site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हत्तेव्यूह

– विवेक ओझा


त्योभन्दा पहिले प्रहरी चौकीमा पाइला राखेको थिइनँ । कहिल्यै कसैलाई मुद्दा गर्नुपर्ने स्थिति आएन । चौकीको हातामा हिँड्दै गर्दा वैशाखी लर्बराइरह्यो । मुटुको रफ्तार उक्लिँदै गयो । मूलढोकामा उभिएको जवानअगाडि अडिएँ ।

“केस गर्नु छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कसलाई ?”

“स्वयम्लाई ।”

जवान झस्कियो । अनुहार एवं शरीरभरि नजर डुलायो ।

“कुन अभियोग ?”

“अर्धहत्या । हाफ मर्डर ।”

लगत्तै मेरो कठालो समात्यो । खिच्दै लियो भित्रपट्टि । उसले तान्दै गर्दा मेरो वैशाखीको तालमेल बिग्रिरह्यो । मेरो ढलमल थाम्दै थानेदारअगाडि उभ्यायो । थानेदार बडो कष्टले पत्रिका हेर्दै थियो ।

जवानले कठालो छोड्यो र जोशका साथ सलुट हान्यो, “सर ! यो लंगडो आफैंलाई केस गर्न चाहन्छ । अर्धहत्या दाबी गर्दै छ ।”

शुरुमा थानेदारले मलाई राम्ररी नियाल्यो अनि फिस्स हाँस्यो, “कसको गरिस् अर्धहत्या ?”

“विजय सरको ।”

कर्तुतमाथि शंकामात्र गरेन, गिजोल्न भ्यायो, “साले मरन्च्याँसे । एक हात लुलो छ ... एक खुट्टा काम गर्दैन ... काम लाग्ने हातले वैशाखी समात्छस् । आँखा डेढो छ । दिमाग त ठीक छ ?” सेकेन्डभरमै थप्यो, “कि कसैलाई सुपारी दिइस् ?”

“होइन । एक्लै काफी भएँ । यस्तै शरीरको अहमले सरको शरीर निल्यो । खासमा म क्वार्टर हत्यामात्र गर्न चाहन्थें । अर्धहत्या हुन गयो ।”

थानेदारका आँखा तिर्मिराए । गहिरो सास लिँदै विजय सरलाई सम्झियो, “विजय मेरो पुरानो साथी हो । राम्रो कराँते खेल्थ्यो । ... उसको आत्महत्या पुष्टि भइसक्यो । तँ यहाँबाट गैहाल् ।”

“म इमान्दार अपराधी हुँ । आफ्नो भागको सजाय भोग्न तयार छु । मैले अपराध स्वीकार्नु थियो, स्वीकारें । बाँकी तपाईंको इच्छा ।”

उसको अनुहारको रंग दोधारमा अल्झियो । यद्यपि उसले मलाई सुन्न चाहेन, “सालेलाई घोक्र्याएर चौकीबाहिर मिल्काइदे ।”

जवानले फेरि मेरो कठालो खिच्यो । घोक्र्याउन थाल्यो । दैलोको साँधमा पुगेपछि पुनः थानेदारको आदेश आयो, “रोक् ।”

मैले पनि मुन्टो मोडें । थानेदारले मलाई अगाडिको कुर्सीमा बस्न इशारा गर्दै थियो । मेरो बकबक सुनिहालौं लागेछ । उसको मुडले कोल्टे फेरेछ । त्यसपछि पाहुनासरि सत्कार भयो । घोक्र्याउने जवानले नै चिया सर्भ ग¥यो । चियाको चुस्कीसँगै गफ शुरु भयो, “स्पष्टसँग सुना तेरो रामकहानी ।”

थानेदारले मेरो शरीरको खिल्ली उडाएको थियो । विस्तृत कर्तुत सुनाएर कायल पार्नु थियो उसलाई । अनि, शुरु गरें मेरो कर्तुतको गाथा—

“थानेदार साब् ! साधारण थियो शुरुवात । कुरूप अन्त्यको कल्पना थिएन । कोठा खोज्ने एजेन्टसँगै विजय सरको घर पुगेछु । कोठाको कुरा गर्न माथिल्लो तला उक्लियौं । त्यतिन्जेल हामीबीच मित्रता वा दुश्मनी केही थिएन । चिनजानसमेत थिएन ।

घरधनी एजेन्टको हात तान्दै अर्को कोठा पसे । उनीहरूको गोप्य कुरा छचल्किएर मसम्म पुग्यो, “अशक्तलाई कोठा दिन्नौं । यस्तो मान्छे नल्याउनू ।”

त्यो आवाजले मलाई चिथो¥यो । नसुनेजस्तो गर्न सक्थें । वास्ता नगरे पनि हुन्थ्यो । यद्यपि असह्य भयो । दूध भाँडोबाट उम्लिएर पोखिएजस्तै रिस दिमागी भाँडोबाट पोखियो । हलबाटै ठाडो स्वर चढाएँ, “के ज्वाइँ चाहिएको हो ? अपांगले तिरेको पैसा बजारमा चल्दैन ?”

