site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मलाई विवाहमा विश्वासै छैन

– सलमान खान


डेढ साताअघि सलमान खानको बहुप्रतीक्षित फिल्म ‘भारत’ प्रदर्शनमा आयो । यसले मिश्रितखाले प्रतिक्रिया पायो । सलमान खानका प्रशंसकहरूलाई यो फिल्मले पहिलेजत्तिकै तान्यो । समीक्षकहरूले भने कमजोर भनेर लेखे । फिल्म अहिले पनि हलहरूमा चलिरहेको छ ।

बलिउडमा तीन दशक बिताएका सलमानको जीवनमा कतिखेर के ‘ट्वीस्ट’ आउँछ, कसैले अनुमान गर्न सक्दैन । उनी कहिले प्रेमका कारण, कहिले सडक दुर्घटना त कहिले जंगली जनावर शिकारका कारण चर्चामा आइरहन्छन् । उमेरले पाँच दशक नाघेका यी सुपरस्टारले सधैं खेप्ने प्रश्न भने विवाहकै हो । उनलाई हरेक अन्तर्वार्तामा सोधिने मूल प्रश्न यही हुन्छ । ‘नवभारत टाइम्स’को यो अन्तर्वार्ता पनि त्यसबाट अछुतो छैन । यो संवादमा सलमानले आफ्नो फिल्मी रुचि, स्टारडम, साथी, परिवार र व्यक्तिगत जीवनबारे बताएका छन्—

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तपाईंले फिल्म क्षेत्रमा तीन दशक बिताइसक्नुभएको छ र दर्शकसँग पनि बलियो सम्बन्ध बनाउनुभएको छ । तपाईंलाई अक्सर ‘मास इन्टरटेनर’ भन्ने ट्याग दिइन्छ । तपाईं आफूचाहिँ कस्ता फिल्म हेर्न रुचाउनुहुन्छ ?

मलाई मनोरञ्जनपूर्ण फिल्म मन पर्छन्, जसमा संवेदना हुन्छ । जब हामी हलबाट बाहिर निस्किन्छौं, तब पर्दाको त्यो कलाकारजस्तै बन्न मन होओस्, उसलाई फलो गर्ने र ऊजस्तै देखिने चाहना पलाओस् । आफ्नो व्यक्तित्वलाई नै बदल्न प्रेरित गरोस्, चाहे त्यो सानो अंशमा मात्रै किन नहोस् । फिल्म यस्तो होऊन्, जसलाई हेरेर हामी अझ राम्रो मान्छे बन्न प्रेरणा मिलोस् ।

धेरैजसो मानिस तपाईं आफ्नै ‘कम्फर्ट जोन’मा बस्नुहुन्छ र अधिकाधिक परिवार र साथीहरूसँग काम गर्नुहुन्छ भन्छन् । किन त्यस्तो ?

तपाईं चाहनुहुन्छ कि म दुश्मनसँग काम गरूँ ? सबैभन्दा पहिलो कुरा के भने मेरा कोही दुश्मन छैनन् (हाँस्दै) । मेरो हातमा राम्रो स्क्रिप्ट (पटकथा) आयो भने मैले त्यसमा आफूलाई सुम्पिदिन्छु । यदि मेरा साथीहरूले राम्रो स्क्रिप्ट दिन्छन् भने मैले कसरी अस्वीकार गरूँ ? म पटकथा लेखकको छोरा हुँ र राम्रो पटकथा सधैं मेरो पहिलो प्राथमिकता हो । मलाई पटकथा पढ्दा यस्तो भावना जागोस् कि भोलिबाटै शुटिङ शुरु गरिहालूँ । मैले जति पनि फिल्म चुनेको छु, फ्लोरमा आउनेबित्तिकै शुरु भएका छन् ।

केही समयअघि तपाईंले पत्रकार सम्मेलनमा भन्नुभएको थियो कि ‘भारत’ फिल्म कम बुद्धिजीवी र समीक्षकका लागि होइन । जबकि ‘बजरंगी भाइजान’ र ‘सुल्तान’जस्ता फिल्मलाई समीक्षकले धेरै नै प्रशंसा गरेका थिए । तपाईंले ‘भारत’को सवालमा किन त्यस्तो भन्नुभयो ?

यहाँ मेरोमात्र कुरा होइन । मैले बाँकी मान्छे र फिल्म उद्योगलाई लिएर बोलेको हुँ । मेरो फिल्मलाई एक, दुई या पाँच वटा तारा (रेटिङ) दिइनुले मलाई फरक पर्दैन । तर, यदि तपाईं फिल्मको चिरफार गर्नुहुन्छ भने दर्शक त त्यसबाट प्रभावित हुन्छन् तर निर्मातालाई क्षति पुग्छ । १० प्रतिशत दर्शकलाई पनि समीक्षाले प्रभाव पा¥यो भने त्यो क्षति हो । मान्छेहरूले एउटा फिल्ममा सय–डेढ सय दिनसम्म कडा मेहनत गरेका हुन्छन् । त्यसैले म भन्छु— फिल्म हेरेर त्यसको मूल्यांकन गर्ने जिम्मा दर्शकलाई नै छाडिदिनुपर्छ । फिल्म मन परे पनि नपरे पनि, फैसला उनीहरूले गरून्, समीक्षकले होइन ।

तीन दशकभन्दा बढीको करिअरमा तपाईंका धेरैजसो फिल्मले सफलता नपाए पनि तपाईंलाई जबर्जस्त स्टारडम दिएका छन् । यसको खास कारण के हो ?

