site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कविता: तल्लोसान्नेकी साइँली दिदी

— बालकृष्ण कट्टेल


हाउ बिमल,
फेरि एकपटक 
लेखिदेऊ न एउटा चिट्ठी
तिम्रै बडबाको नाममा
लेख्न नजानेर पनि
दुःखै पाइयो
र, यो पटक चैं
यो पनि थपिदेऊ—
“म तिमीलाई
त्यो दिनसम्म पर्खिन्छु,
जुन दिनसम्म
तिमीले मलाई
बिर्सिएको था’पाउँदिनँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आउँदै आएन
गएपछि त ।
कसरी बिर्सन सकेको—
ऊ जाँदा उसले मलाई 
सुत्केरी कोठामै छाडेको
र, न्वारान गर्ने दिन
बच्चाको बाउ पनि चाहिन्छ है भनेर
त्यत्रो सबैले भनेको ?

छेउघरे पुरेतले
बाउ नभई 
बच्चाको न्वारान गर्दिन्नँ भन्दा
म त छाँगाबाटै खसेकी थिएँ
तर पनि अड्डी लिएँ
र, केही नचलेर 
यतिसम्म भनें—
“मेरो नानीको न्वारान नगर्नेले
एउटा कुरा चैं मलाई
अहिले नै बताइदियोस्
न्वारान भयो कि भएन कुन्नि 
तर, देशको नाम कसरी राखियो
त्यो पनि सुनाइदियोस् !”

मैले त आँखै देखिनँ हाउ रिसले—
न्वारान नभै चोखिन्न भनेपछि
बाउ नआई
नागरिकता पाउँदैन भनेपछि !
उफ्री पो हालेछु म त—
“तिमी त जान्ने पो र’छौ, छेउघरे
बरू मलाई पनि भनिदेऊ न
मेरो देशको नागरिकता
आमाको नाममा छ कि बाउको ?
नागरिकता दिने मान्छे
मेरो पनि हो कि कुनै साहूको ?”

तर के गर्नु बिमल !
आफ्नै मान्छे हराएपछि त
आफ्नो मन पनि
कता कता डुल्दोर’छ
जहाँ–जहाँ टुसुक्क बस्छु,
मन पनि उतैउतै बस्दोर’छ !
कहिलेकाहीँ त
मन पनि बरालिन्छ र
आफैंलाई सोधिबस्छ—
अन्त–अन्त डुलेको मन
आफूसँग हुन्छ कि हुँदैन होला ?
मनले मनसँग कुरा गर्दा
अर्को मनले चैं सुन्छ कि सुन्दैन होला ?

हिजो पनि
वनबाट फर्किंदा
मन चस्किरह्यो
घरिघरि आफैंसँग
तर्सिएर पो हो कि
झस्किरह्यो
तर, आफैंलाई सम्झाएँ—
मायाले भिजाएर
छरेका सम्झनाहरू
मनभित्रै त टुसाउँदारा’न् 
यादहरू गुजुल्टिएर 
एउटै पोको परेपछि
कल्पनाका चित्रहरू
मनकै बगरमा त सुस्ताउँदारा’न् !

कहिलेकाहीँ त
साह्रै पोल्छ रहरले !
तिमीलाई पो था’छ कि कान्छा—
पोल्न थालेपछि
केले बढी पोल्छ होला ?
पुराना बातले
कि सिस्नोको पातले ?
छुटेको साथले 
कि मायाको हातले ?
 

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  ०८:४५
प्रतिक्रिया दिनुहोस्