
काठमाडौं । राजनीतिक अस्थिरता, गैर जिम्मेवार नेतृत्व र त्यसले समाजमा परेको प्रभावप्रति आम जनताको असन्तुष्टि छ । त्यो असन्तुष्टि कहिले सडकमा देखिन्छ त कहिले सामाजिक सञ्जालमार्फत पोखिन्छ । विशेषतः पछिल्लो समय व्यवस्था, सरकार, संस्था होस् वा व्यक्तिप्रतिको असहमति अथवा असन्तुष्टि पोख्नुपरे सामाजिक सञ्जाल सबैभन्दा सजिलो माध्यम भएको छ ।
फ्यान फलोइङ उच्च भएका व्यक्ति तथा सेलिब्रिटीलाई समाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्न झनै सजिलो छ । सामाजिक सञ्जालमार्फत आफ्नो विचार राखिरहने सेलिब्रिटीमा रेखा थापा पनि पर्छिन् । रेखा आफ्नो मनमा लागेको कुरा फेसबुक पेजमार्फत राखिहाल्छिन् ।
उनले आज विहान आफ्नो फेसबुक पेजबाटै व्यवस्था बदलिए पनि चरित्र र अवस्था उस्तै रहेको भन्दै असन्तुष्टि जनाइन् ।
उनले व्यवस्ता बदलिए पनि सोच नबदलिएका राजनीतिज्ञ, प्रशासकलाई मात्रै ब्यङग्य गरेकी छैनन् नेपाल बनाउने सोच भएको दूरदृष्टि बोकेका व्यक्तिको पनि आवश्यकता औंल्याएकी छिन् ।
“बदलिएको व्यवस्था नबदलिएको चरित्र र अवस्था !” भन्दै उनी अगाडि प्रश्न गर्दै लेख्छिन्, “खै कहाँ छन् नेपाल बनाउने मस्तिष्क ? को बसेको छ मेरो देश भनेर ? यहाँ राजनीति र प्रशासन सबैतिर आफ्नो स्थान ओगटेर सुरक्षित हुनेको सिन्डिकेट छ !”
तस्बिरः रेखा थापाको फेसबुकबाट