मेरो काम दर्शकलाई मनोरञ्जन दिनु हो, खुशी दिनु हो र उनीहरूलाई प्रेरित गर्नु हो । जब आफ्ना फ्यानले मनोरञ्जन लिएको देख्छौं र उनीहरूबाट प्रशंसा पाउँछौं, अरू धेरै काम गर्ने प्रेरणा र उत्साह जाग्छ । अझ राम्रो गर्ने प्रोत्साहन मिल्छ । जो आफ्ना फ्यान छैनन्, उनीहरूलाई पनि फ्यान बनाउने चाहना हुन्छ, त्यसैले बढीभन्दा बढी मेहनत गर्छौं । यसका साथै मैले हरेक दिन काम गर्दा कति मान्छेको रोजीरोटी चलिरहेको हुन्छ । उनीहरूका लागि यो ठूलो सहारा पनि हो । हामी फिल्म बनाउँछौं, उनीहरूले हलमा रिलिज गर्छन् र हामीले राज्यलाई आयकर तिर्छौं । फिल्म मेकिङका थुप्रै क्षेत्रमा रहेर सबैले आ–आफ्नो योगदान दिएका हुन्छन् । हेयरड्रेसर, मेकअप आर्टिस्ट, प्रोडक्सनजस्ता अनेक काम हुन्छन्, जसले हाम्रो कामलाई जीवन्त बनाएका हुन्छन् । फिल्म धेरैका लागि आम्दानीको पहिलो स्रोत हो ।

‘भारत’मा तपाईंले प्रियंका चोपडालाई अभिनय गराउने चर्चा थियो । पछि प्रियंकाले अस्वीकार गरिन् । खास के भएको हो ?

शुटिङ शुरु हुनुभन्दा ठीक पाँच दिनअघि प्रियंका मलाई भेट्न आइन् । उनी ‘भारत’मा काम गर्न नसक्ने भन्न आएकी रहिछन् । फिल्ममा प्रियंकाको भूमिका असाध्यै राम्रो थियो तर उनी पत्नीको भूमिका निभाउन जाँदै रहिछन् । यो झनै राम्रो भूमिका हो । आफ्नो विवाहका कारण प्रियंकाले ‘भारत’मा काम गरिनन् । मैले विवाहमा असर पर्ने भए शुटिङको समय पछि सार्न सकिने पनि बताएँ । तर, उनले काम गर्न नसक्ने बताइन् । मैले ‘ठीकै छ’ भनें । मैले उनलाई सम्झाउने प्रयास पनि गरें, ‘फिल्म छोडेर विवाह गर्ने तिम्रो आफ्नो निर्णय हो । करिअरलाई यति माथिसम्म ल्याउन तिमीले धेरै मेहनत गरेकी छौ । यति वर्ष मेहनत ग¥यौ । अहिले करिअरकै सबैभन्दा ठूलो फिल्म छोड्दै छौ ? हुन त यो फिल्म छोडेपछि सलमानले अर्को फिल्ममा लिँदैन भनेर लागेको होला तिमीलाई । त्यस्तो हुनेछैन । यति हुँदाहुँदै पनि तिमीले फिल्म छोडेर विवाह गर्ने निर्णय लिन्छ्यौ भने त्यो पनि प्रशंसनीय हो ।’

अक्सर मान्छेहरू फिल्मका लागि लोग्ने छाडिदिन्छन्, प्रियंकाले भने फिल्म छोडिदिइन् ।

तपाईंको विवाहलाई लिएर सधैं अनेक अनुमान लगाइँदै आएको छ । तपाईं विवाहमा विश्वास गर्नुहुन्छ ?

मलाई विवाहमा विश्वास छैन । मलाई लाग्छ— यो परम्परा अब बिस्तारै लोप हुँदै छ । विवाह हुनैपर्छ भन्ने मान्यतामा पनि म छैन । अनि मित्रतामा ? मित्रतामा म सधैं विश्वास गर्छु ।

विवाहबिनै पनि पिता बन्न सकिन्छ । तपाईंलाई त्यसमा रुचि छ कि छैन ? तपाईं बच्चाबच्ची चाहनुहुन्छ ?

जब यो हुनुपर्छ भन्ने हुन्छ भने त्यतिबेला हुन्छ ।

पहिले–पहिले धेरैले तपाईंको जिन्दगीमा आधारित रहेर पुस्तक लेख्न भन्दै सम्पर्क गरिसकेका छन् । तर, तपाईंले उनीहरू सबैलाई अस्वीकार गर्नुभयो । भविष्यमा कुनै दिन तपाईंको यो निर्णयमा परिवर्तन होला भनेर आशा गर्न सकिन्छ ?

यो फैसला मेरो अन्तिम हो । यसलाई लिएर मैले कहिल्यै आफ्नो मन बदल्नेछैन ।
 

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  ०८:१४
प्रतिक्रिया दिनुहोस्