site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कविताः समृद्धि कहिले आउँछ ?

– कृष्ण खनाल


ए, कमरेडहरू हो !
समृद्धि कहिले आउँछ ?
कहाँबाट आउँछ ? 
म दिन गनेर बसिरहेछु ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रेल चढेर आउँछ वा
पानीजहाज ?
भन ए, कमरेडहरू हो !
समृद्धि पूर्वबाट उदाउँछ कि पश्चिमबाट ?
जनकपुरबाट आउँछ कि सिगात्सेबाट ?
भेनेजुएलाबाट आउँछ कि
उत्तर कोरियाबाट ?
म अझै अलमलमा छु
कताबाट आउँछ र कता छोप्न जाने
हो, यो समृद्धिलाई ?

भन, ए कमरेडहरू हो !
तिमीले भनेको समृद्धि 
कसले ल्याउने हो ?
कमरेड केपीले ल्याउने हुन् कि ?
कमरेड विद्या भण्डारीले ?
कमरेड प्रचण्डले ल्याउने हुन् कि ?
कमरेड बादलले ?
आकाश त गड्याङगुडुङ गरिसकेको छ 
आकाश फाटेर बर्सिने पो हो कि ?
धरतीबाट ज्वालामुखी बनेर आउने हो ?
कि मेलम्ची सँगसँगै 
होली वाइन मिसिएर आउने हो ?

हाम्रा नानीहरूको मुखमा
सिटामोल परेको छैन
हाम्रा आमाहरूको आँतमा
जीवनजल पुगेको छैन
खै कसरी समृद्धि आउला र ?
भन ए कमरेडहरु हो !
तिमीले घोकाएको समृद्धि
न्यारोबडी भएर आउने हो कि 
वाइडबडी भएर ?
वा द्रुत्त गतिमा फास्ट–ट्रयाकबाटै आउने हो ?
वा हाम्रो धर्म नासिएपछि ?
मैले हुटिट्याउँले आकाश थामेको 
कथा नि पढेथें
कि तिमी,
कि तिम्रा सन्ततिहरू
या तिम्रा नन्दी भृंगीले
राजधानीमा ठूलाठूला 
महल जोडेपछि देश समृद्ध हुन्छ ?

मैले अझै बुझेको छैन कमरेड
ठूला दुःखले आज्र्याको लोकतन्त्रको 
परिभाषा के हो ?
हामी त रैती न हौं
रैतीले ठूला मुखले बोल्नु पनि हुन्न
सरकारले जे गरे पनि लेख्नु हुन्न,
निषेधाज्ञा गरेर जुलुस पनि गर्नु हुन्न 
किनकि यो दुईतिहाइको सरकार हो
उसले जति लुटे पनि 
जति भ्रष्टाचार गरे पनि 
हामीले मुख बन्द गरेर हिँड्नुपर्छ
कलमको निब भाँचेर बस्नुपर्छ ।

मलाई कताकता डर लागिरहेछ ।
ए, जंगीलाठहरू हो !
यो देशका शासकहरू हो !
भन, तिमीले भनेको समृद्धि
छ करोड सँगसँगै आउँछ कि ?
अठार करोडको गाडीबाट ?
तस्करीतन्त्रबाट आउँछ कि
पाँचतारे होटलको उद्घाटनबाट ?
खाडीबाट बन्द बाकसभित्र
कैद भएको निर्जीव लाश बनेर आउँछ
वा 
मार्सीको भातबाट ?

भन, समृद्धिका ठेकेदारहरु हो !
बालुवाटार र खुलामञ्च खानेहरू हो !
देशको समृद्धिको पोया कहिले फुक्छ ?
प्रश्नैप्रश्नको पेटारो बोकेर हिँड्दा
कतिकतिखेर ऐंठन भइरहन्छ ।
देश धर्धरी रोइरहँदा
म अलमल्ल परिरहेछु कमरेड !
हामी गणतन्त्रको राजमा छौं कि
अरिंगालको गोलामा ?

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  ०८:५१
प्रतिक्रिया दिनुहोस्