लगत्तै उनीहरू हलमा आए । घरधनीले फकाउन खोजे, “सरी, सुनाउने धेय थिएन । नरिसाऊ । अन्यथा नसोच । एजेन्टले फेरि गल्ती नगरोस् भनेर हो ।”

“के अपांग इमान्दार हुँदैनन् ?”

“इमान्दारीको कुरा होइन ।”

“के हो त ?”

“....”

“म कारण नसुनेर जान्नँ ।”

मेरो अडानले उनी बोल्नै प¥यो, “मानौं, घरमा चोर पस्यो । आगो लाग्यो । भूकम्प आयो । त्योबेला तिमी आफैंलाई सुरक्षित राख्न सक्दैनौ । तिमीलाई नै सहयोग चाहिन्छ । मेरो घरमा बस्नेले कम्तीमा आफैंलाई सुरक्षित राख्न सकोस् ।”

त्यो कुरा मैले खित्कामै उडाएँ, “चोर तपाईंसँग कुस्ती खेल्न पस्दैन, आँखा छल्छ । आगोले मानिस चिन्दैन । भूकम्पमा भत्केको घरले कसलाई किच्दैन ? दुर्घटनाले जसलाई पनि शिकार बनाउन सक्छ ।”

उपेक्षा उनको अपेक्षा थिएन । मेरो कुराले झनै उनको जिब्रो कस्यो । शब्दको अभावमा एकैछिन हड्बडिए । हतारिँदै चुनौती दिए, “थोरै सही, बल चाहिन्छ । तिमीमा १० वर्षकी फुच्चीसँग लड्ने हिम्मत छ ?”

आफ्नी छोरी देखाए । हतारमा चिप्लिँदाको परिणाम थियो त्यो । मजस्तै करोडौं अपांगहरूको चुनौतीको विषय र उनको मुख बन्द गर्ने अवसर पनि ।

उनकी छोरी र म त्यही बैठक कोठामा लड्न तयार भयौं । मैले वैशाखीलाई अड्याउन नपाउँदै फुच्चीले टेक्ने खुट्टामै किक हानी । म पछारिएँ । शायद ऊ जुडो÷कराँते खेल्थी । घरधनीले छोरीलाई म्वाइँ खाए, “स्यावास् ।”

त्यो उनको जितको पल थियो र उनी खुशीले बर्बराए । तीर समान थिए शब्दहरू, “अब पत्याऊ, तिमी अपूर्ण छौ । सुतिरहेको दुश्मनलाई समेत प्रहार गर्न सक्दैनौ । आधा छौ तिमी, आधाभन्दा पनि कम छौ ।”

घस्रिँदै वैशाखी समाएँ । सम्पूर्ण तागत लगाई उठें । लज्जित हुँदै बाहिरिएँ । म बाहिरिँदै गर्दा उनको रक्तचाप अकासिँदै थियो, “मर्दकी छोरी हो आखिर ।”

मेरा आँखामा आँशु देखेर एजेन्टले गल्ती महसुस गर्‍यो, “लेक्चर मनुज् हर्कत गर्ला सम्झमा थेन । माफ गरिदिनुस् बाबु । मेरो कारन् तपैं बेइज्जत खायो । तपैंलाई सित्तै कोठा खोज्दिन्छु ।”

एजेन्टको कुरामा चासो दिइनँ । घरधनी र उनले पढाउने कलेजको नाम सोधें । एजेन्ट अक्मकायो, “यस्को बहुत् नाम छ । माँ कसम् यस्लाई ब्लडप्रेसर छ रे, आज् देखियो ।” आँखीभौं निधारतर्फ धकेल्यो, “विजय शर्मा, जो पनि चिन्छ । आदर्श कलेज अफ साइन्स यान्ड म्यानिजम्यान्टमा मास्टरी गर्छ ।”

त्यसपछि त्यही क्याम्पस पढ्ने निर्णय गरें ।

घट्टेकुलो चोकबाट केही मिटर पीपलबोटतर्फ मोडिएपछि कलेज पुगिन्थ्यो । कलेज पुगेपछि थाहा भयो— विजय सर चिफसमेत रहेछन् । मलाई देखेर केही हप्ताअघिको कुरा सम्झिए, “तिमी त्यही केटा ... ?”

“बिर्सिसकें । क्याम्पसको प्रिन्सिपलसँग पहिलो भेट हो ।”

“गुड बोइ । तिमीमा जोशचैं छ ।”

मनमनै गुनगुनाएँ, “जोश मात्र ?”

“के पढ्न चाहन्छौ ?”

“साइन्स ।”

“साइन्स गाह्रो छ । क्यान यु ?”

