site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
संसारलाई देखाउनु छ !

– अक्षर काका


“यु उड नट् विलिभ योर आइज्
इफ् टेन मिलियन फायरफ्लाइज्
लिट् अप द वल्र्ड एज आई फिल अस्लिप !”

सन् २०१२ तिर हुनुपर्छ– संगीतको दुनियाँमा अर्को नूतन धून भित्रिएको थियो । कन्सर्ट, डिस्कोथेक र पबतिर गुञ्जिने आवाजभन्दा नितान्त भिन्न थियो । शहरको भीडभाड छिचोलेर बज्ने र एकलास कक्षमा गुञ्जिने स्वर थिएन त्यो । हेटौंडाका रञ्जन खनाललाई त्यसले तान्यो । बजारमा नयाँ धून बज्यो कि कान ठाडा बनाइहाल्ने रञ्जनको जीवनलाई त्यो फरक धूनले आफूतिर डोर्‍यायो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समवयी रक संगीत र नेपहपको दुनियाँमा मनमस्त थिए । अग्रज पुस्तासँग लोक–आधुनिककै बढ्ता लगाव छ । तर, उनको हृदयले नवीन धून र सुरम्य संगीतको खोजी गरिहेको थियो । त्यो आवाज यति तिलस्मी र जादुयी थियो कि उनी सपेराको बिनमा लठ्ठिएको साँपझैं निमग्न भए ।

न गीतारको आवाज छ न ड्रमसेट बज्छन् । संगीतका आदिम उपकरणका धून पनि अन्तर्घुलित छैनन् । न भ्वायोलिन, पियानो, स्याक्सोफोन आदिका धूनले नै रागलाई परिस्कृत तुल्याएका छन् । तर, पनि गीत श्रुतिमधुर छ । कर्णप्रिय छ । सुस्वादू छु ।

उनी घण्टौं गीतमा चुर्लुम्म डुब्न थाले । मानौं न, त्यो धून उनको जीवनको अंश बनेर हृदयको भित्ता ढक्ढक्याउन आएको थियो । मुटुमै बास माग्यो त्यसले ।

उनले सुनेको त्यो गीत सन् २००७ मा एडम योङले स्थापना गरेको ‘इलेक्ट्रोनिका प्रोजेक्ट’अन्तर्गत ‘उल सिटी’को थियो । ‘उल सिटी’को ‘फायर फ्लाइज’ले ‘इलेक्ट्रिोनिक डान्स म्युजिक (ईडीएम)’ विधासँग परिचय पनि गराइदिएको थियो रञ्जनलाई ।

“म संगीतका अनेक आयामसँग उतिसाह्रो परिचित थिइनँ । न गीत–संगीतप्रति आशक्ति नै थियो । विरासतमा पाएको पनि होइन । तर, बजारमा भित्रिएका नयाँ–नयाँ गीत सुन्ने बानी परेको थियो,” रञ्जन शुरूआती दिन सम्झिन्छन् ।

संगीतको नयाँ स्वाद खोज्दै हिँडेका रञ्जन अन्ततः ‘ईडीएम’मा ठोकिए । एक किसिमले उनी अहिले ‘ईडीएम’सँग गहिरो प्रीतिमा छन् ।

पहिलोपटक सुन्दा नै कर्णसुधा बनेको त्यो धून अहिले उनको मुटको स्पन्दन बनिसकेको छ । त्यसैलाई व्यावसायिक रूप दिन रञ्जनको समूह संघर्षरत छ ।

० ० ०

यहाँका गाउँबस्तीले लोकधून गाउँछन् । पाखा–पखेराले लोकधून बजाउँछन् । साल–सल्लाका पातले लोकधूनकै आवाज निकाल्छन् । खोलाखोल्सीको कलकल, निर्झर झरनाको झरझर, वनचरीहरूको कलरव, घरचरीहरूको कूजन सबैमा लोकभाका नै सन्निहित छ । वास्तवमा यिनले हाम्रो जीवनपद्धति र जीवनसंस्कृति बनिसकेको लोकधून र लोकभाकाको जगेर्ना गरिरहेका छन् ।

