site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पार्वतीको चिठी

– क्षितिज समर्पण


का...का...का...!

आज धेरै दिनपछि घरनजिकैको कदमको रुखमा कौवा देखियो । केही समयपहिले ऊ यसरी नै यही रुखमा आएर कराएको थियो । त्यसपछि ऊ हरायो । कहाँ छ होला यो कौवाको घर ? कहाँ हराउँछ बेला–बेला ? र, किन आउँछ बेला–बेला ?

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

को जाने !

कौवा खबर बोकेर आउँछ भन्छन् । थाहा छैन, के खबर बोकेर आउँछ घरिघरि ! म उसको भाषा बुझ्दिनँ । ऊ मेरो भाषा बुझ्दैन । र, उसले यसअघि के खबर लिएर आएको थियो, याद छैन । के खबर छोडेर गएको थियो, त्यो पनि याद छैन ।

जब कौवा कदमको रुखमा आएर कराउँछ, कतै बा पो टुप्लुक्क आउनुहुन्छ कि भन्ने आस लाग्छ । तर, जतिपटक कौवा यो रुखमा बसेर कराए पनि बाको खबर कहिल्यै ल्याएन । बरु, खाटा पर्दै गरेको घाउ उप्किरहन्छ ।

कहिलेकाहीँ सोच्छु— चरा हुन पाए ! कौवा हुन पाए ! कति आनन्दले उड्दी हुँ म । सोच्दा पनि मनमा रहरका अनेक पखेटा फट्फटाउन थाल्छन् । चरा हुन पाए कहाँ–कहाँ पुग्दी हुँ म !

चराको भाषा मैले बुझ्ने भए ! मेरो भाषा चराले बुझ्ने भए ! कति कुरा चरासँगै गर्थे हुँला । कति दुःख यिनै चरासँग साट्थें हुँला । चराहरू मान्छेजस्ता बदमास त पक्कै हुँदैनन् होला है ? चराहरू मान्छेजस्तै निष्ठुरी पनि हुँदैनन् होला है ? नत्र, जाडो छल्न घर छोडेर साइबेरिया पुगेका मालचरीहरू किन आफ्नै घर फर्किन्थे र ! तर, अचम्म लाग्छ— असोज–कात्तिकमा कराउँदै–कराउँदै जाडो छल्न साइबेरिया उड्ने मालचरीहरू आफ्नै घर फर्किंदा भने किन चुपचाप फर्किन्छन् होला ? के उनीहरू रुँदै–रुँदै साइबेरिया जान्छन् ? कहिलेकाहीँ त लाग्छ— मालचरीहरू साइबेरिया जाँदा पक्कै पनि रुँदै जान्छन् । घर छोड्नुको पीडामा जल्दै उड्छन् होला ।

मन नहुँदा नहुँदै घर छोड्नुको पीडा, आफ्नो समाज छोड्नुको पीडा मैले पनि त भोगेकी हुँ वर्षाैंअघि ।

यो पनि सुनेकी छु— मालचरीहरू आफ्नो घर मानसरोवरमा अण्डा छोडेर साइबेरिया पुग्छन् । गर्मी बढेपछि मानसरोवर फर्किंदा अण्डा कोरलिएका हुन्छन् रे ! साइबेरियामा रहँदा मालचरीको मन–चित्त आफ्ना अण्डामा रहँदा मात्र पनि अण्डा कोरलिन्छन् रे !

एकातिर आफ्नै घर फर्किनुको खुशी, अर्काेतिर अण्डा कोरलिएपछि जन्मिएका आफ्ना नवजात शिशुहरूलाई भेट्नुको हतारो । शायद, यस्तै खुशी र हतारोबीच चुपचाप–चुपचाप फर्किन्छन् होला मालचरीहरू ।

यसरी नै चुपचाप कुदिरहेको छ यो साँझ, रातलाई भेट्टाउन । जेठको अन्तिम सातामा हिँडिरहेका दिनहरू निकै पट्यारिला लाग्छन्— आफ्नै जिन्दगीजस्तो । ओहो ! कस्तो तातो हावा चलेको !