उनी फिजिक्स पढाउँछन्, थाहा थियो । त्यसैले साइन्स नै पढ्नु थियो । अञ्चल टपेको सर्टिफिकेटसहितको डकुमेन्ट्स दिएँ । उनी डकुमेन्ट हेर्दै थिए, मैले झिनो आशा पोखें, “छात्रवृत्तिको लागि भेट्न आएको । दुर्गम बस्तीको गरिब परिवारको केटो हुँ ।”

केहीबेर चुपचाप डकुमेन्ट हेरे र भने, “जेहेन्दार एवं अपांग भएकाले तिमी फुल–स्कलरसिप पाउँछौ ।”

पूर्ण छात्रवृत्ति खुशीको कुरा थियो । तर, त्यसमा अपांगता जोडिँदा दुःख लाग्यो । अञ्जानमै सही— मलाई फेरि उनले अपूर्ण बनाइदिए ।

त्यसको केही हप्तापछि कलेज शुरु भयो । व्यावसायिक कलेजको गति, ओहो ! शुरुकै दिन सिटको अभाव । साथीहरूले अर्को कोठाबाट डेक्स ल्याएर अगाडि थपे । त्यही बेन्चमा भित्तातिर बल्लतल्ल सिट पाएँ । विद्यार्थीको चापले हाम्रो सेक्सन अर्को कोठामा सर्ने कुरा थियो । बिस्तारै त्यो मत्थर हुँदै गयो ।

खैर, विजय सरको जटिल स्वभाव र दुश्मनीको बीजारोपण सुनाउँछु । उनी अन्य शिक्षकभन्दा निकै भिन्न थिए । प्रसंगबाहिरको कुरा गर्दा कक्षाबाट निकाल्नु, नोट नटिप्दा अपमान गर्नु, सन्की हुनु, शीघ्र प्रतिक्रिया जनाउनु आदि उनका गुण–अवगुण थिए । उनको कक्षा निकै शान्त हुन्थ्यो । तिनै गुण–अवगुणको जगमा ठडियो हाम्रो मनमुटावको महल ।

पढाइ शुरु भएको केही हप्तामै विजय सरको आँखामा म गलत तरिकाले परें । त्योदिन सेतोपाटीभरि नोट थियो । विजय सर मुस्कुराउँदै मेरो नजिक आए । मेरो नोटबुक हेरे । मैले दुई–तीन शब्दमात्र टिपेको थिएँ । उनको हँसिलो अनुहार झ्याप्प अँध्यारियो, बल्ब निभेजस्तै । बोलीमा झोक थपियो, “गधा ! मनोमानी गर्ने ?”

“सर ...,” सुन्न चाहेनन् मलाई, एक्कासि झापड हाने ।

“चुप् ! एक शब्द नबोल् । मुखमुखै लाग्छस् ? बाहिर निस्किहाल् ।”

आवाज गलामै रोकियो । म बाहिरिएँ । थप कटाक्ष मसँगै बाहिरियो, “राम्रो अंक ल्याएको अपांग भनी छात्रवृत्ति दिएँ । मनपरी गर्ने ?”

त्योदिन रोपिएको थियो मनमुटाबको बीउ ।

पछिल्लो दिन कोचाकोच बाबजुद अन्तिम बेन्चमा सरें । अन्तिममा बस्नु नै उपयुक्त थियो । विजय सर कक्षामा पस्नेबित्तिकै मेरो पुरानो सिटमा हेरे । त्यो कुनो खाली थियो । उनले कक्षाभरि नजर डुलाए । मलाई देख्नासाथ गर्जिहाले, “तँ हिजो काँ थिस् ?”

“त्याँ,” चोर औंलाले देखाएँ ।

“मलाई छल्न पछाडि जाने ? खुरुक्क आफ्नो सिटमा बस् ।”

मानौं म कुनै एटमको न्युट्रोन हुँ, जसले न्युक्लियसबाट स्थान बदल्न पाउँदैन । तर, मान्छेको जीवन इलेक्ट्रोनजस्तो हुनुपर्छ । गतिशील, ऊर्जाशील । विजय सरको आदेशले मलाई पुरानै सिटमा धकेल्यो । न्युक्लियसजस्तै बनाइदियो ।

त्योदिन पनि मेरो कपीमा सधैंझैं दुई–चार बांगा शब्दहरू कोरिए । उनको नजरमा परिसकेको थिएँ । त्यसैले मेरो कपी हेर्न म टाँसिएको भित्तासम्मै आए । उस्तै ताल देखेर फेरि मुर्मुरिए । अघिल्लो दिनको नोटबाट केही प्रश्नहरू सोधे । ती तमाम प्रश्नहरूको फटाफट सही जवाफ फर्काएँ । क्याम्पसभरि उत्कृष्ट हुने गरी मेहनत गर्दै थिएँ । विजय सरलाई सुनाउनु जो थियो, “सर ! तपाईंको अपूर्ण केटाले कलेजका सयौं पूर्ण विद्यार्थीहरूलाई प्रथम हुन दिएन ।” त्यो मेरो शुरुदेखिकै योजना थियो ।

तर, मेरो सही उत्तरले उनको अहममा धक्का पुगेछ । उनको अनुहारको रंग बदलियो । मैले स्पष्ट पार्न चाहें, “सर...!”

