
डा. जगमान गुरुङ, उपकुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान
उनको जीवनमा एउटा अचम्मको घटना घट्यो । त्यसबेला उनी करिब ३ वर्षका थिए । उनले त्योबेला नेपाली बोल्न जानेका थिएनन् । मातृभाषा अर्थात् गुरुङ भाषामात्रै बोल्थे । गाउँले परिवेश यस्तै थियो । उनी त्यो बाल उमेरमा आफ्नो लीला देखाउँदो थिए । उनको मामाघरमा उनको घर गाउँ याङ्जाकोटबाट केही घर गुरुङ बसाइँसराई गरेर गएका रहेछन् । ती लामा गुरुङहरू थिए । ती धनि पनि थिए । तिनै बसाइँसराई गरेर गएका लामा गुरुङहरूले गाउँमा भागवत सप्ताह लगाएका थिए ।
त्यो सप्ताहमा उनकी आमालाई पनि निम्तो दिइयो । आमा उनलाई बोकेर माइती गइन् । भागवत सप्ताह घरमा नलगाएर वर–पिपलको चौतारोको छेउमा चौका बनाएर लगाइँदै थियो । सप्ताहमा पुराण वाचन चलिरहेकै थियो । गाउँलेहरूको जमघट स्वाभाविक थियो । उनी पनि आमा र छ्यामाहरूसँग सप्ताहामा गए ।
तीन वर्षे बालक । घुँम्रिएको कपाल । गोरो वर्ण । सर्लक्क परेको अनुहार । यो नौलो बालक देखेर गुरु मोहित भए । उनले बालकलाई आफू नजिक बोलाए । तर बालक के जान्थे र नयाँ नौलो मानिसकहाँ ।
गुरु पनि कम थिएनन् । उनले सिन्कामा एउटा सेल उठाएर बालकलाई लोभ्याउँदै आफूतिर बोलाउन थाले । अब बालक लोभिए । उनी सेलको पछिपछि लागे । सप्ताहमा बसेका मूल गुरुतिर उनी लम्किए । मंगलबार अपरान्ह आफ्नै कार्यकक्षमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ (७२) आफू तीन वर्षको हुँदाको प्रसंग सुनाउँदै थिए । उनले यो प्रसंग आमाबाट सुनेका थिए ।
डा. गुरुङ भन्छन्, “यसरी सेल रोटी देखाएपछि म पनि लोभले अगाडि बढेछु । अनि अगाडि बढ्यो कि उनले सेल तान्थे । यसरी सेललाई पछ्याउँदै म गुरुको अगाडि पुगेछु । त्यसपछि त गुरुले मलाई च्याप्प समातेछन् । ती मूल पण्डितलाई मदेखि के मोह भएछ, भएछ । सायद कृष्ण भगवानको बाललीला सम्झिए उनले । नभए, भागवत सप्ताहको चौकामा बसेका पण्डित म गुरुङको बच्चोलाई किन लिन्थे काखमा ! गुरुलार्ई जैसीबाहुनले त छुन पाउँदैनन् भने म त गुरुङको बच्चा । तर मेरा लागि यहीबाट भगवानको अनुग्रह भयो । सायद, यहीँबाट संस्कृति, संस्कृततर्फको बाटो खुल्यो मेरा लागि ।”
गुरुङका अनुसार सायद यो भगवानबाटै प्राप्त वरदान थियो । उनी यही ठान्छन् । नभए उनलाई मूल गुरुले सप्ताहको चौकामै रहँदा गम्लङ अंगालो किन हाल्थे !
पण्डितलाई भएको मोहका कारण नै संस्कृति, संस्कृत र इतिहासतिरको मार्ग तय भएको उनको तर्क छ । ती गुरुलाई किन उनीप्रति मोह भयो, यो उनका लागि आज पनि रहस्यजस्तै छ । उनी भन्छन्, ‘मलाई लाग्छ, यो श्रीकृष्णको माया नै हो !