भुर्र एउटा सानो चरो आएर घरअगाडिको आँपको रुखमा बस्यो । चरा सँगसँगै कान्छी बहिनी पनि आइपुगी । चराभन्दा पनि हतारमा देखिई ऊ ।

“किन दौड्याछेस् यसरी ? के भो ?” मेरो नजिक आइपुग्दा नपुग्दै सोधें ।

हलक्क बढेकी छ, खाइलाग्दी छ ऊ । अचेल समय निको छैन । कुनै सम्भावित डर मिसाएर उसलाई सोधेकी थिएँ । बाको खबर नै पो आयो कि ! सुकिसकेको आशाको त्यान्द्रो हरियो हुन खोज्यो ।

“झुठी दिदी ! त्यत्रो कुरा अहिलेसम्म लुकाएर राख्ने है ?” मुढा तानेर बस्दै भनी । 

म झुठी ? उसको कुराले म छक्क परें । मसँग के थियो र लुकाउनलाई ? के लुकाएकी थिएँ मैले ? आफूसँग हुने अलिअलि पैसा त उसले देख्ने ठाउँमै राखेकी हुन्छु । के लुकाउनु छ र मलाई ?

तर, उसले पत्याइन । मलाई झुठी भनिरही । र, आफूले मेरोबारे गोप्य कुरा थाहा पाएको बताई । ठुस्किई । बोल्न छोडी ।

खासमा ऊ मेरी बहिनीमात्र थिइन, साथी पनि थिई । सानाभन्दा साना कुराहरू पनि ऊसँग गर्थें । ऊ पनि आफ्ना हरेक कुरा मलाई भन्थी । तर, आज ऊ यसरी प्रस्तुत भएकी थिई कि मानौं मैले ऊसँग ठूलो रहस्य लुकाएकी छु ।

यसै त तराईको गर्मी, त्यसैमाथि उसको कुराले झन् गर्मी बढायो । निधारमा पसिना बाक्लियो । आँत सुकेजस्तो भो । कलबाट पानी निकालें, मुखभरि छ्यापें । एक अम्खोराजति पिएँ । थोरै शीतल भयो ।

“अब त भन् के कुरा हो !” उसलाई फकाउने हिसाबले सोधें । आफैं अलमलमा पनि परें, कतै केही ढाँटेकी पो थिएँ कि ?

सम्झिन सक्ने जति कुराहरू सम्झिएँ । अहँ, उसलाई ढाँटेको कतै भेटिनँ । त्यसपछि उसले मोबाइल निकालेर देखाई । उसले जे कुरा देखाई, म निःशब्द भएँ । शरीर तातो भएर आयो । के बोलौं, के नबोलौं भयो । केही सोच्नै सकिनँ ।

मोबाइलमा बहिनीले देखाएको जेठाको कथाले एकपटक म मेरो सुदूर बालपानमा पुगें । र, कतिबेला आँखाबाट आँसु खसे, पत्तै भएन । कथा मेरै नाममा थियो— ‘पार्वतीको मोही’ !

० ० ० 

आँसु त त्यो रात पनि खसेको थियो, जुन रात हाम्रो परिवारका लागि त्यहाँ अन्तिम थियो । त्यो ठाउँको लागि अन्तिम रात थियो । उसो त जुन दिन हामी त्यो ठाउँ छोड्दै छौं भन्ने थाहा पाएँ, त्यसपछिका हरेक रात लगभग अनिँदा नै थिए ।

जीवनमा कति रात अनिँदो बसियो, हिसाब छैन । कति आँसु बगे, हिसाब छैन । हाम्रो घरभन्दा केही परबाट बग्ने बबई नदीले पनि बगाउन सकेन हाम्रा दुःखलाई । बरु, बगाउँछ हरेक वर्ष गरिबहरूको बास । गरिबहरूको खुशी ।

हामीले गाउँ छोड्नुभन्दा केही दिनअघिको साँझ मैले उसलाई घरमा बोलाएकी थिएँ । र, उसलाई अँगालो हालेर रोएकी थिएँ ।

“हामी बसाइ सरेर बर्दिया जान्या भयौं जेठा,” ऊ मेरो कोठामा आउनेबित्तिकै गर्लम्म अँगालो मारेर रुँदै भनेकी थिएँ, “अब तोइसितको साथ छुट्टिने भयो ।”

