
– शम्भु राई (गायक)
गायक प्रकाश सपुतले अघिल्लो वर्ष एउटा गीत सार्वजनिक गरे, ‘बोल माया’ । वैदेशिक रोजगारीले घरघरमा सिर्जना गरेको पीडा समेटिएको गीत स्रोता तथा दर्शकले मन पराए । उनीहरूले गीतमा आफ्नो व्यथा पाए, प्रकाशले ‘एक्सपोजर’ । ‘दोहोरी ब्याटल’बाट आफूलाई युवा पुस्तामा चिनाएका प्रकाशले ‘बोल माया’बाट सबैखाले स्रोता र दर्शकलाई रिझाए । त्यसको केही समयपछि उनले ‘दोहोरी ब्याटल–२’ ल्याए । त्यसले उनलाई थप उचाइ दियो । भलै यो गीतमा प्रयोग भएका शब्द धेरैले मन पराएनन् । आलोचना र स्वीकार्यताबीच यूट्युबमा उनले राम्रै ‘भ्युज’ पाए । ‘बोल माया’ प्रदर्शनको एक वर्षपछि प्रकाशले त्यही गीतसँग जोडेर ‘गलबन्दी’ सार्वजनिक गरे । त्यतिबेला उनले भनेका थिए, “पहिलेको ‘बोल माया’ले रुवायो, ‘गलबन्दी’ले हसाउँछ ।” रोधी बस्ने संस्कृतिलाई उनले गीतमा टिप्न खोजे । गीत लोकप्रिय भयो । यूट्युब ‘ट्रेन्डिङ’को १ नम्बरमा लामो समय बस्यो । सबैभन्दा छोटो समयमा करोड ‘भ्युज’ पाउने गीतको रेकर्ड बनायो । तर, केही दिनयता हल्ला चल्यो— उनको गीत ‘गलबन्दी’ गायक शम्भु राईको देउसी गीत ‘आऊ नाचौं साथी हो’ सँग हुबहु मिल्छ । कतिले लोकगीतमा भाका मिल्नु सामान्य भएको प्रतिक्रिया दिए । लोकदोहोरी प्रतिष्ठानले प्रकाश र शम्भु दुवैबीच मध्यस्थता गरी संवाद गरिरहेको छ । यही सेरोफेरोमा ‘बाह्रखरी’का नरेश फुयाँलले शम्भुसँग कुराकानी गरेका छन्—
प्रकाश सपुतको चर्चित गीत ‘गलबन्दी’ तपाईंको ‘आऊ नाचौं साथी हो’ सँग हुबहु मिल्छ भनेर चर्चा चलिरहेको छ । तपाईंले पनि त्यही भनिरहनुभएको छ । वास्तविकता के हो ?
घडेरी त्यही, भाँडो त्यही हो । बिट त्यही हो, मेलोडी त्यही हो । प्रस्तुति त्यही हो । आज म एउटा ड्रेस लगाएर उभिऊँला, भोलि अर्कै ड्रेस लगाएर उभिऊँला । तर, जुन ड्रेस लगाए पनि म शम्भु राई नै हो । गीतको फम्यार्ट त्यही हो । त्यसमा थोरै खेल्न खोजेको देखिन्छ । (आऊ नाचौं साथी हो कम्मर कसेरऽऽऽ शम्भु गीत गाएर सुनाउँछन् ।)
संगीत नपढेको व्यक्तिले बुझ्ने गरी भन्दिनुस् न ‘गलबन्दी’सँग तपाईंको गीत कसरी मिल्छ ?
(शम्भु दुबै गीत गाएर सुनाउँछन्— ‘गल्बन्दी च्यातियो तिम्ले तानेर...’ र ‘आऊ नाचौं साथी हो कम्मर कसेर’)
अन्तिममा उहाँ (प्रकाश सपुत) होल्डमा जानुभयो, म तल गएँ । चलाखी गरिएको छ । तर, स्पष्ट थाहा हुन्छ, एउटै बिटमा छ । ८ बिटमा छ । तपाईंले देख्नुहुन्छ तर कालो चश्मा लगाएर नदेखेजस्तो गर्नुहुन्छ भने म के गर्न सक्छु ? तपाईं निदाउनुभएको छैन तर निदाएजस्तो गरिदिनुहुन्छ भने म कसरी उठाउन सक्छु र ?
