site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
शम्भु राईलाई प्रकाश सपूतको चिठी 

काठमाडौं । गायक शम्भु राई र प्रकाश सपूतको गीतको भाका हुबहु मिलेपछि अहिले बजारमा यसको चर्चा छ । प्रकाशको गीतको ‘गलबन्दी’ शम्भु राईको गीत ‘आऊ नाचौं साथी हो’ सँग हुबहु लय मिलेको बताएपछि दर्शक-स्रोता तथा सर्जकहरु नै बाँडिएका छन् । यसै विषयलाई लिएर प्रकाशले शम्भुलाई चिठी लेखका छन् । 

प्रकाशले शम्भुलाई चिठी जस्ताको त्यस्तै  :

० ० ०

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आदरणीय शम्भु राई सर नमस्कार ! 
आराम छु, आराम चाहान्छु ।

आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जाँदै गर्दा बुटवल फर्साटिकमा रहेको रिद्दिसिद्दि पार्टी प्यालेसको पहिलो तलाको बीचको कोठाको बेडरुममा पल्टिएर मोबाइलको नोटबुकमा यो चिठी लेख्दैछु । तपाईलाई विश्वास नलाग्ला गीत पनि सुन्दै छु - चिठी तिमीलाई लेखु भन्छु ! बिना कुनै स्वार्थ बिना कुनै उक्साहट, बिना कसैको सुझाव सल्लाह, बिना कुनै योजना यत्तिकै मनबाट जे आउँछ त्यही लेख्दैछु सर । करिब ३६ डिग्री गर्मीलाई उछिन्ने जोशमा फुल स्पिडमा उसा ब्राण्डको फ्यान घुमिरहेको छ । अलिअलि शितल गराएको पनि छ तर फ्यानभन्दा स्पिडमा घुमिरहेको मेरो मनका कुराहरु यहाँ पोखेर शितल हुन चाहन्छु । यद्यपि हुन्छु कि नार्इं । थाहा छैन । भर्खरै एउटा सांगीतिक प्रस्तुती दिएर फर्केको । यही नजिकै महोत्सव लागेको छ । राम्रो पारिश्रमिक तोकेर आएको थिएँ । करिब आधा जति दर्शक टिकट नपाएर गुनासो गर्दै फर्किएछन् । आयोजकले भोली पुन प्रस्तुति दिन आग्रह गर्नु भएको छ । कारण गल्बन्दी क्रेज ।

मैले सोचेकै थिएन सर, लोक गीत गाएर यतिविधि चर्चित भइन्छ भनेर । बुढापाकाले मात्रै त्यो पनि पश्चिम–पश्चिम भेगतिर सुनिने लोकदोहोरी गाएर कहिल्यै सेलिब्रिटी बनिन्छ जस्तो लाग्थेन । त्यसैले गीत नै त छाडिएन तर अनेक तिक्डम चैँ लगाएकै हो । एकबारको जुनीमा गाउने इलम गरिसकेपछि २-४ जनाले चिनेनन् भने के गाउनु गाठेँ भन्ने आत्मबोध भैरहन्थ्यो । त्यसैले गीतै गाएर पेट र परिवार पालेको भए पनि म कहिल्यै खुसी भइन् । सपना ज्यूको त्यूँ छ । भोक ज्यूको त्यूँ छ भनेर निकै निरासामा गुज्रिरहेको थिएँ । कसो कसो दोहोरी व्याटलले अलिअलि भोक मेटायो । 

त्यही चिनिने भोक क्या सर ! पछि ‘बोलमाया’गर्दा मैले चिनिनेभन्दा सम्झिनेतिर अल्ली बढी ढल्केर काम गरेँ र आफूलाई अलि धेरै अंक बटुले दर्शकस्रोताबाट । ‘ब्याटल टु’ ले मेरो परिचयमा थोरै प्रश्न उठायो । तँ को होस् ? कताको मुन्छे होस ? भनेर अलिअलि नम्बर घट्यो पनि तर क्रियटिभिटीमा नम्बर त जोडिएकै हो । कहिलेकाहिँ उत्तर गलत हुँदा पनि अक्षर राम्रो भएर नम्बर पाइन्थ्यो नि सर स्कुलमा । त्यो पनि गणितमा, विज्ञानमा होइन नेपाली विषयमा । हो संगीत पनि नेपाली विषयजस्तै लाग्छ सर । गणितको, विज्ञानकोजस्तो ठ्याक्कै उत्तर नमिले पनि मिठो भाषा लेख्न जान्यो भने, राम्रो अक्षर कोर्न जान्यो भने लगभग पास अंक त पाइने । १०० मा ३२ ।