थाहा छैन, मेरो कुन इन्द्रियले काम ग¥यो । मैले उसलाई यति भन्ने हिम्मत गरें । 

“उसो भया तो मइन बिर्सिन्छेइ होला है माइली ?” रुन्चे स्वरमा उसले भनेको थियो ।

थाहा छैन, म किन उसलाई त्यति नजिक ठान्थें । शायद कुनै त्यस्तो कुरा थिएन, जो उसलाई नभनेकी हुँदी हुँ । कुनै एउटा त्यस्तो चक्लेट थिएन मैले खाएको, जो टोकेर आधा उसलाई नदिएकी हुँदी हुँ ।

ऊ हाम्रो छिमेकीमात्र थिएन, मेरो कक्षामा म पहिलो हुँदा दोस्रो हुने विद्यार्थीमात्र पनि थिएन, ऊ त मेरो अभिन्न थियो । ऊसँग कहिल्यै छुट्टिन नपरे हुन्थ्यो जस्तो लाग्थ्यो ।

तर, छुट्टिनुपर्ने दिन आइलाग्यो ।

बाल्यकालदेखि सँगसँगै हुर्किंदै आएका हामी किशोरावस्थामा पुगुन्जेल सँगै हुर्कियौं । सँगै खेल्यौं । सँगै हाँस्यौं । सँगै उप्रदो ग¥यौं ।

ओहो ! म त उसलाई प्रेम गर्न पो थालिसकिछु !

हो, बच्चामा हामीले झगडा गर्‍यौं, हानाहान गर्‍यौं । तर, पछिपछि त्यही झगडा प्रिय लाग्थ्यो । र त, म केही न केही बिठ्याइँ गरिरहन्थें । निहुँ खोजिरहन्थें ।

उसले पनि केही न केही बिठ्याइँ गरिरहोस् जस्तो लाग्थ्यो । शायद मैरै संगतले होला— ऊ पनि मजत्तिकै बिठ्याइँ गर्ने भएको थियो । ऊ यस्तो भएको मलाई निकै प्रिय लाग्थ्यो ।

आज त्यही मान्छेले मेरा लागि केही शब्द लेखेको रहेछ । सम्झिएको रहेछ हाम्रा विगतका दिनहरू । सम्झिएको रहेछ हाम्रा बिठ्याइँ, आफ्ना बिठ्याइँ । र, सम्झिरहेको रहेछ मलाई पनि ।

साँच्चै यत्रो वर्षसम्म मैले उसलाई सम्झिइनँ होला ? तपाईंलाई के लाग्छ— म त्यति निठुरी भएँ हुँला ? एकछिनपछि थाहा पाउनुहुनेछ । उसले अझै पर्खिएको रहेछ मेरो चिठी । मैले किन उसलाई चिठी पठाइनँ ? जरुर बताउनेछु यो कुरा पनि ।

सम्झिनुस्, यो चिठी हो उसले पर्खिरहेको । वा, एउटा कहानी हो, जसलाई उसले अधुरै छोडेको थियो ।

फेरि एकपटक मलाई स्कुलको धूलो, उहिल्यै भाँचिएको मेरो क्लिप, हामीले खाली खुट्टै हिँडेका बाटाहरू, हाम्रा चप्पलले टेकेका बाटाहरू सम्झाइदिएकोमा उसलाई धन्यवाद । त्यो बरपीपल, त्यो चौतारो, त्यो ढुंगा, त्यो काउसो, त्यो मिल, त्यो स्कुल, त्यो समय— सबै सम्झाइदिएकोमा धन्यवाद । र, विशेष धन्यवाद स्वयं उसैलाई सम्झाइदिएकोमा ।

खासमा म उसलाई सम्झिन चाहन्नथें । र, बिर्सिन पनि चाहन्नथें । नसम्झिनु र नबिर्सिनुको बीचबाट बाँच्नुको सकस शायदै म बताउन सक्छु । उसले सोचेको रहेछ— म निठुरी भएँ । मैले सोचें– ऊ निठुरी भयो । हामीले एक–अर्कालाई निठुरी सोचिरहेका रहेछौं । 

माफ गर जेठा, मैले तिमीलाई आजका दिनसम्म निठुरी नै मानेकी थिएँ । तर, जब तिमीले लेखाएको कहानी पढें, तिमी निठुरी भएका रहेनछौ भन्ने महसुस भयो । अँ साँच्ची ! कहानीलाई यति मीठो गरी लेखिदिने लेखकलाई पनि मेरो धन्यवाद सुनाइदिनू है ! 