प्रकाशजीले ‘आऊ नाचौं साथी हो’ गीत सुनेकै थिइनँ तर मिल्न गयो भन्नुभएको छ । तपाईंको गीत उहाँले नसुनेको अवस्थामा यसरी हुबहु मिल्ने लय सिर्जना हुन सक्छ ?
त्यो उहाँमा भर पर्छ । उहाँले मेरो गीत नसुन्न सक्नुहुन्छ । मेरोजस्तो गीत, लय नबनाउन सक्नुहुन्छ । मैले उहाँलाई आरोप लगाएको छैन । शब्द फरक छ । तर, लय मिल्न गयो नि । सुनेको थिइनँ भन्न पाइयो, संयोगवश मिल्यो पनि होला । गर्दै जाँदा मेलोडी त्यही निस्कियो होला । पूर्वको लय पश्चिमको व्यक्तिले गाउँदा केही फरक सुनिएला र त्यो मन पर्ने क्लिप बन्न सक्ला । त्यसले व्यापार पनि गर्ला । यो सबै हुन सक्ला । तर, मिल्यो भने के गर्ने प्रश्न उहाँलाई हो ।
०४८ सालमा गाएको गीत हो यो मैले । ‘फूल फुल्यो गाउँबेसी’ एल्बममा विराटनगर क्यासेटलाई दिएको थिएँ । पछि रिरेकर्ड गरें । म्युजिक भिडियो बनाउँदा अमेरिका बस्ने लीला राईले ५ लाख रुपैयाँ दिनुभयो । त्यसमा बाँकी लगानी मैले गरेर यो गीत तयार भएको थियो ।
संयोगवश गीत मिल्यो भने त्यसलाई चोरी भन्न मिल्छ कि मिल्दैन ?
मैले गीत चोरी भयो र गीत बनाउने व्यक्ति चोर हुन् भनेकै छैन । मिलेपछि के गर्ने ? वैज्ञानिक ढंगले त्यसको समाधान खोज्ने विकल्पहरू धेरै छन् । उहाँको नियतमा खोट छैन र नियत खराब हैन भने त्यो पुरानो सिर्जनाको के हुन्छ ? उहाँले ‘मैले गरेको सिर्जना’ भनिरहनुभएको कुरामा के गर्नुहुन्छ ? पुराना सिर्जनालाई खाल्डामा पुरेर श्रद्धाञ्जली दिने ?
यसको अर्थ लय मिलेपछि प्रकाशजीले ‘शम्भु राईको आऊ नाचौं साथी हो गीतबाट प्रभावित’ भनेर लेखिदिनु पथ्र्यो ?
त्यत्तिमात्रैले पुग्दैन । ‘इन्सपायर्ड बाई शम्भु राई, क्रिएसन बाई शम्भु राई, न्यु रिक्रिएसन बाई प्रकाश सपुत’ लेख्नुपर्छ । यसो गर्ने हो भने उसको क्रिएसन पनि मर्दैन र शम्भु राईको क्रिएसन पनि मर्दैन । दुबै सुरक्षित हुन्छन् । हैन, मेरो क्रिएसनलाई वास्ता नगर्ने हो भने शम्भु राईचाहिँ पछि आएर चोर सावित हुन्छ । त्यो कालो इतिहास शम्भु राई बोक्न चाहँदैन ।
उहाँसँग मैले पैसा मागेको छैन । त्यो मेरो मनशाय पनि होइन । मेरो कुरा बंग्याएर, टुक्र्याएर, जोडेर जेसुकै भने पनि प्रकाश र मेरो विधा एउटै हो । उनी आउँदै गरेको, म जाँदै गरेको । आउँदै गरेको व्यक्तिले खाल्डो खनेर पुर्ने मलाई ? मैले आउँदै गरेको मुना चुँडाइदिने ? आउँदै गरेकोलाई झांगिन दिनुपर्छ । झांगिएकोलाई संरक्षण गर्नुपर्छ ।
यदि तपाईं दुईबीच सहमति भएन भने कपीराइटमा जाने कानुनी बाटो पनि छ । त्यो विकल्पबारे पनि सोच्नुभएको हो ?