गल्बन्दीसम्म आउँदा मेरो अंक सयमा सय आएको थियो सर । कपि जाँच्ने शिक्षकजस्तै गीत जाँच्ने दर्शक स्रोतालाई उत्तर, अक्षर र भाषा सबै ठिकै लागेको थियो । त्यसैले रिजल्ट पनि लगभग स्कुल टप नै भयो । सामान्य अंकमा पास हुनेको के भ्यालु हुन्छ र ? तर स्कुल नै टपिसकेपछि सबैको चासो हुनु स्वभाविक हो । त्यसैले ‘गल्बन्दी’लाई तपाईंले पनि जाँच्नु भयो सर ! तपाईलाई लाग्यो अक्षर र भाषा राम्रो छ तर उत्तर कतैबाट प्रभावित छ । लाखे हौ, मेरैबाट प्रभावित छ कि के हो ?

सर्वप्रथम त तपाईंले ‘गलबन्दी’ सुनिसकेपछि तपाईंको मनमा भाका मिलेजस्तो लागेर भएको छटपटि र हल्ला भइसकेपछि आएका नकरात्मक टिकाटिप्पणिहरुबाट तपार्इंको आत्मसम्मानमा पुग्न गएको ठेसप्रति म दुःख व्यक्त गर्दछु । एउटा अनुजको कामले अग्रजको मनमा उब्जिएको बेचैनी र तपाईंको व्यक्तित्व र नियतमाथि आएका प्रश्नहरुप्रति म लज्जा बोध गर्दछु । यद्यपि तपाईंले कुरा उप्काइसकेपछि मेरो नियतमाथि, मेरो व्यक्तित्वमाथि, मेरो सिर्जनामाथि लागेका आरोपहरुले मेरो आत्मसम्मानमा, मेरो दैनिक जीवनमा, मेरो मानसिकतामै पनि कत्रो असर पुगेको छ त्यतातिर सोचेर हजुर दुःखी नहुनु होला है । म ठिकठाक छु सर । हामीलाई हाम्रो समयले दिएको एउटा जादुमयी अवसर छ- भाइरल । छिनमै उचालिएर माथि पुग्ने, छिनमै तल थेचारिने । त्यसैले लगभग सामान्यजस्तै लाग्न थालेको छ - रातारात चर्चित हुने र रातारात गाली खाँदै लखेटिने प्रवृत्ति । जुन भोक थियो नि सर ! चिनिने र चर्चित हुने । भयो, अघाइयो । भुँडी फुट्ने गरी अघाइयो ।

अँ साँची भाका मिलेको प्रसङ्ग । गाउँमै हुँदा सुनेको भनेर तपाईंलाई मख्ख पार्दिन सर । काठमाडौं आएर दोहोरी साँझमा काम गर्न थाले पछि हजुरका धेरै गीतहरु सहकर्र्मीहरुको आवाजमा सुनियो । आफूलाई रहर लागेर खोजीखोजी ओर्जिनल गीत सुनेर डायरीमा गीत टिपेर पनि गाइयो । चिठी तिम्लाई र तिमीले सम्झेनी लाखैं छ भन्ने अक्सर अफर आउथ्यो दोहोरीमा सहकर्मीले गाउँथे म अभिनय जस्तो गर्थेँ । 