अघिल्लो दिनझैं बीचमै रोके, “चुप् । चुप् लाग् । ट्यालेन्ट भन्दैमा मनपरी गर्न पाउँदैनस् । तँ नबोल् । उभिराख् । विद्यार्थीको बहानासँग दशकौंदेखि परिचित छु ।”

अनेक भावहरू मनमा जुर्मुराए तर उनको सामु राख्ने हिम्मत थिएन । त्यो दिन पूरै पिरियडभरि बस्ने अनुमति पाइनँ । वैशाखीको चापले कोखी र कुम गले । खुट्टाको बल सकियो । यद्यपि उभिइरहें । त्यो बाध्यता थियो ।

पछिल्लो दिन फेरि कक्षाबाट निकालिएँ । उनी मसँगै बाहिरिए । ठाने— मेरो समस्या सुन्नेछन् । तर, आफ्नो कुरा लाद्ने उद्देश्य रहेछ, “बा–आमाले संस्कार पनि आधै दिएछन् । उनीहरू पनि ...।”

त्यसपछि हो— ममा बदलाको भावना जन्मिएको । बा–आमालाई घिसार्दा मलाई सह्य भएन । त्यसपछि नै नोट नसार्नुको कारण लुकाइराख्ने संकल्प गरें । सोधे पनि मलाई भन्नु थिएन केही । धैर्यको स्टेसनबाट मेरो धैर्यको गाडी छुटिसकेको थियो । अनि शुरु भयो नोट र सजायको टकराव । चल्दै गयो एउटै सिलसिला ।

कस्तो भयो भने, मेरो कपीको हालत उनलाई पहिलै अनुमान हुन्थ्यो । उनी नयाँ सजाय दिने तयारीमा आउँथे । वैशाखीसहित बेन्चमा उभिनु, ग्राउन्डको फोहोर उठाउनु, कहिल्यै औंलाहरूबीच कलमले पेलिनु आदि मेरा सजाय थिए । म पनि सजाय स्वीकार्ने लाचारी मनोभावमा आउँथें । शुरु भइसकेको थियो अहम्को युद्ध । उनी सजाय दिएरै मलाई सुधार्ने पक्षमा थिए । तर, सजायले उनले चाहेअनुसार असर गरेन ।

उनका नकारात्मक सम्बोधन र व्यवहारले ममा पीडा भरिँदै गयो । घुमाइफिराई उनी धारिला वचनहरू सुनाइरहन्थे । त्यसले उनीबारे बचेका सकारात्मक सोचहरू काटिँदै जान्थे । सधैं घृणा । व्यंग्य । अपांगतामाथिको मजाक । सामथ्र्यमाथिको प्रश्न । यी कुराले मलाई विक्षिप्त पार्दै थिए । ममा उत्पन्न आवेगले निकै क्रूर बनाउँदै थियो । प्रतिशोध त्यहाँसम्म पुग्यो कि म उनकै अगाडि उभिई उनको दायाँ छातीमा निरन्तर छुरी हान्न चाहन्थें । कयौं प्रहार । देखाउन चाहन्थें सामथ्र्य । उनको हत्या ? अहँ ! योजनै थिएन । उनी मरिहाले मैले प्रदर्शन गरेको सामथ्र्यको मूल्य हुन्नथ्यो ।

त्यो जोशको तरंगले एकसाँझ बानेश्वरको स्ट्रिट मार्केट पुर्‍यायो । त्यहाँ धारिलो तीखो छुरा किनें । लागें उनको घर बत्तीसपुतलीतर्फ ।

कालो छालाको जुत्ता र पातलो हुक लगाएको थिएँ । त्यो समय हल्का पानी पर्दै थियो । उनको घर पुग्दासम्म सडकछेउका ल्याम्पपोस्ट बलिसकेका थिए । घरको पर्खालबाहिर उभिएँ । चिहाएँ भित्रपट्टि । उनी बैठक कोठामा छोरीसँग खेल्दै थिए । म गेटनेर कुरिरहें । कामना गरिरहें— बाहिर उनको काम परोस् । तर, लामै समयसम्म उनी बाहिरिएनन् । म भित्र पसौं÷नपसौं मनोभावमा अल्झिरहें । शायद ममा आँट थिएन । पर्खाइलाई बिट मार्दै फर्किएँ । स्वीकारें— म प्रत्यक्ष आक्रमण गर्न सक्दिनँ । मेरो अस्त्र मानसिकता हुनुपर्छ । के मौनताले छुराको काम गर्न सक्छ ?

रातभर निद्राले छोएन । मसँगै सोचहरू कोल्टे, घोप्टो, च्याप्टो परिरहे । बिहानतिर चिया पिउँदै गर्दा युक्ति आयो । र, शुरु भयो माथिल्लो चाल । मौनताको चाल ।

पहिलो रणनीति थियो— उनले महत्वपूर्ण सोचेका कुराको गला काट्नु, एउटै अक्षर नटिप्नु । त्यो लगभग मेरो दैनिकी थियो । दोस्रो रणनीति थियो— उनको सजायसँग खेल्नु, बच्चाले खेलौना खेलेजस्तै । अन्ततः टिपोट नटिपेर उनको ध्यानमा मुक्का हान्न थालें । त्यसैगरी प्रत्येक दिनका सजायसँग खेल्न थालें । कहिले निर्धक्क देखिनु, खुशी देखिनु— मानौं सजाय साधारण छ । कहिले बिरक्तिनु, नाजुक देखिनु— मानौं सजाय भयंकर भारी छ । कहिले रिसाएको बिरालोजस्तो या भिजेको निरीह मुसोजस्तो देखिनु मेरा चाल थिए । म चाहन्थें— बहुरूपी संवेगहरूले उनलाई बाँधिराखून् ।

उनी साँच्चिकै डिस्टर्ब हुन थाले । डिस्टर्बकै अनुपातमा घोचघाच उकालो उक्लिँदै थियो, “दिमाग पनि आधै छ तेरो ? भनेको किन मान्दैनस् ? भोलिदेखि नोट सारिनस् भने तँ यो कलेजमा छैनस् ।”