०००
लमजुङको याङ्जाकोट उनको घर हो । उनको गाउँ याङजाकोट, पश्चिमी लमजुङ र साबिक लमजुङ राज्यको पश्चिम उत्तरको मुख्य किल्ला मानिन्छ । तर उनी मामाघरमा जन्मिए । कास्कीको मौजा लामाडाँडा उनको मामाघर हो । डा. गुरुङका अनुसार गुरुङ समुदायमा बिहे भएकी चेलीबेटीले माइतीमा बसेर सुत्केरी हुन कुनै छेकथुन थिएन ।
त्यसबेला गाउँमा स्कूल थिएन । त्यसैले घरमा कखरा पढे पिताजीसंँगै । एक्लो छोरो भएकोले पिताजीले पनि उनलाई अन्त कतै पठाएनन् । बाह्रखरी सिक्ने समयदेखि पिँढी पाठशालामा लगे पिताजीले । त्यतिखेर अर्घौँका शेखरनाथ त्रिपाठीलाई बोलाएर गाउँमा केटाकेटी पढाउन राखिएको थियो । कुनै घरको पिँढीमा उनी विद्यार्थीलाई पढाउँथे ।
उनी सम्झिन्छन् त्यो दिन– “श्रीपञ्चमीको दिन थियो । मेरो पिताजीले भण्डारमा पूजा गर्नुभयो । मलाई लाग्छ सरस्वतीको पूजा थियो त्यो । त्यसपछि मलाई पिँढी पाठशालामा लिएर जानुभयो । पढ्न हिँड भन्दा म नमानौला भनेरै होला, ठूलो सर्प मरेको छ हेर्न जाउँ हिँड भनेर पिताजीले मलाई स्कूल पुर्याउनु भएको थियो ।”
यति सुनाउँदै गर्दा उनको मुहारमा मुस्कान चम्कियो ।
यसरी उनले श्रीपञ्चमीको दिनदेखि बाह्रखरी पढ्न सुरु गरे, अनौपचारिक पिँढी पाठशालामा । उतिखेर भारतबाट छापिएर आएको ठूलो वर्णमाला पढाइन्थ्यो । सारा कुरा त्यो बर्णमालामा भएको उनी आज पनि सम्झिन्छन् ।
पढाईका लागि आवश्यक सारा कुरा त्यसमा समेटिएको हुन्थ्यो । कखगघ र एबीसीडीदेखि हिसाबसम्म । यही वर्णमालाको सहयोगले साक्षर बनाउँदै लग्यो । क्रमैसँगै पढ्न लेख्न जानिँदै गयो । यसै क्रममा उनले ‘ओम नमः चण्डिकाय’ पनि पढ्न सिके । उनका पिताजीले दशैंमा घटस्थापनाका दिनदेखि कलश थापेर जमरा छरेर पूजा गर्दै आएका थिए । दशैं पूजामा पिताजीले दुर्गा कवच पढेको सुन्दै आएका थिए ।
पछि पिताजीले उनका लागि पनि बेग्लै दुर्गा कवच ल्याईदिए । अनि उनी दशैंमा पिताजीसँगै छेउमा बस्थे । र पिताजीसँगै दुर्गा कवच भट्याउँथे । जोसुकैले दुर्गा कवचको अक्षर फुटाल्नै नसक्ने उनको भनाइ छ । यसरी उनका पिताजीले दुर्गा कवच पढ्ने तालिम दिए, जगमानलाई । पछि त उनी पोख्त भइहाले ।
यसरी अनौपचारिक पढाईलेखाई चल्दै थियो । २०१३ सालमा मात्रै गाउँमा प्राइमरी स्कूल स्थापना भयो । पढाइबापत मासिक चामल, घिउ दिने चलन थियो । सबैले आफूले सक्दो दिन्थे गुरुबालाई ।
गुरुवाको काम पढाउने बाहेक गाउँमा सत्यनारायणको पूजापाठ गराउने, बच्चा जन्मिदा नामाकरण गरिदिने, नाग पञ्चमीमा नाग टाँस्ने पनि थियो । ठूला उमेरका विद्यार्थीहरूको काम गुरुबाका लागि पानी ल्याइदिने, कसौडीमा चामल दाल धोई पखाली गरी सबै कुरा ठिक्क पारिदिने हुन्थ्यो । गुरु आगो फुकेर खाना बसाउँथे, खान्थे । उनले खाए पछि भाँडा माझ्ने काम पनि विद्यार्थीले गरिदिन्थे ।
डा. गुरुङ भन्छन्, “स्कूलको स्थापनापछि उमेर अनुसार एक, दुई, तीन कक्षा विद्यार्थीहरू बाँडिए । यसरी म २०१३ सालमा ९ वर्षको उमेरमा एक कक्षामा भर्ना भएँ । मभन्दा जेठाहरू कोही तीन कक्षामा भर्ना भए भने कोही दुई कक्षामा ।” २०१७ सालमा धेरै जसो विद्यार्थी ५ कक्षामा पढ्न भनेर पोखरा गए । तर जगमानका पिताजीले उनलाई पोखरा पठाएनन् । ‘आफ्नो घर छैन, डेरामा किन राख्ने ? किन पठाउने ?’ भन्दै पठाएनन् ।