हल्का रक्सिले मातेको बेला यस्तो गीतले अझै छुने रैछ कि मान्छेलाई कुन्नी ? पैसा पनि राम्रै झथ्र्यो । मचाहिँ रहरले चलेछ बतास सुस्तरी गाउने प्रयास गर्थें । त्यसको पूरै अन्तरा याद छ सर मलाई । कतै माहोल जुरेछ भने म हजुरलाई सुनाम्ला गाएरै । तर कुन कसम खाएर भनौं सर यो देउसी भैलो गीत मैले सुनेको थिएन । त्यसैले मैले कपी गरेको हुँदै होइन । पहिले नै रेकर्ड भइसकेको कुनै गीत पुनः रेकर्ड गर्छु र हिट बनाउँछु भन्ने आत्मविश्वास कसैमा हुन्छ जस्तो लाग्दैन सर ! बरु पुरानो हिट गीतलाई रिमेक गर्ने, कभर गर्ने चलन बढेको छ । यो कती सही गलत (त्यता नजाउँ मैले यहाँ जोड्न खोजेको चाहिँ पहिला त्यति नसुनिएको, सफल नभएको गीतलाई रि–रेकर्ड गरेर चलाइदिन्छु भन्ने कन्फिडेन्स ममा छैन सर ! 

त्यो रिस्क तपाईंले त्यति खेरै लिनुभयो । अब मैले किन लिन्थेँ र ?  अहिलेत झन् खर्च बढेको छ सर ! कलाकारको भाउ र पारिश्रमिक ह्वात्तै बढेको छ । खर्च उठाउने विजनेश वे छैन । उसबेला जस्तो क्यासेटमा साइन गरेर पठाएको अनुभव हामीले गर्न पाइएन सर ! अहिलेको अवसर र चुनौती भनेको मैलमाथि जोडिसके तेइ ‘भाइरल’ हो । त्यो पनि फ्रिको ।
सर, भाका मिलेकै छैन । कहाँ मिलेको छ ? भनेर तपाईंको विचारलाई तपाईंको फिलिङ्सलाई तपाईंको प्रत्यक तर्कलाई म खण्डन गर्न चाहन्न । तपाईंले आफैँले भन्नुभएको थियो म तपाईंको छोराभन्दा पनि धेरै कान्छो उमेरको छु । तपाईं मेरो बुबाभन्दा पनि बढी उमेरको हुनुहुन्छ । यसकारण तपाईंको भोगाई, तपाईंको अध्ययन अनुभव, तपाईंको योगदान तपाईंको सफलताको अगाडि म धेरै बच्चा छु । उमेर अनुभव र समयले पनि म केटकेटी नै हो ।

एउटा स्रोता भएर सुन्दा गलबन्दी र आउ नाचौं १-२ ठाउँ उस्तै-उस्तै सुनिन्छ जस्तो मलाई पनि लाग्छ । ओई सुन्त मिलेको छ यार भनेर यी दुई गीत (अलिकति स्पीड बढाएर) फोर्सफुल्ली एकैचोटी सुनाउने हो भने जोकोहीको मनमा पनि आउँछ होला- ए होत यार मिलेकै रैछ । तर अलि गहिरिएर सुन्ने हो भने ठ्याक्कै मिलेको चाहिँ छैन कि सर ! कपी हुनलाई त पूरै ¥याङ कि ठ्याङ मिल्नु पर्ने हैन र ? सेम टु सेम भएपछि त फ्याट्टै चिनिन्छ सर ! यसरी म त नै बाझिँदैन । हेर्नुस त दर्शकहरु बाँडिएको । कसैलाई लाग्छ मिल्छ । कसैलाई लाग्छ मिल्दैन । त्यसैले यो दर्शकलाई भजाएर हामी कबड्डी-कबड्डी जस्तो मिडिया र मिडिया नखेलौं सर !

मैले यहाँनिर धेरै लोक भाका मिल्छन् । उस्तैउस्तै हुन्छन् । यो हाम्रो नेपालको सम्पत्ति हो । पब्लिक डोमेन हो । यस्तो उस्तो भने पनि तपाईंलाई तर्कले जित्न खोजेजस्तो होला । यद्यपि अन्य संगीतहरु अलिकति गणितीय सूत्रमा बाँध्न सकिन्छ । लोकभाकाहरु अलि बढी स्वतन्त्र हुन्छन् । खोलाहरु जस्तै, हावा पानी वनजङ्गलजस्तै प्राकृतिक । मेरो सिर्जनाहरु धेरै कुराहरुबाट प्रभावित छन् सर ! 