जहाँका रक्तशिरामा लोकगीतको रगत बग्छ, त्यहाँ ‘ईडीएम’को महत्ता र गुणवत्ता बुझाउन सजिलो थिएन ।

“नेपाली गीत–संगीतको तृष्णा ईडीएमले मेट्छ ?” मेलापात, भारोपर्ममा लोकगीत गाएर, सुनेर हुर्किएका, पब, डिस्कोथेकहरूका अनुहार नदेखेकाले उनीहरूको सांगीतिक–कृत्यमाथि प्रश्न उठाउने नै भए । र, त्यसलाई उनीहरूले स्वाभाविक रूपमा पनि लिए ।

तर, कतिपय गायकहरू नै भित्रिँदो विधाको बारेमा परिचित थिएनन् । नेपाली गीत–संगीतमा साधना र अनुष्ठानको अभाव त उनीहरूले ठहर्‍याएकै थिए । तर, विश्वभर गीत–संगीतमा भइरहेका निर्माण, विनिर्माण र प्रयोगबारे सामान्य साक्षर पनि थिएनन् ।

“कतिपय ख्याति कमाएका गायकले समेत ईडीएमबारे अनभिज्ञता प्रकट गरे, आधुनिक गीत–संगीतमा पहिचान बनाइसकेका र प्रसिद्धि कमाइसकेकाले थाहा नपाउने कुरा त स्वाभाविकै भयो । उनीहरू त्यसमै तल्लीन छन्, दिलोज्यान दिएर लागिपरेका छन् । तर, रकपप र नेपहपको बाटोमा माइल यात्रा गरिसकेकाले पनि त्यसबारे अनभिज्ञता प्रकट गरे,” रञ्जनको आश्चर्यको सीमा नाघ्छ ।

रञ्जनको शब्दमा ‘ईडीएम’ विधा पाश्चात्य संगीतको अनुष्ठान होइन । बरु यसले हाम्रो पुस्तैनी गीत–संगीतलाई समृद्ध बनाउन टेवा पुर्‍याउँछ । गीत–संगीतमा भइरहेका पछिल्ला सीप–शिल्पमार्फत हाम्रा गीतलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पस्कने अवसर हुन्छ ।

“अन्तर्राष्ट्रिय मञ्च पाउन सकेनन् भने हाम्रा गीत–संगीत कसरी समृद्ध हुन्छन् ?” यही प्रश्नले उनलाई ‘ईडीएम’को व्यापकता र श्रीवृद्धिका लागि दत्तचित्त रहन प्रेरित गरिरहेको छ ।

नेपालमा ‘ईडीएम’ भित्र्याएको पहिलो श्रेय त उनीहरूलाई जान्छ नै । ईडीएमकै आलोकमा जीवनलाई जाज्वल्यमान बनाउने र संगीतलाई नै करिअर बनाउने चुनौती पनि उनीहरूकै काँधमा छ ।

नयाँ कामको थालनी गर्दा हतोत्साही र निरुत्साहित एकलौटीजस्तै भागमा पर्छ । कतिपय अवस्थामा खिसिट्युरीको सामना पनि गर्नुपर्छ । “पढेलेखेका युवाहरू यस्तो अनुत्पादक काममा हात हाल्ने हो ?” परिवार, इष्टमित्रका सपनाहरू गौंडा छेक्न आइपुग्छन् । बाटोको तगारो नै बन्छन्, कतिपय अवस्थामा ।

“उत्साह थपिदिने भएनन् भने बरु निराशा हात लाग्दैन, पाइलैपिच्छे निरुत्साह भेटियो भने आत्मविश्वाले धैर्य गुमाउँदो रहेछ,” रञ्जनको अनुभव छ ।

गत वर्ष ठमेलबाट शुरू गरेको इलेक्ट्रोनिक म्युजिक कन्सर्टले हेटौंडा, बुटवल, कपिलवस्तु, नेपालगन्ज पुगेर विश्राम लियो । अनौठो संगीतले युवापुस्तालाई ह्वात्तै तान्यो । कयौं प्रस्तोताले ‘वान्स मोर’ पाए । पाँचै शहर डान्स म्युजिकमा झुम्यो । त्यसले ‘ईडीएम’को सांगीतिक बजार ह्वात्तै बढाएको छ ।

