site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साधक बाङ्देल

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक स्वार्थमा लाग्ने व्यक्तिहरू औंलामा गन्न सकिन्छ । तिनै थोरै व्यक्तिमध्ये अग्रस्थानमा आउँछन्— लैनसिंह बाङ्देल । 

बाङ्देल कला र साहित्यमा बढी चिनिए पनि उनको क्षमता यसभन्दा बाहिरसम्म थियो । उनी पुरातत्वविद् पनि हुन् । उनलाई आधुनिक कलाका पिता भनेर पनि चिनिन्छ ।

बाङ्देलको जन्म सन् १९१९ डिसेम्बर २१ तारिखका दिन दार्जिलिङको तकभर चियाबगानमा भएको हो । उनको बाल्यकाल दार्जिलिङको प्राकृतिक सौन्दर्य अवलोकन गरेरै बित्यो । उनी सानैदेखि मेधावी थिए । धरणीधर कोइराला, पारसमणि प्रधान र सूर्यप्रसाद ज्ञवालीजस्ता शिक्षकहरूको संगत पाएका उनी पढाइमा अब्बल थिए । बाङ्देलको पुख्र्यौली घर खोटाङमा थियो । उनका हजुरबुवा रत्नध्वज खोटाङबाट कामको सिलसिलामा दार्जिलिङ पुगेका थिए । दार्जिलिङमै बसेर काम गर्दागर्दै उनको परिवार प्रवासी बन्न पुग्यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लैनसिंह सानो उमेरबाटै निकै राम्रा चित्र बनाउँथे । एकचोटि विद्यालयस्तरको चित्रकला प्रतियोगितामा उनले बनाएको चित्र देखेर एक बेलायतीले खुब प्रशंसा गरे । त्यो दिनदेखि उनले आफू कलाकै लागि जीवनभर लाग्ने प्रण लिए ।

उनले सन् १९४८ मा एसएससी पास गरे । कलाप्रतिको रुचिका कारण उनी कला विषयमै केही गर्न चाहन्थे । सोहीबमोजिम कलकत्ताको ‘गभन्र्मेन्ट कलेज अफ आट्र्स एन्ड क्राफ्ट’मा भर्ना भई ६ वर्ष अध्ययन गरे । कलाको भूतले उनलाई यति सताएकोे थियो कि उनले यसै क्रममा दुई वर्ष व्यावसायिक कला पनि सिके । सन् १९४८ देखि १९५२ सम्म उनले कलकत्ताकै डीजे किमर भन्ने बेलायती कम्पनीमा चित्रकलासम्बन्धी काम गरे । कलाको विषयमा अध्ययन गरे पनि उनको रुचि साहित्यमा समेत थियो । त्यसैले ‘प्रभात’ नामक साहित्यिक पत्रिका निकाली दुई वर्षसम्म सम्पादकको रूपमा काम गरे । उनले चित्रकलासम्बन्धी धेरै व्यवहारिक कुरा सिकेका थिए । सैद्धान्तिक ज्ञान पनि उनमा कम त थिएन । उनी अझ कलामा थप अध्ययन गर्न चाहन्थे तर कलकत्तामा त्यो सम्भव थिएन ।

कला र साहित्यले कहिल्यै पनि भौगोलिक दूरी र सिमानाको ख्याल गर्दैन । सर्जकहरू आफ्नो सिमानाभन्दा पर गएर साधना गर्छन् । त्यसैले उनी जे–जस्तो दुख परे पनि बाहिर गएर अध्ययन गर्ने मनशाय गरे । न त उनीसँग प्रशस्त पैसा थियो न उनलाई फ्रेन्च भाषा आउँथ्यो । न चिनेजानेका कोही आफन्ती नै थिए । जेसुकै भए पनि कलाको बारेमा अध्ययन गरेरै आउँछु भन्ने दृढ संकल्प राखेर उनी सन् १९५२ मा पेरिस गए । उनले पेरिसमा निकै दुःख पाए । अनेक अभावका बाबजुद जिन्दगीलाई अगाडि धकेले । पेरिसमा अध्ययन गर्ने क्रममा उनको संगत भारतीय कलाकार परितोष सेन र पद्मशीसित भयो । उनीहरूसँग वाङ्देलको राम्रो मित्रता कायम भयो । उनले पेरिसमा निकै दुःख गरेर ‘इकोल दे बक्स आट्र्स’ मा चार वर्ष अध्ययन गरे । पेरिस पुगेर कलाको बारेमा अध्ययन र काम गर्ने उनी पहिलो नेपाली हुन् ।

सन् १९५६ मा उनी बेलायत फर्केर डीजे किमर नामक कम्पनीमा काम गर्न थाले । सोही कम्पनीमा उनले कलकत्ता छँदा पनि काम गरेका थिए । अनेकन् हन्डर खाँदाखाँदा उनी कलामा पारंगत भइसकेका थिए । सन् १९६१ मा उनको भेट नेपालका तत्कालीन राजा महेन्द्रसित बेलायतमै भयो । राजाको आग्रहले उनी नेपाल आए । महेन्द्रको अनुरोधमा उनी नेपाली कलाको पुनर्जागरणमा लागे । नेपाली कलालाई थप उचाइमा पुर्‍याउन उनी दिनरात कस्सिएर लागे । महेन्द्रको उदार व्यवहारले नेपाली कला र साहित्यलाई केही हदसम्म अगाडि लैजान सहयोग ग¥यो । त्यतिबेला लक्ष्मीप्रसाद देवकोटाको निधन भएकाले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य पद खाली थियो । सोही खाली पदमा उनी बसे । सन् १९६८ बाट १९६९ सम्म उनी अमेरिकाको डेनिसन युनिभर्सिटीमा प्रोफेसरको रूपमा नेपाली कलाको इतिहास पढाउन थाले । यसैगरी उनी प्रज्ञा प्रतिष्ठानको उपकुलपति पनि भए । प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य भएर नेपाली कला, भाषा र साहित्यमा योगदान पुर्‍याए ।