उसै पनि जति गीत चलेका छन् ती सबै शब्द र संगीतले मात्रै होइन भिडियोमा अनेक तिग्डम गरेको छु सर ! यो प्रविधिले र जमानाले बनाएको हो । म्युजिक उठेर गीत भनेर म्युजिक मै सकिँदा पनि पूर्ण गीत हुन्थ्यो चिठी तिम्लाई’ ताका । अहिले चिठीको चलन हराएर भिडियो च्याटको जमाना भएर हो कि सर ! गीतको अगाडिपछाडि यस्सो नाटक नजोडी त गीत नै पूर्ण नहुने जस्तो पो भैसक्यो । खैर, म फेरी जोड्न चाहन्छु मैले ठ्याक्कै गीत सुनेर कपी गरेको हुँदै होइन सर ! डिट्टो कपी पनि छैन गीत । 

मैले नेपाली सांगीतिक इतिहासको बारेमा त्यति अध्ययन् गरेको त छैन तर तपाईंभन्दा अझै अग्रज, तपाईं र मसम्म आउँदा नेपाली संगीत र विशेषतः लोक गीत सिर्जना गर्ने ती तमामा अग्रजहरुबाट प्रभावित हुँदै नै हामीले गीत सिर्जना गर्ने हो । तपार्इंहरुले बडो दुःख गरी खनेको बाटोमा हामी सजिलो गरी हिड्न पाएका छौं । यस्सो खाल्डाखुल्डी पुर्ने र सके कालोपत्रे गर्ने जिम्मेवारी बोध पनि गरेका छौं । 

तपाईहरुकै बाटोमा हिँड्दै गर्दा तपार्इंहरु जस्तै देखिनु स्वभाविक हैन र सर ? अहिले समय अलि बदलिएको छ सर ! गीतसंगीतमा भीडभाड छ । किनकी बाटो सजिलो भएको छ । जो कोही जँहा कहिँबाट आउन मिल्ने भएर पनि होला । त्यसमाथि हाम्रो पुस्ताको रुची फेरि डेन्जर छ सर ! यस्तो अवस्थामा गल्बन्दी जस्तो मौलिक लोक गीत यो लेभलमा स्वीकार्य हुनु पनि एउटा उपलब्धि हो सर ! आफ्नो व्यवसायिक नाफा घाटा नहेरी सांस्कृतिक महत्व बचाउन सबै विधि पुर्‍याएर ३२-३५ मिनेटको तिहार गीत बनाउन तपाईंलाई जरुरी थियो र सर ? तिमीले सम्झेनी लाखै छ जस्तो अर्को खत्रा आधुनिक गीत दिएर आरबीटीबाट झ्याम्म दाम बुझ्न सक्नुहुन्थेनर ? 

म्युजिक नेपालसँग राम्रै छ सम्बन्ध तपाईंको तर तपाईंलाई कलाकारिता गर्दा केवल नाफाघाटा मात्रै भन्दा पनि नेपाली लोक संगितको, नेपाली मौलिक कला संस्कृतिको विछट्टै माया रैछ सर ! त्यति माया गर्ने मान्छेले एउटा अनुज भाइले अहिलेको समयमा मौलिकता झल्काउन गरेको प्रयासलाई अलिकति भाकाको प्रसंग लिएर निरुत्साहित नगरिस्यो न । हजाराँै प्रकाश सपुत आए पनि तपार्इंको इतिहास र अस्तित्व मेटिन्न सर । ल मानम कसैले अझै मिठो गरी चिठी तिम्लाई दुरुस्त निकाले छ भनेपछि तपाईं मेटिनुहुन्न सर ! तपाईंको अस्तित्व आउँछ, आउँछ ।