नियमित वचन र सजायसँग खेल्दाखेल्दै मेरो इख सारिँदै थियो । थाहै नपाई इखले सीमा नाघेर दुश्मनीमा बदलिएछ । पटक–पटक छोरीले पछारेको कुरा नसुनाएको भए, मेरो शरीरमाथि सधैंजसो नहाँसेको भए, छात्रवृत्ति खोस्ने र स्कुलबाट निकाल्ने धम्की नदिएको भए, रुखो व्यहोरा नदेखाएको भए, उनले शिक्षक हुनुको अन्तर्य नबिर्सेको भए कस्सम— म उनलाई दुश्मनको दर्जामा राख्ने थिइनँ । उनको व्यवहारले यति आजित पाथ्र्यो कि कक्षामै झम्टिन मन लाग्थ्यो, बेलाबेला । तर, एउटा कुरामा ढुक्क थिएँ— जति मलाई थिच्नेछन्, त्यहीअनुरूप उनी हुत्तिनेछन् । न्युटनको तेस्रो नियम पनि यही भन्छ । म उचित समयको पर्खाइमा थिएँ ।

त्रैमासिक परीक्षापश्चात् पनि टकराव रोकिएन । बरु, नयाँ मोड लियो । पिउनमार्फत अमर सरले मलाई अफिसमा बोलाए । अफिस पुगेपछि थाहा भयो— मलाई रेस्टिगेट गर्ने÷नगर्नेबारे छलफल चल्दै रहेछ । फाउन्डरसहित अन्य शिक्षकहरू राउन्ड टेबलमा थिए । शायद, हाम्रो दुश्मनीको मध्यान्तर समय थियो त्यो ।

टोपेन्द्र सर— विजय जी ! तपाईंको नोट नसार्दैमा रेस्टिकेट गर्नु मुर्खता हुनेछ ।

विजय सर— त्यसोभए मैले नोट नदिँदा भैगो त ।

टोपेन्द्र सर— एक्जाममा सबैभन्दा धेरै नम्बर तपाईंंकै विषयमा छ । क्याम्पसको रेकर्ड तोड्ने संकेत छ उसमा । यहाँ सुन्छ होला, घरमा पढ्छ होला ।

बम सर— सबैको आफ्नै तरिका हुन्छ । टिपोट सार्न तपाईंले नै प्रेरित गर्नुपर्‍यो ।

नारायण सर— तपाईंले केही टर्चर गरेर हो कि ? बच्चालाई त माया चाहिन्छ ।

पलमै फाउन्डरले मलाई देखे, “अरे, यहाँ किन ? कसले बोलायो ? गो टु क्लासरुम ।”

म लुसुक्क निस्किएँ तर ढोकाबाहिरै अडिएँ । फाउन्डरको मोटो आवाज बाहिरसम्मै फैलियो, “विजयजी, नोट नसार्नुजस्तो सानो कुरा कक्षामा सल्भ गर्नुस् । फेरि स्टुडेन्ट टपर रै’छ । केही कुरा नदेखेजस्तो पनि गर्नुपर्छ । सिचुएसन बुझ्नुपर्छ । तपाईंको प्रेसर हाई छ । त्यसको असर बच्चामा नपरोस् ।”

विजय सर— कम्तीमा अनुशासन सिकोस् भनेर... ।

टोपेन्द्र सर— मेरो कक्षामा सबैभन्दा अनुशासित ऊ नै छ । गाउँको केटो । राम्ररी बोल्न त जान्दैन । कसैले जोरले रिसाए रोई पो हाल्छ । रेस्टिकेट हास्यास्पद हुन्छ ।

अन्य शिक्षकहरूले त्यो कुरामा सहमति जनाए, “हो, हो ।”

त्यसपछि फाउन्डरको आवाज सुन्नलायक थियो, “विजयजी, तपाईंसँग मात्र बच्चाको प्रब्लम देखियो । तपाईंमाथि नै शंका उठ्छ । विद्यार्थीमाथि गलत व्यवहार गर्नुभएको त छैन नि ? सबैलाई एकैनासले बुझ्नु हुँदैन । तपाईंलाई प्रिन्सिपल बनाएको कारण यही हो ?”

पहिलो प्रहार सफल भएको थियो । त्यहाँ अडिरहनु आवश्यक थिएन । मैले त्यो अवस्था पहिल्यै अनुमान गरेको थिएँ । अझ भनौं— त्यो मैले नै रचेको थिएँ, माकुराले जाल रचेझैं । सोझै थिएँ तर अन्य शिक्षकसँग एक्स्ट्रा सोझो बन्नु, अन्य कक्षामा पछाडि बसेर स्वतन्त्र महसुस गर्दै नोट टिप्नु, क्याम्पस टप्ने गरी मेहनत गर्नु । सबै योजनाको नक्सांन थियो । विजय सर त्यही जालमा फसे ।