बाङ्देल स्पेनका कलाकार प्याब्लो पिकासोको चित्रकारिताबाट निकै प्रभावित थिए । पश्चिमी चित्रकारितालाई नेपाल भित्र्याउने पहिलो व्यक्ति पनि उनै हुन् । उनी चित्रमा नयाँ प्रयोग गर्न चाहन्थे । त्यसैले उनका चित्रहरू बढी अमूर्त खालका छन् । कलकत्ताका गल्लीहरूमा उनले देखेको गरिबी मनमा खिलजस्तै गढेको थियो । त्यसैले उनका चित्रमा मानिसका रोदन, क्रन्दन र पीडा देख्न सकिन्छ । मानव जीवनका पीडा, चीत्कार, कष्टलाई कलाका माध्यमबाट व्यक्त गर्न सक्ने बाङ्देलको कलाले उनी बाँचेको समय दर्शाउँछन् ।

चित्रकलामा बाङ्देलको भोक यति थियो कि दिनमा १६ घण्टासम्म चित्र कोरेर बस्थे । उनले २ हजारभन्दा बढी चित्र बनाए । उनका चित्रहरू अमेरिका, फ्रान्स, बेलायत, जापान, भारतजस्ता मुलुकमा प्रदर्शनीमा राखिएका थिए ।

कलासँगै उनको रुचि साहित्यमा पनि थियो । उनले पहिलो कृतिको रूपमा ‘विश्व कथा संग्रह’ निकाले । संग्रहमा उनले मोपासाँ, एड्गर एलन पो, लियो टल्स्यटय र एन्टोन चेखोबजस्ता चर्चित लेखकका कथालाई नेपालीमा अनुवाद गरेका थिए । उनले मूल भाषाको स्वाद जस्ताको त्यस्तै संग्रहमा अनुवाद गरेका छन् । ‘विश्वका ६ कलाकार’ नामक जीवनी लेखेर उनले नेपालीहरूलाई कलाप्रति आकृष्ट गर्ने प्रयत्न पनि गरे ।

साहित्यमा पनि उनी उत्तिकै जबर्जस्त रहे । ‘मुलुकबाहिर’ जस्तो उपन्यास लेखेर प्रवासी नेपालीको जीवनलाई छर्लंग पारिदिए । ‘लंगडाको साथी’ उपन्यासमा समाजको यथार्थलाई जस्ताको त्यस्तै उतारे । ‘माइतीघर’ उपन्यासमा हरि र सानीको प्रेम प्रसंग देखाउँदै प्रेमबारे नेपालीहरूको संकुचित सोचलाई उदांग पारिदिए । भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोर र प्रेमचन्दको लेखन शैलीबाट उनी निकै प्रभावित थिए । समाजको यथार्थमै रहेर उनी आफ्ना साहित्यिक रचनालाई फुलाउने र फलाउने काम गरे ।

‘स्टोलन इमेजेज अफ नेपाल’ नामक किताब लेखेर उनले चोरिएर विदेश लगिएका नेपालका मूर्ति नेपाल फिर्ता ल्याउन योगदान पुर्‍याए । यसैगरी ‘२५०० इयर्स अफ नेपलिज आर्ट’ र ‘अर्ली स्कल्पचर अफ नेपाल’ नामक पुस्तक पनि लेखे । यी तीनवटै पुस्तक अंग्रेजीमा लेखेर नेपाली कलाको बारेमा संसारभर चिनाउने काम गरे ।

बाङ्देलले कला र साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै वीरेन्द्र प्रज्ञालंकार, गोरखा दक्षिणबाहु, पृथ्वी प्रज्ञा, भूपालमानसिंह, उत्तमशान्ति र सरस्वती पुरस्कारबाट सम्मानित भएका छन् । नेपाली सम्मानका अतिरिक्त बेलायती ‘नाइट कमान्डर अफ रोयल भिक्टोरियन अर्डर’ बाट पनि विभूषित व्यक्तित्व हुन् उनी । नेपालीबाहेक हिन्दी, फ्रेन्च, अंग्रेजी, जर्मन र बंगाली भाषा पनि उनी मज्जाले बोल्न सक्थे ।

बाङ्देलले आफ्नो जीवन देशकै निम्ति लगाए । व्यक्तिगत स्वार्थमा उनी कहिल्यै रुमलिएनन् । जीवनभर अनेकन् अन्वेषण गरे । पुरातत्वविद् भई अनेक नेपाली संस्कृतिको उत्खनन् गरे । नेपाली कला, भाषा र साहित्यको क्षेत्रमा काम गर्दागर्दै सन् २००२ अक्टोबर १५ मा ८३ वर्षको उमेरमा उनले प्राण त्याग गरे । नेपाली कला, भाषा र साहित्यमा उनले पुर्‍याएको योगदान अविस्मरणीय छ । उनको भौतिक शरीर नरहे पनि नेपालीहरूको मनमा उनी सधैं बाँचिरहनेछन् ।

प्रस्तुतिः विकास मरासिनी
 

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १०:५७
प्रतिक्रिया दिनुहोस्