उनले ५ कक्षा गाउँमै पढे । २०१८ सालमा त पोखरा पठाउनै पर्यो उनका पिताजीले । उनी पनि पोखरा पुगे । अहिलेको अमरसिंह माध्यमिक विद्यालयमा उनी ६ कक्षामा भर्ना भए । र, त्यहीँबाट उनले २०२२ सालमा एसएलसी पास गरे ।
०००
डा. जगमान गुरुङले म यो गर्छु वा यो पढ्छु भनेर कहिल्यै सोचेनन् । समय र परिस्थितिले जता जता डोहोर्याउँदै गयो, त्यतैको बाटो समाउँदै गए । यसो गर्छु वा उसो गर्छु भनेर हिँड्दा पछि कुरो नपुगे दुःख लाग्न सक्छ भन्ने उनलाई लाग्यो । यसैले पनि भगवानले जति दिन्छन् त्यसैमा सुखी हुन सिके । उच्च महत्वाकांक्षा कहिल्यै पालेनन् ।
उनी भन्छन्, “प्रज्ञा प्रतिष्ठानको उपकुलपति पनि मैले सोचको थिइनँ ।”
एसएलसी पास गरे पछि गुरुङले आईए र बीए पृथ्वीनारायण कलेज पोखरामै पढे । कारणबस् बीएकाृ पढाई सुरुमा बिग्रियो । तर केही समयपछि बीए सिध्याए । डा. जगमान गुरुङ संस्कृत राम्रो बोल्छन् । यद्यपि उनी संस्कृतका ज्ञाता हैनन् । उनले संस्कृतमा औपचारिक शिक्षा लिएनन् । उनले बीए पढ्दा एक पेपर प्रधान नेपाली लिएर पढेका भने हुन् ।
कलेज पढ्दाको एउटा रमाइलो सन्दर्भ उनले सुनाए । उनको अंग्रेजी र हिसाब ठिकै थियो । उनी आफूलाई औसत विद्यार्थी मान्छन् । त्यसैले लेख्दा राम्ररी नजानेको विषय उनी डेस्कमा कपी राखेर लेख्थे । तर उनलाई राम्ररी आउने विषय डेस्कमा राखेर लेख्दा अबेला हुने भएकोले घुँडा मोडेर कपी घुँडा माथि राखेर लेख्थे ।
डा. जगमान यो सुनाउँदै गर्दा हाँसे । भने, “म डेस्कमा राखेर लेख्नै सक्दिनथेँ । घुँडामै राखेर लेख्नु पर्दथ्यो । घुँडामा राखेर लेख्दा छिटो लेखिन्थ्यो । एक पटक परीक्षामा मैले नेपालीमा कपी थपेँ । लेख्दै थप्दै जाँदा धेरै कपी थपिएछ । पछि हेर्छु त मेरो अगाडिका कपीहरू त पछाडि बस्ने साथीहरूले हेर्दै धमाधम सार्दै रहेछन् । धन्न, टिचरले देखेनन् ।”
उनी आफूले एसएलसीदेखि डिग्री हुँदै असिस्टेन्ट लेक्चररको जाँचसमेत घुँडामै कपी राखेर लेखेको बताउँदै थिए । उनका अनुसार त्यसबेला सिपालु विद्यार्थीले भूगोल विषय पढ्थे । सामान्य वा औसत विद्यार्थीले नागरिक शास्त्र पढ्थे । त्यसैले उनले नागरिकशास्त्र पनि पढे । भूगोल पढेनन् । त्यस बाहेक इतिहास र संस्कृति पनि उनको विषय थियो ।
बीए पास भएपछि उनले पृथ्वीनारायण क्याम्पसमा हेड असिस्टेन्टको जागिर खाए । जागिर खाँदै जाँदा उनी त्यहाँ सहायक प्रशासकसम्म भए । उनी उपप्रशासक हुन्थे । तर जाँचमा फेल भए । त्यसैले उनी उपप्रशासक हुन सकेनन् । तर जे हुन्छ राम्रै हुन्छ भनेझँै भयो । त्यसबेला पार्थिवेश्वर तिमिल्सिना मानविकी संकायको डीन भएर पोखरा आएका थिए ।
उप–प्रशासकमा फेल भएपछि उनलाई डीन पार्थिवेश्वर तिमिल्सिनाले ‘तिमी रिसर्च गर्ने खालको मानिस । नेपाल एसियाली अनुसन्धान केन्द्रमा काजमा जाऊ’ भने । उनले भनेजस्तै जस्तोजस्तो पर्दै गयो त्यस्तै उनले गर्दै गए । उनी छ महिनाको काजमा काठमाडौं आए । डोरबहादुर विष्ट अनुसन्धान केन्द्रका प्रमुख थिए ।