विजय सरमा प्रतिशोधको भावना घटेन । घृणा र तिरस्कार झनै चुलियो । मेरो पनि त्यत्तिमै चित्त बुझेन । सुनामी अस्थिर भएर दौडिँदै थियो छातीमा । हिले माटो थिएँ, निरन्तर थिचिँदा–थिचिँदै साह्रो भइसकेको रहेछु । पत्थर भइसकेको रहेछु । एकान्तमा होस् वा क्याम्पसको हाताबाहिर— घोच्न कुनै कसुर छोड्थेनन् उनी । मेरो नाम पोलियोप्रसाद नै राखिदिए । कहिले मालिक, स्वामी, देउता भन्दै व्यंग्य गर्थे । कहिले मलाई उभ्याएर गाई निबन्ध वाचन गर्थे, “सागरजीको... ।” उनको बढ्दो आक्रामकताले मन दुख्थ्यो तर त्यो योजनाअनुरूप नै थियो । यद्यपि, त्यसले थप कठोर बनाउँदै लग्यो । पत्थरभन्दा कठोर । मानसपटलमा दोहोरिएर गुञ्जिरहने उनको कर्कश आवाजले मलाई हृदयविहीन बनाइसकेको रहेछ, “तिमी आधा छौ । तिम्रा बा–आमा पनि.....।”

उनले शिक्षकको मर्यादा हराइसकेका थिए । मैले उनीप्रतिको दया हराइसकेको थिएँ ।

सजायको पुनरावृत्तिमा थुप्रै समय बित्यो । शायद उनी दिक्क भइसकेका थिए । एकदिन बिल्कुलै नौलो उपाय ल्याए । त्यसैले कक्षामा पस्दा फुरुंग देखिन्थे । उत्साहित हुँदै शुरुमै मलाई अगाडि बोलाए । म संकोच मान्दै अगाडि गएँ ।

“सागरजीले नोट टिप्नुहुन्न । उहाँ यो नोट सेतोपाटीमा लेख्नुहुन्छ । म उहा“को कपीमा टिप्दिन्छु । टपरलाई यत्ति गर्नै पर्‍यो ।”

व्यंग्यात्मक लवजसाथ आफ्नो डायरी मलाई थमाए । त्यो मेरो अनुमानमा थिएन तर जो हुँदैथ्यो । मैले फिँजाएको जालको क्लाइमेक्स कल्पेर मुस्कुराएँ मनमनै । सेतोपाटीमा नोट भर्दै गर्दा अनुहारमा ग्रहण लागेजस्तो बनाएँ । मनमा जून उदाइसकेको थियो ।

मेरो सिटमा उनी शानसँग बसे । एकछिनमै घाँटी तन्काउन थाले । घरि उठ्न थाले, घरि छेउको केटाको कपीमा घोत्लिन्थे । उनमा छट्पटाहट रफ्तारमा भरिँदै थियो, धारोमा गिलास भरिएजस्तै । मैले तीनपटक नोट टिपाइसक्दा उनले दुई–चार शब्दबाहेक सार्न सकेका थिएनन्, ढुक्क थिएँ । छेउको साथीले नबुझिने गरी पाना भर्छ भन्ने पक्कै जाने । सबैभन्दा गुह्य रहस्य— सेतोपाटीको गुण बुझे उनले । मैले नोट टिप्न नसक्नुको कारण थाहा पाए । के थियो भने, ढोकाबाट तीखो उज्यालो पस्थ्यो । सेतोपाटीमा ठोक्किन्थ्यो र सेतोपाटी टलक्क टल्किन्थ्यो । अनि, अक्षरहरू देखिँदैनथे । त्यो संयोगको कोण मेरो सिटबाट उपयुक्त गरी बन्थ्यो । अनि, छेउमा बस्थ्यो नबुझ्ने गरी फटाफट पाना भर्ने साथी ।

मजा त तब आयो, जब सरको आँखामा डरको छाया नाच्यो । जब अनुहारभरि शरमका धर्साहरू कोरिए । क्लास सकिएसँगै उनले हात तान्दै मलाई बाहिर लगे । मैले शीर निहुराइरहें । मानौं, मलाई केही थाहा छैन । मानौं, मैले गल्ती गरेको छु । नौनीजस्तो नरम देखावटीको भावुकता पोखें, “के गल्ती भयो सर ? मलाई बाहिर ल्याई सजाय नदिनुहोस् । कक्षाभित्र त बानी परिसक्यो । प्लिज सर ।”

“सेतोपाटी टल्किने कुरा किन नभनेको ?”

“भन्न खोज्दा सुन्न चाहनुभएन । न कहिल्यै मायाले सोध्नुभयो । तपाईंले रिसाएर बोल्दा यत्तिकै सातो जान्छ । बोल्न सक्दिनँ ।”

रुँदै आग्रह पोखें, “सर, मलाई रेस्टिकेट नगर्नू, प्लिज । बूढा बा–आमाको म एक्लो सहारा हुँ । बुझिसकें, म आधै छु । शायद, आधाभन्दा कम छु । बा–आमाको आधा सपना पूरा गर्न पाए धन्य हुन्थें ।”

वैशाखीलाई कोखीमा च्यापें । सद्दे हातले लुलो हात उठाउँदै जोडें । नाटकीय छनक पाउन सम्भव थिएन । मेरो आँशुले उनमा विरक्त थप्यो । हतासिँदै उनी क्याम्पसबाट बाहिरिए ।