कति सुनौलो थियो हाम्रो बाल्यकाल ! कति सुनौला थिए किशोरावस्थामा हिँड्दै गरेका हाम्रो उमेरका वायुपंखी घोडाहरू !

तर, मान्छेको जिन्दगी सधैं सुनौलो नहुँदो रहेछ । सधैं एकनासको नहुँदो रहेछ । म त्योबेला तिमीप्रति यति आकर्षित थिएँ कि, त्यसको अनुमान शायदै गरौला । तिमीलाई हरेक पटक चक्लेट टोकेर दिँदा मायाको एउटा सिंगो घर दिएझैं लाग्थ्यो । तिमी मोही लिन आउँदा नौनी–नौनी भएको छानेर दिन्थें । त्यसपछि मुनिको अरूलाई दिन्थें । शायद, याद गरेका छैनौ होला यी कुराहरू । जब, नौनी मिसिएको मोही तिमीलाई दिन्थें, यस्तो लाग्थ्यो— नौनीजस्तै मेरो कोमल मन नै तिमीलाई दिइदिएँ ।

अहिले आएर सोच्छु– त्यो साँच्चै माया थियो वा तिमीप्रतिको आकर्षणमात्र ? वा उमेरको दोष ? सोच्छु, सोच्छु— उत्तरै भेट्दिनँ ।

खैर, जे होस् ती दिनहरू सम्झिने हो भने अहिले पनि काउकुती लाग्छ । मैले त्यति हर्कत गर्दा पनि मेरो मनको कुरा नबुझ्ने तिम्रो स्वभाव सम्झेर दिक्क पनि लाग्थ्यो । चाहन्थें, मैले बर्दिया जाने कुरा गर्दा कमसेकम ‘नजाऊ’ भन्छौ होला । तिमीलाई अँगालेर म रुँदा तिमी पनि सँगै रुन्छौ होला । यस्तै यस्तै । तर, तिमीले यस्तो केही पनि गरेनौ, किन ?

भैगो, प्रश्नहरू सोधेर तिमीलाई अप्ठ्यारो पार्न चाहन्नँ । खासमा भन्ने हो भने म पनि तिम्रो चिठीको पर्खाइमा थिएँ । जब हामी बर्दिया आयौं, विलकुल नयाँ थियो यो ठाउँ हाम्रा लागि । न चिनेको केही थियो, न चिनेका कोही थिए । अनि, कसरी पठाउनू चिठी ?

“टोहार पर्वट्वा कहाँ हो बाबु ?” भेट भएका हरेक थारुहरू हाम्रो पहाड घर कहाँ हो भनेर सोधिरहन्थे । कहिलेकाहीँ त दिक्क लाग्थ्यो । चुपचाप बसिदिन्थें ।

हामी बर्दिया आएको दुई वर्षसम्म पटक–पटक बा पहाड जानुभएको थियो । कमसेकम तिमीले त चिठी पठाउन सक्थ्यौ उहाँसँग । यत्ति पनि आँट गरेनौ है ? म कसरी आफ्नै बालाई हुलाकी बनाउन सक्थें ? कोसिस नगरेको भने होइन । तिमीलाई पठाउन भनेर कयौं चिठी लेखें तर पठाउने हिम्मत आएन ।

जब बालाई दिन नसकेर म चिठी च्यात्थें, तब आफ्नै मनका पत्रैपत्र च्यातेझैं लाग्थ्यो । जतिपटक चिठी च्यात्थें, म त्यति नै पटक टुक्रिन्थें । त्यति नै पटक च्यातिन्थें । त्यति नै पटक खण्डहर बन्थें । 

“ह्याँ आइज त माइली,” अन्तिमपटक पहाड जानुअघि बाले मलाई मूलढोका नजिकैबाट बोलाउनुभयो । गाउँतिर बाँकी रहेको ऋण उठाएर अर्काे वर्षदेखि पहाड नजाने भन्नुभएको थियो बाले । आँगन बढारिरहेकी म हतार–हतार बाको छेउ पुगें ।

जब उहाँको हातमा त्यो चिज देखें, म कालीनीली भएँ । हातखुट्टा गलेर आए । ओठ सुख्खा भए । काखीमुनि चिटचिट पसिना आए । खुट्टा लगलग काँप्न थाले ।