लेख्दा लेख्दै मोबाइलको ब्याट्री दुई परसेन्ट भएछ । समय बिहानको ४ः३४ ! र अन्त्यमा, तपाईंले बोलाएका फोरमहरुमा म उपस्थित हुन तयार छु सर, छलफलका लागि बहसका लागि, संगीतको शुद्धिकरणका लागि, कपिराइटको कानुन कार्यान्वयनका लागि र अग्रजहरुको सम्मानका लागि ।

तर यो मेरो वर्किङ आवर्स हो सर । सिर्जनशील हुन सक्ने र सोही अनुसार दौडिन पनि सक्ने उमेर हो मेरो । यो समयमा मलाई नअल्झाइस्यो न सर ! म पनि केवल नाफाघाटा मात्रैभन्दा पनि केही फरक र राम्रो गर्न सकिन्छ कि भनेर धेरै रात अनिदो बस्छु । गल्बन्दीको लागि पनि मैले धेरै नै मेहेनत गरेको छु सर ! जहाँसम्म नाम राख्ने कुरा छ । यो धेरै लोक भाकाहरुबाट प्रभावित छ सर ! यता पश्चिमतिरको भजनको ताल र रत्यौलीको लय मिश्रित छ भने हजुरको देउसीबाट पनि प्रभावित भएछ । 

अब क-कसको नाम राखौं सर । नाम में क्या चिज हे ? अब यसै पनि आजको मितिसम्म सबैभन्दा छोटो समयमा करोड क्लबमा जाने गीत कुन हो भन्ने प्रश्नमा उत्तर आउँछ– गलबन्दी । तर उत्तर यति मै सकिँदैन । “ए त्यो शम्भु राईसँग मिलेको गीत” भनेर आउने भैसक्यो । विश्वास विचित्रको चिज हो सर ! यो निकै जरा गाडेर बसेको हुन्छ मानिसहरुमा । अब तपाईंले मिलेकै हो भन्ने प्रमाणित गरे पनि मिलेको छैन भन्नेलाई विश्वास लाग्दैन । मैले हैन मिलेकै छैन भनेर चिच्याए पनि गीत उस्तैउस्तै सुन्नेको कान फेर्न सक्दिन । त्यसैले एउटा सिर्जनामाथि  दर्शक स्रोताको चासो, चिन्ता र माया सम्झेर यो प्रसंग यही स्वतन्त्र छोडौं न सर ! म तपाईलाई असाध्यै सम्मान गर्छु । तपाईं मलाई प्रोत्साहन गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु । 

आगामी सिर्जनाको लागि सचेत बनाउनु भएकोमा धन्यवाद सर ! तर म र म जस्तै नयाँ पुस्तालाई डर पैदा नगरिदिनु होला । जो गीतसंगीतमा केही गरौं भन्ने हुटहुटिले लामो संघर्षपछि अलिअलि तंग्रिएका छौं । धन्यवाद सर !

टेक केयेर सि यू सर

प्रकाशले चिठीमा लेख्न छुटेको भन्दै फेसबुकमा लेखेका छन्, 

धन्यवाद शम्भु सर ! मैल यसपाली मेरो वरिपरी रहेका धेरै मानिसहरुलाई गहिरो गरी चिन्न पाएँ । यो खबरहरुले उनीहरुको जीवनमा यत्तिकै मुस्कुराहट थपियो । मानौं यसपाली दशैंमा डबल बोनस आउँदैछ जस्तो । यसले मेरो आत्मविश्वास बढेको पनि छ । खासमा भन्ने हो भने मलाई तपाईसँगभन्दा ती मानिसहरुसँग बढी डर लाग्न थालेको छ । मसँग कुनै विचार, कुटनीति र पहुँच छैन सर ! भए पनि यहाँ प्रयोग गर्दिन । साँच्किकै शुभेच्छा प्रकट गर्ने केही मानिसहरुको शुभेच्छा, तपाईंप्रतिको अमूल्य सम्मान, एक डल्लो भावना र इमान लिएर म एक्लै उभिएको छु सर ! तपाईं मलाई सजिलैसँग जे गर्न पनि सक्नुहुन्छ । प्रेम र प्रोत्साहन वा कारबाही र निरुत्साहित ??
हजुरको जो मर्जी ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  १९:५०
प्रतिक्रिया दिनुहोस्