जति उनमा खिन्नता भरियो, त्यति नै सन्तोष भरियो ममा । त्यो दिन प्रफुल्लित हुँदै डेरा फर्किएँ । खुशीका भावहरू भित्रिरहे दिनभर । रातमा समेत निद्रा लागेन । दुःखमा मात्र होइन, सुखमा समेत निद्रा हराउँदो रहेछ । त्यसपछि क्याम्पस जान छोडिदिएँ । दिनभर क्राइम फिक्सन मुभीहरू हेर्दै दिन बिताउन थालें । त्यो त मेरो समय काट्ने सधैंको बहानामात्र थियो । खासमा म विजय सरलाई पर्खिरहेको थिएँ । उनी मेरो डेरा खोज्दै आउने कुरामा विश्वस्त थिएँ ।

उनको उपहासले पोखिएको मेरो अमनको अनुभूति होओस् उनलाई । त्यही अनुभूतिले उनको हृदयको अमन बिथोलोस् । बराबर । ठीक उनले नै पढाएको आर्किमिडिज सिद्धान्तजस्तै । अथवा, उनको गह्रुंगो व्यहोरालाई हुत्याउन म उत्तोलकको फल्क्रमबाट टाढा सरेझैं भएँ । र, गह्रुंगो अहमविरुद्ध थोरै शक्ति खर्चिने प्रयासमा थिएँ ।

उनी आउने–नआउने निश्चित थिएन । झ्यालमा अडिएर कफी पिउँदै गर्दा प...र बाटोमा प्रतिक्षित दृश्य देखियो । मेरो साथी नरेन्द्र विजय सरलाई मेरो डेरातर्फ डोर्‍याउँदै थियो । नवौं दिन थाहा भयो— योजनाको नक्सांकन सही रहेछ । विजय सरको अहमको शिकारमा फिँजाउन बाँकी जाल फिँजाउन शुरु गरें । त्यही दिनलाई भनी राखेको उनको फोटो बा–आमाको फोटोछेउ चप्काएँ । त्यसमा अबीर लगाएँ । त्यो दिनकै लागि लेखेको मोटो डायरी टेबुलमा राखें । ढुक्क हुन फेरि चिहाएँ झ्यालबाट । उनीहरू गेटभित्र पस्दै थिए । कोठाको ढोका उघारेर म बाथरुम पसें । धारो खोलें । लागोस्— म नुहाइरहेको छु ।

धाराको आवाजले उनीहरू आए÷नआएको चाल पाइएन । आधा घण्टापछि निस्किँदा कोठामा कोही थिएन । डायरी लगभग बीचबाट खुल्ला फैलिएको थियो । डायरीको बायाँ पानामा एक थोपा तरल पदार्थ थियो । त्यो देखेर उनीहरू आएको प्रष्ट भयो । चोर औंलाले पानाको थोपा छोएँ । चाखें । नुनिलो थियो । शायद विजय सरको आँशुको थोपा थियो त्यो । त्यो पानाका अक्षरहरू पढें—

फेरि बा–आमालाई चिन्ता नलिनू भनें । यहाँ पनि मेरो भलाइका लागि सोच्ने मान्छे पाएको छु । विजय सर हुँदाहुँदै मलाई अभिभावकको कमी छैन । शिक्षक र बा–आमाको गाली त प्रसाद हो । त्यसले झनै तीखो बनाउँछ ।

म उनको फोटोलाई समेत पूजा गर्छु । उनले गर्दा नै आखिर मैले खुब मेहनत गरें । क्याम्पस टपें । साथीहरू भन्छन्— विजय सरले तँलाई दुश्मन ठान्छन् । तर, म उहाँलाई देउता ठान्छु । मैले विद्यार्थी हुनुको अर्थ बिर्सिनु हुँदैन । दृष्टि खुम्च्याउन हुँदैन । हरेक मान्छेभित्र कोमल मन पनि हुन्छ । बस्, विजय सरले त्यो नदेखाएका हुन् । तर, उनी गलत छैनन् । सबै विद्यार्थीलाई छोराजस्तै ठान्छन् । जे गरे, मलाई सुधार्न गरे । अपांग भएकोले होला— मलाई थप माया गर्छन् । मेरो थप ख्याल राख्छन् ।

– सागर !

उनले त्योअगाडिका पानासमेत पढेको अनुमान गरें, जसमा उनको घृणा र तिरस्कारलाई सकारात्मक व्याख्या गरेको थिएँ, जसमा उनलाई प्रेरणाको स्रोत देखाएको थिएँ । खैर, उनको अहमहीन अनुहार हेर्न हतार भइसकेको थियो ।

भोलिपल्ट उत्सुक हुँदै क्याम्पस पुगें । त्यहाँ अकल्पनीय घटना घटेको रहेछ । वातावरण अस्तव्यस्त थियो । मेरो कक्षाअगाडि खचाखच भीड थियो । भीड पन्छाउन खोजें । सकिनँ । भित्रबाट निस्किएको विद्यार्थीलाई सोधें, “केको भीड हो ?”