अहिलेसम्म यो विधासँग अनुबन्धित भएर झन्डै ७० गायकले आफ्नो प्रस्तुति दिइसकेका छन् । उनीहरूले सोचेका थिए– इलेक्ट्रोनिक म्युजिक भित्र्याएको नाताले ठूला कन्सर्ट आयोजहरूले सम्झिएलान् । विडम्बना ! ठूला आयोजकको नजरमा उनीहरू परेनन् । उनीहरूको समूहमा आबद्ध गायकहरूको सट्टा विदेशी ब्रान्डका गायक/गायिकाहरू नै आयोजहरूका रोजाइमा परे । त्यो घटनाले उनीहरूको मनमा ठेसचाहिँ लाग्यो । तर, दख्खलचाहिँ परिहालेको छैन ।

“हामीले आफूलाई प्रमाणित गर्न अझै बाँकी छ, समय छँदै हामीले आफूलाई सावित गर्नेछौं !” रञ्जनको भीष्म–प्रतीज्ञा छ ।

गत वर्ष मंसिरमा दरबारमार्गस्थित क्लब डेजाभूले मार्समेलो ल्याउने भनेर व्यापक प्रचार गर्‍यो । इलेक्ट्रोनिक म्युजिकका हस्ती मार्समेलोले अन्तिममा आफ्नो प्रस्तुति रद्द गरे । उनलाई पर्खिरहेको भीडले डेजाभू नै तोडफोड गरेर आक्रोश शान्त तुल्यायो । त्यसपूर्व र पछि पनि विदेशी गायक/गायिकाले नेपालीको माहोल नतताएका होइनन् । त्यो स्थान नेपालीले लिने दिन टाढा पनि छैन । कारण– ‘ईडीएम’को स्वाद दिन नेपाली युवा नै सक्षम भइसकेका छन् ।

तर, प्रायोजकहरूको नजरमा नपर्दा लक्ष्यको बाटोमा पाइला चाल्न बडो कठिन भइरहेछ ।

“कन्सर्ट गर्छौं भनेर प्रायोजकको दैलो ढक्ढक्याउन पुग्यो, अन्तर्राष्ट्रिय ब्रान्डका को आउँदै छन् भनेर प्रस्तोताको सूचीतिर आँखा तन्काउँछन् । पहिलो गाँसमै ढुंगा लागेझैं हुन्छ,” रञ्जनको दुखेसो छ ।

अहिले उनीहरूको समूहमा विदेशी गायक पनि अनुबन्दित भएका छन् ।

“संघर्षको घडीमा छौं, हाम्रा अघिल्तिर अनेकौं परीक्षा छन् । उत्तीर्ण होइन, अब्बल प्रमाणित गर्नु छ,” उनको अनुहारमा अनौठो आभा जागृत हुन्छ ।

र, मोस नेपाल

सन् २०१७ मा उनीहरूले ‘मिस्ट्री अफ साउन्ड (मोस) नेपाल’ स्थापना गरेका छन् । यो संस्था ‘ईडीएम’ कलाकारहरूको साझा थलो बनेको छ ।

यसले नयाँ विधालाई आम संगीतपारखीका बीचमा लैजाने नै छ । नेपाली कलाकारहरूलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्नेछ र विदेशी गायक/गायिकालाई पनि नेपाली माटोसँग परिचित गराउनेछ ।

त्यसका उदाहरण हुन्– दिवस मल्ल । उनी अहिले बाहिर एकदमै रुचाइएका छन् । उनको  प्रस्तुतिको भ्युज लाखौं छ ।

“अविचलित संघर्ष गरिहँदा मोस नेपालले विश्वसामु चिनारी पाउने विश्वास छ,” अन्तिममा रञ्जनले आफ्नो लक्ष्य पस्किए ।

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  ०९:५७
प्रतिक्रिया दिनुहोस्