“क्या हो यो ?” बाले जंगिदै सोध्नुभो ।

‘के...केइ... पनि होइन बा,” यत्ति भन्न पनि मलाई निकैबेर लाग्यो ।

मैले जे गरेकी थिएँ, त्यो कुरा उहाँलाई पटक्कै चित्त बुझेन । निकै मुर्मुरिनुभयो । 

“तँलाई यई सिक्लेस् भन्योर स्कुल पठायाको हो ?” बा झोक्किनु भो । उहाँमा झन्–झन् रिस बढिरहेको थियो । जस्तो बर्खामा बबई बढ्थ्यो । मेरो बोल्ने ठाउँ थिएन । बोल्ने ठाउँ भए पनि जवाफ फर्काए असंस्कारी भइन्थ्यो । र, बा यसरी झोक्किएको बेला जवाफ फर्काउने झन् हिम्मतै हुन्थेन । 

“हिँड्ने बेला क्या भयो फेरि ?” भित्रबाट आमा कराउँदै आउनुभो, “साइत बिगरिन्छ ।”

“इ देख् तेरी छोरीको चर्तिकला,” बाले आफ्नो हात आमातिर बढाउनुभो । 

त्यसपछि मलाई निकैबेर हपार्नुभो दुवै जनाले । आइन्दा यस्तो नगर्न चेतावनी दिनुभयो । कसम खुवाउनुभो ।

“अबदेखि यस्तो गर्छेस् कि नाइ ?” घरबाट निस्किँदै गर्दा बाले फेरि सोध्नुभो ।

“गर्दिनँ बा !” मैले टाउको नउठाएरै जवाफ दिएँ ।

खासमा, त्यो तिम्रा लागि लेखेको चिठी थियो जेठा । बाको हातबाट यो पटक त जसरी पनि पठाउँछु भनेर लेखेकी थिएँ । तर, के पो काम परेर हो— बा मेरो कोठामा जानुभएछ । अनि, खाटमा राखेको त्यो चिठी भेट्टाउनुभएछ ।

त्यसपछि मैले कहिल्यै चिठी लेख्ने हिम्मत गरिनँ । र, पहाड गएका बा पनि त्यसपछि कहिल्यै फर्किनुभएन । आखिर कहाँ जानुभयो बा ? सेनाले बाटोमा माओवादी भनेर मा¥यो रे भन्ने खबरसम्म पाएका हौं । तर, यत्तिका वर्षसम्म लाशसमेत पाएका छैनौं । अब त आस पनि मरिसक्यो ।

के कुनै दिन यसरी तिम्रो कथा आएझैं बा टुप्लुक्क आइपुग्नुहोला ? मनमा आशाको झिनो दियो धिपधिप बल्न खोज्छ । तर, नबल्दै निभिजान्छ ।

तिमीलाई एउटा कुरा बताऊँ । बाले हामीलाई बर्दिया ल्याउनुको कारण माओवादी नै रहेछ । उहाँले त यो कुरा हामीलाई कहिल्यै भन्नुभएन । तर, जब बालाई माओवादी भनेर सेनाले मारेको खबर आयो, त्यसपछि आमाले हामीलाई भन्नुभएथ्यो ।

“जुन मान्ठले जइखा कारण आफ्नो थातथलो छोरेर हिँड्यो, उसइन माउवादी भनेर मारेछन् पापीहरूले,” आमा यसै भनेर बर्बराइरहनुहुन्छ ।

बाले तिम्रो बुवालाई पनि माओवादीमा लागेका छन् कि क्या हो भनेर आमासँग कुरा गर्नुभएथ्यो रे एकपटक ! कुन्नि के भएर शंका गर्नुभयो । माओवादीहरू हाम्रो घरमा आइरहन्थे । उनीहरू कहिले अन्न मागेर लिन्थे, कहिले पैसा माथ्थे । दूध–दही र खाना त कति खाए कति !

बालाई गाउँको सामन्त भन्थे रे उनीहरू । छरछिमेकलाई अप्ठ्यारो परेका बेला ऋणसापट दिने बा कहिले सामन्त हुनुभएको थियो, मलाई थाहा छैन । तिनै माओवादीहरूलाई होला । उनीहरू आउँदा नाइनस्ती नगरी खाना खुवाउने, चन्दा दिने मेरा बा कसरी सामन्ती भए, उनीहरू नै जानून् । अनि, ऋण दिएका व्यक्तिहरूबाट पैसा नउठाउन पनि चेतावनी दिएका थिए रे !

