site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
राई भन्छन्– मलाई खाने बाघले अरुलाई पनि खान्छ, छलफलका लागि तयार छुः प्रकाश

काठमाडौं । प्रकाश सपूतको गीत ‘गलबन्दी’ आफ्नो गीत ‘आऊ नाचौं साथी हो’सँग हुबहु मिलेको बताएका लोकगायक शम्भु राईले विभिन्न संघसंस्थालाई गुहार्ने भएका छन् । शम्भु र प्रकाश दुवैको पक्ष विपक्षमा सर्जक, स्रोता तथा दर्शक बाँडिएपछि राईले गीतसंगीत सम्बन्धी विभिन्न संघसंस्थाको ढोका ढक्ढक्याउन लागेका हुन् । 

लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीको मध्यस्थतामा दुई पक्षबीच केही संवाद भएपनि निष्कर्षमा नपुगेपछि राईले गीतसंगीतसँग सम्बन्धित विभिन्न संघसंस्थासँग परामर्श लिन लागेका हुन् । 

प्रस्तोता समाज, लोक तथा दोहोरी गीत प्रतिष्ठान, संगीत तथा रोयल्टी संकलन समाज, राष्ट्रिय संगीतकर्मी संघ, संगीतकार संघमा गएर आजबाट रायसुझाव लिन लागेको जानकारी दिँदै राईले बाह्रखरीसँग भने, “श्रष्टा तथा सर्जकहरुसँग पनि रायसल्लाह लिइरहेको छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संघसंस्था र सर्जकहरुसँगको छलफलपछि कसरी अगाडि बढ्ने निर्णयमा पुग्ने उनी बताउँछन् । “सर्जक तथा श्रष्टाबाट कस्तो रायसुझाव आउँछ, त्यही अनुसार अगाडि बढ्छु,” उनले भने, “जस्तो रायसुझाव आए पनि त्यसपछि के गर्ने भन्ने बाटो स्पष्ट छ ।” सर्जक तथा श्रष्टासँगै गीतसंगीतका संस्थाले उनलाई अगाडि नबढ्न सुझाव दिए पनि कपिराइट जाने उनले संकेत गरे । 

केही संगीतकर्मीले राई र सपूतको गीतको लय केही मिलेपनि अन्तिम नोट एकजनाकोमा हाई र अर्कोको गीतमा लो भएकाले कपिराइट नलाग्ने बताइरहेको सन्दर्भमा उनी भन्छन्, “म तल परेँ भने पनि ठिकै छ, मलाई आपत्ति छैन । तर मेरो तर्क छ, मेरोसँग जति मिलेको छ त्यति झिक्न उहाँ तयार हुनुहुन्छ ?”

सर्जक तथा श्रष्टाहरुले आफ्नो पक्षमा नबोले त्यसको असर भोलिका दिनमा सबैलाई पर्ने उनको तर्क छ । नयाँ सिर्जना गर्न मेहनत नगर्ने र अरुका पुराना राम्रा सिर्जनाबाट टिपनटापन पारेर नयाँ बजारमा ल्याउने प्रवृत्ति मौलाउने उनको भनाइ छ ।

“आज शम्भु राईलाई ठेगान लगाउन सकियो भने भोलि कोही पनि बोल्दैन र पुराना सिर्जनामा मनोमानी गर्न पाइन्छ भन्ने प्रवृत्ति देखिएको छ,” राईले भने, “अहिले नबोले पनि नबोल्नुस् । तर याद राखे हुन्छ, मलाई खाने बाघले तपाईंहरुलाई पनि खान्छ ।”

अहिले आफूले ‘क्रिएसन बाई सम्भु राई’ राखिदिए मात्रै पुग्ने बताइरहेको तर कपिराइटमा जानेबित्तिकै आर्थिक पक्ष पनि जोडिएर आउने उनले बताए । ‘गलबन्दी’का गायक प्रकाश सपूत भने आफू सञ्चारमाध्यममा आएर झगडा गर्न नचोहको बताउँछन् । “म उहाँले कहाँ कहिले बोलाउनु हुन्छ, छलफल गर्न तयार छु । दुई पटकसम्म छलफल भएकै हो । अहिले पनि म उहाँले सम्बन्धित ठाउँमा बोलाएर छलफल गर्नुहुन्छ भने तयार छु,” उनले बाह्रखरीसँग भने । 

राईले भनेजस्तो ‘क्रिएसन’ भनेर नाम राख्न नसकिने तर लय संकलक भनेर नाम राख्न भने सकिने उनको तर्क छ । 

जानकारहरुका अनुसार संगीतको विश्वव्पापी मान्यताअनुसार कुनै पनि गीतमा एउटा नोटमात्रै नमिलेको अवस्थामा पनि कपिराइट लाग्दैन । 

संगीतकार लक्ष्मण शेष भन्छन्, “विश्वव्यापी मान्यताअनुसार ८ बारसम्म ठ्याक्कै मिल्यो भने त्यो चोरी हुन्छ र कपिराइट लाग्छ । ८ बारसम्म एउटामात्रै नोट तलमाथि भयो भने कसैले पनि दाबी गर्न पाउँदैन ।” 

संगीतकार वसन्त सापकोटा लोकगीत समाजको संस्कृति भएकाले लोकगीतको लयमा कपिराइट नलाग्ने बताउँछन् । लोकगीतको लयमा संगीत भनेर नराखेर लय संकलन लेख्नुपर्ने उनको तर्क छ । 

‘गलबन्दी’ सबैभन्दा छोटो समयमा युट्युबमा करोड ‘भ्युज’ पाएको गीत हो भने ‘आउ नाचौं साथी हो’ शम्भु राईले ०४८ सालमा रेकर्ड गरेको गीत हो । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  १६:१७
प्रतिक्रिया दिनुहोस्