site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
जय भैरव !

– राजेश खनाल


कुनै बेला नेपाली साहित्यका तीन पुस्तक हरेक घरमा भेटिन्थे— भानुभक्त आचार्यको ‘रामायण’, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ र भैरव अर्यालको ‘जय भुँडी’ ।

आवरण खुइलिए पनि, धूलोले ढपक्क ढाके पनि, मुसाले कुनाकानी काटे पनि— यी किताब हरेकजसो घरका शान हुन्थे । यी किताब हरेक वर्ग र उमेरका मानिसका लागि ‘जन्तर’ नै थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यही जन्तरमध्येको एक ‘जय भुँडी’का सर्जक भैरव अर्यालको व्यक्तित्व र कृतित्वमाथि बिहीबार ‘सिर्जना संवाद’मा यथेष्ट चर्चा भयो ।

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपले हरेक महिनाको पहिलो बिहीबार ‘सिर्जना संवाद’ आयोजना गर्छ । यसपटक रोचक घिमिरेद्वारा सम्पादित पुस्तक ‘शाश्वत व्यंग्यशिल्पी’ माथि चर्चाको कार्यक्रम थियो । यसमा हावी भए भैरव अर्याल ।

कार्यक्रमको आरम्भ संयोजक प्रा.डा. सनतकुमार वस्तीले गरे । उनको चिरपरिचित तरन्नुम शैलीमा ‘सिर्जना संवाद’को आग्लो खोलियो । उनले हास्यव्यंग्यकार भैरव अर्यालका अनन्य मित्र रोचक घिमिरेलाई भैरवसँग गाँसिएका संस्मरणहरू सुनाउन आग्रह गरे ।

साहित्यिक पत्रिका ‘रचना’ द्वैमासिकका सम्पादक रोचकले भैरवसँगको उठबसको पोयो फुकाउन थाले, “भैरवसँग मेरो १७ वर्ष निरन्तर सम्बन्ध रह्यो । हामी अत्यन्त निकट थियौं । २०१७ साल वैशाखमा मेरो भेट भएको थियो भैरवसँग । उनी त्यसबेला हालखबर दैनिकमा काम गर्थे ।”

भैरवको जन्म १९९३ मा भयो । ४० वर्षको उमेरमै ०३३ मा उनको निधन भयो । उनको सिर्जनात्मक आयु जम्मा २४ वर्षको मात्र रह्यो । तर, यो २४ वर्षमै पनि उनले नेपाली साहित्य र यसका पाठकलाई अथाह कृति दिएर गए । र, सधैंका लागि अमर भए ।

रोचक सुनाउँदै थिए, “भैरवको पहिलो रचना २००९ सालमा प्रकाशित भएको थियो । उनले लेखेको पहिलो कविताको शीर्षक थियो, ‘नयाँ जीवन’ । त्यसपछिका केही वर्ष उनका साहित्यिक रचना खासै प्रकाशित भएको पाइँदैन ।”

त्यसैबीचमा भैरव पोखरा गए । उनले त्यहाँको एउटा स्कुलमा पढाउन थाले । पोखरामा अलिकति नरमाइलो घटना भयो । भैरवले केही विद्यार्थीलाई घुमाउन लैजाँदा तालमा डुबेर एक विद्यार्थीको मृत्यु भयो । त्यसले भैरवलाई भित्रैसम्म झक्झकायो । त्यसपछि उनलाई पोखरा बस्न मन लागेन । स्कुलले उनलाई रोक्ने प्रयास गरे पनि उनी काठमाडौं फर्किए ।

रोचकले हाँस्दै सुनाए भैरव कथा, “काठमाडौं आएर उनले साँखुस्थित एउटा स्कुलमा पढाउन थाले । त्यसबेला साँखु जाने बाटो एकदमै खराब थियो । एकदिन तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य साँखुतिर गएका थिए । उनी फर्किंदा भैरवले स्कुलका विद्यार्थीसहित सडकमा उभिएर टंकप्रसादको गाडी रोके र बाटोको गुनासो सुनाए । प्रधानमन्त्रीले पनि आश्वासन दिए । अनिमात्रै उनको बाटो छोडिएको थियो । भैरव क्रान्तिकारी चेत भएका व्यक्ति पनि थिए ।”

त्यतिखेर ‘हालखबर’ दैनिक प्रकाशित हुँदै आएको थियो । ‘हालखबर’मा दाताराम शर्मा, मदनमणि दीक्षितहरू थिए । दैनिक ‘हालखबर’मा एउटा स्तम्भ थियो, ‘हाँस्नुहुन्छ भने...’ । त्यसमा व्यंग्यात्मक टुक्राटाक्री रचना छापिन्थे ।

भैरवका कोही आफन्त ‘हालखबर’मै काम गर्थे । एकदिन भैरवले ‘हालखबर’ पढ्दै गर्दा त्यो स्तम्भ देखे । उनले भाइलाई आफूले पनि व्यंग्य लेख्न सक्ने कुरा गरे । त्यसपछि उनले ‘हाँस्नुहुन्छ भने...’ स्तम्भमा लेख्न शुरु गरे ।

रोचकले सुनाएअनुसार त्यसबेला भैरवलाई हरेक व्यंग्यका लागि १ रुपैयाँ पारिश्रमिक दिइन्थ्यो । उनले स्तम्भमा ‘खोलापारिको पुरेत बाजे’ र ‘बकम्फुस शर्मा’को नामबाट धेरै हास्यव्यंग्य लेखे । उनको लेखन शुरुयात यहीँबाट अगाडि बढ्दै गयो ।

