site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
आरबीटीमा एग्रिगेटरले सर्जक ठगेको संगीतकर्मीको आरोप, एग्रिगेटर भन्छन्– आरोपमा सत्यता छैन

काठमाडौं । रिङ ब्याक टोन (आरबीटी)मा एग्रिगेटर कम्पनीहरुबाट आफूहरु ठगिएको श्रष्टाहरुले आरोप लगाएका छन् । कति डाउनलोड भयो भन्ने तथ्यांक आफूहरुले हेर्नसमेत नपाएको उनीहरुको गुनासो छ । श्रष्टा तथा म्युजिक कम्पनीहरुसँग म्युजिक एग्रिगेटरले गरेको सम्झौतामा आफ्नो गीत सीआरबीटी र पीआरबीटीमा कति डाउनलोड भयो हेर्न पाउने उल्लेख गरिए पनि व्यवहारमा एग्रिगेटरहरुले हेर्न नदिने गरेको उनीहरुको गुनासो छ । 

“सम्झौतामा म्युजिक कम्पनीहरुले श्रष्टाले चाहेको खण्डमा आफ्नो गीत कति डाउनलोड भयो भनेर हेर्न चाहेको अवस्थामा एग्रिगेटरले ड्यासबोर्ड देखाउनु पर्ने व्यवस्था गरिएको छ,” संगीतकार लक्ष्मण शेष भन्छन्, “तर त्यसमा एग्रिगेटरहरु कति इमान्दार छन् स्वयम् उनीहरुले आफ्नो मूल्यांकन गर्नुपर्छ ।” 

संगीतकार शेष एग्रिगेटरले एउटै सर्जकका गीतका क्लिप्स काटेर थुप्रै रिङ ब्याक टोन बनाएर बनाएर ठगिरहेको बताउँछन् । नेपालमा मात्रै प्रयोग गर्ने भनेर सम्झौता गरे पनि विभिन्न देशका आरबीटी सेवा प्रदायक कम्पनीहरुसँग नेपालका एग्रिगेटरले नेपाली गीत बेच्ने गरेको उनको दाबी छ । भारतलगायत खाडीका २८ देशका रिङ ब्याक टोन कम्पनीहरुलाई नेपालका केही एग्रिगेटर कम्पनीले नेपाली गीत उपलब्ध गराइरहेको यद्यपि त्यसबापत प्राप्त हुने रोयल्टी रकम श्रष्टालाई वितरण नहुने गरेको संगीतकार श्रेष्ठको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एप्पल म्युजिक, अमेजन म्युजिक, युट्युब म्युजिक, साउन्ड क्लाउड, ई–म्युजिकलगायत सयभन्दा बढी संगीत पाइने प्लेटफर्म चर्चित छन् । यीमध्ये धेरैमा नेपाली गीत नेपाली एग्रिगेटरले बेचिरहेको हुन सक्ने संगीतकार शेष बताउँछन् । तर श्रष्टासँग प्रतिलिपि अधिकार लिँदा नेपालका लागि मात्रै भनेर अधिकार लिने गरेको उनले जानकारी दिए । 

यूएईको इड्रियस र डू, ओमानको नवरस र मोबाइल, कतारको क्युटेल, बहराइनको भिवा, कुवेतको जैन, माल्दिभ्सको वातानिया, भारतको बीएसएनएल, भारतको भोडाफोन र टाटा जीएसएमलगायत खाडीका २८ देशका विभिन्न मोबाइल सेवा प्रदायक कम्पनीहरुसँग नेपाली केही एग्रिगेटरले नेपाली गीत दिएको तर त्यसको जानकारी र रोयल्टी सर्जकहरुलाई नदिएको उनी बताउँछन् । 

यी हुन् म्युजिक प्लेटफर्म 

“साउन्ड ड्रप, लेभल डिष्ट्रिब्युसन, ईएमयू ब्यान्ड, ब्यान्ड क्याम्प, म्युजिक इन्फो डट आईआ लगायात दर्जनौं एग्रिगेटरलाई नेपाली एग्रिगेटरले नेपाली गीत दिएको सूचना छ,” संगीतकार शेष भन्छन्, “यसरी श्रष्टाको बिना अनुमति गीत बेचिनु कानुनविपरीत हो । श्रष्टाहरु ठगिइरहेका छन् ।” 

एग्रिगेटर कम्पनीहरु

संगीतकार शेष सर्जकहरुको सिर्जना प्रयोग गरेपछि उनीहरुलाई त्यसबापत प्राप्त रोयल्टी प्रदान गर्नुपर्ने बताउँछन् । नेपालमा युट्युबमा गीत रिलिज गरेजस्तै नेपालीको बसोबास रहेका विभिन्न देशमा यस्तै खालका अन्य डिजिटल म्युजिक पोर्टलमा नेपाली गीत राखिएको तर त्यसबारे सर्जकलाई जानकारीसमेत नदिने तथा राइट्स बेचेवापत रकमसमेत उपलब्ध नगराउने उनी बताउँछन् । 

युट्युबजस्तै विश्वमा प्रचलित म्युजिक पोर्टलहरु र तीनले प्रति १० लाख भ्युजका आधारमा सर्जकलाई प्रदान गर्ने पैसा (डलरमा) 