“हामी यहाँ आएर खाएको, बसेको कुरा अरूलाई नभन्नुहोला, राम्रो हुँदैन,” जाने बेला उल्टो धम्क्याएर जान्थे, “दुश्मनले तपाईंलाई पनि अप्ठ्यारोमा पार्लान्, विचार गर्नुस् ।”

थाहा छैन— यो उनीहरूको धम्की थियो वा चेतावनी तर यसै भनेर जान्थे माओवादीहरू ।

“माउवादीले ह्याँ बसिखान नदिन्या भया, अब ठावैं छोड्नु पन्र्यां भो,” बाले आमालाई भन्नुभएछ, “चटक्कै गावैं छोड्यापछि ज्या होला होला ।”

त्यसपछि बा बर्दिया आउनुभएको थियो हो ठाउँ हेर्न । सबै कुरा मिलेपछि हामी राजा वीरेन्द्र मारिएकै वर्ष यहाँ बसाइ स¥यौं ।

बा नभएपछिका विक्षिप्त दिनहरू म शब्दमा भन्न सक्दिनँ जेठा । कसरी बिताइरहेका छौं हामीले जीवनका यी पट्यारिला वर्षहरू ! बा नभएपछि विक्षिप्त बनिरहनुभएकी आमा घरि के भन्नुहुन्छ घरि के ।

बा नभएपछि हाम्रो सिंगो परिवार नै टुहुरो भएको कुरा कसरी बताऊँ म तिमीलाई ? कुनै कथाकारले पनि लेख्न सक्दैन होला हाम्रो दुःखलाई ।

देशमा लोकतन्त्र आयो । गणतन्त्र आयो । तर, बाँकी ऋण उठाउन भनेर पहाड गएका बा कहिल्यै आउनुभएन । बाको पुष्ट खबर पनि कहिल्यै आएन । ‘रे’ का खबरहरूले विश्वास दिलाएनन् ।

तिमी आफैं भन त, माओवादीबाट भाग्दै हिँडेका मेरा बा कसरी माओवादी भए होलान् ? किन शाही सेनाले माओवादी भनेर मा¥यो मेरा बालाई ?

० ० ०

तिमी त जुंगे भएका रहेछौ अचेल । पावरवाला चश्मा लगाउने भएछौ । तर, आँखाहरू उस्तै देखिने रहेछन् । मलाई तिम्रो आँखा निकै प्रिय लाग्थ्यो ।

अघि बहिनीको फेसबुकबाट खोजेकी थिएँ तिमीलाई । तिम्रो बारेमा धेरथोर थाहा पाएँ । नाम पनि फेरेका रहेछौ । म विचरीले तिमीलाई परार साल पुरानै नामबाट खोजेकी थें अनि, कसरी भेट्नू !

त्यो कहानी लेखिदिने मान्छेको इमेल आईडी रहेछ, कहानीको पुच्छारमा । उसैलाई ईमेल गरेर सोधेकी । उसैले बताएपछि खोजेकी तिमीलाई । म त फेसबुक चलाउँदिनँ । चलाउनू पनि किन ? मेरो जीवनमा यसको कुनै अर्थ छैन । सांसारिक मोह त्यागेर बसेकी मलाई यो भर्चुअल संसारसँग जोडिन कुनै रहर छैन ।

एउटा समय थियो, एउटा उमेर थियो । अनेकौं रहर पालिन्थ्यो । रहरैरहरमा तिमीलाई पनि आफ्नो भइदिए हुन्थ्यो भन्ने रहर गरेकी थिएँ । जब तिमीलाई छोडेर आएँ, तब मेरा सबै प्रिय चिजहरूले मलाई छोड्दै छोड्दै गए । जसले छोडेर गए, उनीहरू कहिल्यै फर्केर आएनन् । कति सम्झनाको एल्बममा छन् । कति खुइलिसके । 

पारिजातकी सकम्बरीलाई जस्तै मलाई पनि यो जिन्दगी र संसार निस्सार लाग्न थालेको छ । म आफूलाई सकम्बरीका रूपमा पाउँछु । लाग्छ— कतै त्यो सकम्बरीको अर्काे रूप म आफैं त होइन ? कुनै मोह छैन जीवनप्रति । एकदिन मरेर जान्छ बस्, सिद्धियो ! जतिदिन बाँचिन्छ, यसरी नै बिताइदिन्छु ।