उनी अफिसमा हाजिर भए । पुलचोकमा बस्थे । हिँडेरै कीर्तिपुर अफिस पुग्थे । अफिसमा बस्ने टेबल कुर्सी थिएन । एक दिन हाकिम डोरबहादुर विष्टले पढ्नु पनि अनुसन्धान नै हो भनेर उनलाई भने ।
उनलाई लाग्यो अब एमए पढ्नुपर्छ । उनी एमएमा भर्ना भए । यसरी एमए भर्ना भएका उनले डिग्रीमा गोल्ड मेडलसँगै महेन्द्र विद्याभूषण पदक पाए ।
एमए पढ्दा ताकाको एउटा प्रसंग उनले सुनाए । भने, “अफिसमा सूर्यलाल अमात्य डेपुटी डाइरेक्टर थिए । उनले बोलाएर मलाई ‘तपाई अफिसमै बस्नु पर्छ, काम गरेर पढ्न जान मिल्दैन’ भने । अफिसमा ममाथि कडाई भयो । अनि मैले आफूलाई साताको तीन दिन बिदा दिन भनेँ । के सोचे कुन्नी हुन्छ भने । त्यो तीन दिनमा मैले मुद्राशास्त्र र पुरातत्व विषयमा ध्यान दिएर पढेँ । तर, चार पाँच महिनामै अमात्य युनिसेफमा गए । मलाई पढ्न रोक्ने मानिस आफै बढारिएर ।”
डिग्रीमा गोल्ड मेडल पाएपछि उनी पढ्न प्रेरित गर्ने हाकिम डोरबहादुर विष्टलाई गएर भेटे र आफू पास भएको सुनाए । डा. जगमान गुरुङ आफ्नो पढाइमा सँधै उत्तरोत्तर वृद्धि भएको बताउँछन् । उनका अनुसार उनले एसएलसी र आइए थर्ड डिभिजनमा पास गरे । बीए सेकेन्ड डिभिजनमा र एमए प्रथम श्रेणीमा प्रथमसहित पास भए ।
संस्कृतिविद् डा. गुरुङ भन्छन्, “मलाई लाग्छ, म ३ वर्षको हुँदा भागवत वाचन गर्ने गुरुले जसरी मलाई काखमा लिएका थिए । यो त्यसैकोे नतिजा हो ।”
उनी आफूले नजानेको कुरा सोध्नलाई लाज मान्दैनन् । यसमा आफूभन्दा जान्ने गुरुहरूसँग उनले सँधै सहयोग लिए । ती गुरुहरूलाई आज पनि उनी अतिशय सम्मान गर्छन् । आज पनि गुरुपूर्णिमाका दिन ति गुरुहरूलाई भ्याएसम्म भेटन पुग्छन् । नभए फोनमै भए पनि ढोग गर्छन् । आशिर्वाद थाप्छन् । उनी कीर्तिपुर क्याम्पसमा पढाउँथे । त्यसबेला रिलिजन र फिलोसफी कसले पढाउने भन्ने कुरा उठ्यो । उनले फिलोसफी पढेका थिएनन् । तर खै किन उनले हठात् भने, “म पढाउँछु” । किनभने रिलिजन एण्ड फिलोसफीलाई हाउगुजी बनाइएको थियो ।
पढाउँछु भनेपछि आफूले पनि मेहनत गर्नुपर्यो । उनले किताब खोजे । मेहनत गरेर पढे । अनि विद्यार्थीलाई पनि पढाए । एकपटक राजदरबारमा चियापानको निम्तो आएको थियो । तर उनी तनावमा थिए, विशिष्ट अद्वैत दर्शनका विषयमा सन्दर्भ सामग्री नपाएर । उनले यस विषयको कक्षा पनि लिनुपर्ने थियो ।
साँझ उनी राजदरबार पुगे चियापानमा । त्यहीँ उनले भेटे डा. स्वामी प्रपन्नाचार्यलाई । स्वामीजीलाई उनले अद्वैत दर्शनका बारेमा सोधेछन् ।
डा. गुरुङले हाँस्दै सुनाए, “स्वामीजी त त्यसै विषयको ज्ञाता पो हुनुहुँदो रहेछ । उहाँले मलाई अद्वैत दर्शनको सिद्धान्तका बारेमा यावत् कुरा फररररर बताउनु भयो । र मैले केही दिनपछि क्लास लिए । यसरी मैले मेरा गुरुहरूबाट धेरै ज्ञान लिएको छु । र ज्ञान लिन म लजाउँदिन पनि ।”
०००
संस्कृति विषयका ज्ञाता डा. जगमान गुरुङले शिक्षाका क्षेत्रमा धेरै समय काम गरे । तर पढाउने काम त्यति धेरै नगरेको उनको भनाइ छ । यसरी लामो समयदेखि शिक्षा र संस्कृतिका क्षेत्रमा सक्रिय डा. गुरुङ आज पनि संस्कृतिकै क्षेत्रमा क्रियाशील छन् ।
प्रस्तुती राजेश खनाल