन्, “जुन कुरा हामी वास्तविक जीवनमा चाहँदैनौं, त्यो कुरा फिल्ममा चाहन्छौं । त्यही भएर मेरा फिल्ममा हिंसा बेसी देख्न सकिन्छ ।” बढी हिंसा देखाएकै कारण उनी हरेकजसो फिल्मबाट विवादित बनेका छन् । उनले १० वटामात्रै फिल्म बनाएका छन् तर सबै चर्चित छन् । उनले ‘ट्रु रोमान्स’बाट पटकथा लेख्न थालेका हुन् । ‘ट्रु रोमान्स’ काे पटकथा बेचेर ‘रिजरभोइर डग्स’ बनाएका हुन् । उनको दशौं फिल्म ‘वन्स अपन अ टाइम इन हलिउड’ यही महिना प्रदर्शन हुँदै छ । ‘पल्प फिक्सन’बाट उनले सर्वोत्कृष्ट पटकथाकारको ओस्कार जितेका छन् ।

७) क्रिस्टोफर नोलान

क्रिस्टोफर नोलान बेलायती फिल्म निर्माता तथा निर्देशक हुन् । उनीसँग अमेरिकाको पनि नागरिकता छ । सात वर्षको हुँदा नै बुवाको ८ एमएमको क्यामेराबाट उनले अनेक दृश्य कैद गर्थे । क्यामरामा सानैदेखि लगाव भएका नोलानले ‘प्रेस्टिज’, ‘मेमेन्टो’, ‘इन्सेप्सन’, ‘द डार्क नाइट’ जस्ता चर्चित फिल्म बनाएका छन् । स्ट्यान्ले कुब्रिकको ‘२००१ः अ स्पेस ओडेसी’बाट प्रभावित भएर उनले ‘इन्टरस्टेलर’ जस्तो चर्चित फिल्म बनाए । ‘मेमेन्टो’ र ‘इन्सेप्सन’जस्ता फरक र सोच्न बाध्य बनाउने विषयमा नोलानको बढी चाख छ । ‘फलोइङ’ र ‘इन्सोम्निया’ उनका अरूभन्दा तुलनात्मक कमजोर फिल्म हुन् । नोलान आफू कुब्रिकबाट निकै प्रभावित भएको बताउँछन् । ‘इन्सेप्सन’ उनको १० वर्षको मेहनत हो । शताब्दीका उत्कृष्ट १०० फिल्मको सूचीमा ‘इन्सेप्सन’ लगभग छुट्दैन । ‘डनकर्क’बाट सर्वोत्कृष्ट निर्देशकमा मनोनीत भए पनि नोलानले अहिलेसम्म ओस्कार जितेका छैनन् ।

८) पिटर ज्याक्सन

पिटर ज्याक्सन न्युजिल्यान्डका फिल्म निर्माता÷निर्देशक हुन् । उनी ‘लर्ड अफ द रिंग’ ट्रिलोजी र ‘द हबिट’ ट्रिलोजीबाट चिनिन्छन् । उनी बढी एड्भेन्चर विधामा फिल्म बनाउन रुचाउँछन् । सन् १९८७ मा हरर कमेडी ‘ब्याड टेस्ट’बाट उनले आफ्नो करिअर शुरुवात गरेका हुन् । ‘किङकङ’को रिमेक गरेर आफ्नो प्रतिभालाई संसारभर चिनाएका ज्याक्सनले ‘लर्ड अफ द रिंगः रिटर्न अफ द किङ’बाट तीनवटा ओस्कार जिते, जसमध्ये एउटा सर्वोत्कृष्ट निर्देशकको पन िथियो । ‘रिटर्न अफ द किङ’बाट उनले १.१२ अर्ब र ‘द हबिट’ ट्रिलोजीबाट मात्रै उनले ३ अर्ब डलर कमाएका थिए ।

९) फ्रान्सिस फर्ड कोप्पोला

फ्रान्सिस फोर्ड कोप्पोला अमेरिकी फिल्म निर्देशक, निर्माता, पटकथा लेखक र वाइन मेकर हुन् । उनी बढी क्राइम र ड्रामा विधामा फिल्म बनाउँछन् । सन् १९६० र ७० को दशकमा फिल्मी उद्योगको कायापलट गर्ने प्रमुख निर्देशकमा उनी गनिन्छन् । सन् १९६२ मा ‘टुनाइट फर स्योर’ नामक कमेडी फिल्म निर्देशन गरेर करिअर शुरुवात गरेका कोप्पोलालाई संसारले सन् १९७२ को ‘द गडफादर’बाट चिन्छ । यो फिल्मले तीनवटा ओस्कार जितेको थियो । ‘गडफादर २’ बाट उनले सर्वोत्कृष्ट निर्देशकको ओस्कार जितेका थिए । यसबाहेक ‘द कन्भर्ससेसन’, ‘द रेनमेकर’, ‘एपाक्यालिप्से नाउ’ जस्ता फिल्मका कारण पनि उनी विश्वभर चिनिन्छन् ।

१०) डेविड फिन्चर

डेविड फिन्चर अमेरिकी फिल्म निर्माता, टेलिभिजन निर्माता र टेलिभिजन निर्देशक हुन् । खासगरी उनी ड्रामा र थ्रिलर विधामा फिल्म बनाउन रुचाउँछन् । थ्रिलर फिल्ममा बढी रुचि राख्ने हुँदा फिन्चरलाई फ्यानहरूले ‘अल्फ्रेड हिचककको चेलो’ पनि भन्छन् । फिन्चरले ‘द गेम’, ‘फाइट क्लब’, ‘द क्युरियस केस अफ बेन्जामिन बटन’, ‘द गर्ल विथ ड्रागन ट्याटु’, ‘सेभेन’, ‘जोडियाक’जस्ता फिल्म बनाएर फिल्म पारखीलाई गुन लगाएका छन् । सन् १९९२ मा ‘एलियन ३’ फिल्मबाट निर्देशनमा हात हालेका फिन्चरका ‘जोडियाक’ र ‘सोसल नेटवर्क’लाई ‘बीबीसी’ले एक्काइसौं शताब्दीका उत्कृष्ट फिल्मको सूचीमा राखेको छ । ‘द क्युरियस केस अफ बेन्जामिन बटन’बाट उनी ओस्कारको सर्वोत्कृष्ट निर्देशकमा मनोनीत भएका थिए ।


 

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  १२:००
प्रतिक्रिया दिनुहोस्