“विजय सरको शरीर सिलिङमा झुन्डिएको छ । पुलिस पुगिसक्यो ।”

ममा एकाएक बिजुली सञ्चार भयो । हतासिँदै ठेलिँदै भीड छिचोलें । कक्षाको ढोकानेर पुग्दा प्रहरी उनी झुन्डिएको डोरी काट्दै थिए । मैले आफू बस्ने बेन्चतर्फ हेरें । बेन्च जलेको थियो । बेन्चमा आगो लगाई आत्महत्या गरेको अनुमान गरें । तर, त्यो बेला कानमा विजय सरको स्वर गुञ्जिदै थियो, “तिमी सुतिरहेको दुश्मनलाई समेत प्रहार गर्न सक्दैनौ । तिमी आधा छौ, आधा ।”

मैले सकभर मनका नकारात्मक भावहरू रोक्न खोजें । सकभर पछुताउने प्रयास गरें । तर, मन कताकता मुस्कुराइरह्यो । आफ्नै तागतले फुलें कताकता । उनको मृत्युको दया नलागेको होइन तर रुने कोसिस गर्दासमेत आँसु आएन । लामो समयसम्म ऐनाअगाडि मुस्कुराउँदै उभिइरहें । बरु, आफ्नै कोठा थर्किने गरी खित्का छोडें, “हा..हा...हा...!”

टेबुलमा फैलिएको डायरीको अन्तिम पाना पल्टाएँ । लेखिएको थियो, “मौनताले छुरीको कर्म निभाउन सक्छ ।”

त्यसको मुन्तिर ‘प्रुभ्ड’ लेखें । सिग्नेचर गरें ।

उनले पढाउन त वर्षौं भौतिकशास्त्र पढाए । प्रकाशको परावर्तित नियमले उनलाई झुक्यायो । गन्जागोल फर्मुलाहरू प्रमाणित गरे उनले । तर, न्युटनको तेस्रो नियमकै ख्याल राखेनन् । ममाथि थोपरेको घृणाको बराबर र विपरीत प्रतिक्रिया अनुमान गर्नुपथ्र्यो । ममा बाँध लगाइरहँदा फैलिँदै गरेको सम्भावित ऊर्जा आँकलन गर्नुपथ्र्यो । त्यो गति ऊर्जामा बदलिँदा आखिर उनको जीवन नै बग्यो ।

विजय सरले आत्महत्या गर्दाको रात मेरो मोबाइलमा लामो म्यासेज आएको थियो तर त्यसको अर्थ लगाउन सकेको रहेनछु—

“म हजार टुक्रामा टुक्रिएको छु । मानौं, म चुम्बक हुँ । टुक्रिएकै ठाउँमा जोडिन सम्भव छैन । चुम्बकका टुक्रिएका धारहरू जोडिन नमानेर टाढा हुत्तिएजस्तै मनका टुक्राहरू हुत्तिरहेछन् । म जोडिए पनि पुरानो स्वरूपमा रहनेछैन । ‘म’ हराउनेछु । बढी भोल्टेज हुँदा सर्किट जलेजस्तै नकारात्मक सोचको हाइ–भोल्टेजले मन जलिरहेछ । ३० वर्ष पढाएँ । विज्ञानका सिद्धान्तलाई जीवनका सिद्धान्तसँग समानान्तर हिँडाउन कञ्जुस्याइँ गरेछु । ३० वर्षदेखिको तुवाँलो खुल्यो । यो छर्लंग उज्यालोमा आफ्नो राक्षसी छाया देख्दै छु । मबाट आराम, चैन र आफूमाथिको गर्व हराइसक्यो । आफ्नै नजरमा गिरेको मान्छे कहाँ लुक्ने ? भौतिक ऐना त फुटाउँला, मनको ऐना कसरी फुटाउने ? तिमीलाई सुनाएका घृणित शब्दहरू हतियारमा बदलिएर मैतर्फ फर्किएका छन् । तिमीले चुपचाप मेरो मानसिकताको गला रेटिदियौ ।”

आजभोलि क्याम्पस जान मन लाग्दैन । खुशीभन्दा पश्चातापले थिचेको छ । उनको मृत्युले गम्भीर भएको छु । थोरै टल्किने बेन्चलाई मैले धेरै टल्किने कोणमा राख्नु हुन्नथ्यो । आफूलाई प्रमाणित गर्न उनको जीवनलाई प्रयोगशाला बनाउन हुन्नथ्यो । उनको मानसिकताको शिकार गर्न बनाएको नक्सा हत्तेव्यूह बनेछ, जहाँ उनी पूरापूर शिकार बने । थानेदार साब्, मबाट मानसिक हत्या भएकै हो । म आधा सजाय चाहन्छु ।”

पूरै कहानी सुनाइसक्दा थानेदारले चियाको गिलास रित्याएको थिएन । उसले दिक्कसमेत मानेन । मेरो कुरामा डुबिसकेको रहेछ । मैले दोहो¥याएँ, “साऽऽब्, शारीरिक हत्याको जिम्मा म लिन्नँ । उहाँको अर्ध–आत्महत्याको रिपोर्ट बनाउनुहोस् । पुरानो रिपोट च्यातिदिनुस् । बाँकी अर्धहत्या मेरो नाममा गरिदिनुहोस् ...!”

थानेदारको अनुहार बोल्न खोजिरहेको थियो । गलामा शब्द अड्किएको झैं देखिन्थ्यो ।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १०:०४
प्रतिक्रिया दिनुहोस्