यी म्युजिक पोर्टलहरु अधिकांश नेपालमा भने चल्दैनन् ।  यता, म्युजिक एग्रिगेटर कम्पनीमध्येको एक म्युजिक नेपालका व्यवस्थापक उत्तम थापा सर्जकहरुसँगको सम्झौता अनुसार मात्रै गीतसंगीत आफूहरुले प्रयोग गरिरहेको बताउँछन् । “नेपालभित्रको मात्रै राइट्स लिइएको छ भने हामी बाहिरका एग्रिगेटर तथा कुनै पनि म्युजिक कम्पनीलाई पठाउँदैनौं,” थापा भन्छन्, “जोसँग हामीले बाहिरका कम्पनीहरुलाई पनि दिने भनेर सम्झौता गरेका छौं, उहाँहरुको पठाएका छौं । र प्राप्त रोयल्टी पनि वितरण गरिरहेका छौं ।”

आरबीटी कति डाउनलोड भयो त्यो भने नेपाल टेलिकम नयाँ सिस्टममा गएपछि सर्जकले हेर्न नमिलेको बताउँदै थापाले सबैले हेर्न मिल्ने सिस्टम बनाउन आग्रह गरेको जानकारी दिए । 

संगीतकार वसन्त सापकोटा एग्रिगेटरहरुले आफूखुसी आरबीटीमा उत्कृष्ट २० गीत भनेर राखिदिने गरेको गुनासो गर्छन् । “जुन गीत कहिल्यै सुनिएको हुँदैन, त्यही गीत पपुलर भनेर एक उत्कृष्ट २० भित्र पारिन्छ । तर जुन गीत साँच्चै पपुलर हुन्छ, त्यो २० वटा भित्रै पर्दैन,” संगीतकार सापकोटा भन्छन्, “आफूले खोजेको गीतको आरबीटी नम्बर खोज्दा पनि भेटिँदैन । त्यसैले मोबाइल प्रयोगकर्ताले आरबीटी नम्बर थाहा नपाएपछि आरबीटीमा राम्रा गीत नै ओझेलमा परेका छन् ।”

आफन्त, चिनेजानेका तथा नाता सम्बन्धका आधारमा आरबीटीमा गीतहरु राख्ने गरेको उनको दाबी छ ।   

एग्रिगेटर कम्पनी बुढासुब्बा म्युजिक आफूहरुले श्रष्टाले भनेजस्तो आफूहरुले मनलागि नगरेको दाबी गर्छ । सबैभन्दा नयाँ र पपुलर गीत मागेपछि सोही अनुसार आफूहरुले पठाउने गरेको बुढासुब्बा म्युजिकका सूचना प्रविधि विज्ञ विश्व खड्काले बताए । 

“हामीलाई प्रत्येक १० देखि १५ दिनमा नयाँ गीत र पपुललर गीत पठाऊ भनेर भनिन्छ । नयाँ गीत माग्दा पछिल्लो समय रिलिज भएर हाम्रोमा आइपुगेका गीतमध्यबाट राम्रा गीत छानेर पठाउँछौं,” खड्का भन्छन्, “नयाँ गीतमध्ये कुनकुन गीत राम्रा छन् त्यो छनोट गर्न हाम्रो तीन जनाको कमिटी छ । पपुलर गीत माग्दा जुन गीत सबैभन्दा धेरै डाउनलोड भएको छ, तीनै गीत पठाउँछौं ।”

खड्का श्रष्टाले लगाएको आरोप सम्बोधन आफूहरुबाट नहुने भन्दै मास्टर एग्रिगेटरतर्फ संकेत गर्छन् । “हामीलाई पनि आफ्नो कम्पनीबाट पठाएको गीत अगाडि नै आओस् भन्ने हुन्छ । तर त्यो हाम्रो हातमा छैन ।” मास्टर एग्रिगेटर ‘कम भिवा’ इन्डियन कम्पनी हो । 

हाइलाइट्स नेपाल राम्रो लागेको गीतलाई नै प्राथमिकता दिने गरेको बताउँछ । गीत छान्ने कमिटी रहेको र त्यसैले उपलब्धमध्य राम्रा गीत छानेर मास्टर एग्रिगेटरलाई पठाउने गरेको हाइलाइट्स नेपालको अडियो विभागका व्यवस्थापक फुर्पे तामाङले बताए । 

“हामी (एग्रिगेटर)सँग मास्टर एग्रिगेटर कम्पनी आईएमआई मोबाइलले गीत मागेको हुन्छ । उसले गीत मागेपछि जसले सबैभन्दा पहिला गीत पठायो सामान्यतः त्यही गीत नै सबैभन्दा अगाडि राखेको पाइन्छ,” तामाङ भन्छन्, “हामीले यो गीतचाहिँ राम्रो होला भनेर पठाउने हो त्यसपछि हाम्रो हात हुँदैन । मास्टर एग्रिगेटरले नै निर्णय गर्ने हो ।”

म्युजिक नेपाल, बुढासुब्बा, हाइलाइट्स नेपाल र आप्का आदि नेपालका एग्रिगेटर हुन् । 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  ११:३१
प्रतिक्रिया दिनुहोस्