त्यो एउटा विकल्प हो । तर त्यति गहिराइमा पनि नजाऊँ । जानै परेपछि ‘गहिराइमा डुब्दै नडुब, डुबेपछि मोती नलिई नफर्क’ भन्ने गीत नै छ । यो कुरा त छँदै छ । हामीबीच कस्तो सम्झौता हुन्छ, कस्तो वातावरण बन्दै जान्छ, हेर्दै जाऊँ । यहाँ कसैले कसैलाई माइनस गर्नुपर्ने छैन । मैले प्रकाश भाइलाई माया गर्नुपर्छ । मैले उहाँको गला रेट्नु हुँदैन । यो कुरा मैले बुझेको छु । उहाँले मलाई सम्मान गर्दैगर्दा मलाई श्रद्धाञ्जली दिनु पनि हुँदैन । म जीवितै छु । मेरो सिर्जना विस्थापित गरिदिनु भएन । कत्राकत्रा मिसाइल वारमा त छलफल र संवाद भइरहेका छन् ।
हो, यस्तै छलफल तपाईं र प्रकाशजीबीच भइरहेको छ । परिस्थिति सकारात्मक बन्दै गइरहेको हो ?
मिल्नुपर्छ । हामीले एउटा सन्देश दिनुपर्छ भन्ने कुरा भइरहेको छ । मैले पनि त्यही नै चाहेको हो । कपी–पेस्ट गरेर गीतहरू आइरहेका छन् । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने मेरो चाहना हो । नयाँ सिर्जना गर्नेभन्दा पनि पुरानो राम्रो चिज कहाँ छ र त्यसलाई कसरी कपी–पेस्ट गर्ने भन्नेमा ध्यान गइरहेको अवस्था छ । पुरानो सिर्जनाको नामोनिशानै मेटाउने प्रवृत्ति अन्त्य हुनुपर्छ भन्ने सन्देश दिनुपर्ने मेरो अडान हो ।
हामीबीचको संवाद ४०–६० को अवस्थामा छ । एकले अर्कोलाई सम्मान र आदर गर्छु भन्ने कोणबाटै कुरा भइरहेको छ । उहाँले मलाई सम्मान गर्छु भनिरहनुभएको छ । मैलै पनि तपाईंलाई माया गर्छु भनिरहेको छु । माया कसरी गरिन्छ, सम्मान कसरी गरिन्छ, सिर्जना कसरी सुरक्षित हुन्छ— यसतर्फ छलफल केन्द्रित हुनुपर्छ ।
‘आऊ नाचौं साथी हो’ देउसी गीत हो तर यसको लय आम रूपमा चलिआएका भन्दा फरक छ । कसरी लय नै फरक बनाउनुभएको थियो ?
नयाँ सिर्जना गर्ने व्यक्तिले जहिले पनि फरक तरिकाले सोचिरहेको हुन्छ । मेरा गीतले मलाई नै च्यालेन्ज गरिरहेका हुन्छन् । त्यसैले मैले केही फरक गर्नुपर्छ भन्ने सोचिरहेको थिएँ । गोपाल योञ्जन दाइले चलचित्र ‘बदलिँदो आकाश’मा ‘आहै भनभन भाइ हो’ भन्ने तपाईं–हामीले अहिले सुन्ने गीतको लय बनाउनुभयो । त्यही नै हामीले अहिले पनि सुनिरहेका छौं ।
हाम्रो आफ्नै संस्कृति छ, चालचलन र रीतिरिवाज र चाडपर्व छन् । गोपाल दाइले बनाएकै गीत मैले किन गाउने ? अर्को कुनै लय हुन सक्दैन ? त्यसैले मैले फरक ढंगले काम गर्नुपर्छ भन्ने लाग्यो र ‘आऊ नाचौं साथी हो’ तयार पारें । मोनोटोनस होला कि भनेर नाचेर गाउने खालको तयार पारें । नयाँ सिर्जना दिनुपर्छ भनेर काम गर्दै जाँदा तयार भएको गीत हो यो ।