केही समयपछि भैरव ‘हालखबर’मा पत्रकार भएरै काम गर्न थाले । त्यसपछि उनले व्यंग्यमात्रै लेखेनन्, समाचार र विचार पनि लेखे । रोचक सुनाउँदै थिए, “२०१७ सालमा भैरवसंँग मेरो पहिलो भेट भयो । भेट आत्मीयतामा परिणत भयो । म पत्रपत्रिका र पुस्तक खुबै किन्थें, पढ्थें । किताबहरू जम्मा पनि गथँें । यसै क्रममा एकदिन भैरवले नै मलाई ‘पत्रिका प्रकाशन गर’ भनेर उकासे ।”

यसरी रोचक घिमिरेका नाममा ‘रचना’ साहित्यिक पत्रिका दर्ता भयो । र, २०१८ सालमा प्रकाशित ‘रचना’को एउटा अंकमा भैरवको ‘टी पार्टी’ शीर्षकको व्यंग्य छापियो ।

रोचकले एकपछि अर्को गर्दै भैरवसँग जोडिएका प्रसंग सुनाउँदै गए, “पछि भैरव ‘गोरखापत्र’को जागिरे भए । त्यहाँ समाचारदेखि सम्पादकीय लेख्नेसमेतका काम गरे । ‘गोरखापत्र’का कतिपय रोचक प्रसंग भैरवले नै मलाई सुनाएका छन् ।”

एकपटक भैरवले कुनै मन्त्रीको भाषण लेख्नुपर्ने भयो । उनले मन्त्रीले सम्बोधन गर्ने भाषण लेखे । अर्को दिन सोही मन्त्री अतिथि भएको कार्यक्रममा ‘गोरखापत्र’का तर्फबाट संवाददाताका रूपमा गए र मन्त्रीको त्यही भाषणका आधारमा समाचार बनाए । अर्को दिन त्यही समाचारका आधारमा ‘गोरखापत्र’मा सम्पादकीयसमेत लेखे । यसरी अनेक काम गरे भैरवले ।”

भैरव व्यंग्य कविता जति सहज रूपमा लेख्थे, हाँस्यव्यंग्य निबन्ध त्यति गाह्रो हुन्थ्यो । रोचक भन्छन्, “एकपटक मैले ‘रचना’का लागि एउटा व्यंग्य चाहियो भन्दा उनले ‘गोरखापत्र’बाट तीन दिनको बिदा लिएर लेख तयार पारेका थिए । मैले अर्को एकपटक फेरि भैरवसँग व्यंग्य निबन्ध मागें । उनले ‘घरमा लेख्न सकिन्न, अफिसमा त झनै सकिन्न । मेरो लागि डेरामै बिस्कुट, पानीको व्यवस्था गरिदेऊ, म लेखिदिन्छु’ भने । यसरी उनले दुई–चार दिन गुप्तबास बसेरै बिस्कुट र पानीको भरमा एउटा लेख ‘रचना’लाई दिए ।”

रोचकका अनुसार ‘रचना’ पत्रिकाको नाम पनि भैरवले नै जुराएका हुन् । उनी भन्दै थिए, “रोचक घिमिरेलाई रोचक घिमिरे बनाउने भैरव अर्याल नै हुन् । पहिले ‘रचना’को सम्पादनमा भैरव र रमेश विकल नै सक्रिय थिए । म त पछिमात्रै सम्पादमा लागेको हुँ ।”

रोचकका अनुसार भैरवको पछिल्लो समय एकदमै निराशापूर्ण थियो । उनी जहिले पनि मृत्युका कुरा गर्थे । मृत्युका कुरा लेख्थे । त्यसैले कतिपय ठाउँमा उनले आफूलाई मरूँमरूँ लागेको लेखेका छन् ।

भैरवसँग शब्द खेलाउने अथाह क्षमता थियो । त्यो उनको लेख रचना पढेर बुझ्न सकिन्छ ।

कार्यक्रममा उपस्थित अन्य स्रस्टाले पनि भैरवका विषयमा अनुभूति साटे । प्रा.डा. माधवप्रसाद पोखरेलले भैरव आफ्नो निबन्ध लेखनको पहिलो गुरु भएको बताए । भाषाविद् शरत्चन्द्र वस्तीले भैरवसँग प्रत्यक्ष भेट नभए पनि उनले देहत्याग गरेको साढे दुई वर्षपछि ‘गोरखापत्र’मा जागिर खान जाँदा उनीबारे धेरै कुरा जान्न पाएको अनुभव बाँडे । वस्तीका अनुसार भैरवले धेरै लेखकका रचना आफ्नो सीपयुक्त सम्पादकीय क्षमता प्रयोग गर्दै सम्पादन गरेर छापिदिने गर्थे । त्यसैले पनि ‘गोरखापत्र’का तत्कालीन सम्पादक नारायणबहादुर सिंहले आफूलाई लेखकहरूको रचना प्रकाशनयोग्य तरिकाबाट सम्पादन गरिदिन अह्राएको शरद सम्झना गर्दै थिए ।

वास्तवमा यसपटकको ‘सिर्जना संवाद’मा करिब साढे दुई घण्टाको समय सजिलै बित्यो । समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, कवि प्रोल्लास सिन्धुलीय, अनुवादक रामबहादुर पहाडीलगायतले भैरवका विषयमा चर्चा गरिरहँदा मनले भने शाश्वत व्यंग्यशिल्पी भैरव अर्यालले नेपाली पाठकलाई दिएको व्यंग्यरूपी जन्तर ‘जय भुँडी’ फेरि पढ्ने निधो गरिसकेको थियो ।

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  १०:४०
प्रतिक्रिया दिनुहोस्