हो, जीवन अमूल्य छ । त्यसकारण त म कसैलाई सुम्पिन चाहन्नँ । अमूल्य जीवन अरूलाई सुम्पेर किन मूल्यहीन बनाऊँ म ? छोड्देउ यी कुरा ।

अँ, सकम्बरी चुरोट पिउँथी तर म चुरोट पिउँदिनँ । ऊ आफूले रोपेका सुनगाभाका फूलभित्र भमरा निस्सासिएर मर्दा रमाउँथी । मैले यसो गरेकी छैन । न मैले सुनभागा रोपेकी छु, न त कुनै भमराको मृत्यु कामना गरेकी छु ।

यद्यपि, मेरो जीवनमा पनि कयौं सुयोगवीरहरू आउन खोजे । मैले कुनै मतलब गरिनँ । जुन कुराको मलाई चासो नै छैन, किन मतलब गरूँ ?

“भोज नैकैना हो बाबु ?” छिमेकी ६० वर्षीया चुनमती डगौरा भेट भयो कि मेरै बिहेको बारेमा चासो लिन्छन्, “कि लवन्डा नै पैलो ? छाइ मनैन बिक्ना कर्रै रहठ हेरो ।”

मलाई उनको प्रश्नसँग न गुनासो छ न आक्रोश । जिन्दगीलाई वेपरवाह बाँचिरहेकी मलाई यस्ता कुराहरूले कुनै असर गर्दैनन् ।

“कि मोर छावासे भोज कैबो ?” उनको यो प्रश्नलाई पनि म बेवास्ता गरेरै टारिदिन्छु ।

कुनै बेला लागेको थियो— तिमी मेरो जीवनको सहयात्री बन्नेछौ । बन्दिए हुन्थ्यो भन्ने रहर पनि थियो । तर, यो सब रहर रहरमै रहे । जिन्दगीका कति कुरा रहरै सीमित हुने रहेछन् । रहरमै रमाइला हुँदा रहेछन् । मैले तिमीलाई जिन्दगीमा जति स्थान दिएँ, दिइसकें । अब तिमीलाई कुनै स्थान दिन सक्दिनँ । मेरो आफ्नै स्थान छैन मेरो जिन्दगीमा भने तिम्रो स्थान कसरी होस् ! तिमीलाई कसरी स्थान दिनू !

“पृथ्वी गोलो हुन्च रे, मान्छे जता गया पुनि एकदिन भेट होइजान्च रे,” तिमी यस्तै भन्थ्यौ । अब कुनै दिन तिमीसँग भेट होला, नहोला । भेट भए बोलिदिउँला, त्यो बेग्लै कुरा हो । तर, तिमीप्रतिको आशक्ति थोरै पनि बाँकी छैन ।

आखिर, बाँकी रहनुको अर्थ पनि के नै रह्यो र अब !

० ० ०

“झुठी दिदी ! अझै सुतेकी छैनस् ?” कान्छी बहिनी आइपुगी ।

मलाई अझै झुठी भनिरहेकी थिई ऊ । त्यसपछि मैले हाम्रा सबै बिठ्याइँहरू बताइदिएँ उसलाई । तिमीलाई त्यो बेला प्रेम गरेको कुरा बताइदिएँ । र, बताइदिएँ हाम्रा सबै कहानीहरू ।

“ए, तैंले त्यही भएर पो अहिलेसम्म बिहे नगरेकी ?” आफ्नो कोठामा सुत्न जाने बेला उसले भनी, “अब उसलाई सम्झिनुको कुनै अर्थ छैन दि, उसले त बिहे गरिसकेको रहेछ । नपत्याए यी हेर् त फेसबुकमा फोटो राखेको छ ।”

म फिस्स हाँसेंमात्र । किनकि, तिमीले बिहे गरेको कुरा बहिनीले भन्दा पहिल्यै थाहा पाइसकेकी थिएँ । तिमीले फेसबुकमा अपलोड गरेको एउटा जोडी फोटो देखेकी थिएँ । जसको क्याप्सनमा लेखिएको थियो, “फरेभर विथ माई हार्ट !”

kshitizsamarpan@gmail.com

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  ०७:३४
प्रतिक्रिया दिनुहोस्